फिचर

नवरात्रको तेस्रोदिन, आज दुर्गा चन्द्रघण्टाको पूजा गरिँदै

 

काठमाडौं । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता,छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

चन्द्रघण्टा माता दुर्गाको तेस्रो शक्ति स्वरुप हुन् । नवरात्रको तेस्रो दिन सोमवार माता चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ । यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ । उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ ।

दिन चार वर्षकी कन्यालाई ‘कल्याणी’ देवीको रूपमा पूजा गरिन्छ भने विशेष रूपमा चन्द्रघण्टालाई ऐना, सिन्दुर, गाजललगायत सामग्री चढाइन्छ ।

शास्त्रमा भनिएको छ –
पिण्डजप्रवरारूढ़ा चण्डकोपास्त्रकेर्युता।
प्रसादं तनुते मह्यं चंद्रघण्टेति विश्रुता।।

अर्थात माता दुर्गाको तेस्रो स्वरूपको नाम हो चन्द्रघण्टा । चन्द्रघण्टा माता लाई दुर्गा भवानी माताको रुपमा उनलाई तेस्रो दिनमा पूजाआजा र आराधना गर्ने गरिन्छ । उनको शिरमा घण्टीको आकार जस्तै अर्धचन्द्र भएकाले उनको नाम चन्द्रघण्टा रहन गएको शास्त्रीय मान्यता छ । यिनको आराधना ले सांसारिक कष्ट देखि छुटकारा पाई सहज रुपमा परमपदको आधिकारिक बन्द छ भन्ने मान्यता छ ।

चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ । यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो ।

उनलाई सुनजस्तो पहेंलो शरीर र दशवटा हात भएकी देवी भनेर देवीभागवतमा उल्लेख छ । हातमा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुबाण, कमल पुष्प, अक्षमाला धारण गरी वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ मानिएको छ । उनको घन्टको ध्वनिले भूतप्रेत भाग्ने र आसुरीभाव भएका शत्रुहरू परास्त होऊन् भन्ने कामनाले उनको पूजा गर्नुपर्ने धार्मिक विश्वास रहेको पाणिनि संस्कृत विद्यालय, विराटनगरका पं. राजेन्द्र आचार्य बताउँछन् । चन्द्रघण्टाको उपासना गर्नाले सिंह या बाघको जस्तै पराक्रम तथा निडर हुनुका साथै सद्गुण, वीरता तथा विनम्रताको विकास भई शरीरमा कान्ति र गुणको वृद्धि हुने बताइएको छ ।

चन्द्रघण्टाको आराधना गर्नाले सबै प्रकारका दुःख, कष्ट नाश हुने र सबै प्रकारका बाधाव्यवधान हट्ने जनविश्वास छ । उनलाई सबै प्रकारका फलफूल, पकवान एवं पुष्पहरू प्रिय छन् । चन्द्रघण्टालाई विशेषगरी दूधका परिकार चढाइन्छ । उनलाई वैज्ञानिक दृष्टिले सम्पूर्ण ध्वनि शक्तिको स्वरूप मानिन्छ । चन्द्रघण्टा देवीको पूजासँगै यस दिन पनि विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती,दक्षिणकाली,भद्रकाली,दन्तकाली,

सिद्धकाली,गुह्येश्वरी,विन्ध्यवासिनी,छिन्ताङदेवी,पाथीभरा,मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट