राजनीति

आवश्यक परे मन्त्री पद त्याग्ने घोषणा गरेका पार्वत गुरुङले भने, सचिवालय बैठक स्थगित गरौं

काठमाडौं । सञ्चारमन्त्री पार्वत गुरुङले पार्टी सचिवालयको बैठक स्थगित गर्न आग्रह गरेका छन् । बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकता बचाउन पनि सचिवालय बैठक स्थगित गर्नुपर्ने माग गरेका हुन् ।
उनले अकल्पनीय घटनालाई बिर्सेर दुई ठूला भिन्न पार्टी एक भएको अवस्थामा ओली र प्रचण्डलाई अहिलेको आरोप–प्रत्यारोपको पत्रलाई प्रेम–पत्र सम्झेर बैठक स्थगित गर्न सुझाव दिएका छन् ।
‘सोच्नै नसकिने अकल्पनीय घटनालाई त बिर्सेर दुई ठूला भिन्न धारमा रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ दृष्टान्त पेश गर्न सफल अध्यक्षद्धयलाई अहिलेको आरोपप्रत्यारोपको पत्रलाई प्रेम–पत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी पार्टी एकतालाई बचाउन अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
मंगलबार मात्र मन्त्री गुरुङले आवश्यक परे आफू पार्टीको र मन्त्री पद त्याग गर्न तयार रहेको घोषणा गरेका थिए । गुरुङ ओली पक्षका नेता हुन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक स्थगित नहुने बताएका छन् । उनले नेकपा सचिवालय बैठक दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी गराएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *