भाल्चेमा कुइराेसंग लुकामारी

नुवाकोट एक ऐतिहासिक जिल्ला । काठमाडौँदेखि ३२ कि.मी. दूरीमा रहेको नुवाकोट र काठमाडौँको प्राचीन कालदेखि नै गाढा सम्बन्ध रहिआएको छ । त्यसबेलादेखि काठमाडौँबाट व्यापारीहरू व्यापारको सिलसिलामा नुवाकोट हुँदै तिब्बतका विभिन्न ठाउँमा पुग्ने गर्दथे । यसर्थ पनि नुवाकोट सामरिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । काठमाडौँबाट विशेष गरेर गल्छी, झोर र ककनी गरी तीन मार्गबाट पुगिन्छ नुवाकोट । पूर्व, पश्चिम, उत्तर, दक्षिण, क्रमश: सिन्धुपाञ्चोक, रसुवा, धादिङ र काठमाडौँ जिल्लाले घेरिएको नुवाकोट ८५.५८ देखि ५.३० पूर्व देशान्तर तथा २७.४ देखि २८.६ उत्तर अक्षांशभित्र पर्दछ । १० गाउँपालिका र २ नगरपालिका रहेको नुवाकोटलाई पहिले पश्चिम एक नम्बर भनेर चिनिन्थ्यो । नौ वटा कोट मिलेर बनेको छ नुवाकोट । जस्तै: बेलकोट, मालकोट, प्यासकोट, भैरमकोट, धैबुङकोट, सिमलकोट, फिर्केपकोट, कविलासकोट र धुवाँकोट । सीमा निर्धारण गर्ने क्रममा धुवाँकोट धादिङ्गमा र धैबुङकोट रसुवामा पर्दछ । पहाडी जिल्ला नुवाकोट प्राकृतिक सौन्दर्यले अवर्णित छ । त्यही सौन्दर्यलाई स्पर्श गर्नका लागि यात्रा तय गर्ने विचारले एक दिन म यात्रामा निस्किएँ- बट्टारबाट बेत्रावती, तुप्चे, मनकामना, काहुले, फिकुरी, भाल्चे र साल्मे ।

फिकुरीका मित्र रवि फुयाँलसँग चिनाजान भएको धेरै वर्ष भयो । त्यस भेगतिर गए धेरै पटक तर बास बस्न र घूमफिरका लागि होइन । काम बिशेषले छोटो समयमा पुग्ने र फर्कने काम भयो । रविले भ्रमणको निम्ता कति दिएका हुन् तर पनि समय मिलाउन सकेको थिइनँ । यसपाली उनको आग्रहलाई स्वीकार्दै मैले यात्राको योजना बनाएँ । मैले जिल्लाका सबै जसो ठाउँमा घुमफिर गरेको छु । तर, लेख्नका लागि नै भनेर यात्रा गरेको भने यो पहिलो हो । यात्राका लागि माध्यम अर्थात् साधन थियो मोटरसाइकल । यात्राका साथी थिए– सूर्यमतिका भाइ महेन्द्र लामिछाने । यात्रा गर्दाको बसाइमा लाग्ने सामानको चाजोपाजो अघिल्लो दिन नै मिलाइसकेका थियौँ । बिहानै यात्रालाई अघि बढायौँ ।

गल्छी–केरूङ हाइवे निर्माण कार्य जोडतोडका साथ काम भइरहेको छ । मूल सडकको बीच भागबाट दायाँ–बायाँ १५/१५ मिटर अर्थात् तीस मिटरको पक्की मोटर बाटो । यो सडक चालु भएको खण्डमा पक्कै पनि नुवाकोट ट्रान्जिट प्वाइण्टको रूपमा विकसित हुनेछ । चीन र नेपाल जोड्ने छोटो दूरीको बाटो हुनेछ यो । निर्माण कार्यअन्र्तगत अहिले गल्छीबाट देवीघाट हुँदै पिपलटार गंगटेसम्म काम भइरहेको छ । त्यस्तै ढुङ्गेदेखि बेत्रावतीसम्म पनि काम भइनै रहेको छ । नुवाकोटको मुटुमा रहेको बट्टार बजार भने अन्यत्र काम सकिएपछि मात्र सुचारू गर्ने आयोजनाले जनाएको छ । व्यस्त बजार भएकाले नै बट्टारका जग्गा जमिनको भाउ अक्कासिएको छ । पासाङ ल्हामु सडक जोडिएको जग्गाको मूल्य कम्तिमा पचास लाख पर्दछ । बाटो चौडा गर्ने क्रममा न्यूनतम मुअब्जा दिएर निर्माण कार्य अगाडि बढाउन लागिएकोमा स्थानीय आक्रोशित छन् । महेन्द्र थप्छन् भन्छन्, ‘बट्टार बजारमा बसोवास गर्नेहरूको जग्गा जमिन बाटोको नाममा उठिबास लाग्ने अवस्था तर न्यून मुअब्जा भएकाले कसरी बसोबास गर्लान् तसर्थ, सबै जमिन जानेहरूका लागि राज्यले बासको व्यवस्था गर्न वान्छनीय देखिन्छ है दाइ ’ ‘केही के ही गर्ला नि भाइ राज्यले ’ मैले भनेँ ।

गर्मी महिना । टन्टलापुरले घाम लागेको छ । सडकमा मोटरको आवत–जावत बाक्लै छ । बाटोमा छारो उड्नाले सास फेर्नै गारो परेको छ । महेन्द्र भन्दै थिए– ‘बाटो निर्णय गर्ने ठेकेदारसँग मोटै रकम लिएका थिए, देवीघाटदेखि ढुङ्गेसम्म पानी हाल्नका लागि धुलो नउडोस् भनेर तर आँखामा छारो हाल्ने काम मात्र भएको यस्तालाई कडा कारबाही गर्नु पर्ने ’ निस्सासिँदै हामी सिमुटार पुग्यौँ । वि.सं. २०७२ वैशाख १२ को भूकम्पले विस्थापित भएका परिवारहरूको बाक्लै बस्ती छ सिमुटारमा । भूकम्प गएपछि मेरो अग्रसतामा जिल्लाको धेरै जसो ठाउँमा राहतका सामाग्रीहरू बाँढ्ने काम भयो । सिमुटारको बस्तीमा पनि राहतका सामाग्री वितरण गरेका थियाैँ । यहाँ रसुवाको हाकु र नुवाकोटको साल्मे, भाल्चे, लच्याङ, किमताङका सयाैँ घरपरिवार बसोवास गर्दछन् । जस्तापाताले बारेर सामान्य रूपमा बस्दै आएका मानिसहरूको मुख्य पेशा भनेको नै मजदुरी रहेछ । काम गरेको दिन माम पाइने नत्र भोकभोकै बस्नु पर्ने बाध्यता सुनाए स्थानीय सुकुनु तामाङ (६६)ले । उनले भनेका थिए, ‘ पेटभरि खाना पाइन्छ औषधी उपचार गर्न पाएका छौँ भोक रोगले ग्रसित छाैँ। अब त कालले मात्र पर्खिरहेको छ ।

घर बनाउनका लागि सरकारले पचास हजार रूपैयाँ दिए पनि जग्गा जमिन ढुङ्गाले पुरेर पहाड बनाएपछि कसरी घर बनाउनु । डाडाँगाउँ रसुवाका मङ्गले तामाङ फत्फताइरहेका थिए । भूकम्प बस्ती चाहायौँ । बालबच्चाहरू आँगनमा खेलिरहेको देखिन्छ । पर्याप्त पौष्टिक आहारको अभावले ग्रस्त देखिन्छन् बच्चाहरू । बस्तीमा पिउने पानीको अभाव देखिन्छ ।

बर्खायामको त्रिशूली नदीको धमिलो पानी खान बाध्य भएका पाइयो । अशुद्ध पिउने पानीले गर्दा बच्चादेखि बृद्धसम्मलाई झाडापखालाले सताएको रहेछ । ‘जिल्ला खाने पानीले कम्तिमा यस्तो ठाउँमा पिउने पानी व्यवस्था गर्न सक्नु पर्ने हो नि’ महेन्द्रले भने । तर, कसले पुर्याउने त्यहाँसम्म यो कुरा । यस्तै यस्तै पहाडजस्तै समस्याहरूको थुप्रो हेर्दै अगाडि बढ्ने क्रममा शुभघाट पुग्यौँ । ऐतिहासिक परिचय बोकेको शुभघाटमा एकै क्षण टहलाउन मन लाग्यो । वर्षायामको त्रिशूली खोला । उर्लंदो भेल । डरलाग्दो आवाज । खोलाको छेउमा पुगेँ ।

एक अञ्जुली पानी हातमा लिएँ । तिनै महानायक पृथ्वीनारायण शाहलाई चढाएँ । त्यसताक पृथ्वीनारायण शाह गोरखाका राजा थिए । राज्यभिषेक गर्नासाथ स–साना राज्यलाई एकीकरण गर्ने क्रममा वि.सं.१८०१ मा दोस्रो प्रयासपछि नुवाकोटमाथि विजय गर्न सफल भएका थिए पृथ्वीनारायण । असार साउनको त्रिशूली नदीको भेल तरी नुवाकोट आक्रमण गर्न सफल भएकाले नै शुभारम्भ अर्थात् नदी तर्दाको स्थानलाई शुभघाट भनिएको रे । नुवाकोट विजयपछि उनले गोरखाको राजधानी नुवाकोट सारे । नुवाकोटमा भव्य दरबार बनाए । त्यही दरबारमा बसेर राज्य सञ्चालन गरे । दरबारमा रहँदा प्रायःजसो बिहान स्नानका लागि पृथ्वीनारायण शुभघाटमा आउने गर्दथे रे । उक्त ऐतिहासिक शुभघाटको महत्वलाई बुझेर संरक्षण गरिनु पर्छ ।

प्रकृतिको अनुपम उपहार त्रिशूली नदी । यस नदीको पानी सिञ्चित गरेर विद्युत उत्पादन गरिएको छ । तुप्चे हेडगेडमा त्रिशूली नदीको बाँध बाँधी त्रिशूली जलविद्युत केन्द्र २० मेगावाट र देवीघाट जलविद्युत केन्द्र १२ मेगावाट उत्पादन भइरहेको छ । उत्पादित बिजुली नेपालका साथै छिमेकी मुलुक भारतमा समेत पुगेको छ । हेडगेडबाट कोलनीको इन्टेक डिलसम्म नहरको माध्यमबाट पानी लगिने काम भएको छ । दुई नम्बर पुलबाट करीब दुई सय मिटर नहर सडकसँग जोडिएको छ । साँघुरो सडक भएका कारणले यातायातका साधन धेरै पटक पोखरीमा खस्ने गरेको छ । दुर्घटना न्युनीकरण गर्नका लागि नहर साइडमा वाल लगाउने र नहरको पारि भित्तामा सडक बढाउनु पर्ने देखिन्छ ।

बेत्रावती बजार नुवाकोट र रसुवाको भूमिमा पर्ने सानो बजार हो । दैनिक उपभोग्य सामान खरिद विक्री गर्नका लागि मान्छेहरूको भीडभाड देखिन्छ बाक्लै । सुविधा सम्पन्न होटेलका साथै बित्तीय संघ संस्था पनि बढेका छन् पहिलेको तुलनामा । बेत्रावतीमा नेवार समुदायको बाहुल्यता छ । नेवारी संस्कृतिलाई बचाएर राखेका छन् यहाँका स्थानीयले । भगवान महादेवले कालफुट विषको डाह साम्य पार्न बेतको छडी धैवुङ फेदमा गाड्दा जल उत्पन्न भई बेगगंगा उत्पत्ति भएको धार्मिक मान्यता छ । बेत्रागंगाबाटै यस ठाउँको नाम वेत्रावती रहन गएको कथन छ ।

बेत्रागंगा र गोसाइँकुण्डबाट बग्ने पानीको सङ्गम स्थल बेत्रावती हो । जसलाई उत्तरगया नामले पुकारिन्छ । धार्मिक ग्रन्थअनुसार धर्मका लागि उत्तरगया र दक्षिणगया महत्वपूर्ण स्थलको रूपमा मानिन्छ । दक्षिणगया चाहिँ भारतमा पर्दछ । उत्तरगयाको दर्शन गरेपछि मात्र दक्षिणयाको दर्शन गर्नाले धर्म प्राप्ति हुने धार्मिक ग्रन्थमा उल्लेख छ । विशेषत पुसको औँसीमा उत्तरगयामा बृहत् मेला लाग्ने गर्छ । यहाँ पितृउद्धार कार्य सम्पन्न गरिन्छ ।

उत्तगयालाई त्रिगंगा क्षेत्र पनि मानिन्छ । यदि यस क्षेत्रमा आई पूजापाठ र स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुने भनाई छ । धार्मिक मान्यताअनुसार सत्ययुगको समयमा चेपडे भन्ने नगरका एक राजा बेत्रागंगामा आएर स्नान गरेका थिए । उनका सबै असत् गुणहरू समाप्त भएर विष्णुधाम पुग्न सफल भए भनिन्छ । बेत्रावती परिक्रमा गर्ने क्रममा भेटिए छत्रबहादुर खड्का । उनी र मेरो चिनापर्जी भएको धेरै समय भएको छैन । साहित्य लेखनमा रमाउने मान्छे हुन्– उनी । नेपाली साहित्यको बजारमा ‘राष्ट्रियताले पुष्पित लोकतन्त्रले पल्लवित मेरो देश’, ‘बेत्रागंगा एक चिनारी’, ‘मेरो अतीत’ जस्ता साहित्यिक कृतिहरू पस्कनु भइसकेका रहेछन् । अझै चार थान कृतिका पाण्डुलिपि तयारी अवस्थामा रहेको छ ।

लामो समय शिक्षण गरेर आवकाश भएका उनी विगत चार वर्षदेखि घरमै विरामी भएर बसिरहेका छन् । बे्रन हेम्ब्रेज भएका उनी डा.उपेन्द्र देवकोटाको उपचारले नयाँ नयाँ जीवन पाएको बताउँछन् । अफशोच ! उनी र उनीजस्ता धेरैलाई नयाँ जीवन दिने उनी आज यो संसारमा छैनन् । असल मान्छेलाई किन दैवले चाँडै लान्छ ? उनका गह आँसुले टिलपिलाए ।

‘सेवा निवृत्त भएवापत आएको सबै पैसा औषधी उपचारमा सकियो । महिनावारी प्राप्त हुने पेन्सनले औषधी सेवन गर्न पनि पुग्दैन’ उनले दुःख पोखे । गायन तथा वाद्यवादनमा अत्यन्त पारम्गत उनी साहित्यमा पनि परिचित छन् ।

बेत्रावती धार्मिक क्षेत्र मात्रै होइन ऐतिहासिक क्षेत्रको रूपमा पनि विशेष छ । गोरखाका राजा नरभूपाल शाहले भोटमा हमला गर्न बेत्रावतीको बाटोबाट फौज पठाएका थिए । त्यो फौज कुकुरघाटसम्म केरूङ हुँदै पुगेको थियो । नरभूपाल शाहको पालामा केरूङ र झुगाँको दोसाँध झुङ थानमा गोरखाली फौज पुगेछ । भोटको फौजले गोरखालीलाई आफ्नो घेरामा परेको थियो । भुटानी लामाले यी दुईबीच सन्धि गराउन सफल भएको थियो । सन्धि गराइदिए वापत खुसी भएर नरभूपाल शहाले भुटानी गुम्बालाई नड्यली र पुँ गाउँको जग्गा दिएका थिए रे । गोरखा र भोटको सीमाना कुकुरघाट थियो ।

नरभूपाल शाहपछि गोरखाका राजा पृथ्वीनारायण शाह भए । पृथ्वीनारायणले नुवाकोट विजय गरेपछि भोटसँगको व्यापारले आफूलाई फाइदा हुन्छ भन्ने राम्ररी बुझेका थिए । काठमाडौँ उपत्यका आफ्नो हातमा लिएपछि पृथ्वीनारायणले भोट सरकारसँग सम्पर्क राख्ने काम गरे ।

उनले पठाएका टकहरू भोट सरकारले प्रचलनमा ल्याउनको लागि तयारीमा थियो । तर नेपालका राजाले पहिलेका सबै मिसाहा टकहरू नयाँ टक दिएर फिर्ता लिनुपर्ने कुरा भोट सरकारले उठाएपछि मिसाहा टकमा रहेको चाँदीको मूल्यको आधारमा नयाँ टक दिई मिसाहा टक फिर्ता लिने कुरालाई भोट सरकारले मान्यता दिएनछ । मिसाहा टक बारेको विवाद पृथ्वीनारायण शाहको समयमा सुल्झिन नसक्दा नेपाल भोट विवाद यसै रहन गएछ । पृथ्वीनारायण शाहका मृत्युपछि उनका छोरा प्रतापसिंह शाहले भोट सरकारसँग वार्ता गर्न एक प्रतिनिधि कुटि पठाउने काम गरेछन् ।

सन् १७९१ मा चार हजार नेपाली सेना कुतीतर्फ प्रस्थान गरेका थिए । त्यसतर्फ दामोदार पाण्डे, बम शाह, देवदत्त थापा सम्मिलित थिए– समूहमा । नेपाली सेनाले कुती, सिंग्ते, टिगरी र शेहरजोङसँग आफ्नो अधिनमा परेका थिए । केरूङ सन्धि सरकारले उल्लंघन गरेको भनी दामोदार पाण्डेले तिब्बती सरकारसँग ५० धार्नी सुन र एक लाख बक्यौता माग गरे । उक्त नेपाली प्रस्ताव तिब्बती सरकारले अस्वीकार गर्ये । तिब्बतीमा नेपालले विजयी प्राप्त गरेपछि चीन सरकारलाई स्वीकार्य भएन । चीनले ठूलै फौज नेपाली सेनासँग आइलाग्न पठायो । नेपाली सेना केरूङबाट रसुवातर्फ भाग्न बाध्य भएछ । चीनीया सरकारले रसुवा, स्याब्रु, धुन्चे र धैवुङ बेत्रावतीसम्म चिनियाँ फौज आए । बेत्रावतीको अग्लो उचाईबाट ढुङ्गामुढा गर्न थाले नेपालीले । डरले चिनियाँ फौज बेत्रावतीबाट नुवाकोटतर्फ अगाडि बढ्न सकेनन् । चिनियाँसँग लड्नका लागि नेपालले इस्ट इन्डिया कम्पनी सरकारसँग सहयोग मागेको थियो तर सहयोग प्राप्त भएन । अन्ततः बाध्य भएर नेपालले तिब्बतसँग १८४९मा बेत्रावतीमा सन्धि गरेको थियो । यसर्थले पनि बेत्रावतीलाई नजिकबाट बुझ्न जरूरी देखिन्छ ।

बेत्रावती र तुप्चे जोड्ने नयाँ झोलुङ्गे पुल निर्माण भएको छ । पुलबाट हिँडेर र मोटरसाइकलबाट आवात जावात गर्न सजिलो भएको छ । झोलुङ्गे पुल नबन्दा बेत्रावती तुप्चे आवात जावात गर्न झण्डै ४५ देखि ५० मिनेटको समय लाग्थ्यो । झोलुङ्गे पुलले गर्दा समयको बचत भएको छ । तुप्चेको भूमि टेकेपछि २०७२ सालको महाभूकम्पको सम्झना आयो । भूकम्पले सबै घर भत्किनाले भौतिक क्षति त भयो भयो मानवीय क्षति पनि पुग्ने गएको थियो । तुप्चेका धेरै चिनजान साथीहरू छन् । उहाँहरूसँग भलाकुसारी गर्न मन थियो तर समयको अभावले गर्न संभव भएन । तुप्चेको अक्करेसम्म पुगेर फर्कें । दायाँबायाँ पक्की घर निर्माण भइसकेको रहेछ । खासै अस्थायी घरहरू देखिएनन् । खुशी लाग्यो । वर्षात्को बाटो । हिलाम्मे छ । अगाडि बढ्नै समस्या । बल्ल बल्ल पुगियो सोले । पानीले गर्दा जङ्गलको ढुङ्गामाटो बाटोमा थुप्रिदा आवाज जावत बन्द भएछ । बाटो सफा गर्न बल्ल आइपुग्यो डोजर । चालकलाई सोधेँ, ‘कति समय लाग्छ ढुङ्गा माटो पन्छाउन ?’ उनले भने, ‘एक घण्टा ’ नास्ता खाने सल्लाह भयो हामीबीच । स्थानीय सलाखु खोलाको माछा चाख्याैँ स्वादले । नजिकै रहेको त्रिशूली र फलाखु खोलाको पानी भन्दा सलाखु खोलाको पानी सफा नै देखिन्छ । सलाखु खोलाको पानीले विजुली उत्पादन हुन लागेको रहेछ । उत्पादन गर्नका लागि सर्भेसमेत भइसकेको रहेछ । विद्युत उत्पादन हुने हल्लाले नै यहाँ जग्गाको मूल्य अधिक बढेछ । एकै छिन्को बसाइमा एक घण्टा बितेको पत्तै भएन । बाटो खुलिसकेछ । सोलेबाट चामपानी, मानेडाँडा हुँदै चामडाँडा आइपुग्याैँ । चाम डाँडामा सानो बजारजस्तो देखिन्छ । स्वास्थ्य चौकी, विद्यालय र बित्तीय संघसंस्थाले गर्दा यहाँ मान्छेहरूको आवात् जावत बाक्लै देखिन्छ । सोलेदेखि चाँपडाडाँसम्मको मोटर बाटो कच्ची भए तापनि पक्की सडकजस्तै देखिन्छ । न हिलो, न खाल्टाखुल्टी । यात्रालाई बाटोले सहजता तुल्याएको महसुस हुन्छ र चापडाँडादेखिको बाटो भने कन्तबिजोकै छ । ज्यान जोगाउन पनि मुस्किल । बल्ल आइपुग्यो मनकामना मन्दिर । बाटोको छेउमा रहेको मन्दिरलाई धर्मलम्बीहरूले आस्थाको केन्द्र विन्दुको रूपमा लिँदा रहेछन् । मन्दिरमा दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास रहेको छ । हिन्दू र बौद्ध दूवै धर्मलम्बीहरूको उपस्थिति सो मन्दिरमा रहन्छ । हिन्दुले पूजापाठका साथै बली दिइन्छ भने बौद्ध धर्मलम्बीहरूले पूर्णेको दिनमा पूजाआजा गर्ने गर्दछन् । विशेष गरेर हिन्दु धर्म पूर्णिमा तिथिमा पूजाआजा गरिन्छ । त्यसबेलामा नारायण पूजा, रूद्रीका साथै लाखबत्ती बालिन्छ । मन्दिरको पश्चिम दिशातर्फ सल्लाको बोटमा तीन वटा हागाको त्रिशूल आकारको देखिन्छ । हागो एकै नासको देखिन्छ । रूखमा चट्याङ परेर हाँगाले गर्दा मन्दिर भत्किएको छ । यस्तो धार्मिक आस्थाको धरोहरको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने देखिन्छ ।

यस भेगको व्यापारिक केन्द्रको रूपमा सातदोबाटो बजारलाई मानिन्छ । मानेगाउँ, अर्चले, सलाखुखोला, कार्कीगाउँ, काहुले, ताजी र कुपा गरी सातवटा गाउँ जाने सातदोबाटो रहेको छ । यस ठाउँमा क्याम्पस, उच्च मा.वि., प्रहरी चौकी, स्वास्थ्यचौकी, बृद्धाश्रमका साथै दैनिक उपभोग्य सामान खरिद विक्री हुने गर्दछ । नुवाकोटको काहुले, फिकुरी, भाल्चे, साल्मेका साथै रसुवा जिल्लाको ठूलोगाउँ, डाँडागाउँ, कर्मराङ जस्ता ठाउँहरूबाट मानिसहरू सेवा सुविधाका लागि धाउने गर्र्दा रहेछन् । ग्रामीण क्षेत्र भए तापनि सेवा सुविधाका उपलब्धताका कारण सहरिकरणको आभास मिल्छ ।

सातदोबाटो शीरमा रहेको छ किस्पाङ कुण्ड । काहुले, फिकुरी र भाल्चेको संगम स्थलको रूपमा किस्पाङ कुण्डलाई लिइन्छ । यस कुण्डलाई गोसाइँकुण्डको बहिनी भनिँदो रहेछ । गोलाकारको रूपमा रहेको कुण्डको भौगोलिक बनोट हेर्दा उत्तर र पूर्व जङ्गल र दक्षिण र पश्चिमतिर वस्ती रहेको छ । वि.सं.२०४५ सालसम्म कुण्डको पानी सफा देखिन्थ्यो ।

तर जडिबुटी बोजोले गर्दा कुण्डको रूप नै परिवर्तन भएको देखिन्छ । दुई रोपनी क्षेत्र ओगटेको कुण्डमा विशेष गरेर ठूलो एकादशीमा मेला लाग्दो रहेछ । मेला भर्नका लागि जिल्ला बासीका साथै धादिङ, रसुवा, काठमाडौँ, लगायतका जिल्लाबाट आउने गरिन्छ । तीन दिनसम्म लाग्ने मेलामा घरेलु उत्पादनका साथै अन्य सामनको मनग्य रूपमा खरिद विक्री हुने गर्दो रहेछ । मेलामा सरदर २५/३० लाख सम्मको कारोवार गरिँदो रहेछ । मेलामा विशेष गरेर लामा झाँक्री नाच प्रदर्शन हुने गर्दछ । त्यस्तै, भजन कीर्तन, लोकदोहरी, तामाङ सेलोजस्तो संस्कृतिको प्रस्तुति समेत हुने गरिन्छ ।

दशहरा र जनैपूर्णिमामा लाग्ने रसुवाको गोसाइँकुण्डमा जान नसक्ने भक्तजनहरू यहाँ आउने गरेको स्थानीय रवि फुयाँलले सुनाए । बुद्ध धर्म मान्नेहरू प्रायःजसो ज्ञान प्राप्तिको लागि ध्यान गर्ने गर्छन् । यसै ठाउँमा लामाहरू ध्यान गरी गुफा बसेको भनाई छ । स्थानीय बुढापाकाहरूका अनुसार पहिले कुण्ड छेउको जग्गामा गोरू जोत्न लाग्दा गोरू पानी खान कुण्डमा खसी विलिन भयो । केही वर्षअघि स्थानीय निकायको पहलमा स्काभटेरद्वारा पोखरीको बोजो निकाल्न लाग्दा सर्पहरू बकेटमा झुण्डिएर आएको हुँदा कुण्ड सफा गर्न नसकिएको भनिन्छ । कुण्डको पानी काहुले र मानेगाउँ बस्तीमा खानेपानीको रूपमा प्रयोग हुनाका साथै २० हजार रोपनी जग्गामा सिचाईं गरिँदै आएको बताइन्छ । कुण्डवरिपरि जङ्गलमा चिलाउने, काफल, मसले, अरबाङ, सल्लोजस्ता प्रजातिका विरूवाहरू पाइन्छन् । किस्पाङ कुण्डको नजिक भञ्याङ्ग कुण्ड, जोझूडा कुण्डाजस्ता रहेको छ । ती कुण्डको पानीको मुहान भने देखिँदैन । ती कुण्डामा रूखका पातहरू झर्ना बित्तिकै चराहरूले चुच्चाले च्यापेर कुण्ड सफा गर्ने गरेको आफ्नै आँखाले देखेको ८५ वर्षीया लेखनाथ फुयाँल सुनाउँछन् ।

किस्पाङ कुण्डबाट साढे एक घण्टाको समयमा नौ घडेरीको ढुङ्गा भन्ने स्थानमा पुगिँदो रहेछ । धेरै अगाडि तिब्बतबाट बिस्थापित तिब्बतीयनहरू विशाल ढुङ्गामाथि नौ घर बनाई बसोबास गरेका थिए रे । अहिले पनि अवशेषको रूपमा जाँतो, ढिकीको ओखलका साथै घर निर्माणका लागि प्रयोग गरिएका स–साना ढुङ्गाहरू भेटिएको स्थानीयले बताए । यस ठाउँको उच्च ठाउँमा रहेको धार्मिक स्थल फिकुरी मन्दिर हो । मन्दिरको निर्माण ढुङ्गा माटोले बनाएको माने आकृति रहेको छ ।

मन्दिरको वरिपरि ठूलो हरियाली चौरका साथै घना जङ्गल रहेको छ । जङ्गलमा विशेष गरेर धूपी, कालतो, तामर, लालीगुराँस, सुनपाती आदि बनस्पति जातिका बोटविरूवाहरू प्रशस्त देखिन्छन् । उच्च ठाउँमा रहेको मन्दिरमा सबै धर्ममा आस्था राख्ने मान्छेहरू आगमन हुने गरेको छ । मन्दिरको स्थापनाबारे तथ्यपूर्ण प्रमाण भेटिएको छैन । सो मन्दिरको नामबाटै नै पहिले गाउँ विकास समितिको नाम राखिएको रहेछ । मन्दिर रहेको ठाउँमा नुवाकोट र रसुवाको सीमा पनि छुट्टिँदो रहेछ ।

एक समय मन्दिर नजिक रहेको पहरामा गाईवस्तु चराउने क्रममा गाई वस्तुले दिनहुँ पहराको ढुङ्गा चाट्ने गरेको देखेपछि गोठालोले पनि जिब्रोले चाट्दा नुनिलो आयो । ढुङ्गा नुन भनी घर लाने क्रममा प्रकृति रिसाई बादल मडारिँदै असिना–पानी बर्सेको भन्ने भनाई रहेको रहेछ । मन्दिरको दक्षिण भागमा विशाल पहरा देखिन्छ । स्थानीयका अनुसार ती पहरामा अनुसन्धान गर्दा बहुमूल्य खानी भेटिएको बताए ।

त्यस्तै मन्दिरनजिक रहेको वनजङ्गलमा यार्सागुम्बा, साइबा, लसुन, सुनपति, चिराइतो, कुट्को, निरमसी, ठूलो ओखती, खउरोहरू आदि बहु्मूल्य जडिबुटी पाइन्छ । फिकुरी मन्दिरबाट घुगा भञ्याङ, रूपचेत हुँदै सिङ्ला, सोमदाङ, गणेश हिमालआदि ठाउँहरूमा पदयात्रा गर्न सकिने रहेछ । त्यसैले यस स्थानलाई पर्यटकीय स्थलको रूपमा विकसित गर्न सके आन्तरिक र बाह्रय पर्यटकहरूको आगमन बाक्लो हुन जाने कुरामा दुईमत रहन सक्दैन । यस ठाउँमा टेक्दै गर्दा स्वर्ग लोक अनूभूति भएको महसुस गर्न सकिन्छ । २०७५/०७६को गाउँपालिकाले पनि फिकुरी मन्दिर क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकासका लागि ठूलै रकम विनियोजित गरेको रहेछ । फिकुरीको सातदोबाटोबाट फिकुरी मन्दिरसम्म सञ्चालन गर्नका लागि स्थानीय स्तरमा व्यापक जनगुनासो समेत सुनियो ।

दुई दिनको घुमाईलाई बिर्सजन गर्दै रातको बसाई मित्र रविको निवासमा प्रेमपूर्ण आतिथ्यका साथ भयो । त्यहाँ अलि चिसो नै लाग्यो । अर्गानिक भोजनले पूर्ण भइयो । रातको मध्यबाट पानी पर्न थाल्यो । बिहानीसम्म मुसलधारे पानी परिरह्यो । दिनभरिको हिँडाइ र थकाइले भुसुक्कै भइएछ । बिहान ८ः४० बजेतिर महेन्द्र भाइले डाक्दा पो निद्रा खुल्यो । हामी बिहानीको नृत्यकर्म सकेर बाटो लाग्यौँ । काहुले बजारमा भेटिए किस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामाजी । भद्र, मिलनसार, सहयोगी, मिठो बोल्ने छत्रजीसँग राजनीतिक घटनाक्रम, स्थानीय निकायका गतिविधिका बारेमा लामै छलफल भयो । गाउँका समस्या विकराल रहेकाले न्यून बजेटले समेट्न नसक्ने हुनाले सबैको चित्त बुझाउन नसकेको दुःखेसा पोखे उनले ।

काहुले, फिकुरी र भाल्चेको उच्च भागमा कृषकहरूले तरकारी एवम् फलफूल उत्पादन गरेर मनग्य आम्दानी हुने रहेछ । यहाँ मटरकोसा, आलु, बन्दा, काउली, नासपाती, आरू, स्याउपती, कफी, अलैँची, मकै, कोदो, धानजस्ता उब्जनी हुँदो रहेछ ।

बिउविजनमा सहुलियतका साथै प्राविधिक सहयोग गरेको खण्डमा कृषि पेशाले फड्को मार्ने कुरामा जोड दिन्छन् कृषक बलराम देवकोटा । उनको कथन छ – ‘हावापानी घाँसपात फलदायी रहेको हुनाले मासु दूधका लागि राज्यले अनुदान उपलब्ध गराउनुको साथै बजार ब्यवस्थापक गराई दिएमा पशुपालन व्यवसाय वरदान सावित हुने थियो

किस्पाङ गाउँपालिका साविक मनकामना, काहुले, फिकुरी, भाल्चे र साल्मे गाउँविकास समितिहरू पर्दछ । विशेष गरेर अन्य जातिको तुलनामा तामाङ जातिको बाहुल्यता रहेको देखिन्छ । अन्य जातिमा बाहुन, क्षेत्री, दलित । यहाँ हिन्दु, बौद्ध र क्रिश्चियन मान्नेहरू छन् । तीमध्ये अहिले क्रिश्चियन धर्मप्रति धेरै प्रवाव रहेको देखिन्छ । हिन्दु धर्म खर्चिलो भएको कारण क्रिश्चियन धर्मप्रति आकर्षित भएको बताउँछन् – क्रिश्चियन धर्मका अनुयायी सम्झना तामाङ । उनका अनुसार भूतप्रेतको नाममा दिनहुँजस्तो गाउँमा कुखुरा, बोका काटिन्थ्यो । जाँडरक्सीको कुलतमा धेरै युवाहरू फसेका थिए । तर अहिले क्रिश्चियन धर्मले गर्दा सामाजिक मर्यादा कायम हुनका साथै भड्किलो खर्चको पनि कटौती भएको छ । जे जस्तो भए तापनि समग्र गाउँपालिकाको जाति र धर्मलाई लिएर झैँझगडा भएको देखिएन । सबैजना मिलेर बसेका छन् । यो सुखद पक्ष हो ।

हाम्रो यात्राको अन्तिम विन्दु भाल्चे हुँदै साल्मे थियो । तर वर्षाको पानीले बाटो बिग्रेको हुँदा साल्मेसम्म जान सकिएन । भाल्चे नै अन्तिम हुन गयो । भाल्चे दुर्गम स्थानमा पर्दछ । बाटोघाटो र अन्य सुविधाका कारण अहिले सुगमजस्तो हुन थालेको छ । विस्तारै बस्ती विकास पनि हुँदै गइरहेको छ । भाल्चे आउनका लागि दुई वटा बाटो रहेछ । एउटा बाटो विदुरबाट त्रिशूली फिकुरी, काउलेहुँदै र अर्को विदुरबाट सामरी खोलाको उत्तरपट्टि हर्कपुर, साल्मे हुँदै आइपुग्दछ । उच्च र भिरालो ठाउँमा बस्ती रहेको छ । समुद्री सतहबाट २२ सय मिटरको उचाइमा रहेको यहाँबाट ककनी र काठमाडौँको केही भूभाग देखिँदो रहेछ । भेडा विकास फार्म पानसय खोला यही भाल्चेमा रहेको छ । यो फार्म नेपाल सरकार पशुपंक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, उत्पादन निर्देशनालय अन्तरगत सञ्चालित देशभरिमध्येका एक नमूना भेडा फार्म हो । यो भेडा फार्म स्थापना हुनु भन्दा अगाडि रााणाकालीन समयमा सरकारी गाई गोठ थियो । स्थानीयले त्यसवेला यो ठाउँलाई राजाको गोठ भन्दा रहेछन् ।

त्यतिखेर यहाँ उत्पादिन दही, मही, घ्यू काठमाडौँको राजदरबारमा समेत पुर्यइँदो थियो रे । स्थानीय बरूवाल भेडाको वंश सुधार गर्नुका साथै मासु र अन्न उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले भेडा फार्म स्थापना गरिएको रहेछ । भेडा चढाउनका लागि नयाँ प्रविधि प्रयोग गरेर ऊन उत्पादन गरेको देखिन्छ । भेडा फार्ममा १२०० वटा भेडाहरू रहेको थियो तर द्धन्द्वकालको प्रभाव प्रत्यक्ष रहन जाँदा भेडाको सङ्ख्या घट्न गयो । अहिले २३० वटा भेडा मात्र रहेको प्राविधिक रविन्द्र सापकोटाले जानकारी गराए । उनका अनुसार भेडापालनको लागि मात्र भए तापनि स्थानीय कृषकहरूको माग अनुसार पशुहरूमा समेत नरल सुधार गराउनु पर्ने अवस्थालाई मध्यनजर गरी मुर्रा राँगो, जर्सी साढे तथा उन्नत बोका राखी नश्ल सु्धार कार्य गरिएको छ । ४५ हेक्टर जमिन रहेको फार्ममा भेडाको अलवा ब्याडे राँगो र होलिष्टिक साँढे पनि पालेको रहेछ । भेडा फार्मको अवलोकन गर्दै हरियो चौरमा लडिबुडि गरियो । गर्मीको सिजन भए तापनि वरिपरि फैलिएको कुहिरोको लुकामारी हेर्दा मनै प्रफुल्लित तुल्यायो । तसर्थ त्यहाँको भौगोलिक वातावरण हेर्दा मन शान्त भएको अनुभूत गर्न सकिन्छ त्यहाँ पुग्नेहरूलाई ।

फर्कने क्रममा नुचेतमा स्थानीय मित्र सुकुबहादुर घलेको आतिथ्यमा बास बस्नु छ । भाल्चेबाट माथिल्लो बाटो लाग्ने क्रममा देखियो ठूलो झरना । जुन झरनाको नाम छङछङ रहेछ । तामाङ भाषामा भने सो झरनालाई छेलकुङम भनिँदो रहेछ । पहाडै पहाडको खोँचबाट झरेको एक नास पानीले मोहनी नै लगायो । झरनाको पानीसँग स्पर्श गर्न मन लाग्यो । माथिबाट झरेको पानीको बेगलाई कहाँ थाम्न सकिँदो रहेछ । झरना नजिकै जमेको पानीमा स्नान गर्याै केही समय । स्थानीय पनि त्यहाँ नुवाइधुवाइ गर्ने आएका रहेछन् । तिनीहरूसँगै सो ठाउँको बारेमा भलाकुसारी गर्याै गफिँदै । वर्षायाममा मात्र झरना सुचारू हुने रहेछ । स्थानीयको भनाई अनुसार वर्षायामको पानीलाई सङ्कलन गरी हिउँद याममा पनि झरना नियमित चलाउन सकिने बताउँछन् । साँझ पर्न लाग्दै गर्दा भारी वर्षा भयो । पानीले रूच्दै भिज्दै हामी नुचेत आयौँ । यिनै मित्र सुकुबहादुरको घरमा । मीठो आतिथ्यका साथ त्यो रात हामी त्यही बास बस्यौँ । भोलिपल्ट बिहान ताजीस्थित रविजीको घरमा खाना खाएर हामी बिदा भयाँै । फर्किंदा देखिएका प्राकृतिक छटाहरूले मनलाई आल्हादित बनाइरहे ।

Share
  • 124
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *