रिबन

डेढ वर्षपछि के चाहन्छन प्रचण्ड,कार्यकारी अध्यक्ष कि प्रधानमन्त्री ?

काठमाडौँ । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता प्रकृया नटुंगिदै प्रधानमन्त्री र कार्यकारी पार्टी अध्यक्षको बारेमा नयाँ बहस शुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बेला पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सञ्चालनमा आलोपालो गर्ने सहमति भएको बताएपछि नयाँ बहस सतहमा आएको हो । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा प्रचण्डले सत्ता र पार्टी सञ्चालन मिलेर गर्ने तथा जिम्मेवारी स्पष्ट हुने गरि आलोपालो गर्ने सहमति भएको बताएपछि कार्यकारी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक विषयको बहस शुरु भएको हो । यसअघि प्रचण्डले यस्तो विषय आफै राख्दैनथे । उनले आफू निकटका कोही नेताहरुलाई अभिव्यक्ति दिन लगाएर बहसलाई सहजीकरण गर्ने गरेका थिए । ‘पार्टी एकताका बेला हामी (म र ओली जी) बीच भएको सहमति लुकेको छैन, त्यो लिखित नै छ । जसमा स्पष्ट रुपमा सत्ता सञ्चालन आलोपालोका आधारमा गर्ने भन्ने उल्लेख छ’, भनेर टेलिभिजन कार्यक्रममा सार्वजनिक गरेपछि नेकपा भित्र केपी ओलीको विकल्पको बारेमा प्रचण्ड रहेको संकेत गरेका छन् । प्रचण्डले थप स्पष्ट पार्दै भनेका छन ‘हामी अहिले पार्टीमा दुई अध्यक्ष छौँ र सत्ताको नेतृत्व उहाँ (ओली जी) ले गर्नु भएको छ । सहमति भएको भए पनि म आफूलाई प्रधानमन्त्री बन्नु पर्छ जस्तो या त्यसको लोभ छैन । जनअपेक्षा अनुसार समृद्धि र विकासका काम भए भने सत्ता ओली जी ले नै पाँच वर्षै चलाउँदा पनि मलाई फरक पर्दैन । तर मेरो भूमिका पनि स्पष्ट चाहिँ हुनु पर्छ ।’ उनले त्यहाँनिर भूमिका स्पष्ट पार्नुपर्छ भनेर पार्टी र सरकारमा ओली हावी भएको स्पष्ट संकेत गरेका छन् । प्रचण्डले भूमिका स्पष्ट भन्दै पार्टी या सत्ताको जिम्मेवारी दुई नेताबिच बाँडफाँड हुनु पर्ने तर्फ स्पष्ट संकेत गरेका छन् । प्रचण्डले भनेका छन, ‘ओली जी ले राम्रो काम गर्दै जानु भयो भने त्यसमा मेरो साथ र समर्थन रहन्छ । सम्झौतामा जे लेखिएको भए पनि म उहाँसँग प्रधानमन्त्री पद चाहियो भन्न जान्नँ । तर मेरो भूमिका पनि स्पष्ट हुनु पर्छ । त्यसबारे पार्टी पंक्तिमा छलफल भइरहेको छ ।’ उनले थप स्पष्ट पारेका छन, ‘सम्झौता प्रति सबै इमान्दार भने रहनु पर्छ । ओली जी पनि सम्झौता अनुसार सत्ता हस्तान्तरणका लागि तयार हुनु पर्छ, उहाँ हुनुहुन्छ होला पनि ।’ उनले यसअघि पार्टी महाधिवेशनको समेत कुरा गरेर पार्टीभित्र आफ्नो भूमिका खोजेका थिए ।
पार्टीको एकिकरण प्रकृया नसकिदै सत्ता फेरबदलको कुरा उठेको हो । प्रचण्डले आफू पदका लागि मरिहत्ते गर्ने नेता नरहेको बताइरहे पनि पार्टी वा सत्तामा आफ्नो स्पष्ट भूमिकाको खोजी गरेका छन् । उनले भनेका छन्, ‘मलाई स्पष्ट रुपमा पार्टी या सत्ताको जिम्मेवारी हुनु पर्छ । यसले पार्टी तथा देशको हितमा काम गर्छ ।’ उनले आफू जनअपेक्षाका कुरा राख्न नहिचकिच्याउने बताएका छन् । तर जनताका कुरा राख्दा प्रधानमन्त्रीका लागि दाउ गरेको ठान्नेहरु रहेको उनले बताएका छन् । उनले भने, ‘तर मलाई पार्टी र सरकार राम्रोसँग चल्यो भने कुनै आपत्ति छैन ।
मलाई होइन देशलाई फाइदा हुनु पर्छ । देशलाई फाइदा हुने भयो भने पाँचै वर्ष ओली जीले सत्ता चलाउँदा मलाई फरक पर्दैन । तर पार्टीमा भूमिका भने सम्झौता अनुसार नै स्पष्ट हुनु पर्छ ।’ यसो भन्दै गर्दा उनले दुई दिन अघि विराटनगरमा पनि सोही कुरा बताएर आएका थिए । त्यसैगरी कार्लमाक्सको २ सय १ औ जन्मजयन्तीको अवसरका आयोजित कार्यक्रममा उनले आफू गतिशील नेतृत्वको पक्षमा रहेको बताउदै धेरै गरेर मात्रै राजनीतिबाट विश्राम लिने बताएका थिए । उनले त्यतिबेला पनि पार्टीको महाधिवेश एक वर्षभित्र गरिसक्नुपर्ने कुरा उठाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *