विचार

नेकपा विवाद: हात्ती आयो हात्ती आयो फुस्साको अर्को संस्करण

नेकपाभित्रको विवाद थप समयका लागि लम्बिएको छ । वार कि पारको अवस्थामा पुगेको नेकपा विवाद थप एक सातालाई लम्बिएको छ । सचिवालय बैठकलाई जुधाएर मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठकलाई तिरस्कार गर्ने संकेत दिएका थिए । तर उनको सचिवालय बैठकको उपस्थिति पारजीत मानसिकताको बिम्व होइन भन्ने सन्देश उनले बैठकमै दिएका छन् । यो बैठकपछि उनी सचिवालयका बहुमत पक्षको लाइनमा आउने छन् र अब पार्टी विधि र सहमतिका आधारमा चल्नेछ भन्ने कसैलाई लागेको छ भने त्यो केही दिनको भ्रम मात्र हो ।

सचिवालय बैठकले पार्टीका तीन तहको बैठक सारेको छ । यसको अर्थ यस अवधिमा ओली प्रचण्ड गुटसँग सहमतिको तयारी गर्दै छैनन् । बुधवारको सचिवालय बैठकमा उनको प्रस्तुतिले प्रष्ट भनेको छ – बहुमतकोसँग छ भनेर परीक्षा लिन ओलीले ठाडो चुनौती दिने छन् । कतिपयले उनको सचिवालय बैठकको सहभागिताले एक कदम पछाडि हटेको बुझेको हुन सक्छन् । तर उनको यो उपस्थिति एक कदम पछाडि हटेर चर कदम अगाडि बढ्ने रणनीति हो । बैठकको अघिल्लो दिन मध्यरात उनी किन शीतल निवास पुगे ? बिहान प्रचण्ड बालुवाटार पुग्नै पर्ने अवस्था किन आयो ? र, मन्त्रिपरिषद बैठक एक घण्टापछि सारेर ओली फेरि किन शीतल निवास पुगेर फर्के र सचिवालय बैठकमा उपस्थित भए ? यी प्रश्नको जवाफले ओलीको रणनीतिलाई प्रष्ट्याउन सहयोग गर्नेछ ।

ओली आफैंले सचिवालय बैठकमा भनेका छन्– “यसभन्दा अघि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन । शायद अरु कसैको पनि थिएन । त्यो आरोप पत्रमा जुन भाषा प्रयोग भएको छ, त्यसमा जुन आरोप र लाञ्छना लगाइएका छन्, ती हल्का ढंगले लगाइएको रुपमा मैले लिएको छैन …फेरि पनि कुनै परिस्थिति भोग्न मलाई कुनै कठिनाई छैन । त्यो पत्रका प्रस्तोता र त्यसको पृष्ठभूमिमा रहेका साथीले कुन बाटो जाने हो, च्वाइस गर्नुस् ।” उनको यो प्रस्तुतिले उनी आफू क्लिनचीट लिएर अर्को पार्टी बनाउने तयारीमा छन् । उनलाई कुनै पार्टीको नामप्रति मोह छ भने त्यो नेकपा एमालेमा नै छ । सत्ताको आडमा सहजै एमाले पार्टी संगठित हुन सक्छ भन्ने बिश्वासमा उनी छन् । उनले प्रचण्डलाई जवाफ फर्काउने भनेको आफ्ना पक्षमा जनमत बनाउने आधार तयार गर्ने हो । नेकपालाई जोडिराखेर अगाडि बढ्न सकिन्छ भन्ने उनको बिश्वास टुटेको आज होइन ।

यति मौकापरस्त हुँदाहुदै पनि प्रचण्डको एउटा गुण भनेको लामो समय जिरह नगर्नु हो । पहिलो पटक आफू प्रधानमन्त्री भइरहँदा राजीनामा नदिए पनि राजनीतिक रुपमा फरक नपर्ने अवस्थामा उनले राजीनामा दिए

एमालेमा रहँदा ओलीसँगको लडाई माधव नेपाललाई महंगो परेको थियो । अर्थात् ओलीसँग भिड्न माधव नेपाललाई अर्काको साथ चाहिएको थियो । एकीकरणको केही समय प्रचण्ड ओलीसँगै रहे । माधव नेपालका असन्तुष्टी र गुनासाको फेरि पनि खासै सुनुवाई हुदैनथ्यो । शेरबहादुर तामाङलाई मन्त्रीबाट हटाइदै गर्दा माधवको आवाज मलिन थियो । घनश्याम भूसाल र योगेश भट्टराईलाई मन्त्री बनाउन कम्ती कसरत गर्नु परेको होइन । अहिले पासा फेरिएको छ्, माधवलाई प्रचण्डको साथ मिलेको छ । ओलीलाई कमजोर नबनाएसम्म माधवको अध्यक्ष हुने आकांक्षा पूरा हुन यतिबेला कठीन छ । उनलाई जसरी पनि पार्टी अध्यक्ष हुनु नै छ । यो गुटबन्दीले भोलिको अध्यक्ष बन्न साथ दिन्छु भनेर माधव नेपालसँग भन्ने अवस्थामा त ओलीलाई पु¥याएको छ तर सत्तामा रहँदासम्म ओलीका वचनमा बिश्वास गर्ने आधार माधवले भेटेका छैनन् । भोलिको चुनाव प्रचण्डसँगै लड्नु पर्ने हो भन्ने जान्दाजान्दै पनि माधव यतिबेला ओलीको कमजोरीलाई नंग्याउन प्रचण्डको साथ खोजी रहेका छन् । ओलीले पार्टी फुटाउने अवस्था रह्यो भने माधव नेपालको पोजिसन के हुन्छ भनेर अहिले नै अनुमान गर्न कठीन छ ।

प्रचण्ड स्वार्थसँग दोस्तीगर्ने नेता हुन् । सत्ता राजनीतिको १५ वर्षमा उनले बनाएको आमपहिचान यही नै हो । हिजो बलियो हुँदा पनि उनले यही गरे, आज कमजोर हुँदा पनि उनी यही अभ्यासमा छन् । मलाई फकाउनुस्, म फकिइहाल्छु नि भनेर जे भनेकाछन्, त्यो उनको स्वार्थसँग जोडिएको बार्गेनिङ हो । २०६३ यता सबैभन्दा बढी फाइदा लिने नेतामा कोही छ भने त्यो प्रचण्ड नै हो । उनी आफ्ना नातागोता र परिवारका सदस्य सबैलाई हुने र मिलेसम्मका पद दिलाउन सफल भए । भलै उनी आफैंले भने दुई पटक छोटो समय मात्र प्रधानमन्त्री हुने मौका पाए । पछिल्लो समय पनि सहमति अनुसार प्रधानमन्त्री नपाएपछि सत्ता सञ्चालनको छटपटी उनमा राम्रैसँग देखा परेको छ । सत्ताप्राप्तिको अर्को विकल्प फेलापारे उनले कुनै पनि बेला माधव नेपाललाई छाड्न सक्छन् भन्ने जोकसैलाई थाहा छ । तीन दशकभन्दा लामो समयदेखि पार्टी नेतृत्व लिइरहेका उनलाई दोस्रो वरियतामात्रै समस्या भएको छैन, प्रधानमन्त्री बन्ने हुटहुटीले पनि उनको धैर्यता ओलीसँग टुटेको देखिएको छ ।

यति मौकापरस्त हुँदाहुदै पनि प्रचण्डको एउटा गुण भनेको लामो समय जिरह नगर्नु हो । पहिलो पटक आफू प्रधानमन्त्री भइरहँदा राजीनामा नदिए पनि राजनीतिक रुपमा फरक नपर्ने अवस्थामा उनले राजीनामा दिए । संविधानसभाको पहिलो पार्टीका नेता रहदै गर्दा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री हुने अवसर दिए । स्थानीय निर्वाचनका लागि भएको शेरबहादुर देउवासँगको सत्ता साझेदारीमा पनि केही आलटाल त गर्न खोजे तर लामो समय जिद्दी नगरी राजीनामा दिए । स्थानीय निर्वाचनको परिणाम देखेका प्रचण्डलाई आमनिर्वाचनमा हुने सम्भावित पराजयको आँकलन राम्रैसँग भयो र ओलीसँग गठबन्धन गरेर लाभ लिए । पार्टीको नेतृत्व गर्ने विषयमा भने उनका यी गुणले काम गरेको देखिदैन ।

प्रचण्डले पार्टी विभाजनको कल्पना गर्नु भनेको पुरानै माओवादी गुटलाई अझ सानो संख्यामा पुनर्गठन गर्नु हुनेछ

झलनाथ खनालले पूर्व अध्यक्षबाहेकको सांगठनिक हैसियत केपी ओलीलाई जिम्मा लगाइसकेका छन् । उनी एउटा गुटमा उभिदा केही ‘वेटेज’ देखिन्छ तर पार्टी भित्र एक्लै झलनाथको कुनै तागत छैन । उनका सहोदर साडुभाइ सुरेन्द्र पाण्डेले भने आजसम्म उनको साथ छाडेका छैनन् । अरु सबै लाखापाखा लागिसके । हिजो माधव नेपाललाई हराउन उनले सुम्पेको आफ्नो संगठन अहिले पुरै ओलीको कब्जामा छ । हिङ नभएपनि हिङ बाँधेको टालोमा अलिअलि गन्धबाँकी त हुने नै भयो ।

सचिवालयका अर्का नेता वामदेव गौतम कतिपय बेला सिद्धान्तनिष्ठ नेता त कहिले पिंध नभएको लोटाका रुपमा प्रस्तुत हुने गर्छन् । उनी आज एउटा गुटमा हुन्छन् भने अर्को दिन अर्कै गुटमा । पार्टी विभाजनको अवस्थामा पुग्यो वा प्रधानमन्त्री ओली संकटमा परे भन्ने लाग्न थालेपछि उनी पार्टी एकताका प्रतीक बनेर देखा पर्दै आएका छन् । पछिल्लो घटनाक्रमसँगै बामदेवसँग प्रधानमन्त्री ओलीले भेट गरेका छन् र बामदेवलाई फाल्ने पासाको बारेमा ओली राम्रै जानकार छन् । यस बीचमा राष्ट्रपतिको दर्शनभेट पाउने उनी पहिलो नेता हुन् । शीतल निवास र बालुवाटारले उनलाई दिएको आश्वासनका बारेमा नेपालका मिडिया जानकार छैनन् । पछिल्लो समय बामदेवले पाएको ‘न्याय’ कसले कसरी दिलाइदियो भनेर अनुमान गर्न कठीन छैन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली अहिले पार्टीमा बहुमत नहुने अवस्थामा संसद विघटन वा नयाँ पार्टी गठन गर्न सक्ने सुविधा र हैसियतमा हुनुहुन्छ । उहाँले पठाउने कुनै पनि निर्णय वा अध्यादेश राष्ट्रपतिबाट रोकिदैन भन्नेमा शंका गरिरहन पर्दैन । यता माधव नेपालले छुट्टै पार्टी खोलेर नेतृत्व गर्ने मनस्थिति बनाएको देखिदैन । प्रचण्डले पार्टी विभाजनको कल्पना गर्नु भनेको पुरानै माओवादी गुटलाई अझ सानो संख्यामा पुनर्गठन गर्नु हुनेछ । किनकी सत्ताको चास्नीमा रहेकाहरुले प्रचण्डलाई साथ दिएनन् भने आश्चर्य मान्नु पर्दैन । यो अवस्थामा केपी ओलीले दिने जवाफलाई स्वीकार गरेर फेरि कथित पार्टी एकताका नाममा हात्ती आयो हात्ती आयो फुस्सा हुने प्रायःनिश्चित छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *