भगवती खनाल ‘सुनाखरी’ को माटो बोल्छलाई नियाल्दा

विषय प्रवेश :
इक उम्र कट गई है तेरे इन्तजार में ।
ऐसे भी हैं कि कट न सकी जिसने एक रात ।।
-फिराग गोरखपुरी, फिराग गोरखपुरी पुस्तकबाट ।

चहुँ दिश फूल फुल्यो फूलले बास दीयो ।
मन भ्रमरहरूको त्यस बखत खैचि लीयो ।।
– कविवर मोतीराम भट्टको जीवनीबाट ।

पत्थर नै गाल्न के के गर्नुपर्ला ।
पानीलाई बाल्न के के गर्नुपर्ला ।।

-भगवती खनाल ‘सुनाखरी’, ‘माटो बोल्छ’ बाट ।

आठौँ नवौँ शताब्दीतिर परसियन कविताले संसारलाई प्रभाव पारेको थियो । पछि आएर बाह्रौँ शताब्दीतिर भारतीय परम्परामा साथ दिने कविताको मुहानले नयाँ रूप लियो । धार्मिक मान्यतालाई भन्दा साहित्यिक प्रभुत्वलाई प्रधान्यता दिएर हिन्दू र मुस्लिम दुवैलाई भारतीयहरूले महत्व दिए । परसियन कवि तथा इरानियन कविहरूको देनले भित्र्याएको साहित्यले भारतमा आइपुग्दा राम्रो मलजल पाउन थाल्यो । परसियन, अफगानी तथा इरानियनको प्रभावशाही गतिले उर्दूको परम्परा विकसित हुन पुग्यो ।

दसौँ शताब्दीको इरानियन व्यक्तित्वले Abusaid लाई पहिले परसियन कविको रूपमा मर्यादित गर्न पुगे । रहस्यमय विषयवस्तुको आधार शिला तयार पार्न सक्ने क्षमता उनमा थियो । इरानमा एघारौँ शताब्दीको मध्य भागमा उमर खैयामको व्यक्तित्वलाई फिजराल्डले बुझेर नै उनका कवितालाई अनुवाद गर्न पुगें ।

तेह्रौँ शताब्दीतिर खुसरीले एउटा बाटो तयार पार्ने काम गरें । रूमी तेह्रौँ, हाफिर चौधौँ र सादी बाह्रौँ शताब्दीका प्रख्यात कवि थिए । पर्सियन, इरानी,उर्दू, साहित्यको जंगमले भारती साहित्यमा ठूलो भूमिका खेल्ने मौका पायो । फिजराल्डले उमर खैयामको कवितालाई छन्दमा ढालेर एउटा विशेष रूप दिएकोले नै उमर खैयाम विश्व प्रसिद्ध हुन पुगे । फिजराल्डपछि भारतमा विभिन्न खालका कविहरूको देखासिकीको लहर बढी हाल्यो ।

तेह्रौँ शताब्दीका खुसरी भारतका ठूला परसियन कवि थिए । जसले कविताको क्षेत्रमा एउटा नयाँ बाटो देखाई दिए । यसरी सुरु भएको परम्परा विकसित हुँदै गयो । भारतीय परम्परामा ठूला ठूला व्यक्ति जन्मिए । परसियन तथा इरानीहरूको प्रभाव स्वरूप विभिन्न मोडले साहित्यमा नयाँ नयाँ स्वर देखा परे । जे जस्तो अघि बढे पनि एघारौँ शताब्दीका प्रमुख व्यक्तित्व उमर खैयामको कवितालाई उन्नाइसौँ शताब्दीतिर फिजराल्डले अनुवाद गरेर बाहिर निकालेपछि पश्चिमी जगत्मा हल्ला खल्ला मच्चियो । कविताको भिन्दै रूप अहिलेसम्म पनि जिउँदो भएरै रहेको छ । विभिन्न विद्वानहरु भारतमा जन्मिए गजलको रूपमा देखा परे, सायरीको रूपमा देखा परे । नामको रूपमा देखा परे तर सबैको आधार उमर खैयामको रूवाईमाथि गरिएको अनुवाद नै अडेको छ । यस विषयमा भारतीय परम्पराले आफ्नो बौद्धिकताले परसियन, इरानीका साथै उर्दूको विकासका लागि ठूलो भूमिका खेल्न सफल भएको छ ।

उर्दूमा मुख्य रूपले भारतीहरूले लेखे पनि परसीयन तथा इरानीयनको गन्धले छोइ नै रह्यो । गालिब, इकवाल, मीरहरूले एउटा नयाँ जग खने । इकवालले भारतीय शैलीलाई नै प्राथमिकता दिए । एउटा महत्वपूर्ण पक्ष के हो भने इकवालले विभिन्न किसिमको शैली प्रयोग गरे । साथै समयलाई ध्यान दिएर नयाँ नयाँ बाटो अपनाउनु काम पनि गरे ।

साहित्यको माध्यम दिगो हुन पुग्यो र विकासको क्रम अघि बढ्न सफल भयो । परसियन साहित्यको प्रभाव उर्दू साहित्यमा पनि त्यक्तिकै मात्रामा पुगे तापनि आ–आफ्नो किसिमले नयाँ नयाँ विषयवस्तु र शैलीलाई अपनाउन पछि परेनन् । इरानीयनहरूले उमर खैयामको व्यक्तित्वलाई अघि सारेर आफ्नो प्रभुत्व खोज्ने काम पनि पछिल्लो समयमा सुरु गरिरहेका छन् ।

शैली र छन्दको रूप बस्न थाले हिन्दी साहित्यमा नयाँपन देखा पर्न थाल्यो । गजलको रूपमा बाँधिएका कवितालाई गजल भनिन थालियो । स्वास्नी मान्छेसँग कुराकानी भनिने गजल शैलीले एउटा नियमको आधारमा कविता लेखिनुपर्ने भयो ।

फिजराल्डले पनि नियम बनाएर उमर खैयामको कवितालाई रूवाइमा नामकरण गरे । गजलका दुई Couplet जोडेर चार लाइनको कवितामा ढालिदिए । हिन्दी कविहरूले फिजराल्डको रूवाई शैलीलाई बङ्ग्याएर त्यही रूपमा कविता लेख्न थाले । पहिलो र अन्य जुनसुकै Couplet जोड्ने बित्तिकै चार लाइनको कविता बन्न पुग्यो । नियम छैन । जति अक्षरमा लेखे पनि हुने भयो । स्वतन्त्र अभिव्यक्ति भनेर चिच्याउन थाले । तिनैको नक्कल नेपालीहरूले पनि फिजराल्डलाई मूल मानेर भारतीय कविहरूको अनुकरणमा जेजस्तो लेखे पनि हुने तरिका अपनाउन पुगे । एकातिर गजलको रूप फेरियो भने अर्कोतिर मुक्तक भन्दै गजलको बहरशैली अपनाउन थालियो । कहिले उमर खैयामको नाम लिन्छन् । कहिले हिन्दीका नाम चलेको मुक्तककारहरूको नक्कलमा आफ्नो प्रभुत्व जमाउन सफल भइरहेका छन् । गजल मुख्य रूपमा प्रेम र प्रणयलाई गम्भीर रूपमा हेर्छ । गजलमा अरेबिक, परसियन, इरानी, उर्दू हुँदै हिन्दीमा परिणत हुन पुग्यो ।

नेपाली गजलको इतिहास त्यति लामो छैन । संस्कृतको परम्परा र त्यसपछि त्यसैलाई आधार मानेर कविता लेख्ने चलन निस्कियो । संस्कृत साहित्यले नै प्रभाव पारेको थियो ।

छन्दलाई बढी जोड दिइएकोले लयात्मक कविताको रूप लिँदा केही प्रभाव अवश्य हुन पुग्यो । खास गरेर मोतीराम भट्टले चलाएको आन्दोलन हिन्दी परम्परा र भारतमा प्रभावित गजलले स्थान पाएको थियो । उर्दू र हिन्दीका विशेषज्ञ तथा भारतीय कविहरूको सङ्गतले आफ्नो स्थायित्व राख्न सफल भए ।

फिजराल्डको शैली हिन्दी कविहरूको प्रभावमा शृङ्गारिक मुक्तकहरूको साथै गजलसमेत नेपालमा भित्र्याउने काम गरे । उमर खैयामको प्रभाव राम्रोसँग परेको थियो । मोतीरामले आफ्नै किसिमको मण्डली स्थापना गर्नु र जमघट गराएर छन्दबद्ध रूपमा लिएको कवितामा रस घोल्न सक्नु मोतीराम भट्टको विशेषता हो ।

तर आधार उर्दू र हिन्दी नै बनाए मोतीरामले । परसियन प्रभाव परेको हिन्दीका कविहरूसँग मोतीराम भट्टको उठबस थियो । मोती मण्डलीको नेतृत्व लिएका मोतीरामको प्रभाव तिनीहरूमा पर्नु स्वभाविकै हो । मोतिरामले वि.सं.१९३८ देखि चलाएको अभियानलाई नै आधार मानेर काल विभाजन गर्नेहरू पनि छन् । माध्यामिक काललाई दुई भाकमा बाँड्ने पनि छन् । वि.सं. १९३८ देखि वि.सं. १९६० अर्थात् मोतीराम र उनका मण्डलीदेखि (प्रेमामृत वचन) सम्मका कवि तथा नाटककार पहलमानसिंह स्वाँरसम्मको काल ।

वि.सं. १९६१ देखिको अभियान शम्भुप्रसाद ढुङ्गेलका नेतृत्वमा अघि बढेको देखिन्छ । लेखनाथ, चक्रपाणि चालिसे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ताको संलग्नता देखिन्छ त्यतिखेर । जुन समयलाई शृङ्गारधाराको मध्ययुग मानियो । गजल र छन्द कविताले लेराएका चहलपहल व्यापक देखियो । १९६३ मा निस्केको पहलमान स्वाँरको नाटक प्रसिद्धि पायो । यही कालमा सुक्ति सिन्धु (१९७३) र बालकृष्ण समको नाटक १९८६ ले महत्वपूर्ण भूमिका खेलेको छ ।  माध्यामिक कालको अन्त्य १९८६ मा गएर टुङ्गिन्छ । १९८६ देखि २००७ सम्मको अवस्था मोतीमण्डलीपछिको गजल मोडलाई अघि बढाउने काम भीमनिधि तिवारीबाट भयो ।

भीमनिधि तिवारीले आठ नौ वर्षको उमेरदेखि गजल लेख्न सुरु गरे । उनको गजलमा सैद्धान्तिक ज्ञान थियो । वि.सं. १९९३ मा एक सय दुई थान गजलहरूको सङ्ग्रहको रूपमा ‘बयासी र बीस गजल मेरी’ निकाले । उनले मोतीराम भट्टको गजल लेखन शैलीलाई पछ्याएको देखिन्छ । यसरी उनले शिथिल हुन लागेको गजललाई मलजल गर्ने काम गरे ।

माध्यामिक कालका अर्का प्रतिभा थिए– उपेन्द्रबहादुर जिगर । उनले गजलका संरचनागत मान्यतालाई राम्ररी निर्वाह गरेका थिए । वि.सं. १९९६ मा ‘एक सय एक गजल’ नामक गजल सङ्ग्रह उनको प्रकाशन भयो ।

नेपालका सबैले त्यही भारतीय परम्पराले सिर्जना गरेको परिवेशलाई नै केन्द्रविन्दु बनाएर गजल लेखे । सबै जनालाई एक रूपमा बाँध्ने काम फिजराल्डले अनुवाद गरेको उमर खैयामको रूवाई नै थियो । रूप बदल्ने र मोड्ने क्रम मात्र भयो । २००७ पछि गजलको रूप फे-यो । उमर खैयामको ख्याती नेपालमा खूब भयो । नेपालीमा धेरैले अनुवाद गर्न पुगेँ । नारायणप्रसाद बासकोटाले अभियान चलाए । शङ्कर लामिछानेको प्रभावमा परेका कविहरूले मुक्तकीय रूपमा उमर खैयाम शैली अपनाए । उमर खैयामको दूइवटा couplet जोडेर चार लाइनको कविता फिजराल्डले जसरी बनाएका थिए । त्यसैको अनुकरणमा मुक्तक लेखिन थाल्यो । गजलको राम्रोसित विकसित हुन सकेन । नियममा बाँढिनुपर्ने लेखन गाह्रो मान्नेहरूले बिस्तारै छाड्दै गए । गजललाई महत्व दिनेहरूले गजलको विकृत रूप मुक्तकमा मिसाए अर्थात् ‘बहर’ प्रयोग गर्दा फिजराल्डलाई बदनाम गर्न पुगे । स्वतन्त्रताको नाममा जुनसुकै लाइनमा जति अक्षर राख्ने पनि हुने अवस्थामा पु-याए ।

भारतीय लेखनमा पनि विभिन्न मोड आए पनि एउटा सैद्धान्तिक रूपमा अघि बढेका छन् । उमर खैयामको रूवाईबाट प्रभावित भारतीय व्यक्तित्व हरिवंश राय बच्चनले रूवाई शैलीमा आफ्नो पन आफ्नै तरिकाले दिन सफल भएकाले नै उनको अस्तित्वले विश्वसाहित्यमा प्रभाव पार्न सफल भयो । फिजराल्ड शैलीमा पनि उनले लेखे– त्यस्तै भारतीय गजलकारहरूले परम्परागत शैलीमा अलि परिवर्तनले गजलको विकास गरिरहेकोले अझै गजलको महत्व बढी रहेछ । नाम चलेका भारतीय गजलकारले फिजराल्ड शैलीमा पनि गजल लेखेका छन् । फिजराल्डले प्रत्येक लाइनमा १६ अक्षर राख्ने र तेस्रो लाइनको अगाडि अलिकति ठाउँ छाडेर कविता लेख्ने नियम बनाएका छन् ।

वि.सं.२००७ पछि वच्चन काठमाडौँमा आए । प्रभावशाली व्यक्तित्वको प्रदर्शन गर्न सफल भए । अध्ययन नभएकाहरूले बुझ्न समय लाग्यो । शङ्कर लामिछाने र अन्य विद्वान्हरूले नयाँ गोरेटो खन्ने काम गरे । त्यसमा नारायणप्रसाद बासकोटाको पनि सहकार्य थियो । भीमदर्शन रोका र शङ्कर लामिछानेले बढी मात्रामा अघि बढेकाले यो विकसित हुन पुग्यो । त्यसबेला वच्चनको प्रभावले मुक्तक लेख्ने र प्रकाशित गर्ने अभियान नै चलेको थियो ।

अठारौँ शताब्दीका गालीन, उन्नाइसौँ शताब्दीका इकवाल, अठारौँ शताब्दीका गुलाम अलि, तेह्रौँ शताब्दीको रूमी, चौधौँ शताब्दीको लक्षिकजस्ता व्यक्तिहरूले साहित्यलाई माथि उठाउने काम गरेका हुन् । यिनैको आधारमा नयाँ नयाँ शैली, सिद्धान्त तय हुन पुगेको हो ।

आधारशीला तयार पार्ने काममा यिनीहरूको ठूलो योगदान छ । बिर्सन नसकिने व्यक्तित्वको रूपमा रहेका यिनीहरूको कविता, गजल, मुक्तक आदिलाई विभिन्न नाममा नयाँपन दिएर लेखन प्रकृयालाई विश्वसम्म पु-याउने काम भइरहेकोछ ।

नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । उनले गजल मात्रै लेखिनन्– सिङ्गो कृति नै तयार पारिन् । जसको नाम दिइन् ‘माटो बोल्छ’ । यसभन्दा पहिले उनको ‘छुट्याइएका गुच्छाहरू’ गीतिसङ्ग्रह प्रकाशन भइसकेको हुँदा यो कृति दोस्रो हो । कृतिमा रहेका गजलहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित गरी जम्मा एक सय एक थानका साथै अधिकांश गजल पाँच शेरमा लेखिएको छ । गजल लेख्दा पाँच देखि ११ शेरसम्म रहन्छ । दुईवटा पङ्क्तिको एउटा शेर हुन्छ । प्रायः जसो गजलहरूमा बिजोड शेर रहेको हुन्छ । गजल एउटा पद्यात्मक विधा हो । गजल नेपालको भूमिमा जन्मेको होइन । हुन त हाइकु, ताङ्का, सेदोका, मण्डा, मुक्तक, सिजो जस्ता पनि अन्य देशबाट हाम्रो देशमा आयतीत नै हो । तर पनि यी सबै विधालाई सम्मान गरिसक्यौँ । त्यसो त नेपाली साहित्यमा गजल विधाले महत्वपूर्ण भइसकेको छ । मोतीराम भट्टको युग वि.सं. १९४० लाई मान्ने हो भने नेपाली गजलले !#^ वर्ष पार गरिसकेको छ ।

यस सङ्ग्रहका गजलहरूमा अधिकांश प्रेम प्रणयका अभिव्यक्ति पाइन्छ । यस अतिरिक्त गजलमा राष्ट्रप्रेम, सामाजिक विकृति विसङ्गति, अन्याय अत्याचार, रिसराग, सुखदुःख, हर्ष, विस्मात, सङ्घर्ष, पीडा, संयोग, वियोग, कला संस्कृति, व्यङ्ग्य चेत, विचलन, गरिबी, अपराध, मनोवेदना, मानवीय मूल्य र मान्यता, कुण्ठा, शोषण, सहानुभूति जस्ता अनेक बिम्बहरूको सार्थक सृजना गरेकी छन् ।

वि.सं. २०४३ असार ७ मा स्थानीय विदुर नगरपालिका वडा नं. ८ क्यौरिनी, नुवाकोटमा पिता प्रेमबहादुर खनाल र माता मानकुमारी खनालको कोखबाट जन्मिएकी कवि खनाल पेसागत हिसाबले शिक्षण पेसामा आबद्ध छिन् । बँचेखुचेको समय साहित्य क्षेत्रमा दिलचश्वी राख्दै आएकी छन् । विभिन्न रचना वाचन कार्यक्रममा उनको मीठो स्वरमा गाएको गजलले सबैको मन खिच्दछ । उनी नुवाकोट साहित्य प्रतिष्ठान, महिला अभियान सञ्जाल, साहित्य समाज, सेतो गुराँसजस्ता सामाजिक संस्थामा आबद्ध रहेकी छन् । नेपाली वाङ्मयलाई समृद्ध तुल्याउन प्रयत्नशील भएर लागेकी भगवतीका गजलहरू शक्तिशाली देखिन्छ । रचना सृजना गर्नु सर्जकमा भर पर्ने कुरा हो । भन्ने नै हो भने रचना सिर्जना गर्नु जोखिम मोल्नु नै हो ।

उनले समसामयिक विषयवस्तु र आफ्नो मनमा उब्जिएका भावनाहरूलाई गजलमा शब्द संयोजन सम्प्रेप्य, चित्ताकर्षक र जीवन्त लाग्छ । थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिन्छ गजलमा । पहिलो शेर र दोस्रो पङ्क्तिबीच पारस्परिक सम्बन्ध हुनै पर्छ । अझ मतला, मुक्ता, रदिफ, काफिया र तखल्लुस जस्ता गजलका आधारभूत व्याकरण हुन् । गजलमा रदिफको खासै आवश्यकता पर्दैन । रदिफबिना पनि गजल लेख्न सकिन्छ । तर काफियाबिना गजल हुँदैन तथापि यसका अलवा लय, भाव, अलङ्कार प्रतीक आदिको संयोजन गर्नुपर्दछ । यसप्रति गजलकार भगवती सफल भएको देखिन्छ ।

नेपाल भौगोलिक वनोटमा विविधता छ । हिमाल, पहाड र तराई विभाजित भूगोलको दृश्यको अनुभूतले मनलाई नै शान्त तुल्याउँछ । सेताम्ये देखिने हिमालका टाकुरा नेपाल र नेपालीको शिरझैँ अटल रहेको छ । बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुका साथै प्रशस्तै मात्रामा पानीका स्रोत पाइने हिमाली भेग वरदान सावित भएको छ । दुर्गम र विकटताका कारणले गर्दा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन तुलनात्मक रूपमा कष्टकर देखिन्छ । पहाडी र तराई क्षेत्रमा भन्ने जमिनको सहजताले गर्दा जीवनक्रम सुखद देखिन्छ । हाम्रो देशको आम्दानीको प्रमुख स्रोतको रूपमा कृषिलाई नै लिइँदै आएको छ । वैज्ञानिक ढङ्गले उत्पादित उब्जनीको आयस्रोतमा वृद्धि भएको छ । पहाडी र तराई क्षेत्रका जमिन मोती फल्ने वरदान सावित भएको छ । पानी नै पानीले भरिभराउ हुने मुलुक नेपाल । पर्याप्त मात्रामा पानीको सदुपयोग हुन सकेको छैन । अधिकांश पानी बगेर अन्य देशमा गएको टुलुटुली हेर्न बाध्य भएका छौँ हामी । तसर्थ उनले राज्य पक्षलाई सोच्नबाध्य बनाउनका लागि गजल यस्तो लेखेका छन्:

हिमाल सब शिर भए
यो पहाड तक्दिर भए ।।
तराईको झन् के पीर
हो मोतीको मन्दिर भए ।।

विश्वको मानचित्रमा सानो मुलुक हो हाम्रो देश । अशिक्षा र गरिबीको कारणले मुलुकले सही ढङ्गले गति लिन सकेको छैन । गरिबी र बेरोजगारीका कारण नागरिकको आम्दानीका स्रोत नगण्य देखिन्छ । जीवन गुजारा चलाउन नै धौधौ परेको छ । यिनै दीनदुःखी र सोझा जनता नै अन्ततः राजनैतिक दलको ढाल बन्न बाध्य भएका छन् । अविकसित देश भएका कारण राजनीति स्थिर हुने करै भएन । राज्य सञ्चालन गर्न बनेका नियम कानुन सही रूपमा कार्वान्वयन हुन सकेको छैन । जनतामा आक्रोश त्यतिकै छ । च्याउसरि उम्रेका छन् राजनैतिक दल । व्यक्तिगत र पार्टीगत स्वार्थमा सीमित भएका छन् राजनीति गर्नेहरू । बोलेका कुरा पूरा गर्न नसक्ने राजनैतिक दलका नेता नै नागरिकहरूबाट तिरस्कृत हुन बाध्य भएका छन् भन्ने भाव:

नेताहरूले आश्वासन छरेर गएछन्
आस गर्दागर्दै लौ जनता मरेर गएछन् ।।

 

जति आए आफ्नै मात्र पेट भरेर गएछन्
मेरो मौलिक अधिकार नखोसिदेऊ भन्दा

हामी बाँचेको समाज साँघुरिएको छ चिन्तन–मननका हिसाबले । यही समाजमा व्याप्त विडम्बना र विसङ्गतिहरूलाई गजलमार्फतबाट यसरी अभिव्यक्त गर्न खोजिएको छ:

मान्छेले मान्छेलाई धेरै डसिरहेछ रे
मानवता दलदलमा खसिरहेछ रे ।।

 

उभिन खोज्नेलाई लडाउँछन् सबैले
जो उभियो झन् जालमा फसिरहेछ रे ।।

 

मान्छेबीच मान्छे छान्नै गाह्रो
हेरे मानवता धान्नै गाह्रो ।।

 

सबै बाँचौँ भन्ने मन भेटिँदैन
एकलकाटे सोच मान्नै गाह्रो ।।

राज्य सबैको साझा हो । राज्यलाई दुख्दा सबै नागरिकलाई दुख्नुपर्छ । राज्यलाई सङ्कट परेको खण्डमा सबै जुट्नुपर्छ । राज्य अभिभावक हो । राज्यबाट सञ्चालित सबै समान र सर्वमान्य हुनुपर्दछ । जब राज्यबाट जनता शोषित हुन्छ तब विद्रोह गर्न बाध्य हुन्छन् जनताहरू । हो हाम्रो मुलुकमा पनि यस्तै घटनाक्रम जोडियो । निरङ्कुश पञ्चायती व्यवस्थाको जनभावना विपरीतको गतिविधिले गर्दा जनआन्दोलन २०४६ ले प्रजातन्त्र प्राप्त भयो । छोटो समयमा राजसंस्थाले निरङ्कुशता लाड्ने क्रम भयो । राजनैतिक दलहरू विरोधमा लाग्न थाले । हत्या हिंसाले प्रशय पायो । आफू-आफूबीच भएको द्वन्द्वले कोही कसैलाई फाइदा नहुने तसर्थ मिलेर नै समस्या सुल्झाउन सकिने भाव गजलमार्फत उहाँ यसरी व्यक्त गर्नुहुन्छ:

बाँच्ने कसरी देश दुखाएर हामी ।
यो आफ्नै शिर सब झुकाएर हामी ।।

सक्दैनौँ हामी जिउन कतै बेग्लाबेग्लै ।
नेपाली पहिचान लुकाएर हामी ।।

स्वतन्त्रताका लागि सहिदहरूले हाँसी हाँसी आफूलाई बलिदानी दिए । ती वीर सहिदको सपनामाथि कुठाराघात गर्न किञ्चित हुँदैन:

सहिदका बलिदान बेचेर खाँदैछन्
आफ्नै ती आँखा कान बेचेर खाँदैछन् ।।

हिजो पुर्खाले दुःखले आर्जेको भूमि यो
आज गर्दै तानातान बेचेर खाँदैछन् ।।

फूल रोपेर घर सजाउनेहरूले
हेर फूलको बगान बेचेर खाँदैछन् ।।

जीवनको गति अनौठो हुन्छ । एक्लै बस्न सक्दिनन् उनी, बस्न खोजे पनि । उमेर र वातावरणले मानिसलाई कहाँ पु¥याउँछ भन्न सकिँदैन । त्यो हरियाली देखेर उनी मुग्ध हुन्छिन् । त्यही छायाँमा आफ्नो जीवन गति सरल किसिमले बगिरहोस् भन्ने कल्पना गर्न पनि बिर्सिंदिनन् उनी । कल्पना गर्दा गर्दै उनका सपनाहरू ताजा भएर आफ्नो आँखा अगाडि घुमिरहँदा उनको मन आत्तिन थाल्छ । आफूले सम्झेको मान्छेले आफैलाई धोका दिएको कुरा उनको आँखाअगाडि नाच्न थाल्छ । त्यतिले नपुगेर अझ आशामा चुर्लुम्म डुबाएर अझै आफ्नो प्रेम ताजा बनाउने सपना देख्छिन् ।

रात त्यति हो कहिले सम्झना दिलाउँछ कहिले झुन्ड्याएर निराशामा परिणत गरिदिन्छ । अनि सम्झना जिस्किँदै गरेका वाचाहरू र त्यसैमा अल्पिन थाल्छ । अनौठो लाग्ने जीवन सम्झना पुग्दा भगवती खनाल सुनाखरीको गजलहरूले यसरी झस्काऊन पुग्छ:

माया गर्दागर्दै कतै थाके नभन्नू नि
तिमी सहर मलाई पाखे नभन्नू नि ।।

 

जल्यो भने यो मुटु अझै तेल थपे
दिनरात शरीर बाल्ने चिन्न गाह्रो हुन्छ ।।

 

आराम गर्छन् आँखाले रात परेपछि
चोट थपी निद पूरा भगाउँछ छाड ।।

 

आगो हो त्यो पोल्छ भन्ने थाहा हुँदाहुँदै
फेरि छाती जलाउन लौ टाँस्ने कसोगरी ।।

मान्छे एक विवेकशील सजीव प्राणी हो । हाम्रा सामु पहाडजस्तै दैनिकी बनिदिन्छन्– आपत्तिहरू । माटो बोल्छ जस्ता पीरहरू लिएर बाँचुन्जेल समस्यासँग जुध्दै बाँचिन्छ कालान्तरसम्म । जिन्दगीको यात्रामा यावत कुरा सिकिन्छ आफ्नो परिवेशबाट । जित मात्रै होइन जिन्दगी । हारेर पनि जितिने खेलचक्र हो जिन्दगी । अनुभव बटुल्दै जाँदा आफूमा परिपक्कता भएको महसुस गर्न नपाउँदै मातेर जिस्काउँछन् पीरहरूले । यसरी जीवित रहनुको सार्थक तुल्याउनका लागि सचेत भइ लाग्नुपर्ने आभास दिन्छन्:

मुटु धमनी जोगाउन मुश्किल
हरदिन गनी जोगाउन मुश्किल ।।

मेरो घरको ढोकै अगाडि सिमानामा
गरिब धनी जोगाउन मुश्किल ।।

चोरैचोर दुनियाँमा मन आफैसँग
हो सज्जन बनी जोगाउन मुश्किल ।।

अभिव्यक्ति विभिन्न रूप र शैलीबाट निस्किन्छ । गजलको एउटा परम्परा साहित्यमा देखा प-यो । विभिन्न अवस्थामा विभिन्न रूपको गजल निस्किन थाल्दा यसका मोडहरू पनि फरक हुन थाले । कवितात्मक रूपमा लयपूर्ण रसिलो आवाजले मुग्ध पार्ने काम पनि भयो । प्रेम गर्ने वाहना, कुरा गर्ने तरिका र आफ्नो दिलभित्र लुकाएको प्रेमलाई सजिलैसँग खुलेर भन्ने अवस्था पनि तयार पार्ने काम गजलले सुरु ग-यो । नाच्दै, जिस्किँदा, टासिँदैको क्षणले जन्माएको प्रेमको टुसो पनि देखापर्छ । ओइलिएर जान पनि सक्छ । मौलाएर आकाश हुन पनि पुग्छ । गफ गर्दागर्दै के के हुन्छ ? के हो । आँखा निहुरिन सक्छ त्यही आँखाले आँसु पनि झर्न सक्छ:

मुटु लुटी फरार हुने दाउमा रैछो क्यारे
तिमी पनि पुरानो त्यही घाउमा रैछौ क्यारे ।।

 

विन्ती अब माया धेरै बढाउन छाड
घरीघरी मेरै बलि चढाउन छाड ।।

 

के के भयो पत्तै पाइनँ मैले
हिजोअस्तिभन्दा आज रमाइलो ।।

कृतिमा समावेश भएका प्रायः जसो गजलमा रदिफ र काफियाको संयोजन ठीक ढङ्गले भएका छन् । जस्तै ः

तिमी एउटा हात बन्नू, अर्को हात बनुँला
फूलैफूल बने तिमी, हो फेरि पात बनुँला ।।

गजलकार भगवती खनाल सुनाखरीले लज्जिद जिन्दगी भावमा गएर अन्ततः गजलको बिट मारेकी छन् । पक्कै पनि हामी बाँचेको समाज विचित्रको छ । भनिन्छ– बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल बिक्दैन यहाँ । समाज र राष्ट्रको सर्वोपरी हित ठानी कर्मशील व्यक्तिको मान सम्मान हुन सकेको छैन । आफू जलेर अर्कालाई उज्यालो दिने व्यक्ति सधैँ जसो ओझेलमा परेका हुन्छन् । व्याप्त विकृति र विसङ्गतिले समाज नै घृणित बनाएको छ । स्वार्थको आलमा चुर्लुम डुब्नेहरूको रवैयाले गर्दा समाजलाई नै लज्जित तुल्याएको छ । त्यसैले समाज परिवर्तनका लागि असल र खराब छुट्याउन सक्नुपर्छ:

रात बितेर उज्यालो छायो
तर खै न्यानो घाम मिल्दैन ।।

जो माटोकै निम्ति यो यहाँ
उसलाई सलाम मिल्दैन ।।

अन्तमा, नवपुस्ताका क्रियाशील गजलकार भगवती खनाल ‘सुनाखरी’को नूतन गजलहरूको सङ्ग्रह ‘माटो बोल्छ’ राम्रो छ, पठनीय छ । त्रुटि छनैनै भन्ने चाहिँ होइन । उनको अघिल्लो कृतिले जस्तै यो कृतिले पूर्ण सफलता पाउने छ भन्ने कुरामा म विश्वस्त छु । सदैव भाषागत र नियमगत रूपमा गजलहरू लेखिँदै जाओस् । यस्तै र अझ सुन्दर गजलका कृतिका साथै अन्य साहित्यिक कृतिहरू प्रकाशन हुँदै जाओस् । उत्तरोत्तर प्रगति र शुभकामना !

Share
  • 192
    Shares

One Reply to “भगवती खनाल ‘सुनाखरी’ को माटो बोल्छलाई नियाल्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *