फिचर

हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरीः सञ्चारमन्त्री गुरुङ

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरुरी रहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका संचारमन्त्री गुरुङले प्राचिन समयमा सञ्चारको एक मात्रै विश्वसनीय माध्यमको रुपमा रहेको हुलाक सेवालाई बदलिँदो परिवेश अनुसार अघि बढाउन नयाँ सोचका साथ अघि बढनुपर्ने आवश्यक्ता औंल्याएका हुन् ।

बुधबार सिंहदरबारस्थित सञ्चार मन्त्रालयको हलमा आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हुलाक सेवालाई विश्वसनीय र भरपर्दो बनाउन सरोकारवाला पक्षहरुसँग आवश्यक छलफल गरी अघि बढने पनि स्पष्ट पारे । त्यसका लागि नयाँ सोचसहितको कार्ययोजना लिएर आउन विभागका पदाधिकारीहरुलाई मन्त्री गुरुङले आग्रह गरे ।

‘हुलाक सेवा प्राचीन समयको सबैभन्दा भरपर्दो सञ्चार माध्यम हो,’ मन्त्री गुरुङले भने,‘यसको सेवालाई बदलिँदो राष्ट्रिय / अन्तराष्ट्रिय परिवेश अनुसार भरपर्दो र विश्वसनीय बनाउन आवश्यक छ ।’ उनले हुलाक सेवाको महत्व विकसित मुलुकहरुमा झनै हुने गरेको उल्लेख गर्दै यसको सेवालाई छिटो, छरितो र भरपर्दो बनाउन हुलाक सेवा विभागलाई निर्देशन दिए ।

त्यसका लागि आवश्यक ऐन, कानुन, नीति, कार्यविधि परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको मन्त्री गुरुङको भनाई छ । उनले हुलाक सेवालाई युग सुहाउँदो बनाउन आवश्यक भौतिक पूर्वाधार, मानव संशाधनको विकासमा जोड दिनुपर्ने पनि स्पष्ट पारे ।

मन्त्री गुरुङले नेपालमा हुलाक सेवा कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको सुधारका लागि नयाँ रणनीतिक योजनाका साथ अघि बढने संकल्प गरे । उनले निजी क्षेत्रबाट संचालित कार्गो सर्भिसलाई व्यवस्थित बनाउन लागिपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *