सम्पादकीय

दोधारमा गाैतम !

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम मन्त्री बन्ने बाटो खुलेपछि नेकपका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहमा त्रास उत्पन्न भएको छ । एक महिनाअघि गौतम कुन मन्त्री बन्लान् भन्ने चर्चा राजनीतिक वृत्तमा थियो । तर अहिले उनी कुन मन्त्री बन्लान् भन्दा पनि कुन गुटमा जालान् भन्ने चासो सर्वत्र देखिन्छन् ।

सर्वोच्चको फैसला लगतै नेकपामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा खैलाबैला सुरु भएको छ । पार्टीभित्र शक्ति सङ्घर्ष चुलिएकै समयमा सर्वोच्चको पछिल्लो आदेशअनुसार गौतमलाई मन्त्री बन्ने बाटो खुलेपछि सत्ताको लोभमा गौतमले कित्ता परिवर्तन त गर्दैनन् भन्ने उनीहरूलाई चिन्ता देखिएको छ । स्थायी कमिटीको बैठक शूरु हुँदा प्रचण्ड नेपाल समूहमा रहेका गौतम बैठकको अन्तिम अवस्थामा आइपुग्दा ओली क्याम्प सरुवा भैसकेका थिए । अहिले पुन : प्रचण्ड नेपाल क्याम्पमा रहेका गौतमले कुन मन्त्रालयको जिम्मेवारी पाउँछन् भन्ने निश्चित नभए पनि कुनै न कुनै जिम्मेवारी पाउने भने निश्चित भएसँगै उनले क्याम्प परिवर्तन गर्ने पक्का पक्की छ । नेकपामा शक्तिशाली निकाय ९ सदस्सीय सचिवालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन् । प्रचण्ड र माधव कुमार नेपाल पक्षसँग ५ सदस्य बहुमत छन् । गौतम, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ समेत गरी उनीहरूको बहुमत पुग्छ ।

प्रधानमन्त्री ओलीसँग भने ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा मात्रै छन् । अब प्रचण्ड नेपाल कित्तामा रहेका गौतमलाई मन्त्री दिएर आफ्नो पक्षमा समीकरण मिलाउने ओलीको रणनीति रहेको बालुवाटार स्रोतको दाबी छ । केही समयअघि प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने क्रममा रक्षा मन्त्रालय आफैले सम्हाल्ने गरी राखेका थिए । सोही मन्त्रालय गौतमलाई दिने तयारी रहेको बताइएको छ । रक्षा मन्त्रालय नलिए उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइने प्रबल सम्भावना रहेको केही नेताहरु बताउँछन् । यसअघि गौतमको अर्थ मन्त्रालय रोजाइमा थियो । तर उक्त मन्त्रालय पाउने सम्भावना तत्काललाई टरेको छ । अर्थ मन्त्रालय नेकपा महासचिव पौडेलले हात पारिसकेका छन् ।

पार्टीभित्र विवाद बढ्दा गुट अदलबदल गरिरहने गौतमको स्वभाव नै हो । यसअघि प्रचण्ड नेपालको पक्षमा रहदै पनि अन्ततः आफ्नै पक्षमा आउन गौतमलाई ओलीले बाध्य बनाएका थिए । गौतमको यही चरित्रका कारण उनी अहिले पनि मन्त्री बनेपछि कित्ता परिवर्तन गर्दै ओली खेमामा जाने हुन् कि भन्ने आशङ्का प्रचण्ड–नेपाल समूहमा रहेको नेताहरू बताउँछन् । नेकपाका एक नेता भन्छन् ‘गौतमले कुन मन्त्रालय पाउँछन् भन्ने भन्दा पनि उनले कित्ता परिवर्तन गरे कसरी अघि बढ्ने भन्ने पिरलो प्रचण्ड–माधव समूहलाई पर्न थालेको छ ।’ सचिवालयमा बहुमत आए पनि अन्त अल्पमतमै ओली गौतमलाई सचिवालयमा आफ्नो पक्षमा ल्याए पनि स्थायी कमिटीमा भने ओलीको बहुमत पुग्नेछैन । यता नेकपाको संसदीय दलमा पनि ओलीको बहुमत पुग्दैन । वामदेवको पक्षमा संसदीय दलमा उनकी पत्नी तुलसा थापा र अरू एक दुई सांसद मात्रै छन् । दलबहादुर राना, रघुवीर महासेठ, रामवीर मानन्धर, धनबहादुर बूढा लगायतले उनको साथ छाडेपछि अहिले उनी एक्लै जस्तैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *