पहिरोको जोखिममा रहेका सिसुवाका पीडित सुरक्षित स्थानमा

 

सङ्खुवासभा । सिलिचोङ गाउँपालिका–१ सिसुवा बेसिन्दाका पहिरोको उच्च जोखिम परेका ७३ घरलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोको उच्च जोखिम भएपछि सो गाउँका ७३ घरपरिवारलाई सिसुवाखोला नजिकैको चित्रेडाँडामा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । उनीहरुलाई पहिरोले कुनै पनि बेला लान सक्ने खतरा भएपछि सुरक्षाकर्मीले सुरक्षित रूपमा सारेको हो ।

पहिरोबाट बेपत्ता भएका ११ जनाको खोजीमा अहिले स्थानीयवासी, प्रहरी चौकी ताम्कु र प्रहरी चौकी सिसुवा र ताम्कुबाट गएको नेपाली सेना जुटेको छ । कोही पनि फेला परेका छैनन् । पहिरोले उद्धारमा खटिएका मदन राईको घटनास्थलमै मृत्यु भएको छ । विस्थापित भएका परिवारलाई राहत सामग्री लिएर इटहरीबाट जान लागेको सेनाको हेलिकप्टर मौसम खराब भएपछि रोकिएको छ । अहिले पनि त्यस क्षेत्रमा निरन्तर पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाले उद्धारका लागि सदरमुकाम खाँदबारीबाट हिँडेका ६० सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन् । उद्धार तथा बेपत्ताको खोजीकार्यका लागि सेनाले विपद् व्यवस्थापनको सामग्रीसहित ३० जनाको टोली खटाएको छ भने जनपद प्रहरी १५ र सशस्त्र प्रहरी १५ घटनास्थलतर्फ लागेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट एक दिन टाढा पर्छ । यातायातका साधन नचल्ने भएकाले प्रहरी हिँडेरै घटनास्थलतर्फ लागेको हो ।

Share
  • 5
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *