मेचीनगरमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्दै   

झापा। मेचीनगर नगरपालिका–८ मा रु १३ करोडको लागतमा फोहोर व्यवस्थापन तथा प्रशोधन केन्द्र बन्ने भएको छ । नगरमा उत्पादित फोहोरलाई मोहोरमा रूपान्तरित गर्ने उद्देश्यले सो केन्द्र बनाउन लागिएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन ।

उनका अनुसार सो कामका लागि आउने क्रमागत बजेटमध्ये पहिलो चरणमा सङ्घीय सरकारबाट रु तीन करोड बजेट आइसकेको छ । केन्द्र स्थापनाका लागि आदर्श माध्यमिक विद्यालयको छ बिघा जमिन लिइसकिएको र बाँकी चार बिघा सेन्ट्री आधारभूत विद्यालयको लिने तयारी भइरहेको उनले बताइन  ।

निन्दा खोलाको छेउमा स्थानीयवासीले खेती गरिरहेको विद्यालयको जग्गामा बन्न लागेको केन्द्रका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) समेत तयार गरेर निर्माणका लागि नगरपालिकाले ठेक्का लगाइसकेको छ । फोहोर व्यवस्थापन केन्द्रका लागि आवश्यक भौतिक संरचना तयार गर्न रु दुई करोड ७९ लाखमा मेचीनगरमै रहेको शान्ति जेभी उद्देश्य प्रालिलाई ठेक्का दिइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङले बताए ।

आगामी मङ्सिर २९ गतेसम्ममा केन्द्रसम्म पुग्ने सडक, कार्यालय भवन, सुरक्षा गार्डको भवन, शौचालय र कम्पाउण्ड वाल निर्माण सक्ने गरी गत असार मसान्तमा नगरपालिका र कम्पनीका बीच सम्झौता भइसकेको जेभीका प्रोप्राइटर नयन बरालले बताए ।

Share
  • 17
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *