रिबन

कांग्रेसका युवा नेता गुटको ‘अफर’ पर्खेर बस्लान् ?

कांग्रेसको १४ औ महाधिवेशमा ७० नाघेका नेतालाई युवा नेताले चुनौती दिने आँट गर्लान ?
‘नेपाली कांग्रेसको केन्द्रीय संगठनको संरचना यतिबेला जरा भन्दा हाँगापिंगाको वजन बढी भएको रुख जस्तो बनेको छ । यस्तो रुख सानो धक्काले पनि गल्र्याम् गुर्लम् हुने खतरा हुन्छ ।’ यो विश्लेषण हो -‘ केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालको ।’

नेपाली कांग्रेस मात्रै होइन, निश्चित समयावधी पछि हरेक राजनीतिकदलहरु यो चरणमा पुग्छन् । यो चरण नै राजनीतिकदलको जीवनमा सवै भन्दा मुस्किलको अवधी हुन्छ । जब यो चरण पार हुन्छ तब राजनीतिकदलहरुले नयाँ जीवन प्राप्त गर्छन् । राजनीतिक दलको यो चरणलाई राजनीतिक शास्त्रीहरुले चिल तथा गिद्धको जीवनसँग तुलना गर्ने गर्छन् । आफ्नो धारिलो चुच्चोबाट शिकार खेल्न माहिर पंक्षी हो गिद्ध । जब २० -२५ वर्षको उमेर पुग्छ तब गिद्धको चुच्चो भुत्ते, शिकार गर्न नसक्ने हुन्छ । यो अवधीमा केही गिद्धहरु भोकै मर्छन्, तर केही गिद्धहरुले भने चट्टानमा रगडी रगडी साविकको चुच्चोलाई फाल्छन् , नयाँ चुच्चो नपलाइन्जेल पानी तथा स–साना किरा फट्यांग्रा खाएर बाँच्ने मात्रै मेलो गर्छन् । करिव दुई वर्ष पछि यस्तो बलियो नयाँ चुच्चो पलाउँछ ,जुन चुच्चो सिपालु मानिसले बनाउने कुनै तरबार भन्दा कमजोर हुँदैन । यो चुच्चो फेरेपछि भने गिद्ध सय वर्ष सम्म राजर्षी ठाँटका साथ मज्जाले बाँच्छ ।
राजनीतिक दलहरु पनि संघर्षबाट जन्मेका हुन्छन् । संघर्षको क्रममा थोरै युवाहरुले संगठन निर्माण गरी आम जनसमुदायको समर्थन बटुल्छन् । समय क्रममा ती युवाहरुको उमेर बढ्दै जान्छ, पार्टी भित्रको योगदान पनि लामो हुँदै जान्छ । नयाँ पुस्ता नेतृत्वमा पुग्न सक्दैन । त्यही पुस्ताले आलोपालो नेतृत्व गरिरहन्छ ।

नयाँ पुस्ताको प्रवेश त हुन्छ , तर कर्मचारी तथा सैन्य संरचनाको जस्तो आँफु भन्दा अघिल्लो रिटार्यड भएपछि रिक्त रहने ठाउँमा बढुवा भएर पुग्ने परिपाटी बन्छ । कर्मचारी तथा सैन्य संरचनामा त रिटार्यड हुने उमेर तोकिएको हुन्छ । तर राजनीतिक पार्टीमा भने मरेपछि वा स्थायी रुपमा ओछ्यानमा परेपछि मात्रै हो रिटार्यड हुने । त्यसलै राजनीतिक दलमा एउटा समय यस्तो आउँछ , माथिल्लो लेवलमा धेरै राजनीतिक वजन भएका बुढाहरु हुन्छन् । तल्लो लेवलमा रहेका नयाँ पुस्ताको वजनलाई माथिल्लो तहमा रहेका बुढाहरुको वजनले खर्लप्पै झाँट्छ । राजनीतिक दल दुर्घटनामा पुग्नेभनेको पनि यही चरणमा हो । नेपाली कांग्रेस यतिबेला पुगेको भनेको यही चरणमा हो ।

केन्द्रीय समितिमा ७० वर्ष नाघेका बुढा नेताहरुको संख्या भन्दा ६० वर्ष मुनीका नेताहरुको संख्या ठूलो छ , तर ७० नाघेका बुढा नेताहरुको वजन यति ठूलो छ कि, ६० भन्दा कम उमेरका नेताहरुले उनीहरुलाई चुनौती दिने आँट समेत गर्न नसक्ने अवस्था छ ।

व्युरोक्रेसीमा शाखा अधिकृतबाट बढुुवा हुँदै सचिव, मुख्य सचिवमा पुगेजस्तै पार्टी भित्र पनि केन्द्रीय सदस्य सहमहामन्त्री, महामन्त्री, उपसभापति हुँदै सभापतिमा पुग्ने परम्परा नेपाली कांग्रेसमा बसेको छ । केही अपवाद बाहेक ४० –४५ वर्ष उमेरकाहरु नेविसंघमै र ५०–५५ वर्ष उमेरकाहरु तरुणदलमै अलमलिनु पर्ने र ५५ वर्षनाघेपछि मात्रै केन्द्रीय सदस्य बन्ने श्रृंखला कायम भइसकेको छ । कम्तिमा दुई कार्यकाल केन्द्रीय सदस्य नभई सहमहामन्त्रीमा नपुग्ने,कम्तिमा एक कार्यकाल सहमहामन्त्री नभई महामन्त्रीमा नपुग्ने, एक कार्यकाल महामन्त्री नभई उपसभापति नहुने । उपसभापति भइसकेपछि सभापति बन्नका लागि दुई कार्यकाल कम्तिमा पनि पर्खनु पर्ने । यो अवस्थाका कारण ७० –७५ वर्ष नकट्दासम्म सभापति बन्ने पालो नै नआउने अवस्था सिर्जना भएको छ । त्यसमा पनि एक कार्यकाल मात्रै सभापति बनेर नेताहरुको चित्त बुझ्दैन , एउटै नेता दुई कार्यकाल सभापति बन्दा उसको उत्तराधिकारी स्वतः ८० वर्ष आसपासको हुने भइहाल्यो । सभापति तथा पदाधिकारीका लागि पालो कुरेर बस्नेहरुको ठूलो भीड हुने र त्यही भीडको सेप नयाँ पुस्ताका नेताहरुले बेहोर्नु पर्ने अवस्थामा नेपाली कांग्रेस यतिबेला पुगेको छ भने उसको प्रतिस्पर्धी नेपालकम्युनिष्ट पार्टी (नेकपा) यो चरणमा पुग्न अझै एक दशक लाग्ने अवस्था छ । नेकपा त्यो चरणमा पुग्दै गर्दा नेपाली कांग्रेसले पुनर्ताजगी पाउने हो भने नेपाली कांग्रेसले फेरी ३० -४० वर्षसम्म मीयो पार्टीको भूमिकामा रहने सौभाग्य प्राप्त गर्न सक्छ ।

संभव छ त ?

कर्मचारी संयन्त्र तथा प्रहरीको जस्तै रोलक्रम पर्खेर बसेको भए भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यतिबेलासम्म प्रदेश मन्त्रीमै अल्झिरहेका हुन्थे । अमेरिकाका पुर्वराष्ट्रपति बाराक ओबामाको पालो आउन अझै एक दुई दशक लाग्थ्यो । तर राजनीतिक दलमा आँट तथा विलक्षण क्षमताले पनि तलबाट सिधै टुप्पोमा पुर्याउँछ । उदाहरणका लागि नरेन्द्र मोदी जन्मदा लालकृष्ण आडबाणी नेता भइसकेका थिए,तर आडवाणीलाई मात्रै होइन अटल बिहारी पाजपेयीलाई पनि किनारा लगाएर मोदी विश्वको सबै भन्दा ठूलो लोकतन्त्र भारतको प्रधानमन्त्री बने । उनी प्रधानमन्त्री बन्ना साथ भारतीय जनता पार्टी (विजेपी) ले पुनर्ताजगी पायो । हो, यस्तै पुनर्ताजगी नेपाली कांग्रेसले कहिले पाउला ? कि पुनर्ताजगी नपाउँदै सकिएला ? १४ औं महाधिबशेनको सेरोफेरोसँगै नेपाली कांग्रेसका राजनीति यिनै प्रश्नले तरंगित भएको छ ।

केही समय अघि नयाँ पुस्ताका करिव एक दर्जन युवा नेताहरुले संयुक्त विज्ञाप्ति निकाल्दै आफ्नो पुस्तामा नेतृत्व आउनु पर्ने माग अघि सारे । लगत्तै पार्टी सभापति शेरबहादुर देउवाले एक सार्वजनिक समारोहमा प्रत्युत्तर दिए –‘नेतृत्व मागेर पाइने होइन, खोसेर लिनसक्नु पर्छ ।’ देउवाले चाहेको जस्तो हैसियत नयाँ पुस्ताका युवा नेताहरुले आसन्न १४ औं महाधिबशेनमा प्रस्तुत गर्न सक्लान त ? भन्ने प्रश्न पनि निकै पेचिलो बनेको छ । पार्टीको १२ औं र १३ औं महाधिबशेन पछि प्रसस्त टाठा बाठा युवा नेताहरु केन्द्रीय समितिमा पुगेका छन् । करिव दुई दर्जन युवा नेताहरु मध्ये कसैले एक र कसैले दुई कार्यकाल केन्द्रीय समितिमा गुजारी सकेका छन् । अब उनीहरु मध्ये पार्टीको नेतृत्व लिने गरी सिधै अघि बढ्न कति जना तयार होलान ? कति जनाले सहमहामन्त्री, महामन्त्री उपसभापति हुँदै सभापतिमा पुग्ने व्युरोक्रेसीको बाटो अपनाउलान ? यो प्रश्नको उत्तर १४ औं महाधिबशेनले दिनेछ । उदारणका लागि नयाँ पुस्ताबाट धेरैले आशा गरेका नेता गगन थापा हुन् । उनी १२ औं महाधिबेशनमा सर्वाधिक दोस्रो मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भए । १३ औं महाधिबशेनमा केन्द्रीय सदस्य दोहोर्याउन चाहेनन्, महामन्त्री पदमा उमेद्वार भए । अब १४ औं महाधिबशेनमा सभापति पदको उमेदवार होलान कि , कुनै बलियो गुटले अफर गर्यो भने महामन्त्री पदमै उमेदवारी दोहोर्याउलान ? भन्ने प्रश्नले कांग्रेसका आम कार्यकर्ताको दिमागमा खुल्दुली मच्चाएको छ । जुन पदमा उठे पनि युवा नेता थापाले गत १३ औं महाधिबशेनको भन्दा थप प्रश्नको सामाना भने गर्नु पर्नेछ । स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा रहँदा के के परफरमेन्स देखायौ ?

नेपाली कांग्रेसको अहिलेसम्मको उदाहरण हेर्दा केही अपवाद बाहेक मन्त्री पदमा अल्झिएका नेता सभापति बन्न सकेको अवस्था छैन । यसैगरी केही अपवाद बाहेक पदाधिकारी नभई केन्द्रीय सदस्यबाट सिधै सभापति पदमा पनि नेता पुगेको देखिन्न । उदाहरणका लागि नेपाली कांग्रेसका हालसम्मका ७ जना सभापति मध्ये मातृकाप्रसाद कोइराला , कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला र सुशील कोइराला कहिल्यै मन्त्री बनेनन् । सिधै प्रधानमन्त्री बने । बाँकी ३ मध्ये वीपी कोइराला केही महिना , तथा सुवर्णशमशेर र शेरबहादुर देउवा करिव ३ वर्ष मन्त्री बने ।

यसैगरी पदाधिकारी नभई सभापति पदमा पुग्ने नेताहरु नेपाली कांग्रेसमा शेरबहादुर देउवा मात्रै अपवाद हुन् । वीपी , सुवर्ण र मातृका संस्थापक भइहाले । त्यसबाहेक कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला र सुशील कोइराला लामो समय महामन्त्री बनेका नेताहरु हुन् । पहिले पार्टी सभापति अनि मात्रै प्रधानमन्त्री बन्ने आम ट्रेन नेपाली कांग्रेसमा देखिन्छ, तर देउवा मात्रै यस्ता नेता हुन् जो दुई पटक प्रधानमन्त्री भए पछि मात्रै पार्टी सभापति बने ।

१४ औं महाधिबेशनको सन्दर्भ

महाधिबेशनले सभापति निर्वाचत गर्ने सभापतिले पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने परम्परा नेपाली कांग्रेसमा लामो समय रह्यो । नवौं महाधिबेशनदेखि हरेक विकास क्षेत्रबाट एक एक जना गरी पाँच जना केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रावधान सुरु भयो । दशौं महाधिबशेनमा निर्वाचित केन्द्रिय सदस्यहरुको संख्या १८ पुर्याइयो । १२ औं महाधिबेन पछि पदाधिकारी (एक महामन्त्री र कोषाध्यक्ष) निर्वाचित गर्नथालियो । १४ औं महाधिबशेनमा भने दुवै उपसभापति , दुवै महामन्त्री र आठै जना सहमहामन्त्री निर्वाचित हुँदैछन् । सभापति पदमा त नयाँ पुस्ता पुग्ने संभावना धेरै धेरै क्षिण छ , तर पदाधिकारीमा भने नयाँ पुस्ताका उल्लेख्य नेताहरु पुग्ने संभावना छ । यो संभावनाले मूर्त रुप लियो भने १५ औं महाधिबशेन पछि मात्रै नेपाली कांग्रेसको केन्द्रीय सांगठनिक संरचना सन्तुलित हुँदै जानेछ । तर उपसभापति र महामन्त्री भइसकेका नेताहरु मध्ये रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिँह, बिमलेन्द्र निधि, विजयकुमार गच्छदार, केवी गुरुङ, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला र पूर्णबहादुर खड्का गरी ९ जना नेताहरु अहिले पनि राजनीतिमा सक्रीय छन् । यी ९ जनाले नै सभापति बन्न पालो कुरेर बसेको देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *