विचार

घरानिया उद्योगपतिको संकीर्ण राजनीति

कुनै पनि संस्थाको दोस्रो वरियतामा रहेको व्यक्ति अर्का कार्यकालमा स्वतहः प्रमुख हुने विधान देशका कुनै संस्थामा विरलै पाइन्छ । तर नेपालमा यस्तो प्रावधान भएको एकमात्र संस्था नेपाल उद्योग वाणिज्य महासंघ हो । यस महासंघमा एक कार्यकाल वरिष्ठ उपाध्यक्ष रहेको व्यक्ति अर्काे कार्यकालमा स्वतहः अध्यक्ष हुने प्रावधान छ । तर यो संस्था कुनै एक सामान्य गैरसरकारी संस्था भएर त्यस्तो नियम राखिएको भने होइन । नेपालका समग्र निजी क्षेत्रको व्यावसायिक छाताको काम गरी आएको यो साझा संस्थाको इतिहास आधा शताब्दिभन्दा लामो छ । इतिहासमात्र लामो होइन, यो संस्थाको गरिमा र महत्व पनि विशिष्ठ छ ।

तर यति पुरानो संस्थाको विधान किन यस्तो राखियो भन्ने तथ्यलाई भने अहिले यही संस्थाकै जिम्मेवार व्यक्तिले जानाजानी उपेक्षा गरेका छन् । संस्थाको गरिमा अझै उँचो राख्न र राज्यपक्षसँग ‘नेगोसिएसन पावर’ को विकास गरी मुलुकका समग्र उद्योगी व्यवसायीका पक्षमा संस्थालाई अझै ओझिलो बनाउन व्यवसायीहरु एकढिक्का भएर एउटै छानोभित्र गोलबद्ध हुनु जरुरी छ । महासंघको छत्रछायाँले सबै व्यवसायीलाई समान रुपमा ओत र शीतल प्रदान गर्न सक्यो भने मात्र उनीहरुबीचको भावना पनि एकीकृत रुपमा जागृत हुनसक्छ र यही एकीकृत भावनाले अघि बढ्न सक्दा मात्र निजी क्षेत्रलाई राज्य, सरकारी निकाय तथा सरकारी व्यक्तिले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यही मान्यता अनुसार नै यो संस्थालाई राजनीतिक या कुनै प्रकारको पक्ष विपक्ष नभई स्वतन्त्र राख्न सकियोस भनेर यस्तो विधानको व्यवस्था गरेको हो ।

नेतृत्वमा रहने व्यक्ति स्वतन्त्र र तटस्थ होस् अनि उसको राजनीतिक आस्था रहे पनि निर्वाचनका बेलामा नदेखियोसे र पक्ष विपक्षमा व्यवसायीहरु आफै बाँडिएर र भाँडिएर संस्थाभित्रको एकताको भावनामा विभाजित हुन नपाओस भनेर नै यस्तो विधानको व्यवस्था गरेको हो । भनिन्छ, एकता नै बल हो । अनि यो साझा संस्थाले पनि आफ्नो व्यवसायिक हकहितका लागि आवश्यक परेमा राज्य पक्षसँग लड्न, भिड्न, नेगोसिएसन गर्न र आफ्नो व्यवसाय अथवा निजी क्षेत्रलाई राज्यले हेर्ने नकारात्मक दृष्टिकोणमा पनि परिवर्तन ल्याउनका लागि संस्था बाँडिएर नभई एकताको धागोमा बाँधिएर लड्नुपर्ने यथार्थ छँदैछ । यस्तो आवश्यकता एकातर्फ हुदाहुदै व्यवसायीहरु नै राजनीतिक या अन्य कुनै स्वार्थले गर्दा आपसमा विभाजित भए भने त्यस्तो विभाजित मनसँग एकताबद्ध भइ लड्न सक्ने बल र भावना पनि कमै हुनुपग्छ भनेर वरिष्ठ उपाध्यक्ष र हुनेवाला अध्यक्ष अर्थात् संस्थाको प्रमुखले कुनै पक्ष या विपक्षमा नलागोस् भनेर नै यस्तो विधानको व्यवस्था भएको हो ।

यो वास्तविकतालाई संस्थाको प्रमुख हुन जाँदै गरेका शेखर गोल्छाले बुझेका छैनन् भन्न सकिँदैन । किनभने नेपालको इतिहाससँग जसरी नेपाल उद्योग वाणिज्य महासंघको गरिमा र इतिहास जोडिएको छ ठीक त्यसैगरी नेपालको व्यावसायिक इतिहासमा पनि उनको पुस्तौँनी विरासत छँदैछ । मुलुकको यस्तो गर्विलो व्यावसायिक धरातलमा उभिएका व्यक्तिलाई यो तथ्य थाहा नभएर भन्दा पनि के कस्तो कारण र बाध्यताले उनलाई यो विवादमा फसाउँदैछ भन्ने विषयले यतिखेर नेपालका उद्योग व्यवसाय क्षेत्रका व्यक्तित्वहरुको चासो बढाएको छ ।

नेपालमा कहीँ कतै सर्वमान्य नेता हुन सजिलो छैन । अरु त के गाउँगाउँका प्राथमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष छान्न समेत राजनीति या कुनै गुट उपगुटमा विभाजित भएर मतदान नै हुने गरेको छ । नेपालमा राजनीतिले नछोएको कुनै क्षेत्र छैन चाहे त्यो अदालत नै किन नहोस् । तर भाग्यबस शेखर गोल्छा भने विधानतः साझा र सर्वमान्य नेता हुदैछन् । उनलाई समय र परिस्थितिले यो सुविधा निशुल्क रुपमै प्रदान गरेको छ । तर यो सर्वसम्मती उनलाई किन स्वीकार्य छैन ? जुन व्यक्तिलाई स्वतन्त्र हुनुपर्ने भएकै कारण विधानले नै यो सुविधा दिएको छ र अबका केही दिनमै यसको उपभोग पनि गर्दैछन् भने त्यस्तो व्यक्ति जानाजानी किन सानो कोटरीभित्र छिर्दैछन् ? यही विषयमा अहिले देशका व्यवसायीहरु चकित छन् । जानाजानी आफैले भित्र्याउन खोजेको यो राजनीतिबाट यी घरानिया व्यवसायीले महासंघमा कस्तो संस्कारको बीउ रोप्दैछन् ?

उनी आफैलाई पनि यो थाहा नभएको होइन कि उनले पक्ष या विपक्षी लिए वा नलिए पनि एकजना वरिष्ठ उपाध्यक्ष पाउँछन् नै । त्यो व्यक्ति छान्न देशभरका उद्योगी व्यवसायी प्रतिनिधिहरु तयार छन् भन्ने कुरा पनि उनलाई थाहै हुनुपर्छ । उनीहरुका आफ्नै एजेण्डा छन् र आफ्नै व्यापारिक र व्यावसायिक पृष्ठभूमिहरु छन् । त्यसैका आधारमा यसअघि गोल्छा छानिएजस्तै उनीहरु दुईमध्ये एकजना आइ नै हाल्ने छन् । अनि यदि अहिले गोल्छाले ल्याउन खोजेको टिम नै भोलि आइदिएन भने त्यतिबेला उनको नैतिकताको तराजु कतातिर झोल्लिएला ? उम्मेदवारी घोषणका लागि मोरङदेखि भोटमाग्न महेन्द्रनगरसम्म पुगेका व्यक्ति नआएर अर्काे पक्ष आइदियो भने यीनले आधा शताब्दिको गरिमामय संस्थाको प्रमुख व्यक्तिको ओहदामा रहेर यीनले कस्तो ईंट्टा थप्लान् ? यदि आफ्नो ‘एस म्यान’ बन्न सक्ने र कमजोर पृष्ठभूमिको व्यक्ति ‘सेकेन्ड म्यान’ नै चाहेका हुन् भने यो पाराले उनले महासंघको हलमा फोटो नझुण्डाउन भन्ने यो पंक्तिकारको सुझाव छ । उनको ‘भिजनरी’ कार्यस्वभाव र नेपालमा उनका पुस्ताको गौरवपूर्ण विरासतले पनि उनलाई फोटोमात्र झुण्डाउने काम नसुहाउला । फेरि उनले अहिलेसम्म आफूले ‘नरुचाएको’ अर्काे पक्ष नेतृत्वमा आउँदा टेकू सीमसार क्षेत्रमै परिणत हुन्छ र त्यहाँ जहाजै डुब्छ भन्ने विश्वासिला आधार पनि त देशैभरिका महासंघका प्रतिनिधि तथा स्टेकहोल्डरलाई प्रस्तुत गर्न सकेका छैनन् । यसरी कारण बिनाकै पक्ष विपक्ष लिएर यस्तो गरिमामय संस्थाको नेतृत्व गर्न लागेको जिम्मेवार व्यक्ति कहिले महेन्द्रनगर त कहिले विराटनगर पुग्ने र ‘बा मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतको शैलीमा प्रस्तुत हुन थालेपछि स्टेकहोल्डरहरुले प्रश्न उठाउने नै भए ।

गोल्छाले ल्याउन खोजेको भनिएका उम्मेदवारले गतहप्ता महेन्द्रनगरमा भाषण गर्दा भने– मैले महासंघको अध्यक्षलाई राज्यमन्त्री सरहको हैसियत दिलाएरै छोड्छु । चुनावी भाषण नै भए पनि उनको यो तर्कमात्र नभएर एजेण्डाजस्तै बनेको सुन्दा जान्नेबुझ्नेहरु हाँसिरहेकै छन् । नेपाल र विश्वकै अर्थराजनीतिका जानकारहरुको अनुसन्धानमा भेटिन्छ कि निजी क्षेत्र भनेको कुनै पनि देशको राज्यमन्त्री सरहको हैसियतमा खुम्चिएर बस्ने पद होइन । यदि महासंघको अध्यक्ष राज्यमन्त्री नै हुन खोजेको हो भने उसलाई प्रधानमन्त्री त के अर्थमन्त्रीले नै किन बाल दिने ? निजी क्षेत्र राष्ट्रिय समृद्धिको सम्बाहक हो । निजी क्षेत्रका क्रियाकलापमा आर्जित राजस्वले नै कुनै पनि देशको राज्यव्यस्था सञ्चालन हुनेमात्र होइन कि त्यस देशको समृद्धि सम्भव छ । नेपालमै पनि तीनखम्बे अर्थनीतिको एक दरिलो खम्बा हो निजी क्षेत्र । नेपालको अर्थतन्त्र निजी क्षेत्रले कति ओगटेको मात्र होइन, कति धानेको छ भन्ने हिसाब यो पंक्तिकारलाई भन्दा बढी तिनै तर्ककर्ताहरुलाई थाहा छ । अन्यत्रका त कुरै छोडौँ, साम्यवादी राज्य प्रणालीको अभ्यास गरेको चीनकै आर्थिक विकास र समृद्धि पनि निजी क्षेत्रको प्रतिस्पर्धामा निर्भर हुन थालिसकेको छ ।

त्यसैले यति महत्वपूर्ण क्षेत्रको विकासका लागि आवश्यक नीति नियम र परामर्श कुनै पनि देशको कार्यकारी प्रमुखभन्दा तलको व्यक्तिले गर्न सक्दैन अर्थात् राज्य पक्षकै सक्रिय सहभागिता आवश्यक छ । यस अर्थमा हेर्दा मुलुकको समग्र निजी क्षेत्रको नेतृत्व गर्ने व्यक्ति एक किसीमले भन्ने हो भने प्रधानमन्त्रीसँगै बसेर ‘पोलिसी डायलग’ गर्ने ओझिलो व्यक्ति हुनुपर्छ । त्यसैले निजी क्षेत्रको नेतृत्वलाई कुनैपनि राज्यको आर्थिक क्षेत्रको एउटा समानान्तर सरकार नै हो भनिन्छ । देशमा यस्तो अवस्था छ कि नेपाल सरकारको शाखा अधिकृत होस् कि अहिलेका गाउँगाउँका वडाअध्यक्ष हुन् निजी क्षेत्रले तिरेको करबाटै तलब खान्छ तर तिनले महासंघका नेतालाई टेर्दैनन्, कुरा सुन्दैनन् । प्रधानमन्त्रीसँग बसेर पोलिसी डायलग गर्नुपर्ने, मुलुकका नीति निर्माताहरुसँग बसेर निजी क्षेत्रमैत्री नियम कानुन निर्माणका लागि नेगोसिएसन र आवश्यक परे संघर्ष नै गर्नुपर्ने जिम्मेवारी र हैसियतको महासंघको नेतृत्वले राज्यमन्त्री सरहको हैसियत माग्दै हिँड्ने यस्ता चुनावी एजेण्डाले महासंघलाई महाअभियानमा अघि बढाउँदैन, बरु संकीर्णतातिर धकेल्छ । निजी क्षेत्रको नेतृत्वमा रहने व्यक्तिहरुको यस्तै संकीर्ण सोचले गर्दा नै अहिले महासंघको गौरव नै गौरवपूर्ण छैन ।

चुनावी साधारणसभाको संघारमा रहेको महासंघका यस्तै यस्तै अनेकन अमिल्दा चुनावी झाँकीहरु देखिँदैछन् जसको जवाफदेहि भोलि गएर यही संस्थाका प्रमुख अथवा गोल्छा नै हुनुपर्ने निश्चित छ । उदाहरणको लागि यतिखेर केही पदाधिकारी तथा केन्द्रीय सदस्यकै उम्मेदवारहरुले पनि ‘शेखर गोल्छाको प्यानलबाट’ भन्दै उनको तस्वीर नै माथि राखेर पर्चा बनाएरै प्रचार गरिरहेका छन् । ती प्रचार सामग्रीहरु कतिपय त अनलाइन मिडियाहरुमा पनि छापिइरहेको सबैले देखेकै छन् । तर प्रचारको यो शैली गोल्छाले चाहिँ देखेका छन्, देखेका छैनन् या देखेर पनि नदेखिरहेजस्तो गरिरहेका छन् ? भोलिका दिनमा उनले यसको जवाफ दिनैपर्छ कि उनी महासंघको आसन्न निर्वाचनमा कुन पदमा उठेका हुन् ? महासंघको विधानले उनलाई कुन पदमा निर्वाचन उठेर भोट माग्ने अनुमति दिन्छ ? जुन व्यक्तिलाई विधानले नै स्वतहः प्रमुखमा पदोन्नती हुने अनुमति दिएको छ त्यस्तो व्यक्तिले निर्वाचनको प्यानल बनाएर चुनाव प्रचार गर्ने वैधानिकताका बारे पनि प्रश्न उठ्न सक्छ । शेखर गोल्छाको प्यानल नै भनेर यसरी प्रचार गर्न उम्मेदभार नै नरहेको व्यक्तिलाई विधानको दफाले अनुमति दिदैन कि ? महासंघजस्तो आधा शताब्दिभन्दा लामो इतिहास बोकेको संस्थाको निर्वाचनसम्बन्धी सामान्य आचारसंहिता हुन्छ कि हुदैन ? यस्तो संस्थाको निर्वाचन गराउन निर्मित समितिसमक्ष पनि यस्तो तर्क उठ्न सक्छ कि सक्दैन ? भोलि महासंघको निर्वाचनका प्रतिनिधि मतदाताहरुले यो प्रश्न गोल्छासँग उठाए भने, या निर्वाचान आयोगसँग उठाए भने साधारणसभामा त्यसको जवाफ त गोल्छाले दिनैपर्छ पर्छ, निर्वाचन समिति पनि त जवाफदेही हुनुपर्ला नि ? अनि निर्वाचन सम्पन्न गर्नका लागि आफैले गठन गरेको निर्वाचन समितिलाई यसरी विवादमा पार्ने काम राम्रो होला र ? यो नेपालको कुनै अति विकट गाउँपालिकाको निर्वाचन त होइन नि । के महासंघका प्रतिनिधि तथा मतदाताहरु यो सबै देखेर चुप लागेर बस्लान र ?

समृद्धिको क्षेत्रमा काम गर्नु सजिलो काम होइन । त्यसैले यसको नेतृत्वको छाती कुवाजत्रो होइन महासागरजत्रो हुनुपर्यो । घरमूली भएर परिवारका सबै सदस्यलाई समान व्यवहार गरेन भने पक्कै पनि त्यस घरमा विग्रह हुन्छ नै । अनि त्यो विग्रहले घात पुर्याउने भनेको घरमूलीलाई नै हो । यदि त्यस्तो स्थिति आयो गोल्छाले छ महिनाअघि जस्तो “महासंघमा इतिहासमै सबैभन्दा बढी भ्रष्टाचार भयो, मलाई त आफ्नै संस्थाको यस्तो कुरा गर्न पनि लाज र घिन लागेको छ” भनेर नेतृत्वलाई दोष देखाएर विराटनगरमा गएर भाषण गर्ने छुट उनलाई हुनेछैन, भोलिका दिनमा संस्थाका प्रमुखमाथि त्यस्तो आरोप लगाउने पालो उनैका पदाधिकारीको आउनेछ । उनले नेतृत्व गर्न गइरहेको संस्था संघमाात्र नभएर महासंघ हो । त्यसैले पनि यो अभियानमा बढीभन्दा बढी स्टेक होल्डरहरुलाई अटाउने र उनीहरुका व्यापार व्यवसाय फस्टाउने वातावरण बनाउनुपर्छ । अझै पनि कुनै गुट र फुटमा रमाउने र कोठे योजनाका तानाबाना बुन्न सिपालु उनका हितैषीहरुले हिजोका दिनमा विनोद चौधरीजस्ता व्यक्तिहरु महासंघमा किन अटाउन सकेनन् भनेर संस्लेषण गर्ने छैनन् र उनलाई सिर्जनात्मक सुझाव दिने छैनन् । यो कुरा अब उनी आफैले बुझ्नुपर्दछ किनभने अब संस्थाको प्रमुख उनी आफै हुने भएकोले सफल र असफल हुने पनि उनै हुन् । अहिले उनलाई खुराफाती ‘आइडिया’ दिने उनको हितैषीहरु त उनी असफल भएभने त्यसको जस लिन मान्दैनन्, जुन हामी आम नेपालीको संस्कार नै हो ।

यस्तो कुरा खासमा नेतृत्वकर्ताले नै बुझ्नुपर्छ । कुनै व्यक्तिलाई आफ्नो अग्लो कद कमाउन अथवा उचाईमा पुग्न कठिन छैन, तर त्यसलाई कायम राख्न भने गाह्रो छ । जीवनको उचाइमा पुगेका कैयौँ व्यक्तिहरुले आफ्नो गरिमालाई जोगाएर स्थीर राख्न नसक्दा असमयमै सबथोक गुमाउनुपरेका प्रसस्तै उदाहरणहरु खोजीपसे हाम्रो समाजमा प्रसस्तै भेटिन्छन् । त्यसैले सबैका साझा बन्ने वैधानिक सुविधा पाएका शेखर गोल्छाजस्ता घरानीया उद्योगपतिले कम्तीमा त्यही प्रतिष्ठामै बसिदिए उनको आगामी करिब दुई वर्षे नेतृत्वकाल थप ओजपूर्ण बन्ने थियो । अहिलेलाई उनी मनको बाघसँग नडराएमात्र पनि महासंघको आगामी यात्रा अहिलेको कोठे राजनीति र संकीर्णताबाट माथि उठेर देशभरिका सबै व्यवसायीको शीतल छहारी बन्न सक्नेछ । होइन भने आफू ‘सेकेन्ड म्यान’ रहेको संस्थाका प्रमुखलाई छ महिनाअघि उनले जसरी टिप्पणी गरेका थिए, उनीमाथि औँला ठड्याउन उनकै पदाधिकारी काफी छन् । अनि उनले भोलि बन्ने आफ्नो टिमको विश्वास जित्न सकेनन् भने त्यतिबेला उनका अहिलेका ‘कोठे’ सल्लाहकारहरु पनि उनको साथमा नहरन सक्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *