रिबन

दुई अध्यक्ष ओली दाहालबीच चार दिनदेखि बोलचाल बन्द

 काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षबीच चार दिनदेखि बोलचाल बन्द भएको छ । पार्टीभित्र चर्किएको विवाद मिलाउन जुट्नुपर्ने नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बोलचाल बन्द भएको हो । दुवै संवादहीनताको अवस्थामा पुगेपछि दाहाल चितवन पुगे भने ओली वालुवाटारमा आफू पक्षका नेताहरुसँग छलफलमा रहेका छन् ।

स्थायी कमिटी बैठक साउन दुई गतेसम्म स्थगित गरिएपछि दुई अध्यक्षबीच विवाद समाधानको विषयमा छलफल बन्द गरी दुई नेता दुई तिर लागेका हुन् । दाहाल आफ्नै गृहजिल्लामा लागेका छन् भने ओली बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपका कारण सरकारी काममा व्यस्त रहेका छन् । दाहाल गृहजिल्लाबाट आज साँझ फर्कने कार्यक्रम छ । दाहाल फर्केपछि उनीहरुबीच कुराकानी हुने संभावना रहेको छ । यद्ययि दाहाल चितवन पुगेर पार्टी फूट्न नदिने संकेत गरेका छन् । ओली भने प्रतिकृया विहिन छन् । २६ गते अघिसम्म प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच दैनिक छलफल हुँदै आएको थियो । यो बीचमा कार्यकर्तालाई राहत तथा उद्धारमा खटिन निर्देशन दिएको नेकपाले शीर्ष तहमा भने छलफल र संवादमार्फत पार्टी भित्रको विवाद समाधान गर्ने बताएको थियो । असार २६ गते स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर ओलीले राष्ट्रको नाममा सम्बोधन गरेर नेता कार्यकर्तालाई उद्धारमा खट्न निर्देशन दिए भने पार्टीको आन्तरिक विवाद भएकाले सरकारको काम प्रभावित नहुने समेत बताए । मुलुकका विभिन्न स्थानमा बाढी पहिलोका कारण जनधनको क्षति हुन थालेपछि त्यसैलाई आधार मानेर नेकपाले साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित गरेको थियो । पछिल्लो समयमा नेकपाभित्रको आन्तरिक विवाद बढ्दै जाँदा स्थायी कमिटी बैठक स्थगित गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दैनिकजसो छलफल हुँदै आएका थिए। तर २६ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच संवाद हुन सकेको छैन ।

असार १० गतेदेखि सुरु भएको नेकपा स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आफूलाई भारतले हटाउन खोजको भन्ने अभिव्यक्ति दिएपछि विवाद उत्कर्षमा पुगेको थियो । प्रधानमन्त्री ओलीले संसदका बजेट अधिवेशन अन्त्य गरेपछि पार्टी विभाजनको संघारमा पुगेको नेताहरुले बताएका थिए ।

त्यसपछि दोस्रो तहका नेताहरुले एकताका लागि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन । स्थायी कमिटी बैठक स्थगित गर्दै दुई अध्यक्षबीच सहमतिको प्रयास भइरहेको बेला पछिल्लो समय संवादहीनताको अवस्था आएको हो । नेकपा स्थायी कमिटी सदस्यहरुले दुई अध्यक्षबीचको छलफल सकारात्मक भएको र अब निकास निस्किने दिशामा अगाडि बढेको बताइरहेका बेला उनीहरुबीच बोलचाल नै बन्द भएको अवस्थामा छलफल कसरी सकारात्मक भयो भन्ने बारेमा कसैले केही बताउन चाहेका छैनन । प्रधानमन्त्री एवं पार्टीअध्यक्ष केपी ओलीको कार्यशैलीलाई लिएर तीव्र विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले भेटघाटलाई तीव्र बनाएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *