रिबन

बराम जातिको जनजीवन

काली गण्डकीको होचो क्षेत्रमा बसोबास गर्ने बरामहरू आफ्नो मूलथलोका बारेमा आफैँ नै अनभिज्ञ छन् । कसैले आफ्नो जाति बर्माबाट नेपाल आएको बताउँछन् । कसैले मलेरियाजस्तो रोगसँग जुध्न सक्ने क्षमता भएका यिनीहरू तराईका बासिन्दा हुन् भनेका छन् । आर.डी. र एल्.एल्. (२०२३) ले नेपालका विभिन्न जातजाति र लोकगीत भन्ने पुस्तकमा नेपालका भित्री उपत्यकाहरू र तराईका जङ्गलका छेउछाउमा बसोबास गर्ने जातिहरूमा थारूबाहेक दनुवार, माझी र दरैहरू छन् । तिनीहरू दुई हजार वर्षदेखि नै बसोबास गर्दै आएका र बेसीतिर यिनीहरू नजिकमा खेतीवाल बरामहरू बस्थे भन्ने कुरा उल्लेख गरिएको पाइन्छ ।
बराम जातिको उत्पत्तिका बारेमा लिखित रूपमा प्रमाणित दस्ताबेज भेटिएको छैन । माइकल विट्जेल (Michael Witzel) ले मध्यनेपालको जातिका रूपमा भ्रामु जातिलाई हड्सनका शब्दलाई साभार गर्दै थामी र बराम जाति पश्चिमको हुम्लाबाट बसाइँसराइ गरेको भनेर उल्लेख गरेको छ । त्यस्तै थामी र बराम जातिलाई सँगसँगै एउटै शाखामा वर्गीकरण गर्दै भोटबर्मेली खलकको पूर्वी उपशाखाको रूपमा राखेका छन् ग्रियर्सनले । माइकल विट्जेलले बरामलाई मध्यनेपालको जाति भनेका छन् ।

गोरखामा बरामहरू कहिलेदेखि बसोबास गर्दै आएको कुनै प्रमाण भेटिएको छैन । शाहवंशीयभन्दा अगाडि नै बसोबास गरेको हुन सक्ने अड्कल गरिएको छ । गोरखामा राजा ल्याउने काम बराम जातिले गरेका हुन् भन्ने कथन छ । राजालाई बरामहरूले नजिकबाट सहयोग गरेकाले नै केही भूमिहरू बरामलाई दिइयो । उक्त कुरा उपलब्ध भएको किपट ताम्रपत्रमा उल्लेख गरिएको छ तर किपटमा कुन राजाको पालाको र कुन राजाले दिएको भन्ने कुरा स्पष्टसँग लेखिएको छैन । जेजस्तो भनिए तापनि बराम जातिको गोरखा जिल्लाको बगुवा, आरुपोखरी, मासेल, अर्पाङ, थुमी, स्वारा, सौरपानी, तार्कुकोट, लाकुरीबोट, पान्द्रुङ, नारेश्वर, देउराली, नाम्जुङ, श्रीनाथकोट, छोप्रोक, धुवाकोट, च्याङली आदि स्थानमा बसोबास गर्दै आएका छन् । यसका अलवा धादिङ, मकवानपुर, ललितपुर, नवलपरासी, बारा, सर्लाही, चितवन, तनहुँ, नुवाकोट जिल्लामा पनि छरिएका छन् । यिनीहरूको बस्ती एकत्रित भएको देखिन्छ । पितृसत्तात्मक प्रकृतिका बरामहरू एकात्मक परिवारका हुन् । बराम परिवार अथवा समाजमा झैझगडा परेमा कचरीको व्यवस्था गरिएको हुन्छ ।

परापूर्वकालदेखि पेसागत तवरले भरिया र दोलेको मर्यादाक्रममा आफूलाई स्थापना गराउँदै आएको यस जातिको आदिम स्थल गोरखा नै हो भन्नुमा सन्देह छैन । गोरखामा रहेर पनि यो जातिको निकटता सिञ्जाली राजाहरूसँग थियो । दरबारका भारी–सवारीका कामले गर्दा यो जाति राजाको निकट भएको हो । तिनताका सिञ्जा साम्राज्यका दुई प्रान्तमध्ये एकको बासिन्दा यो जाति थियो । त्यो जडान प्रान्त थियो र गोरखा जिल्ला पनि त्यही प्रान्तको एक क्षेत्र थियो । शाहवंशको अभ्युदय हुनुभन्दा करिब एक शताब्दीपूर्व नै यस जातिको प्रसङ्ग गोरखामा चलेको पाइन्छ । आदित्य मल्लको संवत् १३७८ मा गोरखा जिल्लाको उत्तरमा रहेको गुम्बाका बासगाया लामाको नाउँमा जारी गरिएको अभिलेखमा बराम शब्दको उल्लेख भएको कुरा बालकृष्ण पोखरेलले राष्ट्रभाषा पत्रिकाको पृष्ठ १९ मा लेखेका छन् ।
सुनुवार जातिका केही चालचलन यो जातिसँग मिल्ने हुँदा यस जातिलाई सुनुवार जाति हुन् भन्ने एउटा अपुष्ट ढिपी छ भने अर्को तर्क लङ्गडो रूपमा गरिएको पाइन्छ भन्दै रामबहादुर सुनुवारले लेखेका छन्–सुनुवारको बाह्र, थरमध्ये एक विनिहच (विनोच) नै बराम हुन् जो उत्पत्तिकालमा सुनुवारहरूका लेखक थिए । विनोचको गोत्र–ढुङ्ग, शाखा क्षेत्र र प्रवर–कुल्ली हो, बरामको गोत्रसँग मिल्दैन । अर्का विद्वान् बालचन्द्र शर्मा लेख्छन्–यदि बराम विनिहच थिए भने वंशावलीमा बराम किन उल्लेख भएन । समस्त बाह्रथरे, दसथरेको उल्लेख भएको ठाउँमा बराम कसरी छुट्यो होला ? यी दुई किसिमका बाहेक अन्य सुनुवारलाई अर्को वंशावलीमा उल्लेख गर्ने हो कि ? या दस र बाह्रथरेका अरू उपथर पनि छन् कि ? महाभारतकालीन इतिहासदेखि यो युगको भारतवर्ष हुँदै चीन, मङ्गोलिया, जापानलगायत युरोपसम्म छुन पुग्ने वंशावलीले के नेपालभित्रैको त्यति विशाल समूह बरामलाई देखेर होला र ? अर्को कुरा, आफ्ना अधिकांश सामाजिक एवम् धार्मिक कृत्य ब्राह्मणद्वारा गराउने सुनुवार ।

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.15752-9/87484989_222412068888475_7772837662599151616_n.jpg?_nc_cat=103&_nc_sid=b96e70&_nc_ohc=HOXLyb5Lw9AAX8ldLeF&_nc_ht=scontent.fktm3-1.fna&oh=54f29bc34d395de8207b51d5b31a06fb&oe=5F529728

राजा राजेन्द्रविक्रमले वि.स.१८८७ मा सुनुवारको बसोबास क्षेत्रका बारेमा जारी गरिएको कुरा अभिलेखमा उल्लिखित छन् । धनञ्जय भट्ट लेख्छन्–अभिलेखमा बरामहरूको बसोबासको क्षेत्र गोरखालाई किन उल्लेख गरिएन, साथै बरामका नाउँमा जारी गरिएको अभिलेखमा पनि सुनुवार किन भनिएन ? बरामहरूले पनि अन्य जातिले जस्तै किपट पाएका थिए । त्यस बदला यो जातिले कास्की, तनहुँ, लमजुङ देखिका हुलाक तथा अन्य सरकारी भारी ज्यामरुङ, धादिङ र काठमाडौँसम्म पु¥याउनुपथ्र्यो ।

यी कुराहरूबाहेक भाषाकै कुरा गरौँ–के सुनुवार र बालकुरामा मेल पाइएला ? राष्ट्रिय जनगणना २०५८ ले ७३८३ रहेका बराम जातिको जनसङ्ख्या २०६८ ले ८१४० उल्लेख गरेको छ तर नेपाल बराम सङ्घले १० जिल्लामा वि.सं. २०६५ मा गरेको प्रारम्भिक सर्वेक्षणको विवरणअनुसार बराम जातिको जनसङ्ख्या २१, ३९३ उल्लेख गरेको छ । यसरी राष्ट्रिय जनगणना र नेपाल बराम सङ्घको सर्वेक्षण विवरणलाई हेर्दा बराम जातिको जनसङ्ख्यामा एकरूपता देखिँदैन ।
यस जातिको गोत्रका बारेमा नेपाल बराम सङ्घ केन्द्रीय कार्यसमितिले वि.सं २०६५ मा गरेको प्रारम्भिक सर्वेक्षणले एक्काइसवटा गोत्रहरू रहेको प्रकाशनमा ल्याएको छ । ती गोत्रहरू हुन् राजपुत्र, महेश, नान्सिङ, चनघले खागी, काजी, कौशिला, ढाँडे, सुनकोसी, थारू, धनूजय, बारुली, खुलाला, गाँठी, दोलाकी, गरन्जा, सेतो खागी, कालो खागी, काली नाङ्सी, कम्स्य ।

बरामहरू विभिन्न पेसामा संलग्न छन् । खेतीकिसानी, पशुपालन, व्यापार–व्यवसाय, ज्याला मजदुरी र वैदेशिक रोजगारी नै आम्दानीका स्रोत हुन । खेतीमा धान, मकै, गहुँ, आलु, फापर लगाउँछन् । उब्जिएको अन्नले यिनीहरूलाई वर्षभरि खान पुग्दैनन् । तसर्थ आम्दानी जुराउन पशुपालन गर्छन् । विशेषतः गाई, गोरु, बाख्रा, भेडा, भैँसी पाल्छन् र मासु र दूध बेचेर आम्दानी गर्छन् । जीवननिर्वाहकै लागि सानोतिनो व्यापार–व्यवसायका साथै रोजगारीका लागि विदेश पनि लागेका देखिन्छ । आर्थिक अवस्था कमजोर भएका बरामहरू गाउँघरमा ज्याला मजदुरीमा पनि संलग्न रहेका छन् । शारीरिक रूपमा अशक्त बरामहरू निगालाको चोयाबाट डोको, नाम्लो, थुन्चे बनाई बेचबिखन गर्छन् र आएको पैसाले घरखर्च चलाउँछन् ।

बरामहरू पोसाकमा महिलाहरू फरिया, चालो, पटुका, ढाका पछ्यौरी तथा गहनामा तिलहरी, ढुङ्ग्री, नाकमा बुलाकी, चुरा, फूली लगाउँछन् भने पुरुषहरू पोसाकमा दौरा, कछाड, इस्टकोट, भोटो, धोती लगाउँछन् भने गहनामा कानमा गोकुल र गलामा रेसमी धागोले बनेको माला लगाउँछन् । आधुनिक प्रभावले गर्दा बजारमा उपलब्ध लुगाफाटा र गहना लगाउन थालेका छन् किनकि सस्तो र राम्रो देखिने हुनाले ।

साधारणतया यिनीहरूको घर दुई तल्लाको दुई पाखे हुन्छ । छाना खरले छाएको हुन्छ भने बरन्डा निकालेको हुन्छ । तल्लो तलामा चुलो हुन्छ । चुलाको माथिपट्टि भार झुन्ड्याएको हुन्छ । भारमा माछा, मासु, अन्नपात राखिन्छ । चुलाको चोखोनितोमा बढ्ता ध्यान दिन्छन् । फरक जातका व्यक्तिहरूलाई आफ्नो चुलोमा छुन दिँदैनन् । घरको धुरीखम्बामा कुलायन देवताको बास बस्छन् भन्ने मान्यता छ । तसर्थ घरको धुरीखम्बाका साथै घरवरपर सरसफाइका साथै गाईको गोबर र माटाले लिपपोत गर्छन् । त्यस्तै आफ्नो विवाहित छोरीलाई समेत घरको धुरीखम्बा छुनबाट वर्जित छ ।

बराम जातिको धार्मिक जीवनलाई नजिकबाट नियाल्दा हिन्दू र बौद्ध धर्मसँग नजिक रहे तापनि यिनीहरूको मुख्य धर्म किरात हो । हिन्दूले मनाउने दसैँ र तिहार यस जातिले पनि सोहीअनुसार मनाउँछन् । विशेष गरेर बरामहरूले तीन वर्षको एक पटक कुलपूजा गर्छन् । कुलपूजा गर्नुको मुख्य धेय पितृलाई खुसी पार्नु अर्थात् वायु बोलाउने हो । कुलायन पूजामा नबासेको भाले र सेतो बोका काटिन्छ । छोराको विवाह गर्दा एउटा बोका चढाउने चलन छ । आफ्ना गोत्रहरू कुलपूजामा जम्मा हुन्छन् । फागुन महिनाको सोमबार दिउँसो अन्न उब्जनी हुने खेतबारीको पूजाआजा गरिन्छ । जसलाई यिनीहरू भँगेरीपूजा भनिन्छ । सो पूजा गर्दा घरको मूलीले धूप अक्षताका साथमा कुखुराको बलि दिइन्छ । पूजाआजा विधि सकेपछि जमिनको एक मुठी माटो घरमा ल्याई सुरक्षितसाथ राख्छन् । खेतबारीमा अन्न उब्जाउने बेलामा उक्त माटो छर्ने चलन छ ।

यस जातिमा पाउँदूरे नाचलाई विशेष रूपले लिइन्छ । यस नाच दसैँ, तिहार र अन्य विशेष अवसरमा नचाइन्छ । देवीदेवताको नाम उच्चारण गरी यो नाच नचाइन्छ । नाच्ने क्रममा सरस्वती शरीरमा चढ्ने बताउँछन् । नाच्दाको बखतमा गीत पूरा भएन भने नाच्ने मान्छे वा गीत गाउने मान्छे बौलाउँछ पनि भन्छन् । अन्य जातिको जस्तै घाटु नाच यस जातिको पनि थियो । यद्यपि अहिले यो नाच हुन छाडेको छ ।

बरामहरू धामीझाँक्रीकोे विश्वास धेरै नै राख्दछ । बिरामी पर्दा वा भूतप्रेत पिचास पन्छाउनका लागि धामी झाँक्रीले फूल अक्षता गरी ढ्याङ्ग्रो ठोकी पितृको नाम लिई मन्त्रोच्चारण गर्छन् । धामीझाँक्रीले बिरामीहरूलाई स्थानीय झारबुटी खान दिनुका साथै समयसमयमा जोखनासमेत हेर्ने काम गरिन्छ । जङ्गल र खोलानालामा वनझाँक्री बस्ने गर्दछन् । वनझाँक्री भनेको यति हो भन्ने कुरा बताउँछन् बरामहरू । मान्छेहरूलाई वनजङ्गलीले भेटेमा साथमा लगी झाँक्री विधा सिकाई पठाउँछन् र उक्त तान्त्रिक विधाप्राप्त झाँक्रीले नै बराम जातिको संरक्षण गर्छन् भन्ने विश्वास छ । बरामहरू वनझाङ्ग्रीको पूजा वर्षमा एक दिन गर्छन् । घासँदाउरा गर्न जाँदा आइपर्ने दुःख समस्या वनझाँक्री रिसाएर भएको बताउने यिनीहरू वनझाङ्क्रीलाई बलिका रूपमा कुखुराको भाले भोग दिन्छन् । यस समुदायका तरुनी युवती अकालमा मृत्यु भएमा किचकन्याको रूप लिने विश्वास राख्दछ ।

किचकन्याहरू मध्याह्नमा बढी हिँडडुल गर्ने हुँदा सो समयमा हिँडडुल गर्दैनन् बरामहरू । किचकन्याको रूप आइमाई मान्छेको जस्तै हुने तर खुट्टाको कुर्कुच्चा पछाडि फर्केको हुने यिनीहरू बताउँछन् ।

नेपालमा विभिन्न भाषा बोलिन्छ । जस्तै आग्नेली, भारोपेली, द्रविडली र भोटबर्मेली । यी भाषामध्ये बराम जातिले बोल्ने भाषा बर्मेलीअन्तर्गत पर्दछ । बरामको आफ्नै भाषा छ । जुन भाषालाई बालकुरा भाषा भनिन्छ । बालकुराको पनि अर्थ रहेको छ । बालको अर्थ मान्छे र कुराको अर्थ भाषा । यसरी मान्छेले कुरा गर्ने भाषा भएकाले बालकुरा भनियो भन्ने तर्क छ । बरामहरू पूर्णरूपमा आफ्नो भाषामा बोलीचाली कहीँकतै गरिँदैन । गोरखा जिल्लामा बसोबास गर्ने सीमित बरामहरूले मात्र नेपाली भाषामा केही अंश प्रयोग गर्छन् । यिनीहरू आफ्नो भाषालाई बालकुरा भाषा भन्दछन् । बराम जातिको भाषा थामी र मगर जातिको भाषासँग केही मिल्दोजुल्दो देखिन्छ । बराम जातिका बूढापाकाहरूले मात्र आफ्नो भाषा बुझ्दछन् तर युवापुस्ताले बुझ्दैनन् । अन्ततोगत्वा भाषा नै लोप भएर जान सक्ने सम्भावना बढेको छ । तसर्थ बालकुरा भाषाको भाषागत विकास गर्नुपर्ने देखिन्छ ।

अतिथि देवो भवः । बरामहरू अतिथिलाई सम्मानपूर्वक सत्कार गर्छन् । आफ्नो घरमा कुनै चाडपर्व एवम् कुनै सामाजिक कार्य गर्न परेमा आफन्त र घरगाउँलेहरूलाई आमन्त्रण गर्नका लागि घरकै एक सदस्यले आफैँ गई आमन्त्रणको निम्तो ठम्याउँछन् । भोजभतेरमा माछामासुका साथै घरेलु जाँडरक्सीको प्रपञ्च मिलाएको हुन्छ । जाँडरक्सी खाई मातेर एकआपसमा झैझगडासमेत हुने गर्छ । माछामासु, जाँडरक्सी नखाने पाहुनाहरूलाई अन्नबाट बनेका परिकार र फलफूल खान दिइन्छ । भोजभतेरका परिकार पाकेपछि सर्वप्रथम आफ्नो पितृलाई चढाउँछ । यसो गरेमा पितृ खुसी हुन्छ र दुःख दिँदैन भन्ने गरिन्छ ।

भोजभतेरमा संलग्न हुनेमध्ये आफ्नो नजिकको गोत्रको छ भने चुलाको नजिक र अन्य टाढाकालाई चुलादेखि अलि टाढा राखेर खान दिन्छन् तर दलित जातिलाई आगमनमा र पिँढीमा राखिन्छ । अहिले मुलुक धर्म निरपेक्ष भए तापनि जातभात छुवाछुतको विभेद गर्न हुन्न भन्दा यिनीहरू सहज रूपमा स्विकार्दैनन् । यदि कसैले चुलो छोएमा गोबर माटाले लिपपोत गरी चोख्याइन्छ । यसो गरिएन भने पितृको आत्माले दुःख दिन्छ भन्ने भनाइ छ ।

गर्भ रहन गएमा सुत्केरीलाई धामीझाँक्रीलाई झारफुक गर्न लगाउँछन् । जनचेतनाको प्रभावले होला अहिले स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा पनि गर्भवतीलाई लगिन्छ । गर्भवतीलाई पोसिलोयुक्त खानेकुरा खान दिइन्छ । गर्भ रहिसकेको महिलालाई घरबाहिरको काम गर्न लगाउँदैनन् । घरभित्रको सामान्य काम मात्र गर्न लगाउँछन् । शिशुको जन्म भएपछि न्वारान कतै ५ दिनमा कतै ११ दिनका गर्छन् । ब्राह्मण अर्थात् ज्वाइँ पुरोहितबाट चोख्याउने काम हुन्छ । चोख्याउने काम गहुँत छर्कने र खाने गरिन्छ । पास्नीको कार्य छोरा भए छ महिना र छोरी भए पाँच महिनामा गरिन्छ । मामाले चाँदीको सिक्काबाट भान्जालाई भात र अन्य मिष्टान्न खान दिई भात खुवाउने काम गरिन्छ । बिजोर वर्षमा मामाले कपाल मुण्डन गरी व्रतबन्ध गरिन्छ । गुन्यूचोली दिने काम पनि व्रतबन्ध गरेको जस्तै गरी गरिन्छ । छोरीलाई गुन्यूचोली र पोते लगाइदिइन्छ । यसरी व्रतबन्ध र गुन्यूचोलीका काम समाप्त भएपछि विवाह गर्न उपर्युक्त भनिन्छ ।

यस जातिमा मागीविवाह सर्वोपरि ठान्दछन् । विवाहको कार्य कतै ब्राह्मण पुरोहितबाट तथा कतै ज्वाइँ पुरोहितबाट गरिन्छ । विवाह गर्ने कार्यलाई सुर्केपुङ भनिन्छ । लमी अर्थात् केटाका आफन्तहरू केटीको घरमा कुरा चलाउन जान्छ, त्यतिखेर एक बोतल रक्सी साथमा लगिन्छ । त्यही रक्सीलाई सुर्केपुङ भनिन्छ । दुवै पक्षबीच कुराकानी गरी यदि विवाह गर्न मन्जुरी भएमा केटीले सुर्केपुङ समात्छ । त्यसपछि विवाह हुने पक्का हुन्छ । पञ्चे बाजाका साथमा दुलाहा पक्षका जन्ती केटीको घरमा प्रस्थान गरिन्छ । अन्य जातिले बनाउने जग्गे यिनीहरूले बनाउँदैनन् । दुलहीको आमाद्वारा एउटा करुवा कलशमा पानी राखी दूबो, फूल, पाती राखेर दही र सुपारी खुवाइन्छ । आमालाई केही रकम दिएपछि स्वयंवर गर्ने कार्य सुरु हुन्छ । दुलहीको परिवारका सदस्यहरू र इष्टमित्रहरूले दुलाहाको टोपीमा रकम चढाउँछन् । दुलहीको आँगनमा गुन्द्री वा राडीपाखीमा दुलाहा र दुलहीलाई राखी स्वयंवर कार्य अगाडि बढाइन्छ । दुलहीले दुलाहालाई तीन पटक कलशको पानी चुहाउँदै परिक्रमामा गरी दूबोको माला तथा औँठी दुलाहाले दुलहीलाई र दुलहीले दुलाहालाई लगाइदिई सिन्दूर हाले स्वयंवर कार्य सकिन्छ । दुलहीलाई लाने क्रममा दुलही सँगीहरूले बीचबाटामा पछ्यौरो ओछ्याई जन्तीलाई छेक्छ । दुलाहाले केही रकम पछ्यौरामा राखेपछि छाडिदिन्छ । दुलाहाको घरमा जम्मा भई चेलीबेटी एवम् घरगाउँलेका महिलाहरू रत्यौली गर्ने चलन छ । दुलाहा र दुलहीलाई घरमा भित्र्याएपछि विवाहभोज खान दिइन्छ । दुलान फिर्ने चलन पनि छ । मागीविवाहको अलावा चोरीविवाह, प्रेमविवाह र अन्तरजातीय विवाह पनि हुने गर्छ ।

परिवारमा कसैको मृत्यु हुन गएमा सर्वप्रथम दाजुभाइ खलक र गाउँले जम्मा हुन्छ । पुरुषको मृत्यु भएमा सालो बोलाउने र महिलाको मृत्यु भएमा भतिज बोलाउने चलन छ । लासलाई घरबाट निकाल्नुअघि आँगनमा गाईको गोबरले लिपपोत गरी सुनपानी र गहँुत छर्कन्छ । हरियो बाँसबाट बनाइएको अर्थीमाथि लासलाई राखिन्छ । लास जलाउन नदीतर्फ लगिन्छ । लासको अगाडि टपरीमा राखिएको धान, चामल र पैसा छर्दै नदीसम्म पुग्छ । चितामाथि लास राखी मृतकको छोराले दागबत्ती दिई जलाइन्छ । लास जलिसकेपछि छोराहरूको केश मुण्डन गर्ने र मलामीहरू नदीमा स्नान गर्दछन् । १३ दिनभित्र अर्थात् बिजोर दिनमा जुठो चोख्याइन्छ । किरिया बस्दाको अवस्थामा घरनजिकै रहेको धारापँधेरामा किरियापुत्रीले एक छाक भात आफैँले पकाएर खान्छन् । जुठो चोख्याउने दिनमा मलामीहरू आमन्त्रण गरी सम्मानपूर्वक भोज खान दिइन्छ । जसलाई काट्टो भोज भनिन्छ । मृतककी स्वास्नी र छोराले एक वर्षसम्म बरखी बार्छन् । बरखी बार्दा चोखोनितो र सेतो कपडाको झन्झटिलो हुने हुँदा ४५ दिन अर्थात् छ महिनामा नै बरखी फुकाउने चलन बढी चल्ती देखिन्छ । बरखी बारेपछि वार्षिक श्राद्ध गर्ने रीत भने छैन ।

निष्कर्ष
नेपालमा बसोबास गर्ने जातिहरूमध्ये बराम अल्पसङ्ख्यक जातिको सूचीमा पर्दछ । यिनीहरूको आफ्नै भाषा छ । जुन भाषालाई यिनीहरू बालकुरा भाषा भनिन्छ । उक्त भाषा बूढापाकाहरू मात्रै केही मात्रामा बोल्छन् तर युवापुस्ता बोल्दैनन् र बुझ्दैनन् पनि । सरकारी भाषा र आफ्नो जातिभन्दा अन्य जातिको सम्पर्कमा नेपाली भाषा नै बढी बोलीचालीले गर्दा बराम भाषा लोप भएर जान सक्ने सम्भावना बढेको छ । भाषाको संरक्षण र सम्बद्धका लागि बराम समुदाय मात्र लागेर पुग्दैन । यस जातिको सूक्ष्म ढङ्गले अनुसन्धान गरी सङ्कटमा परेको बराम जातिको पहिचानका रूपमा रहेको भाषाको उत्थानका लागि राज्यले नै पहलकदमी गर्ने हो कि !
बट्टार, नुवाकोट

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट