वीपीको दूरदर्शिता, आजको राजनीति र नेपाली कांग्रेस

अहिले नेपालमा अभ्यास गरिएको शासन व्यवस्थाको प्रणेता वीपी कोइराला हुनुहुन्थ्यो । नेपालको स्वाधिनता र स्वतन्त्रता अनि नेपाली जनताको मुक्तिका लागि वीपी कोइरालाले गरेको त्याग, तपस्या र योगदान नेपाली राजनीतिक इतिहासमा मात्र होइन, विश्वको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा स्वर्णिम अक्षरले लेखिएको छ, लेखिदै जानेछ । वैचारिक स्पष्टता तथा बौद्धिकताको दृष्टिले उच्च र अब्बल राजनीतिक नेतृत्व एवम् व्यक्तित्वका धनी वीपी साहित्यिक मात्र होइन, दार्शानिक रुपमा पनि सुपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । समाजका हरेक विषयलाई गम्भीर किसिमले अध्ययन र विश्लेषण गरी अरुलाई छलफलमा, लेखनमा र अभिव्यक्तिमा उतार्न सक्ने असाधारण क्षमताकै कारण वीपी कोइराला सर्वकालिक व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । नेपाली राजनीतिका सन्दर्भमा त वीपीलाई अलग गरेर नेपालको राजनीतिको कखरा नै लेख्न सकिँदैन, बुझ्न सकिँदैन ।

ज्यादै सम्पन्न परिवारमा जन्मिएर पनि वीपी कोइरालाले असाध्यै विपन्ता र अभावको जीवन जिउनु परेको थियो । भारतको बेतिया, बनारस, पटना, कोलकत्तालगायतका स्थानमा रहेर अध्ययन गर्दादेखि राजनीतिक यात्रामा र संघर्षमा रहँदासम्म भोग्नु परेको पीडा र कठिनाइ दर्दनाक पाइन्छ । तथापि वीपीले कहिल्यै हिनताबोध महसुस गरेको देखिँदैन । उच्च मनबोलका साथ बाल्यकालमा अध्ययन, संघर्षकालमा संघर्ष र संयमता अपनाएका दर्जनौं उदाहरण पाइन्छ । कहिल्यै पनि विचलित नहुने निडर र साहसिक वीपी कोइरालाले विभिन्न कालखण्डमा व्यहोर्नुपरेको अपमान र यातनालाई समेत सामान्य रुपमा लिएको उहाँका विभिन्न ग्रन्थ तथा घटनाक्रमहरुबाट बुझन् सकिन्छ । अभावको समयमा आमाले बनाएर दिएको खोले पनि मिष्ठान्न भोजनको रुपमा ग्रहण गरिएको होस् वा भाइ हरिहरको निधन हुँदा पिताजी नभएको समयमा कात्रो किन्ने पैसासमेत नभएको समयलाई वीपी कोइराला र उहाँको परिवारले वरण गरेको पाइन्छ । त्यस्ता अत्यन्त दर्दनाक घटनामा समेत वीपी कोइरालाको आस्था, विश्वास, समर्पण र संकल्प कहिकतै धरमराएको छैन । परिवर्तन र प्रगतिको चाहना र प्राप्तिप्रतिको विश्वास र प्रतिबद्धता अटल भएको देखिन्छ ।
त्यस्तो कठोर अवस्था गुजार्दै नेपालको राजनीतिक परिवर्तनको यात्रामा होमिएको वीपी कोइरालाको व्यक्तित्व धेरै निखारिएको थियो । आफ्नो लक्ष्य र उद्देश्यप्रति केन्द्रित भएर देशको भूराजनीतिक अवस्थासमेतलाई मध्यनजर राखी भारतको स्वतन्त्रता आन्दोलनमा सरिक भइ जेल जीवनसमेत व्यहोरेका कोइरालाले भारतको स्वतन्त्रताले नेपालको परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने आंकलन गर्दा नेपालीहरुलाई परिवर्तनका लागि एकताबद्ध गराउने भूमिका निर्वाह गरेको पाइन्छ । आफ्नो विचार र धारणामा स्पष्ट भएर सहयोगको लागि अपिल गर्न सक्ने क्षमताले गर्दा नै वीपी कोइरालालाई उहाँको समकक्षीहरुले अति सम्मान र आदार गर्ने र उहाँको धारणा एवम् विचारलाई गम्भीरताका साथ ग्रहण गर्ने परिस्थिति बनेको देखिन्छ । नेपालको परिवर्तन किन र केका लागि भन्ने स्पष्ट अवधारणा बनाउन सक्ने कोइरालासँग नेपालप्रति गलत धारणा राख्ने भारतीय नेताहरु संशकित हुने गरेका थिए भने नेपालमा शासन गरिरहेका राणा तथा शाह आ–आफ्नो समयमा वीपीलाई भन्दा अरु व्यक्तिहरुलाई रुचाउथे र त्यही किसिमको प्रयास गर्थे भन्ने कुरा विभिन्न घटनाक्रम एवम् दस्तावेजबाट पुष्टि हुन्छ । वीपी कोइरालाको सक्षमतादेखि डराएर कमजोर मानिसको पक्षमा २००७ सालको क्रान्तिपश्चात राणा र राजाहरु क्रियाशील भएको देखिन्छ । राजा शाह दरबार मात्र होइन, नेपालको राजनीतिमा सुक्ष्म व्यवस्थापन गरिरहेको भारत पनि वीपीभन्दा अन्य व्यक्तिहरु आफ्नो लागि अनुकूल हुने महसुस गर्दा त्यही अनुरुपको गतिविधि गरिरहन्थ्यो ।

वीपी नेपालको उन्नति र प्रगतिको स्पष्ट खाकासहित प्रस्तुत हुनुभएकोले स्वार्थी शासक, अनुकूल समयको पर्खाइमा रहेको छिमेकी तथा अन्य शक्तिकेन्द्र उहाँलाई असफल बनाउन अनेक तानाबाना बुनिरहन्थ्यो । त्यही नाताबानाका कारण नेपालले आफ्नो लक्ष्य ठम्याउन अझै सकिरहेको छैन । अहिले त आफ्नो स्वार्थका खातिर देशलाई नै बन्धन बनाउन पछि नपर्ने व्यक्तिहरु राजनीतिमा स्थापित हुँदै गएका छन् । स्वार्थ समूह हाबी भएको छ । सत्ताका लागि जुनसुकै शक्तिसँग जस्तोसुकै सम्झौता गर्ने प्रवृत्ति हाबी भएको देखिन्छ । कुन उद्देश्यका लागि सत्तामा जाने भन्ने सोच नै नभएका आफ्ना निजी र व्यक्तिगत फाइदाका लागि सोच्नेहरु मात्र छन् । जसले गर्दा नेपाली राजनीति विकृत बन्दै गएको छ, नेपाली जनताको आस्था, विश्वास र भरोसा नै धरमराएको छ । अग्रणी राजनीतिज्ञ वीपीले प्रतिपादन गरेको सिद्धान्त र विचारका आधारमा शासन व्यवस्था सञ्चालित छ । लोकतान्त्रिक मूल्य पद्धतिमा आधारित भएर संविधान बनेको छ । तर सत्तामा (सरकार) कम्युनिष्ट छन् । व्यवस्था लोकतान्त्रिक सत्तामा कम्युनिष्ट हुँदा व्यवस्था नै अन्तरविरोध देखिएको छ । नेपाली कांगे्रसले लिएको सिद्धान्त बमोजिम संविधान बनेको छ, तर कांगे्रस पार्टी कमजोर असफल प्रतिपक्षको रुपमा रहेको महसुस सर्वत्र गरिन्छ । यसले गर्दा नै नेपाली जनताको शासन व्यवस्थाप्रतिको आस्था र विश्वास टुट्दै गएको छ । वीपी कोइरालाले बनाएको पार्टी नेपाली कांगे्रसले यस बीचमा लिएको नीति र गरेको व्यवहारिक कारण कम्युनिष्टहरुले उठाएका हुन् । वैकल्पिक शक्तिको रुपमा लोकतन्त्रवादीहरु नै रहेको भए यति धेरै अन्तरविरोध एवम् विरोधाभास देखिने थिएन होला ।

नेपालको भूराजनीतिक अवस्थाप्रति वीपी गम्भीर र सम्वेदनशील भएर प्रस्तुत हुनुभएकाले नै सम्बन्धहरु सन्तुलित थिए । सगरमाथाको विवाद सुल्झाउँदा होस वा भारतीय गतिविधिलाई नियन्त्रण गर्दा होस् नेपालको सम्वेदनशीललाई ख्याल गरेर छिमेकीहरुसँग संवाद गर्न सक्ने क्षमता राख्नुहुन्थ्यो र समस्याको समाधान पनि दिनुहुन्थ्यो । अहिलेको अवस्थाले त्यस्तै दूरदर्शी र क्षमतावान नेतृत्वको अभाव महसुस गरेको छ । प्रतिक्रियात्मक राजनीतिले दुर्घटना निम्त्याउने त्राशले नेपाली जनतालाई सताएको छ । सुधारको सम्भावना नै छैन । सत्तासीनहरुका बीचमा देखिएको विवाद र द्वान्दले परिवर्तन पश्चात बनेका संस्थाहरुलाई विवादमा तान्ने काम गरेको छ । राष्ट्रिपतिको भूमिका र सत्तारुढ दलले देखाएको चरित्रले ति तटस्थ संस्था एवं राष्ट्रिय एकता प्रवर्दन गर्नु पर्ने संस्थाहरु बदनाम र कमजोर भएको देखिन्छ । यस्तो घटना र समयले वीपी कोइराला जस्तो क्षमता र दृष्टिकोण भएको राजनेताको अभाव अझ बढी खड्कदो रहेको छ । वीपी स्मृति दिवसको सन्दर्भमा पटक पटक पुनः वीपी कोइरालाको जीवन,दर्शन र वीचारलाई गम्भीर ढंगले अध्ययन, अनुसन्धान र विमर्श गर्न राजनीतिक क्षेत्रलाई आह्वान गर्न लाग्दछ । जसले नेपाली राजनीति र व्यवस्थालाई समेत मार्गनिर्देश गर्नेछ ।

परिवर्तनका बहाक वीपी साहित्य, कला र दर्शनमा समेत अभिरुची हुनुपर्छ भने राजनीतिमा सर्वकालीक । नेपालको राजनीतिक परिवर्तनमा वीपीलाई अलग राख्न नै सकिन्न । जो सुकै सत्तामा होस वा नहोस उसले वीपीको नाम लिन्छ नै । सजिलो वा असजिलो दुवै परिस्थितिमा वीपी प्रासांगिक हुनुहुन्छ । स्वतन्त्रता, लोकतन्त्र र विधिको शासनजस्ता विषयहरुमा उहाँको नाम अन्योन्याश्रित छ । जीवन पर्यान्तको लडाइ र संघर्ष त्यसकै लागि थियो । सत्ता, सुविधा र कुर्सीका लागि सम्झौक्ता भएन । बरु जेल, कारावस, प्रवास र कठोरता स्वीकार्य भयो । इतिहास साक्षी छ, देश र जनाताको विरुद्धमा वा अहितमा हुने कुनै पनि गतिविधि मान्य नभएकोले बीपीले कठिन र कठोर जीवन व्यथित गर्नु परेको इतिहास मौजुदा छ । यसरी विकसित भएको नेपाली लोकतान्त्रिक इतिहास र नेपाली कांग्रेस अहिले जीवन कै सबैभन्दा कमजोर र संकटमा देखिन्छ । वीपीले भनेजस्तै लोकतन्त्र आएपछि पार्टीमा मोटाघाटा,सुकिला र महंगा गाडी चढ्नेहरु हाबी भएका छन । तिनिहरुका विरुद्ध इमान्दार कार्यकर्ताहरुले पटक पटक पुनः संघर्ष गर्नु पर्नेछ को अवस्थामा नेपाली कांग्रेस र नेपालको लोकतन्त्र आईपुगेको छ । पार्टीका इमान्दार कार्यकर्तामाथि भ्रष्ट, दलाल,विचौलिया, डन, ठेकेदार र पैसावाला हावी भएका छन । नेतृत्वमा रहेका, नेतृत्वमा जाने इच्छा राखेका र पार्टी कब्जा गरेर बसेकाहरुले त्यस्तै व्यक्तिहरुलाई संरक्षण गर्दा इमान्दार कार्यकर्तालाई पाखा लगाएका छन ।

इमान्दार कार्यकर्तालाई पाखा लगाएकै कारण पार्टीको स्थान अति कमजोर प्रतिपक्षमा झरेको छ । तर पनि नेतृत्वमा रहेका तमाम व्यक्तिहरु ति नै सुकिला मुकिला र महंगा गाडी चढ्नेहरुका ओरिपरी छन,इमान्दार कार्यकर्ता र नेतृत्वको घरदैलो र पार्टीको औपचारिक फोरममा प्रवेश बनाउन नसक्ने अवस्थामा छन । पैसा र बलिया पाखुरा भएकाहरुले पार्टी कब्जा गरेका छन । इमान्दार कार्यकर्ताहरुको क्रियाशील सदस्यता पनि नविकरण हुन नसक्ने र हुन नदिने वातावरण बनाउन उद्दत देखिन्छन । पार्टी र संगठन बनाउने इच्छाशक्ति कसैमा छैन, तिनै पैसा र पाखुरावालहरुलाई प्रयोग गरेर हाल रहे भएको पोजिशन बुढुवा गर्ने नसके साविकको दर्जा कायम राखिरहने मनोविज्ञानले काम गरेको देखिन्छ । लोकतन्त्रको अवस्था, पार्टीको कमजोर संगठनात्मक स्थिति , सुकिला वलिया र पैसावालाहरुको विगविगीका बीचमा दुरदर्शी वीपी कोइरालाले देखाए जस्तै एकपटक इमान्दार कार्यकर्ताले संघर्ष गर्ने तत्परता वीपी स्मृतिसंगै देखाउने कि ?

Share
  • 492
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *