दाहालले नेपाललाई मात्र होइन, जनतालाई नै धोका दिए

अन्ततः नेकपाको अन्तरसंघर्षमा पुष्पकमल दाहालले माधवकुमार नेपाललाई धोका दिए । दाहालले असजिलोमा पुर्याएर छोडिदिन्छन् भन्ने नबुझ्नु नेपाल पक्षीय व्यक्तिहरुको वचकनापन थियो । नेपाल देश र नेपाली जनतालाई मात्र होइन, आफ्ना सहकर्मीहरुलाई पटक पटक धोका दिएका दाहालले आन्तरिक सत्तासंघर्षमा कसैलाई पनि छोडदैनन् भन्ने बुझ्न आवश्यक छ । प्रधानमन्त्री ओली पनि रुचाइएका व्यक्ति होइनन् । एमालेका पार्टी विलय गराउने कार्य र ओलीसँगको सहकार्य भिरबाट खस्न लागेको अवस्थामा सिस्नो समातेको जस्तै हो । नेकपा एमाले र माओवादीबीचको एकता होस् वा ओलीसँगको सहमति वा सहकार्य नै किन नहोस दाहालका लागि सिस्नु समाउन सरह हो । भीरबाट लडेर समाप्त हुनुभन्दा ज्यान जोगाउन सिस्नुको पोलाई सहन दाहाल बाध्य भएका छन् । सत्ताको सयर गर्न सिस्नुको पोलाइको पीडा सहनु पर्दछ भन्ने अवसरवादी सिद्धान्तबाट दाहाल अभिपे्ररित भएका हुन् । हिजोका कठिन दिनमा ज्यान दिएका साथीहरुलाई चटक्कै बिर्सिएर सत्ताको चास्नीमा डुबेका दाहालले आफ्नो व्यक्तिगत अभिष्टका लागि अझै धेरैलाई धोका दिने छन् । त्यतिबेला न संघर्ष, न त्याग, न बलिदान, न सहयोग र सामिप्यताको कुनै आभाष हुनेछ । स्मरणमा राख्नैपर्ने कुराहरु पनि सबै विस्मृत भएर एकसूत्रीय सत्ता अभियान चल्नेछ । त्यसका लागि दाहाल मात्र होइन अधिकांश कम्युनिष्ट कार्यकर्ता तयार भएका छन् । साथमा विचौलिया, दलाल, भ्रष्ट र माफियाहरुको भूमिका ‘बीच बीचमा’ निर्णायक भइरहने छ । ओली–दाहाल मिलाउनेदेखि भिडाउनेसम्मका भ्रष्ट र माफियाहरु सत्तासंघर्षमा खेलिरहने छन् । खेल मैदानमा उत्रने वा रेफ्रीको भूमिकामा रहनेहरु पनि तिनै विचौलिया र माफियाबाट निर्देशित हुनेछन् । यसैगरी नेकपाको दुईतिहाई नजिकको स्थायी सरकार पाँच वर्षेसम्म चल्नेछ ।

नेकपाको सचिवालयले बामदेव गौतमलाई राष्ट्रियसभामा लैजान प्रधानमन्त्रीलाई दबाब दियो । युवराज खतिवडालाई प्रधानमन्त्री ओली दोहो¥याउन चाहन्थे । खतिवडालाई अर्थमन्त्रीको रुपमा हेर्न नचाहेनहरुले बामदेवलाई बलिको बोको बनाए । एकातिर निर्णय गर्ने अर्कोतर्फ बामदेवको विरुद्धमा विषवमन गर्न गराउन लाग्ने तत्व एउटै हो । जनताले तिरस्कार गरेको व्यक्तिलाई तानेर चोरबाटोबाट संसदमा पु¥याउने काम गलत हो । यसलाई संविधानले समेत अस्वीकार गरेको छैन । त्यो जानकारी हुँदाहुादै वामदेव बद्नाम हुन तयार भए । सामाजिक सञ्जालदेखि प्रिन्ट र विद्युतीय सञ्चार र छापाहरुमा आएका समाचारका टिप्पणीहरु हेर्दा र सुन्दा गौतमलाई डाडुमा पानी उमालेर अप्रिय निर्णय गरौंजस्तो लाग्दो हो । हामीले जेजस्तो निर्णय गरे पनि स्वीकार गर्नु भन्ने दम्भबाट ग्रसित राजनीतिक नेतृत्व र तिरस्कार गर्ने जनताको भावनाका बीचमा चलेको द्वन्द्वमा जनताकै विजय निश्चित छ । तर पनि दलका असक्षम र अलोकतान्त्रिक सोच र चिन्तन भएका व्यक्तिहरुले गम्भीरता र दायित्वपूर्ण व्यवहार नदेखाउँदा लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै निराश छाएको छ । असजिलो प्रश्नहरुको सामना गर्न नसक्ने र भाग्ने यस्तै नेतृत्वका कारण व्यवस्था धरापमा पर्ने हो । त्यत्तैतर्फ डोहोर्याउने काम यी लोभीपापीहरु गरिरहेका छन् ।

सरकार, शासन व्यवस्था र राजनीति नेतृत्व असफल हुनु भनेको आशा र भरोसा कमजोर हुनु हो । जनताले जुन विश्वास र अपेक्षाका साथ कम्युनिष्ट गठबन्धनलाई सत्ता सुम्पिएका थिए, इतिहासमा नै सबैभन्दा बढी निराश बनाएका छन् । नेपालको लोकतान्त्रिक समुदायको सबैभन्दा ठूलो चिन्ताको विषय नै यही हो कि कम्युनिष्टहरुलाई एकदलीय अधिनायकवादी सिद्धान्त र विचारबाट लोकतान्त्रिक पद्धति स्वीकार गर्ने ठाउँमा त ल्याइयो, सत्तामा पनि पुगे तर उनीहरुबाट नै व्यवस्थामाथि खतरा देखियो । न अगाडि बढ्ने स्थिति न, पछाडि फर्कने स्थितिमा मुलुक र मुलुकको शासन व्यवस्था पुग्यो । अग्रगमनको यात्रामा ब्रेक लगाउने किसिमको पश्चगामी व्यवहार र गतिविधि हुनुले थप निराशा बढाएको छ । सन्तोष गर्न नसक्ने अवस्था र वातावरण कहिँकतै छैन ।

स्वास्थ्य सामाग्री खरिददेखि परीक्षणसम्ममा पनि भ्रष्टाचार र अनियमितता छ । सरुवा बढुवादेखि ठेक्कापट्टा समेतमा चरम लापरवाही, लेनदेन कारोबार चल्छ । विश्वविद्यालयहरुको हालत दयनिय छ, उद्योग व्यवसाय चोपट छ । गरिब असहायक व्यक्तिहरुप्रति राज्यको कुनै दायित्व छैन । नेपालको वैदेशिक सम्बन्ध इतिहासकै दयनिय, कमजोर र असफल बनाउने काम अहिले नै भएको छ । विश्वासको संकटले जताततै अन्योल र अनिश्चितता सिर्जना गरेको छ । प्रतिपक्ष पनि कमजोर र अकर्मन्य भएको आरोप लागेको छ । शासन प्रणाली र नेपालको सावैभौमिकता एवम् अखण्डताप्रति कठोर नीति अवलम्बन गर्दा सशक्त प्रतिवाद र प्रतिरक्षाको रणनीति प्रतिपक्ष कांगे्रसले विर्नाह गरोस् भन्ने चाहना देशप्रेमी लोकतन्त्रवादीहरुको रहेको छ । असफल हुनबाट बचाउने र लोकतान्त्रिक विचारधाराप्रति प्रतिबद्ध बनाउने जिम्मेवारी अझ बढी निर्वाह गरोस् भन्ने जनताका चाहनालाई नेपाली कांगे्रसले बुझ्न सकेन भन्ने गुनासो व्यापक छ । यस्तो स्थितिमा जनताले भरोसा राख्ने र विश्वास गर्ने राजनीतिक दल र नेतृत्वको आवश्यकता कांगे्रसले पूरा गर्नुपर्छ भन्ने मतलाई सम्मान गर्न नेपाली कांगे्रस चुकेको छ । आन्तरिक झगडामा, आरोपप्रत्यारोपमा तथा नेतृत्व हत्याउने अस्त्रका रुपमा मात्र पार्टीको ऊर्जा खर्च भएको छ । त्यसलाई पनि आम लोकतन्त्रवादीहरुले रुचाएका छैनन्, विश्वस्त हुने भूमिका निर्वाहा गरेको अर्थमा बुझेका छैनन् ।

एकातर्फ कोरोना महामारी अर्कोतर्फ सरकारको बेइमानी त्यसमा प्रतिपक्ष दलको आकर्षण हराएको स्थितिले आगामी चुनौतिहरु भयावह हुने देखाउँछ । देशको अर्थतन्त्र संकुचित हुनु, विदेशी व्यक्तिहरुले राज्यको सहयोगप्रति नभएर देशविरुद्ध विदेशी भूमिमा नाराबाजी गर्नुपर्ने अवस्था आउनु, गरिबी र बेरोजगारीबाट सम्पूर्ण क्षेत्र, वर्ग र समुदायका मानिसहरु आक्रान्त हुनु, सत्ताको आडममा सीमित व्यक्तिहरुले मनपरि गर्नु, अराजकताको स्थिति देखापर्नु, इमान्दार राजनीतिक नेतृत्व नहुनु जस्ता घटनाक्रमले सकरात्मक संकेत गर्दैन । राजनीतिक व्यक्ति, परिवार र गुटमा सीमित गराई हिजोको त्याग, तपस्या र बलिदानका सारथीहरुलाई पाखा लगाउने उद्यत बनाइएको छ । भ्रष्ट, दलाल, विचौलिया, डन र ठेकेदारहरु निर्णायक भएका छन् । पार्टीमा तलदेखि माथिसम्म कुनै योग्यता र क्षमता नभएका व्यक्तिहरुलाई स्थान दिने नेतृत्व विकसित भएको छ । आफ्नो व्यक्तिगत स्वार्थका खातिर जुनसुकै अकर्मन्यता अस्वीकार्य हुने राजनीतिक दर्शन र चिन्तन मौलाएको छ, फस्टाएको छ । के यसकै लागि जनयुद्ध, जनआन्दोलन, संविधानसभा, कम्युनिष्ट कांगे्रसको आवश्यकता परेको हो ? राजनीतिको धर्म के हो ? जनता केन्द्रीय पात्र होइन ? जनतालाई केन्द्रविन्दूमा राखेर पायक निष्कर्ष लिनुपर्नेमा त्यसो नगरी आफूलाई (व्यक्तिलाई) (नेतृत्वलाई), स्वार्थलाई केन्द्रविन्दूमा राखेर निर्णय गर्ने, असहमति राख्ने, असहयोग र विरोध गर्ने पद्धति, परम्परा र मानसिकताले गर्दा राजनीति नेतृत्वप्रतिको विश्वास धरमराएको हो ।

कम्युनिष्टहरुले न हिजो साम्यवादको नारा गुन्जायमान हुँदा गरिखाएका हुन् न आज बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गर्दा गरिखान्छन भन्ने विश्वास छ । आफैमा अस्थिरता, असफलता र अकर्मन्यताका परिचायक हुन कम्युनिष्टमा दलीय स्वार्थका खातिर मुलुकलाई बन्धक बनाउनेदेखि व्यक्तिगत स्वार्थका लागि दल, व्यवस्था र समाजलाई लत्याउनेसम्मका क्रियाकलाप भएका छन् । दर्जनौं त्यस्ता उदाहरणमा नेपाली उदाहरण पनि थपिएको छ । केपी ओली र पुष्पकमल दाहालको असफलता, अकर्मन्यता र बेहमानीको शिकार नेपाल, लोकतान्त्रिक प्रणाली र नेपाली जनता हुने, स्थितिर्फ नेपालको राज्यव्यवस्था उन्मुख छ । यसलाई हस्तक्षेप गरी समयमा नै सचेतता अपनाउने जिम्मेवारी बहन वैकल्पिक राजनीतिक शक्तिहरुले पनि गरुन भन्ने कामना मात्र गर्न सकिन्छ, बाध्य बनाउन संयन्त्र हामीसँग छैन ।

Share
  • 335
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *