राजनीति

जनता अब आफै सडकमा निस्किन्छन्: डा.महत

काठमाडौं । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली नागरिकले उपचार नपाएर छटपटाएका छन् तर सरकार भने आफ्नो सत्ता टिकाउनमै मात्र ब्यस्त रहेको आरोप लगाएका छन् ।

डा.महतले भने– देश महामारीमा छ, जसका कारण जनता ठूलो समस्यामा छन्, जनताले उपचारका लागि अस्पतालको बेड नपाएर छट्पटाएका छन् तर सरकारले भने आफ्नो सत्ता टिकाउने मात्र ध्यानमा छ ।

आफूलाई अप्ठेरो परिरहेका बेला, देश ठूलो महामारीमा फसेका बेला तथा जसका कारण हात मुख जोर्ने समस्यमा जनता परेका बेला सरकार उनीहरुका समस्याप्रति जिम्मेवार बन्न नसकेको भन्दै डा.महतले भने– नेपाली जनताले कम्युनिष्ट सरकार कस्तो हुन्छ भन्ने कुरा बल्ल थाहा पाएका छन् ।
देशका प्रधानमन्त्री नै आफ्नो पद कसरी जोगाउने भनेर आफ्नो पार्टीभित्रका अनेक तिकडममा फसेको अहिलेको अवस्थालाई डा.महतले लाजमर्दा भनेका छन् ।

भोका नागरिकलाई महानगरपालिकाले खुलामञ्चबाट कसरी लखेट्यो भन्ने घटनाबाट नै स्पष्ट छ

हिजो शुक्रबार बर्दियामा नेपाली काँग्रेस कोरोना अनुगमन समितिका तर्फबाट गरेको अन्तरिक्रयामा सो समितिका संयोजक समेत रहेका डा.महतले रोगको संक्रमणका कारण बढेको महामारी, बेरोजगारी, महंगीबाट आदिबाट जनता आहात भएका तर सरकारले भने राहात दिने बेलामा पनि पार्टी हेरेको आरोप लगाए ।

डा.महतले वर्तमान सरकार जनताका समस्याप्रति पूरै असंवेदनशिल भएको बताए । उनले भने सरकारको जनताका समस्याप्रति कति असंवेदनशील छ भन्ने कुरा त भोका नागरिकलाई महानगरपालिकाले खुलामञ्चबाट कसरी लखेट्यो भन्ने घटनाबाट नै स्पष्ट भएको छ ।

सहमहामन्त्री डा.महतले देश र जनता यस्तो अप्ठेरो परेका बेलामा जनतालाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा गम्भीर रुपमा सोच्न र आआफ्नो ठाउँबाट सक्दो सहयोग पुर्याउन उनले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे ।

नेपाली काँग्रेस दशकौँदेखि नेपाली जनताका समस्यासँग परिचित रहेर जनताका सुख दुःखमा साथ दिई आएको नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी भएकोले जिम्मेवार रहेको र जनतालाई अप्ठेरो परेका बेलामा सधैँ साथमा रहेको उनले बताए ।

भोलि पनि जनताको साथमा रहने राजनीतिक शक्ति भनेको नेपाली काँग्रेस नै हो भन्दै अहिले जनता वर्तमान सरकारदेखि आहत भएकोले यो सरकारको विकल्पमा आफै सडकमा आउने पनि डा. महतले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट