ताजा समाचार

आज विजया दशमी : यस्तो छ टीकाको शुभसाइत

काठमाडौँ । बडादशैंको सबै भन्दा महत्वपूर्ण दिन विजयाशमी आज सोमबार हो । बडा दशैंको टीका ग्रहण गर्ने उत्तम शुभसाइत कात्तिक १० गते सोमबार १० बजेर १९ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको समितिले जनाएकोछ ।

शुभसाइतमा कसले लगाउने :
शुभसाइतमा टीका लगाउन जम्मा भएकामध्ये कसले पहिले टीका लगाउने र थाप्ने भन्ने प्रश्न उठ्नसक्छ । सबैलाई आफुले शुभसाइतको टीका थाप्ने चाहना हुन सक्छ, तर त्यसो होइन तपाईं जहाँ हुनुहुन्छ, त्यहाँ भेला हुनुभएका नातेदारमध्ये सबैभन्दा ज्येष्ठ र मान्य व्यक्तित्वले टीका लगाइदिने हो र त्यहाँ उपस्थित आफ्ना कुलपरम्परा र रीतिबमोजिमको ज्येष्ठ सदस्यलाई शुभसाइतमा टीका लगाइदिनु नै शुभसाइत हो । अन्य कनिष्ठ जनका लागि पनि त्यही साइत लागू भएको मानिन्छ । एक पटक टीका थापे पछि त्यसपछि सबै शुभै शुभ हुन्छ । स्थानअनुसार टीका लगाइदिने व्यक्ति दक्षिणाभिमुख भई (दक्षिणतर्फ फर्की अर्थात् सम्मुख चन्द्रमा बनाई) तथा टीका थाप्ने व्यक्तिले पूर्वाभिमुख भई (पूर्व फर्की) अथवा दाहिने चन्द्रमा पारी टीका लगाउनु पर्दछ ।

उदाहरणका रुपमा काठमाण्डौंको सूर्योदय र सूर्यास्तलाई आधार मानेर टीकाको शुभसाइत निर्धारण गरिएको भए पनि ठाउँपिच्छे बेग्लाबेग्लै समयमा टीकाको साइत निर्धारण गर्न सकिन्छ । त्यसलाई काठमाण्डौंसित देखिने समयान्तर मिलाई साइत निर्धारण गर्दा राम्रो हुन्छ । राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ ।

यस वर्षको विजयादशमीका दिन सूर्योदय ०६ः३३ र सूर्यास्त १७ः४९ मा हुनेछ । त्यसैगरी चन्द्रोदय १५ः१० र चन्द्रास्त २६ः४६ । दशमी तिथी ११ बजेर २१ मिनेट जाँदासम्म छ । नक्षत्र ७ वजेसम्म धनिष्ठा परेको छ, त्यस पछि श्रवण । बृद्धि योग २८.६ घढीसम्म छ । ११ः२१ बजे सम्म गर करण, र वणिज करण २३ः४२ बजेरसम्म रहेको छ । सूर्य तुला राशिमा हुनेछन् भने चन्द्रमा कुम्भ राशीमा हुनेछन् ।

कात्तिक ७ गते शुक्रबार फूलपाती छ । फूलपाती भित्र्र्याउन साइत आवश्यक पर्दैन । कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ । यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ ।

कसरी निकाल्ने साइत ?
१. तिथि :
आश्विन शुक्लपक्षको दशमी तिथिलाई विजया दशमी भनिन्छ । सामान्यत त्यो दिनभरी नै टीकाको साइत हो । विजयादशमी तिथी स्वंयमा शुभ हो । शास्त्रमा भनिएको छ –‘श्रवणर्क्षेण संयुक्ता दशमी शुक्लपक्षगा ।। ईषमासिस्थिता ज्ञेया विजया दशमी तिथिः । अर्थात् आश्वीन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमीलाई विजया दशमी भन्ने बुझ्नुपर्दछ ।

विजया दशमीको पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी यस दिन विभिन्न देश, काल र परम्पराबमोजिम भिन्नभिन्न ढंगले यस पर्वलाई मनाउने चलन छ । आश्विन शुक्ल प्रतिपदादेखि आदिशक्ति माता दुर्गाको श्रद्धाभक्तिपूर्वक आराधना गरी त्यसबाट प्राप्त आशीर्वादस्वरूप आफ्ना मान्यजनहरूबाट टीका थापी आशिर्वाद लिने चलन विशुद्ध नेपाली परम्परा हो । सनातन हिन्दुधर्मावलम्बीहरूमा नवरात्रको पूजाआराधना गर्ने र माता दुर्गाको प्रसाद ग्रहण गर्ने परम्परा ठाउँठाउँमा रहेको पाइए पनि नेपालीबाहेक अन्यले मान्यजनसँग टीका थाप्ने र त्यसपछि लगातार पूर्णिमासम्म यो क्रम जारी राख्ने प्रचलन अन्यत्र पाइँदैन ।

२. काल :
दशमी तिथिलाई नै विजया दशमी भन्ने गरिए पनि यस दिनमा पर्ने कुन चाहिं समय विजया दशमीको विशिष्ट समय हो भन्ने कुराको जानकारी लिनु साइत निर्धारण गर्ने अवसरमा महत्वपूर्ण हुन्छ । यस सम्बन्धमा निम्नानुसारका शास्त्रीय प्रमाणको विवेचना गरेर निक्र्योल गर्नु पर्छ । शास्त्रमा भनिएको छ –‘कालो विजयो ज्ञेयः सर्वकार्यार्थसिद्धये ।। आश्विनस्य सिते पक्षे दशम्यां तारकोदये । आश्विन महिनाको शुक्ल पक्षको दशमीका दिन ताराको उदयपछि समस्त कार्यसिद्धिका निम्ति विजय नामको काल हुन्छ ।

यसैगरी शास्त्रमा भनिएको छ –‘किञ्चित्सन्ध्यामतिक्रम्य किञ्चिदुत्पन्नतारकाः ।। विजयो नाम योगोऽयं सर्वकर्मसु सिद्धिदः ।। अर्थात कसैले साँझ बितेपछि त कसैले तारा उदाएपछि दुर्गा विसर्जन गर्ने प्रसङ्ग उल्लेख गरेका छन्, तर विजय नाम गरेको योग नै सबै कार्यका निमित्त सिद्धिदायक हुन्छ ।

शास्त्रमा भनिएको छ –‘मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम् ।। विजयाख्योऽष्टमः ।। अर्थात मुहूर्त निर्धारण गर्दा विजय नामको मुहूर्त मध्याह्नमा पर्दछ, जुन मुहूर्तलाई कसैले आठौं मुहूर्त मानेका छन् ।

माथिका श्लोकहरूमा विजय मुहूर्त साँझमा तारा उदय भएपछिको समयलाई मानिए पनि दिउँसो नै टीका थाप्ने चलनलाई समेत विचार गर्दा ‘मध्याह्ने विजयमुहूर्तं इति केषाञ्चिन्मतम’ लाई आधारमान्दा जुन स्थानमा टीका थाप्ने हो त्यस ठाउँमा दिनको मध्याह्नकाल आश्विन शुक्लपक्षको दशमी तिथि परेको दिन विजयमुहूर्त मान्नुपर्ने हुन्छ ।

३. मध्याह्नकालको निर्णय :
मध्याह्नकाल भन्नाले सामान्यतया दिनको १२ बजेलाई मानिन्छ । तर ज्योतिषशास्त्रले बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्मको समयको लम्बाइ वा अन्तरलाई बराबर पाँच भागमा विभाजन गरी बीचमा पर्न आउने तेस्रो खण्डलाई मध्याह्नकाल मान्दछ । सामान्यतया १२ घण्टाको दिउँसोको समयावधि परेमा तेस्रोभागमा पर्ने २ घण्टा २४ मिनेटको समय मध्याह्न समय हुन आउँछ । गणितीय विश्लेषणले संसारका प्रत्येक ठाउँमा बेग्लाबेग्लै समयमा घाम झुल्किने र अस्ताउने तथा दिन र रातको लम्बाइ पनि फरकफरक हुने हुँदा मध्याह्नकाल पनि फरकफरक समयमा पर्न आउँछ ।

४. लग्न र बार बेला :
विजया दशमीको साइतको मूल आधार अश्विन शुक्ल दशमी तिथिको मध्याह्नकाल हो, अर्थात् तपाईं जहाँबस्नुहुन्छ त्यहाँ मध्याह्न समय हुनुपर्छ, विजया दशमीका दिन । मध्याह्नकालको करिव साढे दुई घण्टाको अवधिमा पनि राम्रो समय निर्धारण गर्न शुभकारक लग्न र उचित बारबेलाको चयन गर्नु र विषनाडीको परिहार गर्नु उत्तिकै आवश्यक हुन्छ ।

बारबेला –प्रत्येक दिन दिनको पूर्णावधि वा दिनमान (बिहान सूर्यादयदेखि बेलुका सूर्यास्तसम्मको अन्तर) लाई ८ ले भागगरी बारादि गणनाबाट आउने बारबेलालाई महत्व दिने आर्ष परम्परा रही आएको छ ।

लग्न र विषनाडि–विहान सूर्योदयका समयमा पूर्वीय क्षितिजमा देखिने आकाशमण्डलमा जुन राशिक्षेत्रको दृष्टिगोचर हुन्छ, त्यो त्यस दिनको पहिलो लग्न हुन्छ । एक अहोरात्रको समयावधि (२४ घण्टा) मा पूर्वीय क्षितिजमा बाह्रैवटा राशिक्षेत्रको दृश्य देख्न सकिन्छ । तीमध्ये शुभ र स्थिर मानिएका लग्नलाई शुभमुहुर्तको समय मान्ने गरिन्छ । तर एउटा लग्नको तीन बराबर भागमध्ये कुनै एउटा भागलाई विषनाडिकाल मानिन्छ, त्यसैले लग्न निर्धारण गरेर पनि विषनाडिको समयबाट जोगिंदै टीकाको साइत निर्धारण गर्नु उपयुक्त हुन्छ ।

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थः


द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस्, राजा दशरथको जस्तो कृति होस्, रामको जस्तो अजात सत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायूको जस्तो गति होस्, दूर्योधनको जस्तो मान होस् ।।

सूर्य पुत्र झै दानी होस्, भीमको जस्तो वल होस्, युधिष्ठिर जस्तो सत्यवान होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होओस् ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

अर्थात ति देवी जसले सम्पूर्ण संसारलाईनै विजय गर्न सक्ने सार्मथ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दिभन्दा पर रहेकी ति देवी जो मानव खप्परको माला लगाउँदछिन अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *