अर्थ

महासंघमा चण्डीराज बन्न खोजेका पशुपतिका कारण सहमतिमा बाधा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा सक्रिय रहेकै कारण पूर्वअध्यक्ष चण्डिराज ढकाल सबैभन्दा बढी आलोचित छन् । झन्डै डेढ दशकअघि महासंघ अध्यक्षमा निर्वाचित ढकाल दोस्रो पटकको निर्वाचनमा पराजीत भए पनि महासंघमा उत्तिकै सक्रिय छन् । खासगरी जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा ढकालको प्रभाव बढी छ ।

ढकाल हाल महासंघको विशिष्ठ सदस्य तथा सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पनि हुन् । महासंघको आन्तरिक गतिविधिमा अन्य पूर्वअध्यक्षहरु निष्कृय रहिरहँदा ढकालको सक्रियतालाई लिएर बेलाबखत विभिन्न टीका टिप्पणी हुन गरे पनि अधिकांश जिल्ला तथा नगर उद्योग वाणिज्य संघसहित कतिपय वस्तुगत संघहरुले भने ढकालको सक्रियतालाई स्वाभाविक रुपमा लिएका छन् ।

महासंघमा ढकालको सक्रियतालाई लिएर आलोचना गर्नेहरुले नै हाल ढकालको विकल्पका रुपमा अर्को पात्रलाई अगाडि सारेको टिप्पणी हुन थालेको छ । महासंघमा हाल निवर्तमान अध्यक्षका रुपमा रहेका पशुपति मुरारकाले ढकालकै शैली पछ्याउँदै आएका छन् । तत्कालीन अध्यक्ष प्रदीपजंग पाण्डेको बाँकी कार्यकालका लागि अध्यक्ष भएका मुरारका महासंघको इतिहासमै सबैभन्दा छोटो कार्यकाल अध्यक्ष भएका थिए ।

मुरारकाले पूरा अवधि अध्यक्षको भूमिका निर्वाह गर्न नपाएपछि त्यसयता डमी अध्यक्ष बनाएर आफैं महासंघ चलाउने अभियानमा देखिन्छन् । मुरारकापछि अध्यक्ष निर्वाचित भवानी राणाले तीन वर्षे कार्यकालमा मुरारकाको कुरा नसुनेपछि क्रुद्ध भएका उनी अहिले भने राणालाई कार्यकालको अन्त्यतिर आफ्नै क्याम्पमा ल्याउन सफल भएका छन् । यसका लागि उनले शेखर गोल्छामार्फत राणाको कार्यकालको पूर्ण लेखापरीक्षण गर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

“गोल्छाको काँधमा बन्दुक राखेर फायर गर्ने अभियानमा पशुपति मुरारका छन् र यसैका लागि किशोर प्रधान समूहलाई जिताउन उनी साम दाम दण्डभेद चारै उपाय प्रयोग गरिरहेका छन् ।”

राणाले आफ्नो उत्तराधिकारीका रुपमा भित्र्याएका शेखर गोल्छासँग मोटरसाइकल र टेलिभिजन बिक्रीबाहेक ठूलो व्यावसायिक अनुभव छैन । सोही कारण महासंघ अध्यक्षमा गोल्छा निर्वाचित भए पनि महासंघ चलाउने भित्री खेलाडी भने मुरारका नै रहेको सहजै अनुमान गर्न सकिने एक व्यवसायी बताउँछन् । ति व्यवसायी भन्छन्, “गोल्छाको काँधमा बन्दुक राखेर फायर गर्ने अभियानमा पशुपति मुरारका छन् र यसैका लागि किशोर प्रधान समूहलाई जिताउन उनी साम दाम दण्डभेद चारै उपाय प्रयोग गरिरहेका छन् ।”

मुरारका गोल्छाको कार्यकालमा निवर्तमान अध्यक्षबाट पूर्वअध्यक्ष हुने भएकाले पदाधिकारी वा कार्यकारिणी समितिमा हुने छैनन् । तर, गोल्छा कार्यसमितिले उनलाई महासंघको विशिष्ट सदस्यमा मनोनित गर्ने र सोही आधारमा महासंघ आफैंले चलाउने मुरारको योजना प्रष्ट देखिएको व्यवसायीहरु बताउँछन् ।

मुरारका र गोल्छाले महासंघमा चन्द्र ढकाल समूहले जीत हात पारेमा पुनः चण्डीराज ढकाल हावी हुने र आम व्यवसायीले पछुताउनुपर्ने भन्दै प्रचारात्मक अभियान नै छेडेका छन् । तर, यस्तो अभियान चलाइरहँदा मुरारका स्वयं भने ढकालकै पदचाप पछ्याउँदै महासंघमा अनावश्यक रुपमा सक्रिय भइरहेको देखिन्छ ।

किशोर प्रधान समूहको चुनावी अभियानले बुधबार सबै मिडियामा मुरारकाको भनाइ उधृत गर्दै पठाएको समाचारमा भनिएको छ– डेढ वर्षसम्म म मिटिङमा गएर मात्रै फर्किएँ किनभने मैले कुनै हस्तक्षेप गर्नु थिएन । तर, अपराध नै गरेजसरी वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अध्यक्ष बन्न नदिने चलखेल सुरु भयो, त्यसपछि म सक्रिय भएको हुँ ।

तर, मुरारको उक्त अभिव्यक्तिले नै उनको महत्वाकांक्षा प्रष्ट पारेको छ । गोल्छालाई अध्यक्ष बन्न दिने कि नदिने भन्ने बहसको अन्त्य करिब एक वर्षभन्दा अगाडि नै अन्त्य भइ वरिष्ठ उपाध्यक्षको निर्वाचनलाई नै निरन्तरता दिने सहमति महासंघमा भइसकेको थियो ।

“एक वर्ष अगाडि नै बहसको अन्त्य भइसकेको विषयलाई बारम्बार उचालेर उहाँ (मुरारका)ले आफ्नो दुनो सोझ्याउन चाहनुहुन्छ,” महासंघका एक पदाधिकारी भन्छन्, “उहाँका दर्जनौं व्यावसायिक स्वार्थ पूरा गर्न पनि उहाँलाई महासंघमा डमी अध्यक्ष चाहिएको छ र त्यो शेखर गोल्छाजस्तै होस् भन्ने उहाँको मनसाय प्रष्ट देखिन्छ ।”

महासंघमा चण्डीराज ढकाल र पशुपति मुरारका दुईजनामध्ये को सक्रिय रहँदा महासंघलाई फाइदा पुग्छ भन्ने प्रश्नमा ति पदाधिकारी भन्छन्, “चण्डीराज ढकालजी ठूलो व्यापारिक घरानाको होइन, उहाँमा व्यावसायिक स्वार्थ छैन र हामी निजी क्षेत्रको स्वार्थ जे हो ढकालजीको स्वार्थ पनि त्यही हो तर मुरारकाले महासंघमा प्रवेश गरेयता व्यवसायको दायरा जसरी बढाउनु भएको छ, त्यो अपत्यारिलो देखिन्छ ।” यसैको आधारमा महासंघमा जसरी पनि आफू अनुकुल नेतृत्व ल्याउन मुरारका उद्यत देखिएको व्यवसायीमाझ चर्चा छ ।

महासंघमा लामो समयदेखि काम गरिरहेका आम व्यवसायी पनि चण्डीराज ढकालको स्वभावजन्य केही मानवीय समस्या रहे पनि उनको नियतमा समस्या नरहेको बताउँछन् । तर, मुरारकाको विगत तथा नियतबाट भने महासंघको शाख कमजोर हुने र यसले समग्रमा निजी क्षेत्रलाई हेर्ने सरकारी तथा समाजको दृष्टिकोण झन खराब हुने चिन्तामा देखिन्छन् ।

उनी सानो कोटरीभित्र मात्र रम्न चाहन्छन् । एकाध बाहेक उनी सहमतिका लागि भनेर आयोजना गरिएका बैठकमा बस्न चाहँदैनन् । तर कोठे बैठकबाट उनले बनाएका रणनीतिहरु सबै सहमतिका बाधक छन्– एक पूर्व अध्यक्षले भने । उनका अनुसार हामीले जतिपटक सहमतिका लागि बैठकमा बस्ने भनेका छौँ, हरेक पटक उनको आफू विशिष्ट सदस्यका रुपमा गोल्छाको डमी अध्यक्ष भएर चलाउने मात्र सोँच छ । मुरारकाको यही महत्वाकांक्षा नै गोल्छाको आगामी कार्यकालका लागि घाँडो बन्न सक्ने देखिएको छ । किनभने उनी चन्द्र ढकाल र गोल्छा सहमतिमा आएर आफू बाइपास हुन चाहन्नन् । ती पूर्व अध्यक्षका अनुसार गोल्छाले नमाने पनि पछिल्लो समयमा मुरारकाकै कारण निर्वाचन प्रचारमा पनि ‘गोल्छा समूह’ भनेरै छाप्न लगाए र बाँड्न लगाए ।

अर्कातर्फ चण्डीराज ढकाल आफू एक सानो व्यापारिक पृष्ठभूमिबाट उठेका कारण उनले साना, जिल्लातिरका र मझौला व्यवसायीहरुबीच बढी लोकप्रिय छन् । तर मुरारकाको त्यो क्षमता पनि छैन र आफूलाई ठूलो घरानाको व्यापारी भन्न रुचाउँछन् । त्यसैले चुनावका मुखमा आएर मुरारकाले हालैमात्र एक चण्डीराज ढकाललाई ‘धु्रवे हात्ती’ भनेकोमा जिल्ला नगरका अधिकांश सदस्यहरु रुष्ट भएका छन् ।

आसन्न निर्वाचनमा प्रधान पक्षकै एकदना पदाधिकारी त तपाईँको कारणले चुनावका मुखमा भोट काटिने भयो,यसो किन भनेको भनेर मुरारकासँग झोक्किएका थिए । तर रमाइलो कुरा त के छ भने छोटो समय काकताली परेर महासंघको नेतृत्वमा रहने मौका पाएका मुरारकाले अहिले प्रधानले जिते आफूले हालीमुहाली गर्न पाउने र हारे भोलि गोल्छालाई पर्ने अप्ठेरोको कुनै पनि जिम्मेवारी लिनु नपर्ने बाठो तरिका अपनाएको थाहा पाउँदा पाउँदै पनि ढकाल समूहसँग किन दुस्मनी गरिरहेका छन् भनेर उनका नजिककै व्यवसायी पनि चकित परेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *