चित्लाङ र चन्द्रागिरीका अविष्मरणीय यादहरू

समय गतिशील छ । संसार रङ्गिन छ । यो गतिशील र रङ्गिन संसारका हामी दुई दिनका पाहुना । जीवन यात्रामा एकदिन सर्वश्व छाडेर जानु त छँदैछ तथापि, क्षणिक स्वार्थका लागि हामी तँछाड मछाड गर्छौं । जीवन जिउनका लागि त्यति सहज छैन । सुखदुःखका जङ्घारहरू तेर्सिन्छ हाम्रा सामु अवस्मरणीय क्षण बनेर । रात दिन आफू र आफ्नो परिवारको भविष्य सुनिश्चितताका लागि दौडधुप निरन्तर रहन्छ । यसै माहौलमा हामी (समिता र म) पनि संलग्न छौँ । सादा जीवन उच्च विचारको भाव लिएर हिँडेका छौँ सदैव । जीवन भनेको भ्रमण पनि हो । त्यसैले मलाई मान्छे भ्रमणशील लाग्छ । म वर्षको २÷३ पटक समय मिलाएर ऊर्जाशील हुन देशका विभिन्न स्थानहरूमा घुमफिर गर्न रुचाउँछु ।

पुसको महिना । छोराछोरीको स्कुल विदा । घुमघामका लागि जाने मन गरिन् समिताले । प्रायःजसो म नुवाकोटतिरै बस्छु । फोनवार्तामा घुम्न जाने कुरा गरिन् समिताले । ‘कहाँ जाने त ?’ हामीबीचमा सल्लाह भयो, चन्द्रागिरी जाने । नुवाकोटतिरको कामलाई थाँती राखेर म काठमाडौँतर्फ लागेँ । भोलिपल्ट दिउँसो तीन बजे काठमाडौँस्थित घरबाट निस्कियाैँ ट्याक्सी रिजर्भ गरेर थानकोटसम्म । यात्रामा सहभागी थियौँ म, समिता, छोरी साहेरा, छोरा साइरस, दिदी मनिता, भतिज किस्मन, भाइ अजय, बुहारी रिता, भदाहरू रिजय र रिवाज । दुईवटा ट्याक्सी । काठमाडौँको बाटो त हो ठाउँ ठाउँमा ट्राफिक जामले हैरान पार्ने ।

बालाजु, बनस्थली, कलङ्कीलगायतमा लामै समय भयो जाम । कलङ्की पुग्दा हामीले जाममा निकै समय गुजारेका थियौँ । समिताले भाइ सौगातलाई फोन गरेर थानकोटबाट चन्द्रागिरी जाने केवलकारको समय र टिकटका बारेमा सोधिन् । किनकि भाइ सौगातले धेरै पटक चन्द्रागिरीको यात्रा गरिसकेका थिए । इसेवाबाट टिकट काट्न मिल्दैन रहेछ । समय बितेकाले टिकट नपाइएला भन्ने डर भयो । पाँच बज्न १० मिनेटमा पुग्यौँ चन्द्रागिरी केवलकारको टिकट काउण्टरमा । टिकटका लागि बालबालिकालाई उचाइ्र्र अनुसारको रकम छुट रहेछ । अन्तिम अन्तिम भएकाले छिटो छिटो केवलकारमा प्रवेश ग¥यौँ । १५ मिनेटमै चन्द्रागिरी डाँडामा पुगियो । हाम्रो योजना थियो रात त्यतै रिसोर्टमा बिताउने । तर, बुझ्दा रुम पाइएन । पर्यटकहरूकोे आगमनले गर्दा रिसोर्ट भरीभराउ नै हुँदो रहेछ । रिसोर्टमा बस्नका लागि चार पाँच दिन अगाडि नै बुकिङ गर्नु पर्ने रहेछ । साँझ पर्न लागि सकेको थियो । साथमा बच्चाहरू पनि छन् । अन्यौलमा पर्याैँ– के गर्ने ? समिताले भनिन्– ‘चित्लाङ गाउँमा गएर बसौँ ।’ चित्लाङ जान स्थानीय यातायता पाइन्छ र बास बस्न कुनै समस्या छैन । पर्याप्त होमस्टेको व्यवस्था छ भन्ने थाहा भयो । हामी लाग्यौँ चित्लाङतर्फ ।
चन्द्रागिरीबाट दक्षिणतर्फ जङ्गलको बाटो । ठाडो ओरालो । हिँड्नका लागि ढुङ्गाको सिँढी बनाइएको रहेछ । अत्यधिक चिसो थियो मौसम । बच्चाहरूलाई समात्दै ओरालो झर्यौँ । चिसोका कारण भुँइभरि तुषारो जमेको थियो । चिप्लिँदै लड्दै हामी अगाडि बढ्यौँ । एक किसिमको रमाइलोे अनुभूति नै भयो । करिब आधा घण्टाको हिँडाई पश्चात् सडक पुग्यौँ । सो ठाउँलाई भञ्याङ भनिँदो रहेछ । चन्द्रागिरी केवलकारका कर्मचारी र नेपाल प्रहरीका केही जवानहरू बाटोको छेउमा आगो तापेर बसिरहेका थिए । हामीले पनि आगो ताप्यौँ केही बेर । लामो समयसम्म कुर्दा पनि लोकल यातायात पाइएन । साँझ पर्न लागि सक्यो । बिस्तारै अगाडि बढ्ने र जहाँ मिल्छ त्यहीँबाट गाडी समात्ने सल्लाह भयो । हिँड्दाहिँड्दै थकाइ लाग्न थालिसकेको थियो तर गाडी भेटिएन । जङ्गलको बाटो । अँध्यारोले छोपिसक्यो । मनमा डर उम्रन पुग्यो । समस्या पर्दा दैवले जुराउँछ भने जस्तो एउटा सेतो रङ्गको कुकुर हाम्रो पछि पछि लाग्यो । हामी अचम्मित भयौँ । हामी रोकिँदा त्यो कुकुर पनि रोकिन्थ्यो । हामी हिँड्दा त्यो पनि हिँड्थ्यो । अचम्म लागिरहेको थियो हामीलाई ।

कच्ची मोटर बाटो, धुलाम्मे भुँइ । हिँड्दा पनि धुलो उड्ने, मोटर कुद्दा झन् कस्तो हुँदो होला ? कुहिरी मण्डल भएर मान्छे नै नचिनिने हुँदो हो । साघुँरो बाटोलाई फराकिलो पार्ने काम सुरू भएको रहेछ । साँझको समयमा पनि डोजरले बाटो फराकिलो पार्न भित्ता कोपर्दै थियो । बाटोमा उत्तिसका रूखहरू तेर्सिएका रहेछन् । मोटर त परै जाओस्, पैदल हिँड्डुल गर्न पनि समस्या थियो । एक घण्टा जतिको हिँडाइमा दुईचारवटा घर देखियो । बल्ल लामो सास फे¥यौँ । सानुदाइको खाजाघर भेटियो । भोकले लखतरान भएका हामीले केही खाजा खायौँ । खाजाघरअगाडि जे.वि. होमस्टेको ब्यानर देखियो । ब्यानरमा सञ्चालकको मोबाइल नम्बर रहेछ । फोन गर्यौँ । बास मिल्यो । तर, कसरी त्यहाँ पुग्ने ? साँझ परिसकेको कारण चालक पनि उपलब्ध नहुने कुरा बुझियो ।

सञ्चालकले स्थानीय युवाहरूको पाँचवटा मोटरसाइकलको व्यवस्था गरेर हामीलाई लिन पठाएछन् । हामी त्यसैमा होमस्टे पुग्यौँ । रातको नौ बजिसकेको थियो । होमस्टे सञ्चालक साहुजीको मिठो आतिथ्यता ग्रहण ग¥यौँ । घरबाहिर चिसो हावा र सिरेटो चलिरहेको छ । मुटु नै काम्ने । भाइ अजयले क्यामफायर गर्ने व्यवस्था मिलाइसकेछ । आगो ताप्दै लोकल कोदोको रक्सी र कुखुराको मासु खायौँ–स्वादले । नाचगान कार्यक्रम पनि बिजोडले जम्यो लामो समय । बाह्र बजेपछि बल्ल आराम गरियो ।

बिहान सात बजिसकेछ । ओछ्यान छोड्न मन लागेको छैन । होमस्टेका साहुजीले ढोका ढक्कढकाएपछि उठ्ने तरखर गयौँ । बलजफती नै उठ्यौँ । बच्चाहरू भने सुतिरहेका छन् । बिहान उठ्ने बित्तिकै शौचालय गई हातमुख धोएर म र समिता खुट्टा तन्काउन भए पनि मर्निङवाक निस्क्यौँ केही बेर । गाउँलेहरू बिहानैबाट काममा व्यस्त देखिन्थे । घाँसदाउरा, बस्तुभाउ, पानीपधेँरो, लिपपोत आदि काममा तल्लिन थिए । चिसो सिसरेटोले मुटु नै काम्ने । बाटोभरि तुषारो लपक्कै फिजिएको । आइसल्याण्डमा हिँडेको अनुभूति हुने । हामीजस्तै अरु पनि मर्निवाकमा हिँडिरहेका थिए । आधा घण्टा जत्तिको हिँडाइपछि होमस्टेमा फर्कियौँ । सबैलाई उठायौँ । गिजरको तातो पानीले नुवाइधुवाई गरेर हामी फ्रेस भयौँ । साहुजीले अगेनामा दाउरा बालिदिए । आगो ताप्दै बिहानको चिया नास्ता खायाैँ । जे.वि. होमस्टेका सञ्चालक साहुजीको नाम रहेछ- जङ्गबहादुर लामा । पेशाले शिक्षक । गाउँकै एक माध्यामिक बिद्यालयमा पढाउँदा रहेछन् । चित्लाङ घुम्न आउनेहरूका सुविधा होस् भनेर प्रबन्ध मिलाएका रहेछन् । दुई वर्ष अगाडिदेखि सञ्चालन गर्दै आएका रहेछन् उक्त होमस्टे । उक्त होमस्टेमा विद्यार्थी, शिक्षक र विदेशी पाहुना पनि बाक्लै रूपमा आउने गर्दा रहेछन् । परम्परागत गाउँले शैलीमा निर्मित होमस्टे आकर्षक देखिन्छ । आँगन वरिपरि सफासुग्घर । आँगनमा चाङका चाङ दाउरा र सुकेको खुर्सानी । साहुजीसँग भलाकुसारी गर्दै चित्लाङको गाउँवस्ती अवलोकन गर्न निस्क्यौँ ।

मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं.१० मा अवस्थित चित्लाङ गाउँलाई मकवानपुरको नमूनाको रूपमा लिन सकिन्छ । वरिपरि पहाडले घेरिएको बीचमा खोँच जस्तो देखिन्छ । बाह्रै महिना चिसो भइरहन्छ चित्लाङमा । उत्तरतिर चन्द्रागिरी डाँडा र दक्षिणतर्फ महाभारत रेन्जमा अवस्थित चित्लाङ काठमाडाैँदेखि चित्लाङको दूरी २६ दशमलव ७ कि.मी मा पर्दछ । समुद्री सतहबाट एक हजार सात सय पचास मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा तामाङ, नेवार, ब्राम्हण, क्षेत्रीको मिश्रित बसोबास रहेको छ । तीन हजारको हाराहारीमा जनसङ्ख्या रहेको छ । चित्लाङलाई भुटानको पारो भ्यालीसँग तुलना गर्न सकिन्छ । यहाँको प्रमुख व्यवसाय भनेको नै खेतीपाती र पशुपालन नै रहेछ । अहिले बाटोघाटोको सुविधाले गर्दा होटेल व्यवसाय पनि फास्टाएको देखिन्छ । गाउँभरि नै होमस्टे सञ्चालन सङ्ख्या १९ वटा पुगेको रहेछ । व्यवस्थित रिसोर्ट । वि.सं. २०७२ सालको भुकम्पले खासै चित्लाङमा मानवीय तथा भौतिक क्षति भएन रे । पुरानो शैलीमा निर्मित घरहरू सकला नै देखिन्छन् । केही पुरातात्विक सम्पदा मर्मतसंभार र पुनःनिर्माण नहुनाले भग्नावशेषमा परिणत हुनसक्ने देखियो ।

काठमाडौँबाट चारवटा रूट तय गरेर चित्लाङ पुगिन्छ । जस्तै काठमाडौँबाट कलङ्की, चन्द्रगिरी हुँदै १४ कि.मी. काठमाडौँबाट मातातीर्थ २७ कि.मी, दक्षिणकाली, फर्पिङ, कुलेखानी हुँदै ५ कि.मी र थानकोट, नौविसे, टिस्टुङ हुँदै गरी पुगिन्छ चित्लाङ । हाइकिङ गरेर पनि चित्लाङ जाने गर्दछन् कतिपय । नेपाल पर्यटन वोर्डले चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको छ । चन्द्रागिरीमा केवलकार सञ्चालनमा आएपछि चित्लाङमा पर्यटकहरूको बृद्घि भएको रहेछ ।

चित्लाङको नाम पहिले चित्रापुर थियो । चैत्य जाने बाटो भएकोले चैतलाङ नाम रह्यो गाउँको । समयको अन्तरालसँगै बोलिचालीको भाषामा चित्लाङ नै गाउँको नामकरण भयो । चित्लाङ गाउँ राजा अंशुबर्माले गोठालाहरूलाई उपहार स्वरूप दिएको इतिहासबाट थाहा पाइन्छ । द्वापरयुगमा सात ऋषिहरूले नुहाउने सप्तश्री धारा चित्लाङमै रहेको आकलन समेत गरिएको छ । चित्लाङ गाउँ महाकवि लक्ष्मीप्रसाद देवकोटसँग पनि जोडिन्छ ।

वि.सं. १९९८ मा महाकवि देवकोटाले यहीँ बसेर सार्वधिक प्रसिद्घ कविता :
‘कुन मन्दिरमा जान्छौ यात्री
कुन मन्दिरमा जाने हो ।’

लेखेका थिए । भारतवाट तीर्थस्थलका लागि काठमाडौँसम्म यही बाटो भएर जाने क्रममा देखिएकाले देवकोटाले उक्त कविता रचना गरेका थिए रे । त्यसताक ढुङ्गेधारामा पानी पिई ढुङ्गामा विश्राम गरेको ठाउँ अहिले पनि देखिने रहेछ । चित्लाङलाई बलिया र बहादुरको गाउँ पनि भनिन्छ । तत्कालीन राणाकाल अर्थात् राजा त्रिभुवन शाहको पालामा हिटलरले उपहार दिएको गाडी भीमफेदीबाट काठमाडौँसम्म बोकेर लानेहरू अधिकांश चित्लाङका नै थिए भनिन्छ । मल्लकाल र राणाकालमा चित्लाङको बाटो भएर हिँडडुल गर्दथे । राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा यही बाटो भएर गएका थिए । अर्का प्रधानमन्त्री चन्द्रशम्सेर चित्लाङको जङ्गलमा शिकार खेल्न जान्थे । धेरै पटक त्यहाँ बास बसेका थिए रे । अन्ततः उनले त्यहाँ पाहुना घर र दरबार समेत बनाए । लिच्छिविकालदेखि नै काठमाडौँबाट तराई जानका लागि चित्लाङको बाटो प्रयोग हुन्थ्यो । भारत र नेपाल जोड्ने एक मात्र व्यापारिक पदमार्ग पनि चित्लाङ नै थियो । तसर्थ चित्लाङलाई काठमाडाैँको प्रवेशद्वार मानिन्थ्यो । वि.सं. २०१२ सालसम्म भिडभाड रहने यो ठाउँ त्रिभुवन राजपथ सञ्चालनमा आएपछि सुनसान भएको रहेछ ।

चित्लाङको माझ गाउँमा बलामीहरूको बाक्लो बस्ती रहेको छ । पुख्यौली थलो चित्लाङलाई नै मान्दै आएका बलामीहरू बैशाख पञ्चमीका दिन कूलदेवता पूजा गर्ने गर्दछन् । बाह्र बर्षे भैरवनाथ जात्रा, महादेव जात्रा, कार्तिक नाच, खड्ग जात्रा आदि मेलापर्व जात्राहरू जस्ता संस्कृतिलाई बलामीहरूले जीवन्तता दिँदै आएका छन् । जात्राको समयमा कुनै एक निश्चित ठाउँमा जम्मा भई लामै समय धार्मिक झल्कने किसिमले नाचगान र नाटकीय प्रस्तुति गरिन्छ । बलामी युवाहरू देवीदेवताको पहिरन र मुकुुटमा सजिन्छन् । सबैले जिउँदा देउताको रूपमा ग्रहण गर्दछन् । बलामी भाषामा गीतको उच्चारण गरी नाचगान सुरू हुन्छ । समय समयमा मन्त्र उच्चारण गरी राँगा काटी बली खाने पनि गर्छन् । बलामीहरूले परम्परादेखि चल्दै आएको आफ्नो धार्मिक चालचलनलाई निरन्तरता दिँदै आएको देखिन्छ ।
सजिव बस्तुलाई श्वास प्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्दछ । अक्सिजन प्राप्त गर्ने महत्वपूर्ण बोट विरूवा तुलसी र ओलिभ हुन् । सम्पन्न देशहरूमा स्वस्थ्य र स्फूर्तिका लागि ओलिभ प्रयोग गर्नका लागि ठूलै धनराशी खर्च गर्दै आइरहेका छन् । ओलिभको प्रयोगले गर्दा २० वर्ष उमेर बढी बाँचिने भनाई रहेको छ । यस्तो दुर्लभ जातिका विरूवा चित्लाङमा पाइन्छ । यहाँका होमस्टेहरूमा ओलिभको चिया पिउन पाइन्छ । ओलिभले क्यान्सरको रोकथाम हुनाका साथै भिटामिन ‘ए’ प्राप्त हुन्छ । त्यस्तै मान्छेको मोटोपन घटाउने, हाडजोर्नी, मुटु तथा नशा र पाचन शक्ति बढाउने जस्ता कार्यहरू गर्दछ । ओलिभबाट निकालेको तेल विश्वमा महङ्गो मूल्यमा बिक्री हुन्छ । होमस्टेमा आफ्नै खेतबारीमा उब्जनी भएको सागसब्जी, फलफूल, दूधदही, अन्नपात खान दिइन्छ ।

चित्लाङलाई अर्गानिक भिलेजको नामले पनि चिनिन्छ । अर्गानिक उत्पादन मूला, साग, आलु, भुँइस्याउका साथै बाख्राको दूधबाट चिज उत्पादन गरिन्छ । आरूबखरा तथा नासपतिबाट वाइन समेत तयार गरिन्छ । हावापानी उपयूक्त हुनाले ६० जातका अर्किड फूलहरू यहाँ पाइन्छ । स्याउका बोटहरू बाक्लै देखिन्छ ।

एसियाकै दुर्लम मानिने अल्पका जनावरको पालन यहाँ गरिएको छ । हिमालयन प्यान्टेशन प्रा.लि.ले सञ्चालनमा ल्याएको छ । गाई भन्दा सानो तर बाख्रा भन्दा ठूलो देखिने अल्पका जनावर पृथक किसिमको देखिन्छ । हाल १७ वटा अल्पका पाल्दै आएका छन् । यो जनावरबाट ऊन प्राप्ति हुन्छ । अल्पका रौबाट बनेको ज्याकेट जाडोमा तातो र गर्मिमा शीतल दिने खालको हुन्छ । जुन ऊन विश्व बजारमा महङ्गो रहेको रहेछ ।

हरियाली वातावरण कसलाई मन नपार्ला आँखै रङ्गिन । मनै खिचिने । बोट विरूवाहरूको लामवद्घ, हावाको झोकासँगै हल्लिएका छन् पातहरू । बिस्तारै सुसाएका छन् जङ्गल । चराचररूङ्गीहरूको साङ्गीतिक ध्वनि । पारिलो घाम घाँस दाउरा गर्न तल्लिन स्थानीयबासी । भुँइमा अनगिन्ति हरिया घाँसका डालीहरूले टाउको उठाइरहेका छन् । खुसी छन्- स्थानीयहरू । बस्तुभाउका लागि सदुपयोग हुने सजिलैसँग ती घाँसहरूले । नरोप्न पर्ने, न स्याहार सुसार गर्नु पर्ने । आफै उम्रिन्छन् प्रकृतिका लीला । साँघुरो गोरेटो बाटो । झोला बोकेका आन्तरिक तथा बाह्य पर्यटकहरूको पातलो हुल लम्किरहेको देखिन्छ । चिसो चिसो मौसममा ज्यान तातिन पुग्न छुट्टै आनन्द । एक-दुई घण्टा भए पनि जङ्गल सफारी गर्न मन तानिदो रहेछ त्यहाँ पुग्नेहरूको ।

टेलिभिनको पर्दामा खाडी मुलुकतिर बालुवामा चारपाङ्ग्रे मोटर गाडी कुदेको देख्छौँ हामी । तर यस्ता गाडीहरू चित्लाङको भूमिमा पनि गुड्ने गर्दा रहेछन् । यो चारपाङ्ग्रे यातायातलाई क्वाड बाइक भनिँदो रहेछ । यसलाई एटिमीका नामले पनि चिनिन्छ । द एडभेन्चर गियर प्रा.लि नामक एक कम्पनीले नेपालमा पहिलो पटक चीनबाट भत्र्याइएको रहेछ । दुई सय सि.सि.को इन्जिन क्षमता रहेको यो मोटरसाइकल तथा स्कुटी चलाउन सक्नेले सजिलैसँग कुदाउन सक्छन् । विशेषत कच्ची मोटर बाटो र पानीमा कुदाइन्छ यो बाइक । तीन हजार शुल्कमा कोडबाइक चलाएर आनन्द लिन सकिन्छ । युवाहरू यस प्रति आकर्षित भएको देखिन्छ ।

चित्लाङको अर्को महत्वपूर्ण ठाउँमध्ये इन्द्रसरोवर ताल प्रसिद्व छ । विद्युत उत्पादन गर्दै आएको मानव निर्मित ठूलो ताल हो । मार्खु र कुलेखानीका गहिरो र खोल्सालाई बाध बनाई नदीको पानी सङ्कलन गरेर बनाइएको ताल हो । नेपाल विद्युत प्राधिकरण र कुलेखानी आयोजनाले सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरेको हो । ६० मेगावट विद्युत उत्पादन गर्दै आएको ताल १४ मीटर अग्लो र १० मीटर चौडा रहेको ड्याममा ७ करोड ३३ लाख घनामिटर पानी सङ्कलन हुँदै आएको छ । आठ कि मी क्षेत्रफल ओगटेको ताल भयङ्कर देखिन्छ । इन्द्र सरोवर तालमा डुङ्गाद्वारा सफर गर्ने व्यवस्था मिलाएको छ । ३६ वटा डुङ्गाको व्यवस्था गरेको तालमा दैनिक सयौँको सङ्ख्यामा सफर गर्दै आएका छन् । छोटो दुरीका कारण हेटौडा र काठमाडौँबाट बनभोज खानका लागि बाक्लै सङ्ख्यामा आन्तरिक पर्यटकहरू आउने गर्दछन् । गर्मीको बेलामा तालमा पौडी खेलेर युवाहरू आनन्द लिन्थे । तर केही युवाहरूको पानीमा डुबेर ज्यान गएकाले पौडी खेल्न भने बन्देज लगाइएको छ । ताल वरपर प्रशस्त मात्रामा स्थानीय होटेलको व्यवस्था छ । इन्द्र सरोवर तालको माछा प्रसिद्घ छ । यहाँ आउनेहरू माछाको स्वाद चाख्न पछि पर्दैनन् ।

ऐतिहासिक एवम् धार्मिक दृष्टिकोणले चित्लाङमै अबस्थित अशोक चैत्य धरोहरको रूपमा उभिएको छ । भारतका सम्राट अशोक नेपाल आउँदाको समयमा उक्त चैत्य निर्माण गर्न लगाइएको हो । उदयदेवको पालामा अर्थात् वि.स. ३१६ मा निर्माण भएको देखिन्छ । सम्राटको छोरी चारूमतिले सोही चैत्यको नामबाट यस भेगको नाम चित्लाङ राख्न लगाएको भनिन्छ । गुम्बा आकारमा रहेको चैत्य दिन प्रति दिन जीर्ण बन्दै गइरहेको छ । पुरातत्व विभागले समय समयमा जिर्णद्वार गर्दै आएको छ तर चैत्य पुरानो हुनका साथै भूकम्पले क्षति पुर्याएका हुँदा पूर्ण रूपमा निर्माण गराउनु पर्ने देखिन्छ । वि.सं. १९५० सालमा निर्मित ढुङ्गे साँघु हेर्न लायक पुराना सम्पदा हो । जुन साँघु नयाँ पौवा खोलामा रहेको छ । एउटै ढुङ्गा खोपेर बनाइएको पुलको लम्बाई १० मिटर र चौडाई एक मिटरको छ । उक्त साँघू हेर्नका लागि आन्तरिक पर्यटकहरू पुग्ने गर्दो रहेछ – त्यहाँ चित्लाङ घनाजङ्गले घेरिएको हुँदा पानीका स्रोतहरू प्रशस्तै देखिन्छ । कुवा, इनार, धारा, खोला आदिबाट पानीको प्रयोग गर्दै आइरहेको छ सजिलैसँग ।

गाउँ नजिकै ऐतिहासिक ढुङ्गे धारा रहेको छ । सातवटा ढुङ्गे धाराबाट पानी झरिरहेको छ । यस क्षेत्रमा भगवान गणेश, शिव, कृष्ण र सरस्वतीको बासस्थान रहेको किम्वदन्ती रहेको छ । ढुङ्गे धाराको आसपासमा बसन्तपञ्चमीको दिन सरस्वतीको पूजा आराधना गरिन्छ । २३ सय वर्ष पुराना लिच्छिवीकालीन सम्पदाहरू चित्लाङमा प्रशस्तै रहेको छ । सम्पदाहरू स्थापना भएको प्रमाणको रूपमा शिलापत्रहरू सुरक्षित रहेको छ । चित्लाङ घुमफिर गर्ने क्रममा बाटोको दायाबायाँ ऐतिहासिक सम्पदाका अंशहरू छरिएर रहेको देखिन्छ । ठमेल, नगरकोट, बन्दीपुरमा होटेल ब्यबसाय गर्दै आएका व्यवसायीहरूले पर्यटनको सम्भावना देखेर नै होला चित्लाङमा जग्गाजमिन जोड्न थालेका देखिन्छ । बाह्य व्यवसायीहरूको आगमनले स्थानीय बासीहरूको रोजीरोटी खोस्न सक्ने सम्भावनालई नकार्न भने सकिँदैन ।
दिनभरिको चित्लाङ घुमाइले मनलाई आनन्द तुल्यायो । प्रकृतिक, धार्मिक, ऐतिहासिक, संस्कृतिक, पर्यटकीय दृष्टिकोणले अति नै महत्वपूर्ण ठाउँमा दिनप्रति दिन विकास निर्माणका कार्यहरू तिव्रगतिमा भइरहेको हुँदा चित्लाङको लोकप्रियता झनै बढ्दै गएको देखिन्छ ।

चित्लाङको छोटो बसाइलाई बिट मार्नु छ । हामी जे.बि. होमस्टेमा आयौँ । अर्गानिक खाजा खाएर होमस्टे सञ्चालक जंगबहादुर सरसँग विदावारी गरी छुट्ने तरखरमा अगाडि बढ्यौँ । घरको करेसामा किस्तीमा स्थानीय कपडाबाट निर्मित खादा लिई दुई जना महिला दिदी बहिनीहरू बसेका रहेछन् । हामीहरूलाई सेतो चामलको टीका र खादा ओढायर विदाई गरियो । हामीप्रति गरेको स्नेह आतिथ्यता हृदय खोलेर ग्रहण ग¥यौँ । होमस्टेकै जीप रिजर्भ गरेका थियौँ । त्यसैमा बसेर हामीले बाटो तन्कायौँ । विदाको हात हल्लाउँदै अगाडि बढ्यौँ । कच्ची बाटो त हो यातायत आवत जावतले गर्दा धुलो उडेको छ कुहिरी मण्डल बनेर । जीपको पछाडि हामी सबै बसेका हुँदा धुलाम्मै भयाँै । एकले अर्कालाई नचिनिएला जस्तो भयो । गल्ठ्याङ, गुल्ठुङ बाटो । जीपभित्र अडिनै गाह्रो । निकै कष्टकर छिचोल्दै आइपुग्यो भञ्ज्याङ । चन्द्रगिरी डाँडा उक्लने दक्षिण गेट । नजिकै रहेको धारामा हातखुट्टा, मुख धोएर फ्रेस भयौँ । एक क्षण आराम गर्यौँ । प्रतीक्षालयमा बसेर बिहानको नौ बजिसकेको छ । वरिपरि झुल्के घामको ताप छरिसकेको छ । तर भञ्जाङ्ग चारैतिर घाम छेकिने पहाड र ठूलाठूला रूखहरूले सूर्यको प्रकाश छेकिनाले सूर्यको उज्यालो कम देखिएको छ । चिसो फैलिएको छ । क्षणभरमै कुहिरोले छोपिदिँदा रात पर्न लागेको जस्तो । पुनः कुहिरो हटिदिँदा छ्याङ्ग उज्यालो सपनाजस्तै लाग्ने । प्रकृतिको सौन्दर्य । बेजोड दृश्यले मनलाई पुलकित तुल्याएको छ । स्वर्गतुल्य अनुभूति ।

चन्द्रागिरीका लागि टिकट काट्नु छ । हामीले पनि काटेका थियौँ । तर टिकट एकतर्फी होला भनेर जङ्गलमै पो फालिदिएको थिएँ । समिताले टिकट खोजी गर्दा पो थाहा पाएँ । दुई तर्फी नै रहेछ । फालिएको ठाउँमा गएर हेर्दा तुषारोले भिजेको रहेछ, भेटियो । टिपेँ । काम लाग्ने रहेछ । अब उक्लनु छ ठाडो उकालो । सबैले नजिकैको जङ्गलबाट स–साना लौरो भाच्याैँ । टेक्ने साहराका लागि । आराम गर्दै असिन पसिन हुँदै यात्रा बढ्दैछ । हामीजस्ता सयौँको सङ्ख्यामा यात्रामा लामबद्व छन् । छोराछोरीहरूलाई हिँड्न कठिन भएकोले ठाउँ ठाउँमा बोकेर भए पनि चन्द्रागिरी डाँडामा पुग्याैँ । थकित मनलाई शितलता दिन यात्रु प्रतीक्षालयमा आराम गर्यौँ । समूह फोटो खिच्यौँ । काठमाडौँ उपत्यकाको दक्षिण पश्चिममतर्फ रहेको डाँडामा एकैक्षण छुट्कारा पाएको अनुभूति भयो । सालो भाइ अजय व्यक्तिगत कामले घर जानु पर्ने भयो । उनी गए । सयौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरूको घुइँचो लागिसकेको थियो चन्द्रगिरी डाँडामा आउने जाने सराबरी ।

केबलकारको सुविधाले गर्दाले नै पर्यटकको सुविधा बढ्न गएको हो । १४ मिनेटको समयमा चन्द्रागिरी डाँडामा पुगिदो रहेछ । दैनिक दसदेखि १५ हजारको सङ्ख्यामा मान्छेहरू त्यहाँ पुग्ने गरेको छ भने सार्वजनिक बिदाको समयमा दोबर सङ्ख्या हुने गर्दो रहेछ । केवलकार समुद्री सतहबाट १,५६४ मिटरको उचाई फेदबाट र २५२० मिटर उचाइ माथिल्लो स्टेशनको उचाई रहेको छ । उक्त केवलकार चन्द्रागिरी हिल्स प्रा.लि.ले सञ्चालन गर्दै आएको छ । ७२० रोपनी जग्गा ४० वर्षका लागि भाडामा लिएको रहेछ । सरकारलाई कम्पनीले बार्षिक एक लाख ८० हजार शुल्क तिर्दो रहेछ । बिहान ९ बजेदेखि साझ ५ बजेसम्म खुल्ला रहने केवलकारको जम्मा ३८ वटा डिब्बा रहेको छ । एक घण्टाको समयमा एक हजार यात्रु बोक्ने सक्ने क्षमता भएको केवलकारको एउटा डिब्बामा ८ जना यात्रुहरू अड्दछ । प्रति यात्रू एकतर्फी ४१५ रूपैया र दुबैतर्फी सात सय रूपैयाँ शुल्क लाग्ने तर बुढाबुढी बालबच्चालाई टिकटमा छुटको व्यवस्था दिने गरिन्छ । त्यस्तै सार्क राष्ट्र बाहेक यात्रुलाई एकतर्फी १३ अमेरिकी डलर र दुईतर्फी २३ डलर लिने गरिन्छ । केवलकार अष्ट्रेलियाको डोप्लमेयर कम्पनीको प्रविधिबाट सञ्चालन हुँदै आएको रहेछ । केवलकार छुटेको केही मिनेटमै देखिने दृश्यले मन नै लोभ्याउँछ ।

उच्च ठाउँमा रहको हुँदा चन्द्रागिरी आकर्षक देखिन्छ । समुद्री सतहबाट २५५१ मिटरको उचाईमा रहेको चन्द्रगिरी काठमाडाँैको सबैभन्दा अग्लो स्थान हो । खुल्ला वातावरण, चिसो मौसम कहिले घाम, कहिले वादलको घुम्टीले ढाक्ने, अचम्मको वातावरण । चारैतिर प्रावृmतिक वनजङ्गलले घेरिएको । काठमाडौँ धुँवा धूलो र कोलाहाल मनलाई छोटो समय शान्त पार्नका लागि उचित स्थानको रूपमा लिन सकिन्छ चन्द्रागिरीलाई । यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथाका अलवा अनगिन्ति हिमालका साथै सूर्यास्त तथा सूर्योदयको दृश्यको आनन्दले मनै प्रफुलित तुल्याउँछ । यहाँबाट हिमाल, पहाड र तराई देख्न पाइन्छ । विशेषत सिन्धुपाल्चोक, गोरखा, तनहुँ, मकवानपुर, चितवन, नुवाकोट, रसुवाजस्ता जिल्लाहरू यहाँबाट देखिने रहेछ । स्वर्गतुल्य अनुभूतिका सुन्दरतम् दृश्यहरूलाई क्यामरामा कैद गर्नेहरूको लर्को नै लाग्ने गर्दछ ।

चन्द्रशमशेरको पालामा वि.सं.१८८१ बाट सरकारी तवरबाट घोर्सिङ–चिसापानी चन्द्रागिरी रोप–वे सञ्चालनले राहत मिलेको थियो तर ९२ वर्ष पछि आधुनिक एवं बैज्ञानिक प्रविधिद्वारा निर्मित केवलकारको सुविधाले दुनियाँलाई नै अचम्मित पारिदिएको छ । थानकोटबाट कच्ची मोटर बाटो हुँदै भञ्ज्याङसम्म गाडिमा र आधा घण्टाको पैदल यात्रा हिडे पछि चन्द्रागिरी पुगिन्छ । काठमाडौँको पशुपतिनाथ दर्शन गर्न आएका भारतीय नागरिकहरू अधिकांशले चन्द्रागिरीको यात्रालाई छुटाउँदैन रहेछ । केवलकारको तल्लो स्टेशनबाट भालेश्वर मन्दिरसम्म पनि भारतीय नागरिकको अनुहार देखिन्छ । हिन्दु धर्मप्रति आस्थावान राख्ने ती भारतीयहरूको भगवानप्रतिको भक्तिभाव अगाधमय रहँदै आएको छ । बाह्रय पर्यटकहरूमा भारतीय बाहेक चीन, बङ्गलादेश, पाकिस्तान, भुटान, अमेरिका, बेलायत, जर्मन, स्पेन, फ्रान्स, इटालीलगायतका देशहरूबाट दृश्यावलोकनका लागि आउने गर्दा रहेछन् ।

चन्द्रागिरी यात्रामा जानेहरूको पहिलो घुमाई भालेश्वर मन्दिर नै हो । प्यागोडा शैलीमा निर्मित भालेश्वर मन्दिर दर्शन गर्नका लागि लाइन बस्नुपर्ने हुन्छ । मन्दिरमा दर्शन र भाकल गरेको खण्डमा मनोइच्छा पूरा हुने जन विश्वास रहेको छ । मन्दिरका उत्तर, दक्षिण र पश्चिममा दुई÷दुई वटा धलौटको सिंह राखिएको छ भने मन्दिरको अगाडि ढलोटकै साढेको मूर्ति राखिएको छ । परिसरमा ठूला–ठूला घण्टी, दीप प्रज्वलित गर्ने पालाहरू, हनुमान, गणेशका मूर्तिहरू, उत्तर दिशातर्फ ठूलो त्रिशूल गाडेको देखिन्छ । मन्दिरको अगाडिपट्टि मौलिक ढुङ्गे धाराबाट पानी झररहेको देखिन्छ । धारा नजिकै पूर्ण कदको पृथ्वीनारायण शाहको शालिक ठडिएको छ । मन्दिरको परिसरभित्र बस्नका लागि पाटीपौवाको पनि ब्यवस्था गरिएको छ । धार्मिक र ऐतिहासिकतासँग जोडिएका कथन पनि सुनिन्छ । यो ठाउँ स्वास्थानी व्रतकथामा सुनेको पढेको हो । दक्ष प्रजापतिका यज्ञमा होमिएका सतीदेवीको मृत शरीर भगवान शिवले बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरीको चुचुरोमा पुगेको र त्यहाँ सतीदेवीको निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको कथन छ ।

भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख गन्धर्व र पाटनका बिरूपाक्षाले पापबाट मुक्ति पाएको समेत धार्मिक कथन छ । भालेश्वर महादेवको बारेमा हिमवत्खण्डका ९८ र ९९ औँ अध्यायमा समेत वर्णन गरिएको छ । स्वर्गको इन्द्रसभाबाट भोगविलाश बिताएर फर्कने क्रममा रम्घालाई सुमुखले जवरजस्ती चुम्बन गरे, रिसले चुर भएका रम्घाले सुमुखलाई गालि गर्दै श्राप दिए । श्रापका कारण सुमुख मृत्यलोकमा आउन बाध्य भए । भौतारिँदै हिँडेका सुमुखलाई ऋषिले भालेश्वर मन्दिरमा दिनहुँ जसो दर्शन गर्न सल्लाह दिए । दर्शन गर्दै जाँदा सुमुखले भालेश्वर महादेवको प्रत्यक्ष दर्शन पाए । भगवान महादेवले मनको इच्छा के छ माग भने पश्चात सुमुखले भने हजुरको गण भएर बस्न पाऊँ । बरदान प्राप्त भई त्यसै दिनदेखि सुमुख महादेवको गण भएर बसे ।

ब्राम्हण कुलमा जन्मिएका बिरूपाक्षबाट पूर्वजन्मको कर्मको फलस्वरूप विभिन्न पापकर्म एवम् मातृगमन समेत भयो । कुष्ठ रोगले ग्रस्त विरूपाक्ष यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा सुनकोशीको किनारमा नैमुनीलाई भेटी नैमुनीको उपदेश अनुसार प्रायश्चितका लागि चौसठ्ठी शिवलिङ्गको दर्शन गर्न विरूपाक्ष हिँडे । यसरी हिडेका विरूपाक्षले लिङ्गको दर्शन गर्दै जाँदा तीर्थमा नुहाएर भालेश्वर महादेवको दर्शन गर्दै पूजा अर्चना गरेको कुरा हिमबत खण्डमा उल्लेख गरिएको इतिहासकार प्रा. दिनेशराज पन्तको भनाई छ ।

नेपाल एकीकरण निर्माता पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट गोरखा फर्कंदा चन्द्रागिरी भई फर्कने क्रममा यहाँबाट देखिएको काठमाडौँको दृश्यबाट लोभिन पुगेका थिए । चन्द्रागिरीबाट काठमाडौँ उपत्यका हत्याउन यहीँ बसी अध्यामिक साधना गरेपछि काठमाडौँ जित्न सफल भएको भन्ने भनाई छ । चन्द्रागिरीको बारेमा दिव्य उपदेशमा यस्तो लेखिएको छ :
“चन्द्रागिरिमा आइपुग्यापछि नेपाल् कुन हो भनि सुध्याँञा र त्यो भादगाउँ हो. त्यो पाटन् हो. त्यो काठमाडौँ हो. भनि देषा (या) र, मेरो मनमा इ तिन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिहेथ्यो”

पृथ्वीनारायण शाहले काठमाडौँ हत्याउने इच्छा पोख्दा ज्योतिषद्वय भानु अज्र्याल र कुलानन्द ढकालले इच्छा पुरा हुने भविष्यवाणी समेत गरेको भनाई छ । तसर्थ मनको इच्छा पुरा भएको हुँदा भालेश्वर महादेवलाई इच्छापुरेश्वर महादेव पनि भनिन्छ । परापूर्वकालदेखि तिर्थालुहरू दर्शन र पूजापाठ गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् । टप स्टेशन अर्थात भालेश्वर मन्दिर नजिकैको भित्तामा पृथ्वीनारायण शाह र अन्य सहयोगीहरूको तस्वीर कुदिँएको हेर्दा ऐतिहासिकता झल्किन्छ । पृथ्वीनारायण शाहको २९५ औँ जन्म जयन्तीमा प्रा.लि ले मूर्तिचित्र स्थापना गरेको रहेछ । उनले यस डाँडाबाट तीनै वटा शहरको अवलोकन गरी एकीकरणलाई अगाडि सारेका थिए । उक्त कुरा उनले दिव्योपदेशमा उल्लेख गरेका छन् । मूर्तिचित्रको दृश्य नियाल्दा पृथ्वीनारायण शाहको जीवनी विद्यालय स्तरमा अध्ययन गरेको समय मैले झलझली सम्झेँ । पृथ्वीनारायण शाहको दूरदर्शिता तथा वीरत्वलाई मैले हृदयदेखि नै नमन गरेँ ।
काठमाडौँ उपत्यका प्राचीन कालदेखि कृषि तथा तिब्बत र भारतबीचको ब्यापारका लागि प्रमुख केन्द्र थियो । तसर्थ थुप्रै साशकहरूले आँखा गाडेका थिए । कर्णाट वंश स्थापना गर्ने नान्यदेवले सन् १०९७ मा काठमाडौँ हमला गरे । सफल हुन सकेनन् । तिरहुत राज्यले सन् १२९० र १३११ मा दुई पटक हमला गरे । सन् १३१३ मा रिपु मल्ल र १३२८ मा आदित्य मल्लले हमला गरे । राम शाहको पालमा छेउछाउका घले राज्य जित्दै गोरखाको सीमा, ललितपुर र काठमाडौँ जोडे । नरभूपाल शाहले पूर्वतिर अगाडि बढ्ने उद्देश्यले नुवाकोट आव्रmमण गर्दा हार खाए । पाल्पाका राजा मुकुन्द सेनले पनि काठमाडौँ उपत्यकालाई हमला गरे । पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट दोस्रो पटक हमला गरी जिते । नुवाकोटबाट एकीकरणको शंखघोष गरे । उनले १६९८ मा काठमाडाैँ उपत्यकाको राजनीतिक रहनसहन राम्रोसँग अध्ययन गरिसकेका थिए । सन् १८२३ मा कीर्तिपुर, १८२५ मा कान्तिपुर, १८२६ मा भक्तपुर जिति काठमाडौँ उपत्यकालाई एकीकरण गरी काठमाडौँलाई नै राजधानी बनाए । उपत्यका हत्याउनका लागि पृथ्वीनारायण शाहलाई समेत धेरै धनजन र समय खर्चनु परेको थियो ।
०००
मन्दिरको पश्चिम दिशातर्फ भ्यूटावरको निर्माण गरिएको छ । समुद्री सतहबाट २५४७ मिटरको उचाईमा रहेको भ्यूटावर भव्य देखिन्छ । काठमाडौँ उपत्यका, अनगिन्ति हिमाली टाकुराहरूको दृश्य अबलोकन गर्ने भीडको सङ्ख्या गनी साधे छैन । आन्तरिक एवम बाह्य पर्यटकहरूको सुविधाका लागि बार, रेष्टुरेण्ट, फास्टफुड, बाल उद्यान, सभाहलका साथै व्यवस्थित पाँच तारे होटलको पनि निर्माण गर्न लागिएको रहेछ । पर्यटकहरूका लागि समय बिताउन ठाउँठाउँमा पार्कको व्यवस्था गरिएको छ । पार्कमा  दूबो ओछ्याइएको छ । त्यहाँ खानेकुरा लान नमिल्ने नियम राखिएको छ । पसलमा भने दोब्बर मूल्य लाग्ने रहेछ । मूल्यको भारी अन्तरले गर्दा पर्यटकहरू दुःखी हुनु त स्वाभाविकै हो । मूल्य नियन्त्रण गर्ने कसले ? यस्ता कुराहरू धेरै पहिलेदेखि खड्किएको छ । जे होस् खानेकुरा सफासुघर, ताजा नै देखिन्छ ।
चन्द्रागिरी हिल्स प्रा.लि.ले नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा भव्य कार्यव्रmमका साथमा पुरस्कार ग्रहण गरेका थिए प्रा.लि.का सञ्चालकले । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्य र सेवा क्षेत्रको पहिचान गरी उक्त पुरस्कार दिने व्यवस्था मिलाइएको रहेछ । विश्वका ख्यातीप्राप्त संस्थाहरूले प्रकाशित गर्ने रिपोर्टहरूमा संसारकै टप टेनमा पर्ने स्थलको रूपमा चन्द्रागिरीलाई पनि समावेश गरिएको छ ।

धार्मिक, ऐतिहासिक एवम् प्रावृmतिक सौन्दर्यले भरिपूर्ण चन्द्रागिरीको भरपुर रस्वादन गर्दै हामी काठमाडौँतर्फ फिर्ता भयौँ चित्लाङ र चन्द्रागिरीको अविष्मरणीय याद बोकेर….।

Share
  • 147
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *