राष्ट्रियता, धर्म, संघीयता र गणतन्त्रका सवालमा वीपीलाई बुझ्दा 

विश्वेश्वरप्रसाद कोइराला अनुभव र ज्ञानको विशाल शब्दभडार मात्र होइन दूरदर्शी राजनेता हुनुहुन्थ्यो । उहाँले बन्द समाजमा सार्वजनिक समस्यका बारेमा सोच्ने र बोल्ने मात्र गर्नु भएन त्यसको परिणाम पनि देखाउनु भयो । उहाँकै नेतृत्वमा २००७ सलमा व्यवस्था बदलियो । भारतमा रहदा बाल्यवस्थादेखि नै बौद्धिक र नीति निर्माण तहका व्यक्तिहरुको संगतमा पर्नु भएका वीपीमा नेपालमा व्यवस्था बदल्ने चेतनाको विकास भएको पाइन्छ ।

पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको नेपाल राष्ट्रनिर्माण अभियानले वीपीको नेतृत्वमा पूर्णता पाएको थियो भन्ने कुरामा कसैले पनि फरक मत राखेका छैनन् । चाहे कम्युनिष्ट हुन्, मधेसी दल हुन्, चाहे राजावादीहरु हुन्, मुलुक भित्रका सबै पार्टी तथा शक्तिहरुले वीपीको दूरदर्शीतालाई स्वीकार गरिसकेका छन् । तर यतिबेला वीपी बाँच्नु भएकोभए मुलुकको शासन संचालन प्रक्रिया कस्तो हुन्थ्यो होला ? भन्ने सन्दर्भमा भने धेरैका फरक मतहरु छन्, यति सम्मकी उनले नै जन्माएर हुर्काए बढाएको पार्टी नेपाली कांग्रेसमा समेत फरक मत छ ।

वीपी जीवित भएको भए मुलुकमा राजतन्त्र फालिने थियो कि,थिएन ? मुलुक संघीयतामा जाने थियो कि थिएन ? धर्मनिरपेक्षता कायम हुने थियो कि थिएन ? सरकारी संस्थानहरु निजीकरण हुने थिएकी थिएनन् ? भन्ने प्रश्नमा भने जति राजनीतिक दल तथा शक्ति केन्द्रहरु छन्, सबैका फरक फरक मत छन् । नेपाली कांग्रेसमा जति समुह तथा उपसमुह छन् सबैका फरक फरक मत छन् ।

कुनै पनि युगान्तकारी नेताको निधन भएको काल खण्ड जति जति वित्दै जान्छन् त्यति त्यति नै ती नेताले प्रवाह गरेको विचारमा पनि अलग अलग बुझाई हुँदै जान्छ । उदाहरणका लागि वेद उही हो तर बेदलाई व्याख्या गर्ने क्रममा हिन्दू धर्मभित्र सयौं संप्रदाय तथा मतहरु देखिन्छन् । बाइबल उही हो , तर इशाईहरु भित्र पनि विभिन्न फरक मत तथा संप्रदायहरु छन् । त्रिपिटक उही हो तर वौद्धमार्गी भित्र पनि अनेकौं संप्रदाय तथा मतहरु छन् । कुरान उही हो तर इस्लाम धर्मसम्प्रदाय भित्र पनि अनेकौं मत तथा संप्रदायहरु छन् । यस्ता सम्प्रदाय तथा मतहरु बीच बेला बेलामा ठूलै द्वन्द्व हुने गरेको देखिन्छ । यसैगरी कार्लमाक्सलाई सबै कम्युनिष्टहरुले गुरु मान्छन् तर कार्लमाक्सको सच्चा अनुयायी को हो ? भन्ने सन्दर्भमा कम्युनिष्ट पार्टीहरुबीच संघर्ष नै हुने गरेको छ । यसैले वीपीको मार्गदर्शनलाई आफ्नो बुझाई तथा स्वार्थ अनुकुलको व्याख्या हुनुस्वभाविकै हो । दिनहरु जति वित्दै जान्छन् यो प्रक्रिया पनि त्यति नै विस्तार हुँदै जान्छ ।

पृथ्वीनारायाण शाहले आफ्नो जीवनको अन्तिमकालमा सुत्रबद्ध रुपमा दिव्योपदेश लेख्न लगाए । सटिक भाषामा स्पष्ट लेखिएका कारण शाहका दिव्योपदेशका विषयलाई लिएर फरक –फरक मत तथा धारणा छैनन् , तर वीपीका मार्गदर्शनहरु सुत्रबद्ध कम रहे । कतिपय मार्गदर्शनहरु प्रतिकात्मक समेत रहे । सिधै लेख्न र बोल्न नमिल्ने भएकोले भाषा तथा साहित्यिक क्षमताका धनी वीपीले प्रतिकात्मक मार्गदर्शनहरु पनि दिनुभयो । प्रतिकात्मक मार्गनिर्देशनकै कारण पनि कतिपयको बुझाई तथा व्याख्यामा एक रुपता पाँइदैन ।

जसका उदाहरणहरु यस्ता छन्
१. गणतन्त्र
समाजवाद र प्रजातान्त्रिक व्यवस्थाका सुत्रधार वीपी कोइरालाले गणतन्त्र स्थापना गर्नु पर्छ भनेर कहिल्यै भन्नुभएन , लेख्नु भएन । नेपाल जस्तो मुलुकमा राष्ट्रियता बलियो बनाउनका लागि राजसंस्थाले मद्धत पुर्याउने कुरा वीपीका लेख,अन्तर्वार्ता तथा अभिव्याक्तिहरुमा देखिन्छ । तर मुलुकमा गणतन्त्र स्थापनाको अगुवाई उनकै पार्टी नेपाली कांग्रेसले ग¥यो । यो त वीपीको विचार विपरित भएन र ? भन्ने प्रश्न उठिरहेको छ । स्वभाविक पनि हो । तर गणतन्त्रका लागि खुलेआम संघर्ष गर्ने परिस्थिति थिएन । संवैधानिक राजसंस्थाका लागि संघर्ष गर्दा त राज्य संयन्त्रद्धारा योगेन्द्रमान शेरचनदेखि सरोज कोइरालासम्म, तेजबहादुर अमात्यदेखि भीमनारायण श्रेष्ठसम्मका दर्जनौ नेताहरुको हत्या गरिएको अवस्थामा गणतन्त्रका लागि संघर्ष गरेको भए वीपीदेखि गणेशमान सिंह सम्मका कुनैपनि नेता जीवित रहने संभावना थिएन । धेरै जसो कुनै पनि गतिविधि गर्न नपाई जेलमै मारिने थिए । त्यसैले वीपीले मार्न नसकिने अबस्थामा गोमन सर्पलाई जिस्क्याएर जोखिम लिनु भन्दा उसको आयु आँफै सकिने दिनको प्रतिक्षा गरे,किनकी दूरद्रष्टा वीपीलाई निरंकुश राजतन्त्रको आयु धेरै लामो छैन भन्ने थाह थियो । जसको संकेत वीपी कोइरालाले स्वास्थ्योपचारका लागि अमेरिकामा रहँदा त्यहाँका एक जना पत्रकारलाई अन्तर्वाता दिने क्रममा गरिसकेका थिए । पत्रकारले सोधेका थिए–‘तपाँइलाई राजाले संविधान भित्रैबाट वर्खास्त गरेका हुन भने के का लागि संघर्ष ? यदि संविधान मिचेर वर्खास्त गरेका हुन् भने राजसंस्था फाल्न तपाँई किन लाग्नु हुन्न ?’

राजाकै खर्चमा उपचारका लागि अमेरिका जानुभएका वीपीले यो प्रश्नको उत्तर ज्यादै प्रतिकात्मक ढंगले दिनुभयो । उहाँले भन्नुभयो –‘सरकार र संसद विघटन गर्ने अधिकार जुनसुकै प्रजातान्त्रिक मुलुकमा पनि संविधानले राष्ट्रप्रमुखलाई दिएको हुन्छ । यदी जननिर्वाचित सरकार छ भने राष्ट्रप्रमुखले सरकारको सिफारिसमा मात्रै त्यो अधिकार प्रयोग गर्छन् । तर हाम्रा राजाले सरकार र संसद विघटनको अधिकार आफ्नो स्वविवेकीय हो भन्ने ठाने , उनले कुरा बुझेनन् ।’ अमेरिकी पत्रकारले फेरी सोधे –‘ अब यसको निकास के त ?’ वीपीले उत्तर दिए –‘ मुसा सर्पको प्रिय भोजन हो , तर न्याउरी मुसा काल हो । झट्ट हेर्दा उस्तै–उस्तै हुन्छन् । मुसा ठानेर न्याउरी मुसा खायो भने सर्प बाँच्दैन , हाम्रो राजतन्त्रले पनि मुसा ठानेर न्यउरी मुसा खायो । ’

२. संघीयता
२०३६ सालको जनमत संग्रह बहुदलीय व्यवस्था की, सुधारिने पंचायती व्यवस्थाबीच भएको हो । बहुदलीय पक्षलाई पराजित गराइए पछि पंचायतमा सुधार गर्न राजाले संविधान संसोधन गर्न खोजे । त्यसका लागि सुझव दिने क्रममा वीपीले स्पष्ट रुपमा संघीयताको सुझाव दिएको पाइन्छ । लिखित सुझाव भएकोले त्यो डकुमेन्ट अहिले पनि अभिलेखमा छ । उक्त सुझावमा वीपीले स्पष्ट रुपमा ‘संघीयता’ शब्द उल्लेख गरेका छैनन् , तर भन्नुभएको छ –‘ तराईको मधेसी समुदायले अलग पहिचान बोकेको छ , आफ्नो पहिचान कायम रहनेगरी संविधानमा विशेष व्यवस्था गरियोस् । निर्वाचन क्षेत्रको निर्धारण भूगोललाई भन्दा जनसंख्यालाई आधार मानेर गरियोस् ।’

३. धर्म निरपेक्षता
नेपाली कांग्रेसले स्थापनका कालदेखि नै चार वटा आधारभूत सिद्धान्त मान्दै आएको छ । आफ्नो झण्डाका चार वटा तारालाई यसैको प्रतिक मानेको छ । राष्ट्रियता , प्रजातन्त्र , समाजबाद र धार्मिक स्वतन्त्रता एवं मानव अधिकार गरी चार वटा आधारभूत सिद्धान्तलाई वीपीले सुत्रबद्ध रुपमा व्याख्या गर्नुभएको छ । २०३६ साल जेठ १० गते राजाद्धारा जनमत संग्रहको घोषणापछि वीपी बहुदलको प्रचार प्रसारमा जुट्नु भयो । साउनमा विक्लि मिरर नाम गरेको पत्रिकाले वीपी सँग अन्तर्वाता लिन लिखित प्रश्न पठायो । जसमध्ये एउटा प्रश्न थियो –‘ हुदलले चुनाव जितेपछि पशुपतिनाथको मन्दिरलाई संग्राहलयमा परिणत गरिन्छ , हिन्दू अधिराज्य कायम रहँदैन भन्ने व्यापक चर्चा छ , बास्तवमा के हो ?’ वीपीले उत्तर थियो –‘ नेपाललाई हिन्दू राज्य भन्नु झेली कुरा हो , नेपाल हिँजो पनि हिन्दु राज्य थिएन, भोली पनि हिन्दू राज्य रहन्न, नेपाल धर्मनिरपेक्ष मुलुक हो । जहाँसम्म पशुपतिनाथ लगायतका मठ मन्दिर, गुम्बा तथा मस्जिदको कुरा छ , ती त समुदायका सम्पत्ति हुन्, राज्यले हस्तक्षेप गर्ने कुरै आउँदैन ।’

४. राष्ट्रियता
पृथ्वीनारायण शाहले आरम्भ गरेको नेपाल निर्माण अभिायन अधुरो थियो । २००७ सालसम्म नेपाल संयुक्त राष्ट्र संघको सदस्य थिएन । बेलायत र भारत बाहेक अन्य मुलुक सँग कुटनीतिक संवन्ध स्थापना भएको थिएन । काठमाडौं उपत्याकालाई मात्रै नेपाल भनिन्थ्यो । तराईबाट राजधानी आउन भीषा चािहन्थ्यो । नेपाली भाषालाई गोर्खा भाषा भनिन्थ्यो । राजधानी काठमाडौ बाहेकका क्षेत्रमा भारतीय मुद्रा चलन चल्तीमा थियो । राष्ट्र बैंक थिएन । नेपालका शैक्षिक प्रमाणपत्रहरु भारतीय विश्वविद्यालयबाट जारी हुन्थे । नेपालका शैक्षिक संस्थामा आफ्नै पाठ्यक्रम थिएनन् , भारतीय पाठ्क्रम अपनाइएको थियो । नेपाल भन्नु नै शासकको जिमिन्दारी जस्तो थियो । तर वीपी कोइरालाको नेतृत्वमा मेचीदेखि महाकालीसम्मको सबै भू–भाग नेपालका रुपमा स्थापित भयो । एउटा भू–भागबाट अर्को भूभागमा जान भीषा चाहिएन । नेपाल संयुक्त राष्ट्र संघको सदस्य बन्यो । चीन, अमेरिका, सोभियत संघ लगायत विश्वका महाशक्ति राष्ट्र सँग नेपालको कुटनीतिक संवन्ध स्थापना भयो । गोर्खा भाषा नेपाली भाषा बन्यो । आफ्नै राष्ट्र बैंक स्थापना भयो , देशभरी नेपाली मुद्रा चलन चल्तीमा आयो । आफ्नै विश्वविद्यालय स्थापना भयो , शैक्षिक संस्थामा नेपालको आफ्नै पाठ्यक्रम बन्यो ।
शासन व्यवस्था कस्तो हुनु पर्छ ? आर्थिक प्रणाली कस्तो हुुनु पर्छ ? भन्ने लगायत आधुनिक राज्यमा हुनु पर्ने सबै विधि विधानहरुको खाका वीपी कोइरालाले तय गार्नुभयो । अहिले मुलुक यही खाका अनुसार अघि बढीरहेको छ ।

Share
  • 418
    Shares

One Reply to “राष्ट्रियता, धर्म, संघीयता र गणतन्त्रका सवालमा वीपीलाई बुझ्दा ”

Leave a Reply

Your email address will not be published. Required fields are marked *