कला/साहित्य

‘पीर नगर मञ्जरी…’ गीत हिट भएपछि राजेश हमालमा म्युजिक भिडियो मोह

काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको बजार ठप्प छ । विगत नौ महिनादेखि सिनेमा हल बन्द छनु । चलचित्रका गतिविधि हुन सकेका छैनन् । केही निर्माता निर्देशकले सरकारको निर्देशन लत्याउँदै सिनेमा सुटिङ थाले पनि निर्माण युनिटका सदस्यलाई कोरोना संक्रमण देखिएपछि रोकेका छन् ।

नौ–नौ महिनादेखि सिनेमाका गतिविधि हुन छाडेपछि करिब ३० हजार चलचित्रकर्मीका रोजगारी गुमेको चलचित्र विकास बोर्डले जनाएको छ । त्यसैले पछिल्लो समय नाम चलेका अभिनेता अभिनेत्री म्युजिक भिडियो खेल्न थालेका छन् । आर्यन सिग्देलदेखि विपीन कार्की, दयाहाङ राईदेखि पल शाह, पुष्प खड्का सबै अहिले म्युजिक भिडियोमै व्यस्त छन् ।

सबैभन्दा रोचक त के छ भने ३० वर्षदेखि नेपाली सिनेमामा आफ्नो अलग्गै पहिचान बनाएका राजेश हमालसमेत अहिले धमाधम म्युजिक भिडियोमा देखिन थालेका छन् । केही समयअघि युट्युबमा रिलिज भएको देवी घर्ती र प्रकाश पराजुलीले गाएको ‘पीर नगर मञ्जरी, प्राण छन् जरी…’ लोकगीतको म्युजिक भिडियो सबैले रुचाएपछि राजेशमा यसको मोह देखिएको हो ।

गायक प्रकाश सपूत र अभिनेत्री वर्षा शिवाकोटीसँग अभिनय गरेका राजेशको सो गीत अहिले २३ लाखले हेरिसकेका छन् । गीत पनि सबैले रुचाएका छन् । त्यसलगत्तै राजेश हमालले अभिनेत्री करिश्मा मानन्धरसँग अर्को म्युजिक भिडियो खेलेका छन् । जुन युट्युबमा रिलिज भइसकेको छ । उनले हालै काभ्रेमा सुटिङ गरेको एउटा म्युजिक भिडियो चाँडै रिलिज हुँदैछ । पछिल्लो समय सिनेमा नखेले पनि विभिन्न कम्पनीको विज्ञापन र टेलिभिजन कार्यक्रममा राजेश व्यस्त रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट