फिचर

दनुवार जातिकाे जनजीवन

 नेपालका अन्य अल्पसंङ्ख्यक जातिमध्ये दनुवार पनि एउटा जाति हो । नेपालको वि.सं. २०६८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क अनुसार अधिराज्यभर दनुवारहरूको सङ्ख्या ८४,११५ रहेको छ । नेपालको काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ्ग, सुनसरी, रौतहट, मकवानपुर, सर्लाही आदि जिल्लाहरूमा दनुवारहरू बसोबास गर्दै आएका छन् । बसोबास गर्ने क्रममा अहिले ६२ जिल्लाहरूमा बसोबास गरेको पाउँदछौँ । यी जाति जनसमुदायको समाजदेखी टाढा रहन रूचाउछँन् । विशेष गरेर ग्रामीण वस्तिहरूमा बसोबास गर्दै आएका यी जातिको लवाइखवाई तथा रहनसहन अन्य जातिको तुलानामा पृथक रहेको पइदैनौं । झट्ट हेर्दा दनुवारहरू सामाजिक, सांस्कृतिक दृष्टिले तराईका थारू जातिका साथसाथै कुमाल जातिसँग पनि संस्कार मिल्दोजुल्दो देखिन्छ ।

  चौधौ शताब्दीको मध्यकालीनको समयमा मध्यतराईमा शासकीय सत्ता सञ्चालन गर्ने जातिको समूह दनुवार नै हुन् । नेपालमा दुई हजार वर्ष अघिदेखि बसोबास गर्दै आएका दनुवारहरूको पुरानो अभिलेख वि.सं.१८२७ मा पृथ्वीनारायण शाहबाट सिद्ध भगवन्तलाई पाण्डत्याई प्रदान गरिएको लालमोहर नै हो । उक्त अभिलेखमा यस जातिको बारेमा लेखिएको छ । दनुवार शब्दको उत्पत्ति सम्बन्धि पनि फरक फरक भनाई रहेको छ । केहीका अनुसार दूईवटा पहाडको बीचमा बस्ने भनी दावीवार शब्दबाट दनुवार भएको भन्ने छ भने कसैको दोन शब्दबाट दनुवार भएको भन्ने छ । दनुवारलाई दनुवार, दोनवार, द्रोनवार पनि भनिन्छ । गाइघाटको त्रियुगा भित्र बसोबास गरेको मानव बस्तीनै दनुवार जातिको ऐतिहासिक पुर्ख्यौली  थलो मान्दै आएका छन् ।

     नेपालका धेरैवटा जिल्लामा छरिएर बसेको लामो इतिहास, विभिन्न जाति–जनजातिसितको सानिध्य, उनीहरूसितको सामाजिक, आर्थिक एवम् सांस्कृतिक आदनप्रदानका कारणले पनि दनुवारहरूको जीवनशैली उनीहरूको विश्वदृष्टिकोण र रहनसहनमा बाह्रय वा अन्य जातिहरूको प्रभाव पर्नु स्वभाविक हो । अतएंव कुन पक्ष वास्तवमा परम्परागत र मौलिक दनुवार संस्कृति हो, कुन मिश्रित, आयतित वा परिवर्तित हो भन्ने निर्क्यौल  गर्न सजिलो छैन । अहिलेसम्म दनुवारहरूभित्र शिक्षित र आफ्नो बारेमा अधिकारिक रूपले बोल्ने अनुसन्धान खोज गर्नेहरूको सङ्ख्या पनि नितान्त नगम्य नै छ । अत एव द्धितीय मौलिक स्रोतको कमी छ ।

 इ.पू. छैटौं शताब्दीमा गण्डकीदेखि पूर्व सप्तरीसम्म बज्जी (वृज्जी) र गण्डकी पश्चिम बुटवलसम्मको भूभाग मल्ल गणराज्य अन्तर्गत पर्दथ्यो । वज्जी (वृज्जी) गणराज्यमा ब्राम्हण, राजपूत, कुर्मी आदि जस्ताका आर्य–जातिहरूको बाहुल्य थियो । अहिले पनि थारूहरू आफ्नो बस्तीमा रहेका यस्ता जातिलाई बाजी भन्दछन् । कर्णाट राजाहरू कर्णाटवबाट आएका हुनाले बाजीदेखि फरक थिए ।

यस कारणले बाजीहरूको राज्य भष्ट भएका कर्णाटहरूलाई होच्याएर दनुवार भनेका हुन् । त्यसैले दनुवारहरू आफूलाई कर्णाटबंशी राजाका वंशधर मान्दछन् । दनुवार जातिको उत्पत्तिका लागि लिएर अनुसन्धान कर्ताहरूको भनाइमा एक रूपता छैन । दनुवारहरू थारू जाति कै एक हागा भनेका छन् भने कसैले दनुवारहरू भारतको सिन्धुघाटीको थार भन्ने मरभूमिबाट नेपाल प्रबेश गरेका हुन् भनेका छन् । नेपाल मण्डलको शुरूवातबाट नै दनुवारहरू नेपालमा बसोबास गर्दै आएका हुन् ।

  कर्णाटवंशीय शासकसित पनि दनुवारजातिको उत्पत्तिको कथा गाँसिएको पाइन्छ । चौधो शताब्दीतिर नेपाल तराईको सिमरौनगढका अन्तिम कर्नाटवंशीय राजा हरिसिंह देवको पतनपछि राजा र राजपरिवारसहित आफ्ना सेनामेना आदि अनुयायीका साथ सिमरौनगढबाट नेपालको पहाडी क्षेत्र हुँदै कमला नदी क्षेत्रमा पसेर त्यहाँबाट पनि उमो लागे । सिन्धुली –रामेछाप क्षेत्रको तीनपाटनमा पुग्दा राजा हरिसिंह देवको मृत्यु भयो । यसै क्रममा विविध जातिहरू तराईबाट पहाड र खोँचतिर बसाई सर्दै आउँदा दनुवारजाति पनि आएको हुन सक्ने देखिन्छ । यसरी चौधौं शताब्दीमा सिमरौनगढ राज्यबाट यो जाति नेपालमा फैलिएको हो भनेर यदाकदा उल्लेख गरेको पाइए तापनि त्यस बखत त्यहाँ डोयहरूको चहलपहल रहेको, तर, डोयहरू दनुवार हुन् वा को हुन् भन्ने कुरा प्रष्ट गर्न नसकेको कुरा इतिहासका धनवज् बज्रचार्यले बताएका छन् ।

यस जातिलाई दनुवार भन्नुको कारण मच्छिन्द्रनाथले खाएर बाँकी रहेको दही दुनामा हालेर खोपामा राखेको केही दिनपछि हेर्दा त्यहाँ एउटी कन्याको उत्पत्ति भएको रहेछ । दुनामा उत्पत्ति भएकोले उत्त कन्यालाई ‘दनुवार’ भनिएको र पछि सोही कन्याको कोखबाट जन्मिएको सन्तानहरूलाई ‘दनुवार’ भनिएको किम्वदन्ती रहेको छ ।

 एघारौं बाह्रौं शताब्दीतिर नेपालको सिम्रौनगढकी राजकुमारी र एक मायाँवी राक्षसको गोप्य सम्बन्धबाट जन्मेका ५ छोरामध्ये ‘दनुवार’ एक थियो । दनुवार छोराले ठूलो भएपछि खोला किनार र जङ्गलको छेउ छाउमा बस्ती बसाल्यो भनिन्छ भने प्राचीन कालदेखिनै दून क्षेत्रमा बस्तै आएकोले दूनबाट अपभ्रंश भै दनुवार भएको पनि भनाई रहेको पाइन्छ । दूनमा बस्न र डोने पनि भनिनै दनुवारहरू वि.सं.१८३१ हरिसिंहदेवको राज्य कालमा समसुदिनले आक्रमण गर्दा सिमरौनगढबाट त्यहाँका डोच आदिबासीहरू अन्यत्र बसाई जानेहरू दनुवार हुन पुगे भनिन्छ ।४  हजारौँ वर्षदेखि जङ्गली जनावर, बाघ, भालु, हात्ती, गैडा, गोमन, औलो, जँघार आदिसँग सङ्घर्ष गरी गरी यो जङ्गलको खोचँ र खोलाको बगरलाई आफ्नो मात्र सुरक्षित बासस्थान मानी आएका हामी सबै आजका विकास तथा प्रगतिकार्यले आश्चर्य र विस्मित पारेको मात्र होइन, हाम्रो अस्तिवमा खतरासमेत पैदा हुन थालेको छ । आजसम्म वनजन्तु तथा रोगको डरले गर्दा जोसुकैले आखा नलगाएका यी क्षेत्रहरू दुबै थरीको डरबाट मूक्त भएका हुनाले अब अरू अनेक थरिका मिचाहा जातले यी ठाउँहरूमाथि मन लगाउन थाले । अब बढी होश नगरेमा र समयअनुसार पढाई, सिकाई सबैसँगको वरावरीमा सङ्घर्ष गरी आफ्नो बचाउ गर्न जान्ने नतुल्याएमा यिनीहरूलाई बाँच्ने धेरै गाह्रो पर्न सक्छ । हुनत यिनीहरूले खेती अरू पेशामा भन्दा खोलाको माछा शिकार र डुङ्गा चलाउने काममा ध्यान दिदै आएका छन् । तर पनि केही दनुवारहरूले मधेश, कछारदेखि खोलैखोला निकै माथि माथि झण्डै ४००० फिटको उचाइका डोलसम्म पुगेर बस्ती बसाएका छन् । यस्तै एउटा वस्ती काठमाडौं उपत्यकाभित्रको बागमति किनारको डुकू भन्ने ठाउँमा छ ।५ सांस्कृतिक दृष्टिले जनकपुर क्षेत्रमा पर्ने खोंच भन्ने ठाउँको आफ्नै महत्व  छ । महेन्द्र राजमार्गदेखि उत्तर चुडिया महाभारत श्रृखंला फेदीसम्म तथा सिन्धुंली जिल्लाको भीमवानदेखि पूर्व दुधौलीसम्म यो

कमला खोंच पर्दछ । त्यस्तै दुधौलीदेखि पूर्व (उदयपुर) सम्मको क्षेत्रलाई भने”पुवारी खोंच” भनिन्छ । कमला खोंचको यो क्षेत्रमा बस्ने अधिकांश बासिन्दाहरूको बहुल्य दनुवारहरूको छ । त्यसपछि मात्र थारूहरू तथा अन्य जातिहरू भएको पाइन्छ । दनुवारहरूको संस्ख्या यस क्षेत्रको कुल जनसङ्ख्याको प्राय : पैसठ्ठी प्रतिशत भएको पाइन्छ । यो ठाउँको बुढापाकाहरूको भनाई अनुसार कर्णाटबंशी राजा हरि सिंहदेव नेपाल पस्दा उनको साथमा यो दनुवारहरू पनि नेपाल आएका थिए र उनीहरू यसै क्षेत्रमा बसोबास गरे । पछि यी दनुवारहरू तीन समूहमा विभक्त भए– १) राजहन, २) किछैरियार र ३) जनोधारीमा । कमला खोंचका दनुवारहरूलाई भने जनकपुरभन्दा पश्चिम क्षेत्रमा बसेका छन् । त्यस्तै जनोधारी दनुवारहरू भने  धनुषा जिल्लामा बसेका छन् । जनोधारी दनुवारहरू यज्ञोपवीत पनि धारण गर्दछन् ।

 दनुवार जाति विभिन्न थरिका हुन्छन् तर पनि एउटै राइबाट नै आफ्नो जाति दर्शाउने यिनीहरू आफ्नो सांस्कृतिक अनुरूप जातलाई ‘खाल’ भन्छन् । खाल भन्नाले दाजुभाइ तथा सन्तान भन्ने बुझिन्छ । खाल अन्तर्गत विभिन्न थर उपथरहरू पर्दछन् । जुन यस प्रकार छन् । १) सिपाती राई २) डाँडो गाउँ राई ३) भीमटार राई ४)पिपलटार राई ५) जम्टार राई ६) पागलटार राई ७) रामपुर राई ८) आमटार राई ९) डुम्रचाउर राई  १०) झिगानपुर राई ११) मण्डल राई १२) खाम राई १३) जागी राई १४) राजपुत राई १५) भाडिगाउँ राई ।

 पश्चिम तिरका दनुवार जातिको पूर्व तिरकाको भन्दा केही चलन भिन्न छन् । यिनीहरूमा सुँगुरको मासु चल्ने भए पनि आफूलाई राई नै भन्छन् । पश्चिम तिरका दनुवारहरूको को कोही थर यस प्रकार छ । रयाराई, माझी राई, विरानी राई ।

 यसरी जातीय वर्गीकरण भए पनि आफूमा छुवाछुत तथा साना ठूला भन्ने भावना नराखी एकत्र भई एक सुत्रमा बाँधिएर आफ्ना जातीय एकता देखाएका छन् । दनुवार जातिको जातिगत परम्पराहरू नेपालको अन्य जातिका लागि पनि उदाहरणको रूपमा रहेको पाइन्छ । पहिले दनुवारहरू ब्राम्हणले पकाएका खादैनथे तर खानेकुरामा मर्चा राखेपछि मात्र चोखो मानी खान्छन् ।

मकवानपुर जिल्लाको चौघडा, बसामाडी, गुढीपोखरा, त्रिशूली दनुवार गाउँ तथा हटियाको गैटो गाउँमा दनुवार जातिको बसोबास विशेष रूपमा पाइन्छ । यस भेगमा यिनीहरू कहिलेदेखि बसोबास गर्दै आए भन्ने कुरा निश्चित गर्ने खास प्रमाणहरू उपलब्ध छैन तापनि उनीहरू द्वापर युगदेखि नै स्थानीय भुटन देवी माईको जाबी गुरौ (पूजारी)को रूपमा आफ्नो पुर्खाहरूले काम गर्दै आएको विश्वास गर्दछन् । भुटन देवी माईको अन्य पूजारीसँग जावी (धागोले बुनेको जालीझोलामा खोलाबाट पानी ल्याउन सक्ने आश्चर्यजनक शक्ति भएकोले पनि उनलाई जावीगुरी भनिएको र उनीपछिका पूजारीलाई पनि ‘जाबीगुरी’ नै भनिदै आएको ठानिन्छ । द्वापरयुगदेखि आफू यस भेगमा बसोबास गर्दै आएको ठान्ने दनुवारहरूले यहाँको सेराफेरो आवाद गरेर वस्ती बसाउँदा हेटौडामा भने वस्ती शुरू भएको थिएन जङ्गलले ढाकिएको थियो । औलोले ब्याप्त ज्यादै शुस्क हावापानी भएको यस सुनसान भेगमा व्यापक गर्मी र औलोलाई पचाएर बसोबास गर्ने क्षमता आफ्नो जातिलाई भुटनदेवी माईले प्रदान गरेको दनुवार ठान्दछन् ।

प्रचलित एक मतअनुसार दनुवारका पुर्खा किरात हाङबाका दस छोरामध्ये कान्छा छोरा धिरूकपाका सन्तान् हुन् । तर दनुवार यिनीहरू इन्डोआर्यन मूलको भाषा बोल्छन् । यो जाति मङ्गोल मूलका मानिने किरातजातिभन्दा फरक देखिन्छ । यसमा भोजपुरी, हिन्दी, मैथलीको प्रभाव परेको पाइन्छ । यद्यपि यिनीहरूको छुट्टै साहित्यिक विकास भने देखिएको छैन ।

भाषाविद बालकृष्ण पोखरेल भाषाको हिसावको दनुवारी भाषालाई भारोपेली परिवारको मगधी भाषाबाट आएको मान्छन् । केही विद्धानहरू भारतको अवधि वा मगधी भाषा बोलिने क्षेत्र दून प्रदेशको निश्चित स्थान विशेषको प्रथम बसोबास र त्यहाँबाट अन्यत्र फैलिए भन्ने मान्छन् तर कसरी फैलिए भन्नेबारे निर्क्यौल गर्न बाँकी नै छ । अर्का थरि विद्धानका विचारमा मूसलमानी आक्रमणबाट बच्नका निम्ति नेपालको जङ्गलभित्र पसेका राजपूतहरू नै यिनका पुर्खा हुन् भन्ने प्रसङ्ग प्रस्तुत गरे पनि दनुवारहरूको रहन सहन संस्कृतिबाट उनीहरू हजारौं वर्ष अघिदेखि यहाँ बसोबास गरेको अनुमान गर्न सकिन्छ ।

     कमला खोंचसम्म मैथेली भाषाको क्षेत्र पर्दछ । यसको उत्तरतर्फबाट महाभारत श्रृखंला हुने बित्तिकै अन्य भाषा आरम्भ हुन्छ । कमला खोचंमा बोलिने मौथिली भाषामा पूर्वी नेपाली भाषाको प्रभाव बढ्ता परेको छ भने मगर तथा अन्य भाषाको पनि केही प्रभाव  परेको पाइन्छ । यो क्षेत्रलाई मौथिली भाषाको दनुवारी उपभाषा क्षेत्र भन्न सकिन्छ । भाषाको विशिष्टता हेरौं :

  दनुवारी                         मैथिली                            नेपाली

तो वड खाइछ                  तो बहुत खाइछे                    तिमी धेरै खान्छौ

माग छो                          मागै छौ                            माग्दछु

भरखर                            तुरन्ते                              भरखर

उठलियौ                          उठलौं                            उठेको छ

  दनुवारहरू प्रायः गर्मीमा बस्ने र बाह्रै महिना खोला, नदी र वनमा जीवन व्यतीत गर्ने हुँदा थोरै कपडाको प्रयोग गर्दछन् । पुरूषहरू गन्जी, धोती, कछाड, लुङ्गी र मौसम अनुसारको कपडा लगाउँछन् भने महिलाहरू ब्लाउज र सारी लगाउँछन् । दनुवार जातिको सांस्कृतिक तथा रहनसहन नदी र जङ्गलबाट प्रभावित रहेका छन् । यी जाति बाग्मती, सुनकोशी र कमला प्रभावित तराइदेखि भित्री मधेश हुँदै पहाडी प्रदेशसम्म फैलिएको छ । यिनीहरू समाजमा विविध देवदेवताहरूको प्रभाव महत्वपूर्ण मानिन्छ । आफ्नो घर अथवा गाउँको पूर्वपट्टी रूख रोपी एउटा सानो झूपडी बनाउने चलन छ । उक्त झूपडीमा देवदेवताको स्थापना गरी सालै पिच्छे बलि सहित पूजाआजा गरिन्छ । यसरी पूजा गर्दा गाउँका सबै गाउँलेहरूलाई भलाई हुने जनविश्वास रहेको छ । उक्त पूजा गर्नका लागि गाउँका प्रमुख अथवा खानदानी पुजारी हुने चलन छ । पूजारीले पूजा गर्दा सर्वप्रथम देवतालाई आफ्नै शरीरको अङ्गबाट रगत झिकी चढाईसकेपछि बोका पाठी बलि दिन्छन् । त्यसबेला गाउँलेहरू जम्मा भई हर्षउल्लाशकासाथ भोज खाने परम्परा रहिआएको छ ।

 दनुवारहरू आफ्नो कुलको मृतआत्माको शान्त पाऊन् भन्ने उद्देश्यले प्रत्येक वर्ष वडादशैं र चैतेदशैंको अष्टमीका दिन उनीहरूको सम्भावनामा कुलायनको पूजा गर्दछन् । कुलायनको पूजा नगरे परिवारमा दुःख विपद  आइपर्छ रोग लाग्छ र गरिवीले छाड्दैन भन्ने दनुवारहरूको धारणा छ । यस दिन आफ्नो कुलभित्रका सम्पूर्ण दाजुभाइहरू परिवारको सबैभन्दा जेठो ब्यक्तिको घरमा जम्मा हुन्छन् र घरभित्र राखिएको कुलायन थानमा बोज, पाठी, परेवा आदि पशुपक्षीको बलि चढाउछन् । यस दिन काटिएका पशुपक्षीलाई घरबाहिर निकाल्न नहुने र उही दिन खाएर सिध्याउनुपर्ने हुँदा हाडखोर र भुत्लासमेत घरभित्रै खाल्डो खनी दवाउँछन् र मासु प्रसादका रूपमा परिवारका सम्पूर्ण सदस्यहरू (विवाहित छोरी, ज्वाई र उनका सन्तान बाहेक)ले बाडेर  खान्छन् । आफूले चिताएको पुगोस् भनी पाठी, परेवा, कुखुरा आदिको भाकल गरेको भए त्यस्ता पशुपक्षीको बलि पनि यसै दिन दिने चलन छ ।

 डिहिवार:-

 डिहिवारनीको पूजा दनुवारहरूमा प्रचलित अर्को पूजा हो । दनुवारबस्तीलाई तान्त्रिक शक्तिबाट बन्धन गरी पैशाचिक शक्तिको प्रवेश हुनबाट जोगाउने उद्देश्यले प्रत्येक वर्ष वाली लगाउने र उठाउने समयमा वस्तीको पूर्वपट्टि पीपलको फेदमा वा खुला झुपडीमा राखिएका काठका जोडी देवता (डिहिवार–डिहिवारनी)को पूजा गर्ने चलन छ । यस दिन गाउँका प्रमूख वा खानदानी अधिकारी आयोजक एवम् पूजारी हुन्छन् र सर्वप्रथम उनले नै आफ्नो जिव्रो, छाती आदिको रगत निकालेर डिहिवार डिहिवारनीलाई चढाउछन् । त्यसपछि बोका, पाठीको बलि दिइन्छ । गाउँका सम्पूर्ण दनुवारपरिवार सामेल हुने यस पूजामा प्रशस्त बोका, पाठी र अण्डा चाहिने भएकाले बढी खर्चिलो हुने देखिन्छ ।

  अन्य हिन्दुहरूले झै दनुवारहरू पनि बडादशै पूर्व हर्षोल्लास र उत्साहका साथ मनाउछन् । दसैको घटस्थानपनाको दिन यिनीहरू आफ्नो कुलायनमा लिपपोत गरी घरमा भएका हसिया, खुकुरी, खुडाँ, कर्द, चुलेसी आदि हातहतियार ठाडो पारी राख्छन् । यसलाई दनुवारहरू खाँडो राखेको भन्दछन् । यस दिन बेलुकादेखि यिनीहरूले मालश्री गीत गाउन सुरू गर्दछन् । यो क्रम नौरथाभरि जारी रहन्छ ।

फूलपातीको दिन दनुवारहरू टाउकामा विभिन्न रङ्गी चङी फूल सिउरेर हर्षोल्लास ब्यक्त गर्दछन् । दसैको अष्टमीको दिन दनुवारहरूको विशेष महत्वको दिन हो , यस दिन आफ्नो परिवारका सम्पूर्ण सदस्यहरू सबैभन्दा जेठो ब्यक्तिका घरमा जम्मा हुन्छन र विभिन्न पशुहरूको बलि दिइ कुलायनको पूजा गर्छन् । त्यसपछि चढाइएका पशुहरूको मासु प्रसादका रूपमा सबैले बाडेर खान्छन् । नवमीको दिन दनुवारहरू पिङ हाल्न बाटिएको बाबियोको डोरीलाई पूजारीको घरमा लैजान्छन् र पूजारी धूप, अछता, अन्डा आदिले त्यसलाई पूजा गरी फुकाइदिने काम गर्दछन् । त्यसपछि एकापट्टि लोग्नेमानिस र अर्कापट्टि स्वास्नीमानिसहरूले सो लठ्ठालाई तानतान गर्दछन् । यसलाई दनुवारहरू बराह तान्ने भन्दछन् । दशमीको दिन आफूभन्दा मान्यजनबाट टीका थाप्ने चलन छ । कमलाखोचका दनुवारहरूमा भने नवरात्रिभरि पूजापाठ गरी बलि दिने र दशमीको दिन टीका लगाउने चलन पाइदैन तर गच्छेअनुसार सुँगुर, कुखुरा, हाँस काटेर जाँडरक्सिको भोज खाने अनि इष्टमित्रलाई बोलाएर खुवाउने चलन भने पाइन्छ ।

भाषा भावना विचार एक आपसमा साटासाट गर्ने माध्यम हो । भाषा नै जातिको पहिचान हो । भाषागत रूपमा दनुवार जाति अग्रस्थानमा नै छ । दनुवार बस्तीहरूमा अहिले पनि आफ्नै भाषा बोल्छन् । बसोबास गरेको ठाउँपिच्छे फरकफरक देखिने यिनीहरू अन्य जातिसँग बातचित गर्दा दोस्रो भाषा प्रयोग गर्छन् । दनुवारी भाषा लेखन कार्य त्यति भएको छैन । भाषा र साहित्य लोप भएर जान सक्ने संभावना छ । दनुवारी भाषा भारोपेली भाषा अन्तर्गत  पर्ने हुँदा नेपाली, चुरेटी, मैथली, भोजपुरी, ताजपुरी, बोटे, माझी, दरै, कुमाल आदि जातिको भाषासँग मेल खान्छ । यस जातिको भाषा उन्नयनका लागि दनुवार भाषा समिति गठन गरिएको छ । उक्त समितिले दनुवार भाषा शब्दकोष नामक पुस्तक प्रकाशन गरेको छ ।

यी जातिको मुख्य पेशा भनेकोनै जङ्गलमा शिकार खेल्ने र माछा मार्ने काम हो । त्यही शिकार र माछालाई स्थानीय बजारमा लगी बिक्री गरी त्यसबाट प्राप्त भएको आम्दानीले जीविकोपार्जन गर्दछन् । महिलाहरू घरधन्दाको काममानै लाग्छन् भने पुरूषहरू घर बाहिरका काममा लाग्छन् । अहिले जीवन निर्वाह गर्ने स्थिति नभएपछि आफ्नो खेतीपातीमा तरकारी खेतीको साथै बैकल्पिक रोजगारका लागि अर्काको खेतबारीमा ज्यालामा काम गर्ने गर्दछन् । यस कामको अलवा दनुवार जातिका युवायुवतीहरू रोजगारको निमित्त राजधानी र विभिन्न शहरको कलकारखानाहरूमा मजदुरी काममा गएको भेटिन्छ । केही हट्टाकट्टा युवाहरू सेना र प्रहरी सेवामा पनि रहेका छन् भने महिलाहरू वनजङ्गलबाट दाउँरा, पात, च्याउँ आदि ल्याई स्थानीय बजारहरूमा बेचबिखन गर्छन् ।

 नियमित काम अन्तरगत मकै गोड्ने समयमा रामदल संस्कृतिलाई निरन्तता दिएका छन् । दनुवारहरूले । रामदलमा नृत्य र गायन दुबै पर्दछ । यस समाजमा मकै गोड्नका साथै अन्य कामको लागि पर्व चल्दछ । दनुवार भेषभुषामा सजिएर मकै गोड्दा गोड्दै युवापुस्ता नाचगान गर्छन् । खेतबारीमा सिचाइको अभाव र बैदेशिक रोजगारको सिलसिलामा विदेश पलायनले गर्दा खेतबारी बाझै  भएको छ । अन्तत यस जातिको पृथक सांस्कृतिक पहिचान बोकेको रामदल  लोप भएर जान सक्ने संभावना देखिन्छ ।

  हिन्दु धर्म मान्ने दनुवारहरू धर्ममा विश्वास राखी विभिन्न धार्मिक रीतपूर्वक पूजापाठ गर्नुको साथै अदृश्य शक्तिको विश्वास गरी पूजाआजा र प्रार्थना गर्ने पुरानो प्रथा अहिलेसम्म  यथावतनै राखेका छन् । ती प्रथालाई दनुवारहरूले बढी विश्वास राख्नुको साथै धार्मिक कार्यहरू गरिंदै आएका छन् । अदृश्य शक्तिबाट स्वास्थ्य लाभ हुने, भूतप्रेत पिचासले नछुने, अनिकाल नपर्ने, अदृश्य शक्ति प्राप्तिको लागि तान्त्रिक कार्यहरू गर्छन् । तान्त्रिक विद्यामानै यी जाति विश्वास राख्छन् । पूर्वकालमा तान्त्रिक विद्या पुरा लिइसकेको व्यक्तिले विभिन्न जनावरको भेषधारण गर्न सक्ने, एक खोलाको माछा धपाउँदै अर्को खोलामा लगी समात्न (मार्न) सक्थ्यो भन्ने जनविश्वास रहेको छ । साथै तान्त्रिक विद्या लिएको व्यक्तिलाई नेपालको राजाबाट लालमोहर प्राप्त थियो । सो व्यक्तिले गाउँगाउँमा गई बिरामीहरूलाई झारफुक गर्नुपर्थ्यो  । यसो गरिदिए वापत गाउँलेले अन्नपात, रूपैयाँपैसा दिने गर्दथे ।

यिनीहरू इमान्दार र मुद्दामामिला नगर्ने प्रकृतिका हुन्छन् । समाजमा आइपर्ने झैझगडा जातीय पञ्चायतबाट सुल्झाइन्छ । यस्तो बैठकको मूल ब्यक्तिलाई ‘भान्जन’ भनिन्छ । लोग्नेको जीवनकालमै दनुवार आइमाइहरू पोइल गए भने भान्जनका सहाराले जातीय समाज मिलि फिर्ता ल्याए कुलले क्षम्य नै ठान्दछ ।

रूढीवादी र अन्धविश्वासको कारणले यी जाति अहिले पनि विरामी परेको खण्डमा धामी झाँक्रीको विश्वास गरी झारफुक र तन्त्रमन्त्र गर्ने तर्फनै लाग्छन् तर स्वास्थ्य चौकी/अस्पताल लगिदैन् । यसो हुनाले धेरै  जनाको अकालमै ज्यान जाने गरेको छ ।

 पहाडी क्षेत्रमा बस्ने यिनीहरूले थर राई , दनुवार राख्दछन् भने तराई क्षेत्रमा बसोबास गर्नेहरूले थर राय, कुमार, गुरो, चौधरी, सिंह, मिर्दाहा, धोवीघाटिया, ठाकूर, धामी, खाँ, अधिकारी, माडवरिया, राखेका छन् । जनै लगाउने दनुवारहरू पनि छन् । यिनीहरूले ब्राम्हणले गर्ने रित गर्छन् । अरूले छोएको भात खादैनन् । चोखो नितोमा बढ्ता ध्यान दिन्छन् ।

पूर्व तराईका दनुवारहरू कछारे र रझन भन्ने दुई थरी हुन्छन् । रझनलाई आफूलाई ठूलो र कछारोहरूलाई सानो ठान्छन् । कोही–कोही दनुवारले आफूलाई राजपूतसरह मान्ने र जनै लगाउने पनि गरेका छन् । उनीहरूमा जो सुकैले छोएको भात नखाने गरी जातलाई चोखो पार्न खोजेको पनि पाइएको छ । यस्ता दनुवारहरूको थर कुमार, सिंह, राय, खान आदि हुन्छ ।

यो जाति दुई श्रेणी राई –दनुवार र थारू दनुवारमा विभाजित छन् । यस अतिरिक्त अर्को तेस्रो श्रेणी राजन दनुवार पनि पाइन्छ । यो श्रेणीको दनुवार माथिल्लो जातको भनिन्छ र जनै धागो पनि कसै कसैले भिर्ने गर्दछन् । यो सबैको नेपाली मिसिएको भोजपुरी भाषा हुन्छ । तेस्रो श्रेणी अर्थात् राजन–दनुवार चाहिँ जन्मदेखि मृत्युसम्मको संस्कार, ब्रतबन्ध, छेवर आदि कर्म ब्राम्ह्रणद्वारा गराउँदछन् । यिनीहरूको खानपान पनि बाहुन क्षेत्रीको जस्तै छ । राई दनुवारको खानपान भने किरात समाजसँग मिल्दो जुल्दो हुन्छ । यिनीहरू जाडरक्सीको सेवन र सुँगुर कुखुरा खाने गर्दछन् । थारू–दनुवार कुखुरा खाने तर सुँगुर चाहिँ नखाने र जाँडरक्सी घरको मुख्य मानिसले नखाने, घर भित्र नहुल्ने पनि गर्दछन् । राजन दनुवार बाहेक अन्य दुई थरका दनुवारहरूको संस्कार बाहुनद्धारा हुदैन आफ्नै कुलको मानिसद्धारा हुन्छ ।

दनुवारहरू गर्मी ठाउँमा बसोबास गर्ने हुँदा सोही मौसमी गतिविधिका अनुसार घर बनाउँछन् । पहाडी क्षेत्रमा बसोबास गर्नेहरूले दुई तलाको घर बनाउँछन् र छाना खरद्वारा छाइन्छ । पहिलो तलाको कोठामा भान्छा कोठा र भर्याङको  कुनापट्टी बाख्रा, भेडा, कुखुरा पालिएका हुन्छन् भने माथिल्लो कोठामा सुत्ने भित्ताको गाह्रोमा खट्प्वाल बनाई देवदेवता राख्छन् साथै सोही कोठामा दाउराहरू पनि राखिन्छ ।

त्यस्तै तराई क्षेत्रमा बसोबास गर्ने दनुवारहरूले प्रायः जसो भुइँतल्लाको घर बनाउँछन् । घर बनाउँदा चारैतिर काठका खम्बा उभ्याई बाँसका भाटाहरूले बेरी माटो र गोबरले पोत्ने गरिन्छ । भुँइतल्लामा अगेना, सुत्ने ठाउँ, अन्नपात राख्ने र देवदेवताहरूको मुर्तिहरू राख्दछन् ।

    यी जाति संयुक्त परिवारमानै बस्छन् । अन्य समाजदेखि छुट्टै खोलाको आसपासमा र जङ्गलको छेउँछाउँमा गुचमुच्च  घर बनाएर बस्ने यी जाति शिक्षा, स्वास्थ्य र विकास निर्माणमा ओजेलोनै पर्न गएको छ ।दनुवार जातिमा जब महिला सुत्केरी हुने समयमा आफ्नो देवदेवतालाई पूजाआजा गरिन्छ । बच्चा जन्मलाई ईश्वरको वरदान मान्दछन् । महिलाले बच्चा जन्माउँन कठिन भएमा धामीझाँक्री ल्याई तान्त्रिक विधि अनुसार तन्त्रमन्त्र गर्छन् । घरमा नै बच्चा जन्मेको राम्रो मान्छन् । तर सुत्केरी गराउन गाह्रो परेमा अस्पतालतर्फ पनि लाने गर्दछन् । बच्चा जन्मेपछि माछा मार्ने जालले कुना घेरेर राखिन्छ । बच्चा जन्मेको ६ दिनसम्म दीयोमा बत्ती बालेर राखिन्छ । यस जातिमा छोराको चाहना राख्छन् किन कि छोरा भएमा पढाउन, पढ्न सक्ने घर बाहिरको काम गर्न सक्ने र बुवाआमालाई पाल्न सक्ने धारणा राख्छन् । छोरा जन्मेमा विशेष किसिमले लिने गर्छन् । छोरा जन्मेको तत्काल कुखुराको भाले काटी रगतले नुवाइदिने गर्छन् । बच्चालाई र आफन्तहरूलाई डाकी भोज खान दिन्छन् । बच्चाको न्वारान तीन दिन देखि ११ दिन भित्रको समयमा गराइन्छ । बच्चाको नाम राख्दा बार , तिथि र घटनाक्रमलाई हेरी राखिन्छ ।

  बालकको शारीरिक बृद्धि भएपछि उनमा आफ्नो काम कर्तव्य के हो ? भनी परिपक्कता आउँदछ । त्यस समयमा उसको चुडाकर्म कार्य गरिन्छ । चुडाकर्म मामाद्वारा गराइन्छ । मामाद्वारा बालकको केश काटी नुवाइधुवाई सफा सुग्घर गरी राखिन्छ । मामाले काटिएको केश खोला नदीमा लगी बगाउँनु पर्दछ । त्यसपछि बालकलाई नयाँ लुगा, टोपी गहना र दक्षिणा दिनु पर्छ मामाले । चुडाकर्म गरिसकेपछि उपस्थित भएका घरगाउँले, इष्टमित्र र आफन्तले बालकलाई दक्षिणाको साथै लुगाफाटाहरू उपहार दिई भोजमा सरिक हुन्छन् । पाहुनाहरूलाई स–सम्मानका साथ माछा,मासु, रक्सी, भात, रोटी खान दिन्छन् ।

    दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । विवाहको कुरा चलाउन एउटा मध्यस्थकर्ता  राखिन्छ । मध्यस्थकर्ताको साथ केटाका आफन्तहरू केटीको घरमा जान्छन् । सर्वप्रथम केटीको परिवार र केटा पट्टीबाट गएको मान्छेहरू बसी मध्यपान गरी ख्याल ठट्टा गर्ने क्रममा विवाहको प्रस्ताव राखिन्छ । कुरा गर्ने क्रममा केटी पक्षबाट केटा पक्षलाई केटाले खेतीपाती गर्न, माछा मार्न सक्छन् कि सक्दैन साथै जग्गा जमीन, खेतवारी कती छन् भनी सोध्ने  गरिन्छ । यदि सो काम गर्न निपूर्ण साथै गरी खान जग्गा जमिन प्रयाप्त भएको खण्डमा केटी पक्षबाट स्वीकारी विवाहको लगन टुङ्गिन्छ । कुरा छिन्ने कामलाई दनुवारको भाषामा बागद्त्त भनिन्छ । यसरी कुरा छिनिसकेपछि केटा पक्षलाई ८० रूपैयाँ दस्तुर र आमाको दुधको भारो बापत एक रूपैयाँको साथै थुन्चेमा सेलरोटी, रक्सी, माछा, मासु दुलहीको घरमा पठाउँने चलन छ । पुरोहितद्वारा निश्चित साइत जुराएपछि विवाहको दिन टुङ्गो लगाइन्छ । दुलाहा पक्षबाट हट्टाकट्टा युवकहरू जन्ती जान्छन् र दुलही पक्षबाट पनि भव्य स्वागत हुन्छ जन्तीहरूलाई । विवाहको काम रातभर हुने चलन छ । यी जातिमा लोग्ने र स्वास्नीबीचमा मन नमिलेको खण्डमा सम्बन्ध बिच्छेद गर्दा दनुवार समाजको भेला डाकिन्छ । अनि सो भेलाले जे निस्कर्ष निकाल्छ त्यही मान्य हुन्छ । अन्य जातिको जस्तै : दाजु मोरेको खण्डमा अविवाहित देवरसँग पुन : बिवाह गर्न पाइने चलन छ । यद्यपि, अहिले यो चलन चल्तिमा छैन । यस जातिमा अन्तर जातीय विवाह स्वीकार्य छैन ।

  यो समाजमा बालविवाह एवम् बहु विवाहको प्रचलन छदैछ । प्रचलित समाजिक नियम विपरीत कसैले कुनै काम जानी जानी वा अनायसमा गरेको रहेछ भने उसलाई कडा दण्ड दिने चलन छ । यसरी यहाँ कठोर सामजिक नियन्त्रण रहेको पाइन्छ ।

घर आगनमा काम गरिरहेको कुनै युवतीको मधुर स्वर लहरो यसरी सुन्न सकिन्छ :

     वैरी वेरी वरागे जाहु पापी रे भमरा,

     मधु लोभ जनि जाहु विदेश ।

     चाउर छरैते गेल सना सगर शरीर  आग ,

     मसरी घोटेतं वोर बोध है ।

     दाई मलिन होई ससरे हे भयरा,

     तोहै पिया मुख ममार ।

     प्राण अभिगाते होइ सर भमरा,

     अलपि वयस जीव जाय ।

    विदेशतिर जाने आफ्नो नायकसँग नायिका अनुनय गर्छे–पटक पटक तिमी परदेश नजाऊ–मधुलोलुप भ्रमर तिमी नजाऊ ।

   चामल केलाउदा सम्पूर्ण शरीर काम्न थाल्यो । यसरी केलाउँदा पनि दुव जाँघ काम्न थाल्यो तर तिमी भ्रमर जस्तो लोकी प्रियतम् अलिकति डवित भएनौ र मेरो मनको कुरा तिमीले बुझ्न सक्दैनौ, त्यस्तो तिमी निर्दयी छौ । अव जे होस् यस अल्पावस्थामा नै मेरो प्राण जान्छ ।

      कमला खोचको कुनै आँगनमा पनि दूई आईमाईहरू बीच कुरा हुँदा सुन्न सकिन्छ–कतबो भारत कतबो पीटको नँयो पिया मिठ रहतो–नुन डेलो तेल डेलो तयो.करेला तीत आ मरिकैली पीट कलो तयो पिपा मीठे अर्थात् प्रियतम्को व्यवहार जति कठोर भए पनि मधुर नं प्रतीत हुन्छ । प्रियतमका कुरा कानमा अमृत जस्तै हुन्छ ।

     यस जातिको विभिन्न संस्कारमध्ये मृत्यु संस्कार महत्वपूर्ण समयको हो । कुनै परिवारको सदस्य मृत्यु भएको खबर पाउँना साथ गाउँलेहरू मृतकको घरमा जम्मा हुन्छन् । मृतक भएको व्यक्ति बालक छ भने नदीको किनारामा गाड्ने चलन छ । दनुवार जातिमा पनि बुवाआमा मृत्यु भएमा सबै छोराले किरिया गर्नु पर्ने बाध्यता छैन । तसर्थ सबै दाजुभाइको सल्लाह अनुसार कुनै एक भाइ किरिया बस्छ । घाटमा लाशलाई अग्नी दिएपछि सबै मलामीहरू घर फर्कन्छन् । लाशलाई कुरेर बस्ने चलन छैन । बिहानीपख पुन : घाटमा गई जल्न बाँकी भएको अंशलाई फेरी जलाइन्छ । जलिसकेपछि बाँकी रहन गएको अस्तुलाई बालुवा, ढुङ्गाले ढाकेर चौतारो जस्तो बनाई मलामीहरू घर फर्कन्छन् । किरियापुत्रि घरको एउटा कुनामा बसेर रित अनुसार संस्कार गर्छन् । तेर्हौ  दिनमा नातागोता र मलामी समेतलाई निम्ता गरी भोज खान दिने चलन रहेको छ । तेहौं दिनको शुद्ध कार्यमा घाटमा गई एक पटक पिण्ड दिइन्छ । यो पिण्ड दिनुको मुख्य कारण मृतकलाई अन्तिम विदाई दिनु हो । अन्य जातिले जस्तै वार्षिक रूपमा पितृको श्राद्ध गर्ने चलन छैन ।

    तेह्रौ दिनको मृत्यु संस्कार सकिए पछि वर्ष दिनसम्ममा आफ्नै जातीत्वमा गर्नु पर्ने संस्कार गर्ने गर्छन् दनुवारहरू । ती गरिने संस्कारहरूमा जस्तै : बर्खी कार्य, किरियादान, पञ्चदान, वेरीदान र खोर्सीवान हुन् ।

     दनुवारहरूको बर्खी सरल छ । बर्खीका दिनको विशेष कार्यक्रम जुवाइबाट सुरू हुन्छ । घर र शरीर चोखो गरेपछि आफन्त परिवार एकत्रित हुन्छन् । ज्वाइले बर्खी बार्नेलाई एकसरो सेतो लुगा फुकाल्न लगाई रङ्गीन र दोहोरो सिलाएको (सामान्य) लुगा लगाउन दिन्छन् । खानपान पछि काम सकिन्छ । किरियादान गर्ने परम्परा कमलाखोचँमा बस्ने कछाडीहरूको रहेको पाइदैन तर सोही ठाउँबाट बसाइसराई भई आएर तराई बसोबास गर्ने मैथली संस्कृतिको प्रभावमा परेर किरियादान गर्ने गरेको पाइन्छ । मैथिली, ब्राम्हण, भूमिहार राजपूत कायस्थहरूले गरेझैं तराइको दनुवारहरूको ३ किसिमले किरियादान गर्दछन् । १, पञ्चदान, २, वेरीदान, र ३ खोर्सी दान ।

      धनुषाधाममा बस्ने दनुवार समुदायमा कुन किसिमको किरियादान गरिने हो सोको जानकारी गाउँलेहरूलाई अगाडि नै दिनुपर्ने प्रचलन रहेको छ । किरियापुत्रीले कबुल गरेबमोजिम निम्न बमोजिमको दान दिइन्छ साथै गाउँलेहरूलाई भोज खाइन्छ । पञ्चदान यो किरियादान गर्दा जोड जुत्ता, जोड लोटा, जोड थाली, जोड धोती, तथा अन्य विभिन्न सामानहरू ब्राम्हणहरूलाई दान दिइन्छ । वेरी दानमा बाहुन र बाहुनी दुवैलाई बोलाइन्छ । यस दानमा एक बाछा र तीन बाछी दिइन्छ । जसमध्ये २ बाछी बाहुनलाई र एक बाछा र एक बाछी छाडा छोडी दिनुपर्दछ । यस किरियादानमा दैनिक प्रयोग हुने चीजवीजहरू दिनुपर्दछ । यस दान अन्र्तगत गरिने हुनाले यो किरियादान महङ्गो हुन्छ । खोर्सीदान सर्वसाधारणका लागि उपयुक्त हुन्छ । ब्राम्हणलाई बोलाएर आफ्नो शक्ति अनुसार खान दक्षिणा गरिन्छ ।

    कछाडीहरूले मानिसको पुनर्जन्ममा ठूलो विश्वास गर्दछन् । अहिलेको मानव जुनीमा राम्रो कार्य अर्थात् परोपकार, समाज सेवाको कार्य, पूजापाठ धार्मिक कार्य गरेमा अर्को जन्ममा धनी तथा सम्पन्न मानिसको कोखमा बास हुनेछ भन्ने धार्मिक विश्वास रहेको छ । पाप तथा अपराधिक कार्य गरेमा नर्कमा पुगिन्छ र अर्को जन्ममा गरिव तथा असहाय हुन पुगिन्छ भन्ने विश्वास गरिन्छ । गाईलाई कुटेमा गाईको रूपमा पुनर्जन्म हुनेछ भन्ने विश्वास गरिन्छ । दाहसंस्कार गरेको भोलिपल्ट लासको (मस्तक)फुला लिन चिहानघाट जाँदा यदि त्यहाँ सर्प, छुचुन्द्रो, छेपारो, माकुरा कुनै चिज देखियो भने मरेपछि सोहीको जन्म भएछ भन्ने धार्मिक विश्वास गरिन्छ  ।

पाद टिप्पणी

१, खरेल, गङ्गा, नेपालको जातीय संस्कार, खण्ड दूई, ने.प्र.प्र., काठमाडौं, २०७०, पृष्ठ–१०३ ।

२, आचार्य बावुराम थारू जातिको मूलधार काँहा प्राचीन नेपाल, काठमाडौं पूरातत्वविवाद कार्तिक २०२९, पृष्ठ–३४ ।

३, बज्राचार्य, धनराज, प्र.स.नेपालका विभिन्न भाषाभाषीहरूको सङ्ख्या इतिहास संशोधन प्रमाण प्रेमय, पहिलो भाग–१८० ।

४, के.सी.टङ्क, आदिबासी जनजाति एक अवलोकन, लोक संगीत कला प्रतिष्ठान नेपाल, २०७१ पृष्ठ–९७ ।

५, बिष्ट, डोरबहादुर, सबै जातको फुलबारी, साझा प्रकाशन, काठमाडौं, २०७१, पृष्ठ–८४,८५ ।

६, लाल रेवतीरमन, मधुपर्क, वर्ष १९, अङ्क ४, भदौ २०४६, पृष्ठ–१०५ ।

७, शर्मा, सन्तोष, मधुपर्क, वर्ष ११, अङ्क ९,माघ २०४६, पृष्ठ–५८ ।

८, खरेल, पूवर्वत, पृष्ठ–१०७,१०८ ।

९, लाल, पूवर्वत, पृष्ठ–१०६ ।

१०, पोखरेल पोष्टराज दनुवार जाति र संस्कृति, गरिमा, वर्ष–२२, अङ्क–४, २०६०, पृष्ठ–१३२/३३ ।

११, पौडेल राजेन्द्र, कमला खोचका दनुवारको सांस्कृतिक पक्ष, नेपाली संस्कृति वर्ष ७, अङ्क १, २०४६, पृष्ठ–१९ ।

१२, शर्मा, नगेन्द्र, नेपाली जनजीवन, साझा प्रकाशन, काठमाडौं, २०६३ पृष्ठ–५९ ।

१३, बिष्ट, पूवर्वत, पृष्ठ–८६ ।

१४, सूचना विभाग, मेचिदेखि महाकाली, भाग–२, काठमाडौं, पृष्ठ–२२१ ।

१५, लाल, पूर्ववत, पृष्ठ–१०७ ।

१६, खरेल, पूवर्वत, पृष्ठ–१३२, १३३

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट