रिबन

नेपाली साहित्यमा वीपी कोइराला

बिमला घिमिरे बस्नेत
विश्वेश्वर प्रसाद कोइराला (१९७१–२०३९) ‘चन्दवदन’ कथाको प्रकाशन (१९९२ शारदा ) बाट नेपाली साहित्य आरम्भ गरेका कोइरालाले ‘दोषी चश्मा’ (२००६) र ‘श्वेतभैरवी’ (२०३९) गरी दुइवटा कथा संग्रह तथा ‘तीनघुम्ती’ (२०२५) ‘नरेन्द्र दाइ’ (२०२६) ‘सुम्निमा’(२०२७) ‘मोदिआइन’ (२०२६) हिटलर र यहुदी(२०४०) तथा ‘बाबु आमा र छोरा’ (२०४५) गरी छ वटा उपन्यास लेखेका छन् । यिनै कृतिका माध्यमबाट आधुनिक नेपाली उपन्यासका क्षेत्रमा वीपीको बिशिष्ट योगदान रहेको देखिन्छ । बिषयगत विविधता, शैलीमा शिल्पगत नवीनता र सामाजिक जीवनका यथार्थ धरातलबाट पत्रहरुको चयन गरिएकाले वीपीका उपन्यासले नेपाली साहित्यमा छुट्टै विशिष्ठ स्थान ग्रहण गर्न सफल छन् ।
नेपालमा प्रजातान्त्रिक चेतनाको बिजारोपण गर्न त्यसलाई विस्तार गर्न र प्रजातान्त्रिक समाजको आधारशीला निर्माण गर्न उनले खेलेको भूमिका महत्वपूर्ण छ । नेपाली समाज र दक्षिण एसियाका प्रजातान्त्रिक आन्दोलनमा आज पनि वीपी कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाब विद्यमान छ ।
वीपी कोइराला बहुआयमिक व्यक्ति हुन् । उनी राजनीतिमा मात्र सीमित नरहेर नेपाली साहित्यमा केही सिर्जनाहरु सुम्पेर नेपाली समाजलाई ठूलो गुन लगाएका छन् । राजनीति र साहित्य फरक विधा हुन् । राजनीतिमा ‘मस्तिष्क’ हाबी हुन्छ भने सहित्यमा ‘हृदय’ । राजनितिकर्मीहरुको जीबनमा ‘व्यस्तता’ अपरिहार्य हो भने साहित्यकारका लागि ‘एकान्तिकता’ अनिवार्य पूर्वशर्त हो । राजनीतिमा सबै खाले अस्त्रहरु क्षम्य र ग्राह्य मानिन्छन भने ,साहित्यमा इमान्दारिता ,निस्कपटता र सच्चाइको माग गर्दछ । त्यसैले यी दुवै विधालाई अगाडी बढाएर आफ्नो वैशिष्ठ्य पहिचान कायम गर्न सफल भएका छन् ।
वीपीको साहित्यिक व्यक्तित्व छ वटा उपन्यास र २ वटा कथा संग्रहमा विस्तारित भएको छ । उनकै शब्दमा यी उपन्यासमा मैले भन्न खोजेको छुइन, बिचार दिन चाहेको हु । मेरो उपन्यासमा जुन झिनोरुप आएको छ त्यो केवल बिचार व्यक्त गन्ै पृष्ठभूमि मात्रै हो । धारणाको परिपोषक मात्र हो ।
राजनीतिमा वीपी प्रतिवद्ध लोकतन्त्रवादी हुन् । लोकतन्त्र प्राप्तिका लागि उनले बेला बेलामा अबलम्बन गरेका रणनीतिक माध्यमहरुलाई आलोचना गर्ने हरुले पनि लोकतन्त्र प्राप्तिको उनको निष्ठा र यस उद्देश्यका लागि उनले जीवन प्रर्यान्त गरेको संघर्षको उच्च प्रशंसा गर्दछन । राजनीतिमा आफ्नो आदर्श प्रजातान्त्रिक समाजवाद रहेको र आफ्नो जीवनमा मार्क्सवादको गहिरो प्रभाव परेको कुरा उनले धेरै ठाउँमा चर्चा गरेका छन् । म माथि मार्क्सबाट ठूलो प्रभाव परेको छ । उनको तरिकाबाट म आज प्रभावित छु । उनले आफ्नो निष्कर्षमा भने जस्तो भने हुदैन,तर पनि त्यस निष्कर्षमा कसरी पुग्छन् भन्ने प्रक्रिया महत्वपूर्ण हो । समाजको बन्दोवस्त र मनोविज्ञानमा आर्थिक अवस्थाले कसरि ठुलो प्रभाब पार्दछ ,क्रान्ति कसरी हुन्छ र समाजमा रहेका शक्तिहरु कसरी क्रान्तिमा एक हुन्छन भन्ने उनको धारणा महत्वपूर्ण छ । तर,साहित्यिक सिर्जनामा भने उनी निरन्तर र भिन्न रुपमा प्रस्तुत भएका छन् ।
उनी स्वयमले भनेका छन्,साहित्यमा भने म माक्सबाद मान्दिन , साहित्यमा म अराजकबादी हुँ । वीपीले आधुनिक नेपाली साहित्यमा मनोबैज्ञानिक यथार्थबादी धाराको सुत्रपात गरे । अझ अगाडी बढेर नेपाली साहित्यमा फ्रायड मनोबिज्ञानलाई आरोपित गर्दै यौन मनोबिश्लेषणको आरम्भ गरे । खगेन्द्रप्रसाद लुइँटेल लगायतका समालोचाकहरु उनलाई जेष्ठ यौन मनोबैज्ञानिक कथाकारका रुपमा चरित्र चित्रण गर्दछन । उनका अधिकांश साहित्यिक रचनाका पात्रहरु दमित यौनच्छा या कामवासनाका आरोह अबरोहबाट गुज्रेका छन् ।
‘तीन घुम्ती’ की इन्द्रमायाको पिताम्बर रमेशसंग ‘नरेन्द्र दाई’ को नरेन्द्रको गौरी र मुनारीयासंगको सम्वन्ध ‘सुम्निमा’ का सोमदत्त र पुलोमाले क्रमश सुम्निमा र भिल्ल युवक भन्ने भ्रान्तिमा गरेको शारीरिक सम्पर्क,हिटलर र यहुदीमा म पात्र को रेवा संगको यौन सम्बन्धको प्रसंग र ‘बाबु आमा र छोरा’मा बस्नेत,उमा र शिबप्रसादको त्रिकोणात्मक सम्बन्धको नियति नै किन नहोस यी सबैमा वीपीले व्यक्तिका दमित यौनच्छा या कामबासनालाई मुख्य बिषय बस्तु बनाएका छन् । मानब जीवनका कामबासना वा यौनच्छा स्वभाबिक बिषय हो । त्यसलाई दमन गर्न खोज्दा अनेकौ बिकृति जटिलता र दुर्घटनाहरु निम्तिन सक्छन् । त्यसैले यौन मनोवि।द्दण्ण्ण्ण्ण्ज्ञानको चर्चा स्वभाबिक हो ।
वीपीको साहित्य सिर्जना बिशेष गरेर उनका उपन्यासमा दार्शनिक मूल्यहरुको अन्वेषण र भिन्न सांकृतिक आस्थाहरु बीचको समानताको खोजी महत्वपूर्ण बिषयको रुपमा रहेको छ । उनी उपन्यासका माध्यमबाट आफ्ना बिचारहरु सम्प्रेसण गर्न चाहन्थे । ‘सुम्निमा’ ‘मोदी आइन,हिटलर र यहुदी’ मा दार्शनिक सांस्कृतिक मुल्यहरु तथा तिनीहरु बीचको द्वन्द्व निकै राम्रोसंग प्रस्फूटित गरिएको छ ।
वीपीले सुम्निमामा सोमदत्त र सुम्निमाका माध्यमबाट हिन्दु आर्य धार्मिक सांस्कृतिक मूल्यहरु बीचको भिन्नतालाई जीवन्त ढंगले प्रस्तुत गरेको छन् । सांसारिक दायित्व र बन्धनबाट टाढा रहेर ज्ञान,सत्य र मोक्षको खोजी गर्ने सोमदत्तको हिन्दु आर्य जीवनको दर्शन र स्वभाबिक माया प्रेम र सांसारिक कर्तब्य निर्वाह गर्दै जीवनको सार्थकता खोज्ने सुम्निमाको जीवन दर्शन बीचको द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । सोमदत्तलाई सुम्निमाको भ्रममा पुलोमासंग शारीरिक सम्पर्क गराएर ग्रहत्याग , कठोर तपस्याको बाबजुद उ सुम्निमाको स्मृतिबाट अलग हुन असफल भएको देखाएर वीपीले प्रेमको शाश्वतालाई अभिव्यक्ति दिएका छन् । दार्शनिक सांस्कृतिक चिन्तनबीचको द्वन्द्व र सहज नैसर्गिक,प्राकृतिक,सांस्कृतिक मूल्यप्रतिको साहनुभूतिका दृष्टिले उत्कृष्ट देखिन्छ ।
वीपीले मोदी आइन, हिटलर र यहुदीमा गीता र श्री कृष्णको दर्शनको सान्दर्भिकता माथि औला ठड्याएक छन् । नेपाली र भारतीय चिन्तन धारालाई गहिरो प्रभाब पार्ने गीताको दर्शन माथि प्रश्न खडा गर्न सक्नु र श्री कृष्णको नायकत्वमाथि चुनौती उत्पन्न गर्नु सामान्य बिषय होइन । महाभारतको युद्ध,त्यहाँ भएको बिनाशलीला र दुःखान्तलाई ‘प्रभुको कृपा’ मानेर खुरुखुरु स्वीकार गर्न हाम्रो समाजमा वीपीले मोदी आइन र नारी पात्र मार्फत श्री कृष्ण माथि जुन प्रश्न खडा गरेका छन् त्यो महत्वपूर्ण बिषय हो ।
‘मोदिआइन’,हिटलर र यहुदीमा वीपीले युद्धको बिरोध गरेका छन् र शान्तिको पक्षपोषण गरेका छन् । राजाको निरंकुस शासनमा बन्दी जीबन बिताइ रहेका बेला जेलमा लेखिएका यी कृतिहरुमा अभिव्यक्त भएका उनका यी बिचारहरु लाक्षणिक छन् । २०३१ सालको सशस्त्र विद्रोहको असफलता पश्चात राष्ट्रिय मेलमिलापको नीति लिएर देश भित्र फर्कन के वीपीलाई यी उपन्यासहरुमा अन्तर्रनिहित दार्शनिक–संस्कृतिक मुल्यहरुले पनि अभिप्रेरित गरेका थिए ।
यसरी हेर्दा वीपीका साहित्यिक रचनाहरु विशेष गरेर उपन्यासहरुमा यौन मनोबिज्ञान,सांस्कृतिक मूल्यहरुको द्वन्द्व र युद्धको बिरोध मुख्य बिषयका रुपमा देखिन्छन् । त्यस माथि पनि उनले यौन मनोबिज्ञानमा बिशेष जोड दियका छन ।
प्रायः पात्रहरु यसकै वरिपरि घुमेका देखिन्छन ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *