रिबन

धर्म र प्रेमको संक्षिप्त फ्युजन

म क्रस्चियन होइन, मुस्लिम पनि होइन, तर म हिन्दु होइन भन्न सक्तिन किनकि म हिन्दु संस्कारमा जन्मे, हुर्के अनि यसै संस्कारको प्रधानता रहेको समाजको हिस्सा बनेर बर्तमानमा गुज्रिरहेको छु यति हुदाहुदै पनि मलाई कुनै धर्मप्रति नकारात्मक भाव जागेको छैन र जाग्दैन पनि । आ–आफ्ना प्रभाव क्षेत्र र अनुयायीहरु रहेका हरेक धर्मका सार आखिर अन्त्यमा मानव कल्याण नै हो भन्ने कुरामा कसैको बिमति रहन्न, उसो भए के का लागि मारकाट र के का लागि तछाडमछाड ? इस्यु महत्वपूर्ण भएपनि आज मेरो बिषयबस्तु कुनै धार्मिक कचिंगलको कारण, समाधान र अमुक धर्मको सारलाई खोज्नु नभई एक पागल प्रेमीको जीवनमा घटित घटनाको लघु रुपान्तरणको संक्षिप्त कथन हो । खलपात्रको जिम्मेवारी हिन्दु ग्रन्थहरुमा उल्लेखित पात्र ताराकासुरलाई दिएको छु, हिन्दु दर्शन यसै पनि सर्वप्राचीन र धनी मानिन्छ । मलाई पनि असाध्यै मनपर्छ, श्री स्वस्थानी ब्रतकथा सयौंपटक दोहोर्याई तेह्रयाई पढेको छु, कथामा बर्णित विभिन्न पात्रहरूका भूमिकाबाट प्रभावित पनि छु । तारकासुर त्यसैमा बर्णित एक खलपात्र हो जसमा दानवीय मनोवृत्तीका यथेष्ट प्रमाणहरु बिद्यमान छन् । यही कुरा स्मरण गर्नर गराउन चाहन्छु ।

मेरी उनी अर्थात तिमी
जीवन पनि कस्तो कस्तो जवर्रजस्तीरुपमा निरंतर बिबसतामा गरिएको श्रम जस्तो । कस्तो अचम्म ! कुनै मसालेदार फिल्ममा झैं कहानीलाई ट्वीष्ट गर्न भिलेन छिराए जस्तो । कति निस्वार्थ सम्बन्ध थियो हाम्रो, बिशेषत तिमी सधैं निर्दोष थियौ । लाग्छ, तिमीलाई दोषदिने कुनै गुञ्जायस नै छैन, तिमीले त गरिरह्यौ गरिरह्यौ, निश्चल अनि कंचन प्रेम । वास्तवमा प्रेम निस्वार्थ हुन्छ, स्वार्थमा हिसाब गरेर राखिएको सम्बन्ध त क्षणिक हुन्छ, केवल बाहिरी आकर्षण र बनावटी हुन्छ जसलाई प्रेमको कोटीमा राखेर गणना गर्न सकिंदैन र हुदैन पनि । के मैले बनाएको मानक चाहिँ गलत थियो त ? होइन होइन थिएन, छैन, म कसरी गलत हुनसक्थेँ र ? म त मेरो लक्ष्य उद्वेश्यमा अडिग थिएँ, अझै बेस्सरी नजिक हुने ध्याउन्नमा थिएँ । निरंतर प्रयासरत थिएँ, यसैबीच कुनै भयंकर ताराकासुरको आगमन हुन्छ, ब्रम्हालाई वसमा पारी उ वरदान हासिल गर्न र हामी बीचको दिवार बनी हामीलाई टाढा बनाउन सफल हुन्छ, आजको युगमा ताराकासुर बध गर्न कोही जन्मेकै छैन । जन्मने नै हो भने पनि निकै प्रतीक्षा गर्नुपर्ने हुन्छ, त्यतिन्जेलसम्म म तिम्रो लायक रहन्न सायद । जताततै ताराकासुरकै जीत हुन्छ । तर म निरंतर भगवान्को साधना गरिरहेँ, गरिरहेँ, उहाँ कहिल्यै प्रकट हुनुभएन, आशिर्वाद पनि दिनुभएन, के हाम्रो प्रेम अनि सम्बन्धको लहर यति मै सीमित हुने भयो त ? के हाम्रा अब्यक्त र अतृप्त चाहनाहरुको घाँटी टुसाउन नपाउँदै निमोठिने भए त ? के ताराकासुर बध फरक कोणबाट गर्न नसकिने नै भयो त, कोही छ त कलियुगमा जन्मिएको ?असम्भव कुरा कोही जन्मिएकै छैन । मसँग उसलाई बध गर्नसक्ने सम्मको ल्याकत छँदै छैन, मेरालागि त्यत्रो हिम्मतको जोहो गर्नेपनि कुनै ठाउँ छैन । त्यसैले त भनिदो रहेछ नियती भन्ने हुन्छ र त्यो अत्यन्तै निष्ठुर हुन्छ, आखिर त्यस्तै भयो, जेसुकै होस् तर तिमीले बिर्से पनि म तिमीलाई कहिल्यै भुल्ने छैन, यो बाचा भयो मेरो….।।।.

प्रिय ताराकासुर
म भगवान इन्द्र पनि होइन र मसँग कुनै इन्द्रलोक पनि थिएन र छैन, ऐयासी गर्नका खातिर मसँग स्वप्न बगैंचा र हजारौ अप्सराहरु पनि छैनन् , म त केवल मर्त्यलोकको एक सामान्य मानिस हुँ, म दुखमा जन्मे दुखैमा हुर्के, दुखैमा दौडिदैछु र दुखैमा मर्नेछु । मसँग भएको सर्वश्व उनी थिइन्, त्यही उनीलाई तिमीले आँखा लगायौ, मबाट टाढा बनायौ, उनको बात्सल्य र मायाबाट टाढा गरायौ, आखिर किन ?
मलाई भरोसा त छैन तर बिश्वास छ कुनैपनि कुराको उत्कर्ष पछि त्यो आफसेआफ तल झर्छ कसैले झारिरहनु पर्दैन, ब्रम्हापनि सधैंभरि तिम्रा रहिरहदैनन्, तिम्रा कृयाकलापहरुबाट संतुष्ट हुनेछैनन्,पक्कै एकदिन वरदान फिर्ता माग्नेछन् तिमी पनि झर्नेछौ र पश्चातापको आगोमा दनदन जल्ने छौ । आवेशमा भनिहाले तिम्रो बध होस, तर त्यो मेरो चाहना होइन तिमी हजारौं हजार बर्ष बाँच र बाँचिरहु ।अर्काको छट्पटी, पीडा र मृत्युमा निस्कने अट्टहासलाई रोक, छलकपटमार्फत होइन, निरंतर कर्म र तपस्यामार्फत आफ्ना अभिष्टहरु पूरा गर । चाहन्छौ नै भने उनीलाई पाउन अर्कै जुनीसम्म प्रतीक्षा गर तर यो जुनीमा होइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *