फिचर

दश हजार रिक्सा व्यवसायी संकटमा

 

कैलाली । यहाँका रिक्सा चालकलाई आफ्नो व्यवसाय गर्न नपाएपछि हातमुख जोर्न धौ धौ भएको छ । उनीहरु चार महिनादेखि घरमै थन्किएका छन् । रिक्सा चलाउन नपाए पछि रिक्सा व्यवसायी चिन्तामा परेका छन्। सिद्धि विनायक यातायात प्रालि टीकापुरका महासचिव रामशरण रेग्मीका अनुसार कैलालीमा झण्डै १० हजार रिक्सा व्यवसायी आम्दानी गर्नबाट बञ्चित भएका छन् । उनीहरुको रोजिरोटी सङ्कटमा परेको छ । ‘रिक्सा चलाउन खोजे पनि यात्रु अभाव छ’ रेग्मीले भने ।

कोरोना भाइरस सङ्क्रमणले अझै कति महिना रिक्सा व्यवसाय ठप्प रहने हो एकिन छैन । लकडाउनका कारण यात्रु घरमै कैद छन् । जानकी गाउँपालिका–६ का मङ्गल चौधरीले गत वर्ष माघमा इरिक्सा किने पनि अचेल घरमै थन्क्याउनु परेको पीडा सुनाउँछन् । छ लाख २२ हजार रुपैयाँ ऋण गरेर रिक्सा किनेका उनले दुई महिना पनि चलाउन पाएनन् । असार लागेदेखि रिक्सा चलाउन त खोजे तर यात्रु अभावका कारण फेरी घरमै थन्क्याउनु प¥यो । ऋणमा गरेर किनेको रिक्साको ब्याज र किस्ता तिर्न उनलाई समस्या भएको छ ।

यस्तै जानकी गाउँपालिकाकै रवीन्द्र नेपाली पनि यात्रु अभावले रिक्सा चलाउन नपाएको बताउँछन् । ऋण तिर्न र परिवार पाल्न उनलाई निकै सकस भएको छ । अब नेपालीको परिवारलाई भोकमरीको चिन्ताले सताउन थालेको छ । यस्तै दुई वर्षदेखि रिक्सा चलाउँदै आएका राजकुमार चौधरी लकडाउनका कारण ऋणमा डुब्दै गएको बताउँछन् । तीन महिनामा ५० हजार रुपैयाँ ऋण लागेको उनले पीडा सुनाए । रिक्सा चालक इन्द्र विक पेशाबाट विस्थापित हुने अवस्था आएको बताउँछन् । रिक्सा व्यवसायीलाई ऋण मिनाहाका लागि स्थानीय सरकारलाई अनुरोध गरेको रेग्मीले बताए । ब्याज मिनाहा नभए पेशाबाट विस्थापित हुने डर छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *