नेपाल–चीन सीमाबारे अध्ययन विवरण सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण रहस्यमा नराखी तत्काल सार्वजनिक गर्न माग गरेको छ । हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुगेपछि पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरेपछि कांग्रेसले यस्तो माग राखेको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका सेनानी, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकलगायत दुई दर्जन बढीको अध्ययन टोलीले स्थलगत अध्ययन गरिरहँदा नै सीमा मिचिएको छैन भनेर परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको धारणालाई हामीले स्थलगत अध्ययन विवरणको प्रतिक्षा नगरी सार्वजनिक गरिएको हतारोको टिप्पणीका रुपमा लिएको थियौँ ।

स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्के पश्चात वास्तविकता बाहिर आउने हुँदा धैर्यताको अपेक्षा र अपिल पनि हामीले गरेका थियौँ । तर स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि पनि स्थानीय प्रशासनमार्फत् अथवा स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय छ ।’

‘एकातर्फ परराष्ट्र मन्त्रालयको हतारोको टिप्पणी, सहायक प्रजिअलाई स्पष्टीकरण र अर्कातर्फ स्थलगत अध्ययनको विवरण समेत सार्वजनिक गर्न गरिएको ढिलाईले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको छ, जुन स्वाभाविक हो ।

नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको छ, अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ’, प्रवक्ता शर्माले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Share
  • 10
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *