फिचर

पर्यटकको रोजाइमा भेरी ‘कोरिडोर’

जाजरकोट । भेरी नदीको तीरैतीर नागबेली छ सडक । बीचबीचमा साना बजार र कतै झरनाहरु पनि । कत्तै छाँगो परेको भेरी छ त कतै त्यसमा मिसिएका सहायक नदीहरुले बनाएका झरनाहरु पनि निकै आकर्षक देखिन्छन् । भेरी किनारको यात्रामा यहाँको सौन्दर्यको बयान जती गरेपनि कमै हुन्छ ।

भेरी करिडोर हुँदै सल्यानको कुपिण्डे तालमा डुङ्गा सयर र छेडागाडका माछाले भोक मेटाउँदै २ सय वर्ष पुरानो जाजरकोट दरबार अवलोकन आन्तरिक पर्यटकको आजभोलिको दैनिकै हो । जाजरकोट सदरमुकाम हुँदै पारि जगतीपुर, मध्यपहाडी लोकमार्ग जोडिने खेतीयोग्य जमिनसँगै रुकुम पश्चिमको सिस्ने हिमालसमेत अवलोकन गर्न सकिन्छ । सदरमुकामदेखि १६ किलोमिटर पूर्वमा रहेको रिम्ना दोभान, सानीभेरी र ठूलीभेरीको संगमस्थलहुँदै रुकुम पश्चिम एवं जाजरकोट पूर्वी क्षेत्रमा प्रवेश गरी विभिन्न गल्छीहरु अवलोकन गर्न सकिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरु हिजोआज यीनै रमणीयस्थलको यात्रा गर्न पाउँदा निकै खुशी देखिन्छन् भन्छन् नलगाड उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्री । उनले भने, “नजिकको तीर्थ हेला भनेझैँ हामी खास महत्व दिदैनौँ तर यहाँ के छैन र ? हामीले भएका संरचना र बस्तुलाई सही रुपमा संरक्षण गर्न सकेमा स्वर्ग यहीँ छ ।”

भेरी कोरिडोरले डोल्पाको सदरमुकामसम्म कच्ची कटानसँगै यातायातका साधन सञ्चालनमा आएपछि यहाँको महत्व ह्वात्तै बढेको सडक निर्माण कार्यदलका प्रमुख विश्ववन्धु पहाडीले बताए । उनले भने,“सेनाले ज्यानको प्रवाह नगरी निर्माण गरेको यो सडक तीन देशको मुख्य राजमार्ग हो । सेनाले आफ्नो जिम्मेवारी पूरा गरेको छ, अब सडक विभागले यसको देखदेख गर्नेछ । यो सडक निर्माण गर्दा थुप्रै खुशी तथा पीडाहरु सम्झना बनेर बसेका छन् ।” करिब १ सय १८ किलोमिटर सडक जाजरकोटदेखि डोल्पाको दुनैसम्म रहेको छ । यो सडक भेरी नदीको किनारै किनार दर्जनौँ पुल पुलेसा तर्दै दुनै पुगिन्छ । बाटोमै जङ्गली जनावारहरुको अवलोकन समेत गर्न सकिन्छ ।

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज माथि छ र प्राचीनकालमा निर्माण भएका गुम्बाका साथै लोपोन्मुख भाषा काइके (काइके गाउँ) समेत यही रुटका नागरिक बोल्ने गर्दछन् । विश्वको अग्लो ठाउँमा रहेको धो उपत्यकाका साथै शे गुम्वा, फोक्सुण्डो ताल समेत यहाँका मुख्य आकर्षण हुन् । दर्जनौँ हिमालय रहेको उपल्लो डोल्पामा ६ महिना हिउँले ढाक्ने गर्दछ । बहुमूल्य जडीवुटीको भण्डार रहेको यहाँ सवैको आम्दानीको मुख्य स्रोत समेत यही हो । अहिले यो ठाउँमा पर्यटकको ठूलो भीड लाग्ने गरेको छ । निकुञ्जका प्रमुख सरोजमणि पौडेलका अनुसार पछिल्लो समय संरक्षणका कामले राम्रो गति लिएको छ । यहाँका सम्पदा संरक्षण गरेमात्र दीगो विकास र अर्को पुस्तालाइ नासो समेत राख्न सकिन्छ भन्ने मानसिकतामा पनि यहाँ विकास भएको छ ।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा प्राकृतिक रुपमा जती सुन्दर छ, त्यतिकै रुपमा यहाँको बसाइँ भने कठिन छ । छिमेकी मूलक चीनसँग सिमाना जोडिएको डोल्पा भूगोलका हिसावले नेपालकै ठूलो जिल्ला हो । निकै कम उत्पादन हुने यस जिल्लाले बढी मात्रामा खाद्यान्न आयात गर्ने गर्दछ । प्राकृतिक रुपमा पाइने औषधि र जडीवुटीको भण्डारको रुपमा स्थापित यो जिल्लाका सर्वसाधारणहरु हिउँदमा चिसोबाट ज्यान जोगाउन गाउँ छोडेर तल्लो भेगमा झर्ने गर्दछन् भने चैत महिनादेखि वर्षायाममा उपल्लो डोल्पामा बस्छन् । भूगोलमा हिसावले उपल्लो डोल्पा, मध्यडोल्पा र तल्लो डोल्पा गरी तीन भागमा विभाजन गरिएको छ ।

यहाँका सबै प्रशासकीय केन्द्रहरुमध्ये डोल्पामा पर्दछन् । उपल्लो डोल्पामा चिसो भू–भाग मात्र होइन आम्दानीको हिसावले बहुमूल्य यार्सागुम्वादेखि भारी जडीवुटीहरुको भण्डार नै रहेको छ । पर्यटकीय गन्तव्यका हिसावले उपल्लो डोल्पा नै आकर्षणको केन्द्र मानिन्छ । शेफोक्सुण्डो तालदेखि निकुञ्जको अधिकांश भाग उपल्लो डोल्पामा पर्दछ । झट्ट हेर्दा दुनियाँको आँखामा अति आकर्षक सेताम्य हिमालहरु पनि उपल्लो डोल्पामा नै पर्दछन् । भोट क्षेत्रका रुपमा पनि परिचित उपल्लो डोल्पामा अधिकांश जनजाति समुदायका वौद्धमार्गीको बसोबास रहेको छ । पुस्तौँ पुराना गुम्वा र प्राचीन महत्वका मूर्तिहरुले उपल्लो डोल्पाको खास पहिचान दिलाउने गर्दछ ।

सबै ठाउँमा सञ्चार सुविधा नभएको उपल्लो डोल्पामा अझै पनि एक ठाउँबाट अर्को ठाउँमा खवर आदानप्रदान गरिँदै आएको कटुवाल प्रथा कायमै रहेको जनप्रतिनिधिको गुनासो छ । “हाम्रो पीडा कसैले सुन्दैनन्, बोल्ने मात्र त हो” शे फोक्सुण्डो गाउँपालिका– ४ का काजी गुरुङले दुखेसो पोखे ।

देशका अधिकांश ठाउँमा सडक सञ्जालले छोयो, पशुचौपायको मद्दतले ज्यान बचाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । भारतजस्तो खुल्ला सिमाना चीनतर्फ भएको भए उपल्लो डोल्पामा व्यापारदेखि अन्य सामग्रीहरु आयात गर्न खासै मुस्किल नहुने तर चीनतर्फ भिसा लगाएर मात्र जानुपर्ने भएकोले स्थानीयमा समस्या रहेको गुरुङले भने ।

सदरमुकाम दुनैमा समेत मुस्किलले आएका केही हलुका सवारीसाधनमार्फत् उपल्लो डोल्पामा घोडा, खच्चड, चौरी र याकमार्फत् सामग्री ढुवानी गर्ने गरिन्छ । केही स्थानीयवासीहरुले आफ्नो क्षमताअनुुसार बोकेर सामान ढुवानी गर्ने गरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

देख्न रमाइलो तर जनजीवन कठिन
बाह्रै महिना आफ्नै घरमा बस्ने कसलाइ पो रहर हुँदैन र ? तर उपल्लो डोल्पाका अधिकांश सर्वसाधारणहरु बाह्रै महिना उपल्लो डोल्पा (आफ्नो घर) बस्न पाउँदैनन् । चिसो मौसम सुरु हुननसाथ घर, आँगन नै पुरिने गरी हिमपात हुने भएकाले आफूहरु तल्लो क्षेत्र झर्ने गरेको डोल्पोवुद्ध गाउँपालिका–६ का सालिम लामाले बताए । उनले भने, “ चिसो छल्ने बहानामा वर्षायाममा सङ्कलन गरिएका जडिवुटीको व्यापारदेखि खाद्यान्न जम्मा गर्ने काम गरिरहेको छौँ, हामीसँग अरु विकल्प पनि त छैन । ”

बिरामी हुँदा सिटामोलसम्म नपाइने हाम्रो ठाउँमा पहुँच र पैसा भएकाले हेलिकोप्टर उडाएर ज्यान बचाउँछन् तर गरिबले भने मृत्यु कुरेरै बस्नुपर्ने बाध्यता भएको अर्का स्थानीयवासी धावन गुरुङले पीडा पोखे । उपल्लो डोल्पाको सबै ठाउँमा फोनको नेटवर्क हुँदैन, विरामी भएमा स्थानीय लामालाई ल्याएर जंगली जडिवुटीको भरमा उपचार गर्नु उपल्लो डोल्पाको अर्को विकल्प भएको छ । उपल्लो डोल्पामा तीन र भित्री डोल्पामा एक स्थानीय तह रहेका छन् ।


उपल्लो डोल्पा क्याराभान चलचित्रका कारण विश्वमै चर्चित भएको र यसका नायक थिन्ले लुण्डुप लामा विश्वकै नायकका रुपमा चिनिएका थिए । डोल्पाको विकास नभई नेपालको विकास नहुने भएकाले आकर्षक उपल्लो डोल्पालाई सुन्दर पर्यटकीयस्थलका रुपमा विकास गर्न सरकारसँग कुनै योजना छैन, वर्षेनी नारा मात्र लगाउने होइन काम गर्नुगर्छ भन्छन् डोल्पाकी सांसद सत्य पहाडी । उपल्लो डोल्पामा स्वास्थ्य संस्था कम भएको र एक गाउँबाट अर्को गाउँमा जानका लागि निकै समय लाग्ने भएकाले आम्चीको भरमा उपचार सेवा रहेको छ ।

उपल्लो डोल्पाको पेशा
कृषि यहाँका मानिसको प्रमुख व्यवसाय हो । गाई वस्तु, भेडाबाख्रा पाल्नु तथा खेतीपातीमा निर्भर रहनु यहाँको दिनचर्या जस्तै हुन्छ । हिमाली भेगमा जडिवुटीको प्रशस्त सम्भावना भएको हुनाले वैशाख, जेठको गर्मी समयमा गाउँका बलिया र अनुभवी युवाहरु अग्ला अग्ला पहाडमा यार्सागुम्वा टिप्न जाने गर्दछन् । यार्सागुम्वाको अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य भएकोले यहाँको मानिसको यो सामान्य आयको माध्यम यार्सागुम्वा नै हो । यसरी टिपेको यार्सागुम्वा तिब्बती व्यापारीहरुमार्फत् चीनतिर लैजाने गरिन्छ । यार्सागुम्वा झण्डै ४ हजार मिटरभन्दा माथिका पहाडहरुमा मात्र पाइने भएकोले थुप्रै चुनौतीहरुलाई स्वीकार्दै त्यहाँ जानुपर्ने बाध्यता यहाँका स्थानीयवासीहरुको रहेको छ ।

धेरै अग्ला हिमालमा अक्सिजनको कमी हुने भएकोले कतिपय मानिसलाई लेक लाग्ने सम्भावना भएकाले त्यहाँ स्थानीय जडिवुटी साथमा लिएर सङ्कलन गर्ने यहाँका स्थानीयवासीहरु बताउँछन् । लगातार हिउँ परिरहने र गर्मी यामका एक दुई महिना मात्र हिउँ पग्लने भएकोले उपल्लो डोल्पाका पहाडहरुमा बोटविरुवा कम हुने गर्दछन् । रुख विरुवा नभएका अग्लो हिमालमा यात्रा गर्दा लडेर मृत्यु हुने सम्भावना पनि उच्च रहेको सर्वसाधारणको भनाई छ । चिसो मौसममा उपल्लो डोल्पाका प्रहरी चौकीहरु समेत सदरमुकाम दुनैमा सार्ने गरिएको छ ।

माथिल्लो भेगमा बस्ने मानिसद्धारा जङ्गली जनावरहरुको अवैध चोरी शिकारी अत्यधिक मात्रा हुने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् । विकासको दृष्टिकोणले हेर्ने हो भने डोल्पा अत्यन्त पछाडि रहेको स्पष्ट देख्निछ । जुफाल विमानस्थल र जैरीघाट साना जलविद्युत आयोजना बाहेक अन्य अर्थपूर्ण भौतिक संरचनाहरु डोल्पामा छैनन् । जैरीघाट साना जलविद्युत आयोजनाले भने जिल्ला सदरमुकाम र जुफाललाई विद्युत आपूर्ति गरिरहेको छ ।

विकासको नाममा यहाँ कैयौँ सरकारी तथा गैरसरकारी संस्थावाट पहलहरु भएका छन् । तर यस्ता पहलहरुलाई एकीकृत अभियानको रुपमा अगाडि बढाए मात्र यहाँको समग्र विकासमा टेवा पुग्ने तर्क अधिकांश सर्वसाधारणहरुको छ । डोल्पामा बाह्रै महिना यातायातका साधनहरु आवतजावत हुन सकेमा मात्र यहाँका सबै नागरिकको बाहिरी दुनियाँसँग सम्पर्क हुन सक्नेछ ।

नेपालकै सबैभन्दा ठूलो जिल्ला भएको र हिमाली भेगमा स्याउका लागि अनुकुल हावापानी भएकोले यो क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेको छ । तर दूर्भाग्य, बजारको सम्भावना नभएकोले यहाँ स्याउको कुनै मूल्य नै छैन । स्याउले बजार नपाउनु यतिखेर यहाँका स्थानीयको पीडा हो । पक्की मोटरवाटो निर्माण भएपछि मात्र डोल्पाले नेपालको अर्थतन्त्रमा राम्रो भूमिका खेल्ने निश्चित छ ।

शेफोक्सुन्डो ताललाई गन्तव्य बनाएर डोल्पाको पर्यटन विकासलाई थप विकास गर्न सकिने विज्ञको तर्क छ । जीवविहीन यो ताललाई हरियो र नीलो रङ्गको अनुपम मिश्रणले रङ्गाएको देखिन्छ । आकाशमा सूर्यको स्थानसँगै यता तालको पनि रङ्ग फेरिन्छ । एउटा प्रचलित किंवदन्तीअनुसार यो तालभित्र प्राचीन गाउँको अवशेष देखिन्छ । शेफोक्सुन्डो नेपालको सबैभन्दा गहिरो ताल हो । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जमा यो ताल र शे गुम्बा छ । उपल्लो डोल्पामा पर्ने यो गुम्बा विश्वका प्रमुख १२ बौद्ध गुम्बामध्ये एक मानिन्छ । विष्णुप्रसाद शर्मा पराजुलीद्वारा लिखित ‘डोल्पो विश्वको जीवित सङ्ग्रहालय’मा समेत डोल्पाको व्यख्या गरिएको छ ।

डोल्पाबारे जनकलाल शर्माले विसं २०३१ मा ‘कौतुकमय डोल्पो’ र घटराज भट्टराईले २०३९ सालमा ‘डोल्पाकी छोटी’ पुस्तक लेखिसकेका छन् । तर दुई वर्षअघि ‘तिब्बत यात्रा’ लेखिसकेका पराजुलीको यो ‘डोल्पो’ नेपाली साहित्यमा डोल्पाकेन्द्रित पहिलो यात्रा निबन्ध हो । माथिल्लो डोल्पाको अनुपम सौन्दर्यलाई विदेशीले पनि यात्रा र कृतिमा समेटिसकेका छन् । शे–गुम्बा, थोसाङ गुम्बा, शे–फोक्सुन्डो ताल, नीलो भेडा, नीला सल्ला, हिमचितुवा, कस्तुरी, मृगले यो क्षेत्रको नेपालको प्रतिनिधित्व गर्छन् । त्यस्तै यहाँको संस्कृतिले हाम्रो समाजको विकास र उच्च सभ्यताको चिनारी पनि दिने सांसद पहाडीको तर्क छ । संस्कृति र परम्परामात्र होइन, प्रकृति र प्राकृतिक स्रोतबारे पनि उत्तिकै सशक्त ढङ्गगले उठाउन सकेमात्र डोल्पाको विकास र समृद्धिमा थप टेवा पुग्ने पहाडीको भनाई छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट