नेकपा विवादको गाँठो : उपाध्यक्ष गौतमले कसे कसिने, छोडे फुस्किने

काठमाडौं । नेकपाको आन्तरिक विवादले अहिले पार्टीभित्रका नेताहरु संवादहिनातको अवस्थामा पुगेका छन् । पार्टी एकिकरणपछि पहिलो पटक सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद स्पष्ट विभाजनको संघारमा पुगेकै कारण संवादहिनताको अवस्स्थामा पुगेको हो । स्थायी कमिटीको बैठक स्थल दुवै पक्षले शक्ति देखाउने रणभूमिको रुपमा रुपान्तरित हुँदै जाँदा पार्टी विभाजन सम्मुख आइपुगको छ । केही गरी औपचारिक विभाजन भएन भने पनि यसले नेता नेताकै समूहमा पार्टीका छलफल र बैठक गर्ने संस्कृतिको परिस्कृत रुपको विकास हुनेछ । 

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका बीचमा विवाद समाधान गर्ने भन्दा पनि विवाद चर्काएर उत्कर्षमा पुर्याइएको छ । पछिल्लो स्थायी कमिटी बैठक पार्टी अध्यक्ष समेत रहेका ओलीले दाहलको सहमतिविनै स्थगित गरेपछि दाहाल समूहले वालुवाटारकै बहुमत सदस्यको भेला गरेर अनौपचारिक बैठक गरेदेखिनै पार्टीको रुप सग्लो देखिएन । एकातिर ओलीले बैठक स्थगित गरेको तर अर्कोतिर दाहाल र वरिष्ठ नेता नेपाल समूहले वालुवाटारमै बैठक गरेर ओलीले गरेको निर्णय बैधानिक नभएको जनाएपछि समानन्तर शक्ति संघर्ष स्पष्ट प्रर्दशन भयो । पार्टी एकतापछि अनेकन विवाद पनि एकले अर्कोलाई वाइपास गरेर बैठक स्थगित गर्ने वा वैठक सञ्चालन गर्ने काम यसअघि भएको थिएन । सहमतिमै बैठक सञ्चलन र बैठक आह्वान हुदै आएको थियो । तर मंगलबार भने दुवै अध्यक्षले एकले अर्कालाई अटेर गरी आफ्नै ढंगले पार्टी सञ्चालन गर्ने अभ्यास गरे । वालुवाटारमा दाहाल नेपाल समूहले बैठक चलाइरहँदा ओली समूहका नेताहरुले भने त्यसलाई भीडभाडको रुप दिएर प्रचार अभियानमा व्यस्त रहे ।

समग्रमा वालुवाटार पक्षले मंगलबारको भेलालाई दाहाल नेपाल निरिह भएको प्रमाणित गर्न खोजेको थियो । गत मंगलबार दिउसोको भेलालाई दाहाल नेपाल समूहले बैठकको मान्यता दिएको छ भने ओली समूहले त्यसलाई इन्कार गरेको छ । यस्तो अवस्थामा नेकपा धाँजा फाटेको पहरोको रुपमा मात्रै रहेको छ । तर पनि धाँजालाई टालटुल गर्न नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी नफुट्ने भन्दै सामाजिक सञ्जालमा आफ्ना धारणा राखे । फेसबुक स्टाटस पोस्ट गर्दै श्रेष्ठले पार्टीको स्थायी कमिटीको आजको बैठकसम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुन्न आग्रह गरेका छन्। ‘यो विधिको विषय हो। पार्टीमा ठूलै विग्रह वा फुट विभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन’, उनले लेखेका छन् । उनले फेरि पनि दुई अध्यक्ष र आफूहरु छलफल गरेर बैठक सुचारु गर्ने र संकटको निकासको दिशामा अघि बढ्ने बताएका छन् । ‘सिधा, खुला र स्पष्ट छलफलद्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ’, उनको आग्रह छ, ‘कमरेडहरु ! शान्त होऔं, विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठूलो मेहनत गरेर र महान् क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन, फुट्न दिइँदैन र फुट्दैन।’ तर उनको भनाई हेर्दा पनि पार्टीभित्र केही समयका लागि विवाद साम्य भएपनि त्यो अल्पकालिन मात्रै हुनेछ । पार्टी एकता जोगाउनकै लागि उपाध्यक्ष वामदेव गौतमले पार्टी र सरकार सञ्चालनका लागि मध्यमार्गी धारणा भन्दै ६ वटा बुँदा पार्टी अध्यक्ष दाहाललाई पठाए । त्यही ड्राफ्ट ओलीलाई पनि पठाए । त्यसपछि भने नेताहरुको मथिंगल हल्लिनेगरी तरंग ल्याएको थियो ।

गौतमले सत्तारुढ नेपाल अध्यक्षद्वयलाई ६ बुँदा प्रस्ताव गरेका छन् । पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै दुबै अध्यक्ष समक्ष उनले ६ बुँदे प्रस्ताव राखेको भन्दै उनले आफू खुमलटार गुटबाट अलग भएको औपचारिक घोषणा गरेका थिए । प्रस्तावमा केपी शर्मा ओली एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधि सभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री रहने, पुष्पकमल दाहाल सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष रहने उल्लेख गरे । त्यस्तै, पार्टी एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, पार्टीका कामममा पार्टीले हस्तक्षेप नगर्ने तर राष्ट्रिय तथा अन्र्तराष्ट्रिय महत्वका विषयमा निर्णय गर्दा पार्टीको सचिवालयमा परामर्श गर्ने प्रस्ताव गरेका थिए । उनले मन्त्रिमण्डल पुनर्गठन गर्न समेत प्रस्ताव गरेका थिए । उनको धारणाको विषयमा अन्य नेताहरुसँग छलफल गर्दा गर्दै दाहाल वालुवाटार जान ढिला भएपछि ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेका थिए । बैठक स्थगित गर्नुपर्यौ केही समय छलफल गरौ भन्ने ओलीको प्रस्तावमा दाहालले म त्यही आएपछि छलफल गरौला धेरै दिनदेखि बैठक रोकिएको छ अब सञ्चालन गरौ भन्ने जवाफ दिए । तर ओलीले एकलौटी ढंगले बैठक स्थगित गरेपछि भने समस्या बढेर गयो । नेताहरु वालुवाटार पुग्दै गर्दा मात्रै बैठक स्थगित भएको सूचना पाएपनि उनीहरु बैठकस्थल जानबाट रोकिएनन ।

वैठक स्थगित गरेका ओलीलाई दाहाल र झलनाथ खनालले बेग्लै भेटघाट गरेपनि निकास निस्किएन । नेताहरु वालुवाटारबाट बाहिरिएपछि ओली आफै श्रीमती राधिका शाक्यलाई वामदेवलाई भेट्न भैसेपाटी निवासमा पुगे । महासचिव विष्णु पौडेललाई लिएर गएका ओलीले पार्टीभित्रको सुखदुखको कुराकानी गरेर फर्के । यो उनको रणनीतिक चालबाजी थियो । खासमा ओलीले फेरी पनि गौतमलाई अघि सारेर विवाद समाधानको मूख्य खेलाडीको रुपमा प्रस्तुत गरिरहेका छन् । हरहालतमा पार्टीको नेतृत्व माधव नेपाल र प्रचण्डलाई नदिने ओलीको पछिल्लो रणनीतिमा गौतमलाई अघि सारिएको अनुमान सहजै गर्न सकिन्छ । यसले गर्दा असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक चलिरहेका बेला दाहाल–नेपाल समूह विस्तारै विस्तारै खण्डिकरण हुन थालेको छ । गौतमले आफ्नो कित्ता क्लियर गरेसँगै दाहाल नेपाल समूहलाई ठूलै धक्का लागेको छ । पार्टी उपाध्यक्ष वामदेव गौतम अर्का सचिवालय सदस्य रामबहादुर थापा केपी ओलीसँगै मिल्ने अवस्थामा पुगेपछि दाहाल नेपाल समूहमा खण्डिकरण शुरु भएको हो । यसबाट ओली समूहले आफ्नो शक्ति आर्जनमा सफल भयो । पार्टीका दुई अध्यक्षबीच विभिन्न विषयमा सहमति हुन नसक्दा बैठक बोलाउने र स्थगित हुने निरन्तरता चलिरहेकै बेला ओली पक्षले दाहाल नेपाल समूका कतिपय सदस्यहरुलाई एक्ला एक्लै भेटेर मनाउने कोसिस गर्यो । कहिले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले एजेण्डाबारे छलफल गर्ने भन्दै बैठक स्थगित हुन्छ त कहिले बाढिपहिरोका घटनालाई देखाएर बैठक स्थगित गरेको फाइदा ओली समूहले लियो ।

गत मंगलबार बैठक स्थगित हुँदा एक अध्यक्ष पुष्पकमल दाहालले थाहासम्म पनि पाएनन् । दाहाल सहित, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठक कक्षमा पुगिसकेका बेला ओलीले बैठक नै स्थगित गरेर समूहमै विग्रह ल्याउन कोसिसमा लागे जुन विषय ओलीका लागि एकतर्फ सफल देखिएपनि बहुमत सदस्यहरुले त्यसलाई विधिविहिन निर्णयका रुपमा अथ्र्याएपछि ओलीलाई न्यूनतम नैतिक संकटचाहि देखियो । बालुवाटार स्थित बैठकहलमा प्रधानमन्त्री समेत रहेका ओलीको प्रतिक्षा थियो तर विज्ञप्ति आयो बैठक स्थगित भएको । विज्ञप्तिमा स्पष्ट उल्लेख नगरिएक पनि भाषाले बुझाउँथ्यो बैठक अनिश्चितकालका लागि स्थगित । त्यसैगरी स्थायी कमिटी सदस्यहरु लेखराज भट्ट, मणी थापा, टोपबहादुर रायमाझी लगायतका केही पूर्व माओवादी समूहका नेताहरु प्रधानमन्त्रीको राजीनामा माग्न नहुने पक्षमा पुगेका छन् । त्यसैगरी सुरेन्द्र पाण्डे, घनश्याम भूषाल, योगेश भट्राई पनि प्रधानमन्त्रीको राजिनमा अहिलेको समस्याको समाधान नभई पार्टीलाई विधिसंगत ढंगले सञ्चालन गर्नुपर्ने पक्षमा रहेका छन् । त्यसैगरी वर्षमान पुन र शक्ति बस्नेत पनि अहिलेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा प्रमुख मुद्धा नभई पार्टी सञ्चालन नै प्रमुख विषय भएकाले सबैको ध्यान त्यता अकर्षित गर्न सुझाव दिइरहेका छन् । जस्ले गर्दा पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग कमजोर बन्दै गएको छ । यसरी हेर्दा नेकपाको विवाद समाधानको उपाए वामदेव गौतमको हातमा रहेको  आभास हुन्छ ।

Share
  • 200
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *