विचार

यो अति नै भो

नेकपाको आन्तरिक विवाद र शक्ति संघर्षमा राष्ट्रपति कार्यालय र चिनियाँ राजदूतको सक्रियता, चासो, भूमिका र हस्तक्षेप, आपत्तिजनक छ । प्रधानमन्त्रीउपरको विश्वास र अविश्वासको आलोकमा त झन् गम्भीर र संवेदनशील रहेको महसुस गर्न सकिन्छ । एकपटक होइन, पटकपटकको यसप्रकारको सन्देहास्पद भूमिकाले नेपालको स्वतन्त्र र सार्वभौम छविलाई समेत धुमिल बनाएको छ । नेपालले संविधानसभामार्फत बनाएको संविधानको व्यवस्था र सीमारेखालाई उल्लंघन गर्ने काम नेपालको राष्ट्रपति संस्थाबाट भएको छ भने छिमेकी मित्रराष्ट्र चीनका प्रतिनिधिले केवल चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिको हैसियतमा नेपाल कम्युनिस्ट पार्टीका बीचमा मेलमिलापकर्ताको भूमिकामा आफ्नो कार्यभार सम्हालेको सन्देश दिएकी छन् ।

कम्युनिस्ट पार्टीको विश्वासमा रहेर गरिएको मेलमिलापकर्ताको भूमिका उनका लागि स्वाभाविक होला, तर कूटनीतिक मर्यादाका दृष्टिले उनको भूमिका अमर्यादित र आपत्तिजनक छ । नेपाल र अन्य अन्तर्राष्ट्रिय समुदायले चिनियाँ राजदूतलाई चीनको प्रतिनिधि नभई कम्युनिस्ट पार्टीको प्रतिनिधिको रूपमा मात्र बुझ्नुपर्ने अवस्था आउन सक्छ । यसतर्फ नेकपाको सरकार, नेकपा पार्टी, यसका नेता कार्यकर्ता र चीन सरकारले गम्भीरता बुझ्न नसकेमा नेपालको आन्तरिक राजनीतिमा चीनको हस्तक्षेप नेकपा र यसको सरकारले आमन्त्रण गरेको अर्थ लाग्ने छ । जुन कुरा स्वाभिमानी नेपाली जनतालाई स्वीकार्य छैन ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वयंले नेकपा र प्रधानमन्त्री ओलीले राष्ट्रपतीय संस्थाको गरिमा कायम राख्न सकेनन् । नेकपाको विवाद मिलाउन राष्ट्रपतीय संस्थालाई दुरुपयोग गर्ने काम भएको छ । यसले कम्युनिस्टहरू आफ्नो स्वार्थका लागि राज्यका सबै संस्थालाई बद्नाम गर्न तथा भ्रष्ट बनाउन कुनै कसर बाँकी राख्दैनन् भन्ने पुष्टि भएको छ । राज्य व्यवस्थाले निर्दिष्ट गरेको संवैधानिक मर्यादामा बस्न नसक्ने वा नचाहने व्यक्तिले राज्य कोषमा व्ययभार पर्ने सेवा र सुविधा लिएर कुनै पनि संस्थाको प्रतिनिधित्व गर्न पाउँदैन । त्यो आफैंमा भ्रष्टाचारजन्य कार्य हो । आफूले लिएको सपथविरुद्ध कार्य गर्ने र राज्यकोषमा व्ययभार परिरहने अवस्थाले नेपाली लोकतन्त्रपे्रमीहरूलाई आघात पु-याएको छ ।

जहिले पनि अन्तर्विरोधपूर्ण व्यवहार देखाउने यो कम्युनिस्ट चरित्र उत्तर कोरियाको समर्थनमा वक्तव्यबाजी गर्छ र आफ्ना छोराछोरीलाई दक्षिण कोरिया रोजगारीका लागि पठाउन चाहन्छ । भेनेजुयलाको पक्षमा बोल्छ र अमेरिकाको डिभी भर्न लाइनमा लगाउँछ ।

नेपालले परिकल्पना गरेको शासन पद्धतिको स्वरूप यो होइन । जुन संविधान जारी गर्न हतारहतार गर्ने कम्युनिस्टहरूले हस्ताक्षर गरेको व्यवस्थाप्रति इमानदार बन्न नसक्नु र नालायकीपन देखाउनु बेइमानीको पराकाष्टा नै हो । जहिले पनि अन्तरविरोधपूर्ण व्यवहार देखाउने यो कम्युनिस्ट चरित्र उत्तर कोरियाको समर्थनमा वक्तव्यबाजी गर्छ र आफ्ना छोराछोरीलाई दक्षिण कोरिया रोजगारीका लागि पठाउन चाहन्छ । भेनेजुयलाको पक्षमा बोल्छ र अमेरिकाको डिभी भर्न लाइनमा लगाउँछ । हजारौं नेपाली भारतको श्रम बजारमा गएर जीवन चलाउन बाध्य रहेको तथ्य र तथ्यांकलाई नजरअन्दाज गरी भारतीय विस्तारवादविरुद्ध चीनको सहयोगको अपेक्षा राख्छ ।

नेकपाका नेता तथा कार्यकर्तामा कुनै पनि आस्था, विश्वास, विचार र आस्था रहेनछ । कसरी व्यक्तिगत स्वार्थ पूरा गराउन राज्यको साधन र स्रोतको दोहन गर्ने भन्ने एकसूत्रीय विचार र कार्यक्रम लिएर हिँडेका रहेछन् । संसार परिवर्तन गर्छाैं भन्ने कम्युनिस्टहरू आफू परिवर्तन भए, आमगरिब, किसान, श्रमिक, मजदुर जस्ताको त्यस्तै रहे । चप्पलबाट छोटो समयमा चारपांग्रेको हैसियत बनाएका कम्युनिस्टहरूले समाजको नयाँ वर्गको जन्म गराएका छन् र उदाहरण बनेका छन् कि कम्युनिस्टहरू कसरी परिवर्तन हुँदा रहेछन् भन्ने । आफूले सम्बोधन गर्नुपर्ने विषय सम्बोधन गर्न नसक्ने सस्तो र गुलिया नारा दिएर जनतालाई भ्रमित गर्ने कार्यमा निपूर्णता देखाएका नेपालका कम्युनिस्टहरूले न त कम्युनिस्ट विचार बोक्न सके, न लोकतान्त्रिक रूपान्तरणका लागि इमानदार बन्ने तत्परता देखाउन सके ।

कम्युनिस्ट भन्न पनि नछोड्ने, लोकतन्त्रप्रति प्रतिबद्ध पनि नहुने चरित्रले जनताको अपेक्षाभन्दा पृथक् स्वरूपमा देखिए । जसले नेपालको महत्वपूर्ण समय र जनताको परिवर्तनप्रतिको मोह र आकर्षण भंग हुने परिस्थिति बन्यो । यसले लोकतन्त्रप्रतिको आशा, विश्वास र भरोसा कमजोर भई प्रतिक्रियावादी चरित्रको उदय हुनसक्ने खतरातर्फ नेपाललाई उन्मुख गराएको छ । आन्तरिक जनजीवनमा पारेको प्रभावले आन्तरिक असन्तुष्टि र असन्तुलन बनाउने र बाह्य रूपमा कम्युनिस्ट शासन अख्तियार गरेको चीनसँगको सामीप्यताले अन्य लोकतन्त्रको अभ्यास गरिरहेका विदेशी शक्ति राष्ट्रहरूलाई संशकित बनाई चिढ्याउने तथा दूरी बढाउने दिशातर्फको यात्राले कम्युनिस्ट सरकार मात्र असफल नभई नेपाल राष्ट्र नै असफल हुने खतरा बढाएको छ ।

प्रश्न उठ्न थालेको छ कि चीन नेपालका कम्युनिस्टहरूको उपयोगमार्फत के गर्न खोजिरहेको छ ? प्रशिक्षण, भेटघाट, लेनदेन तथा विवाद समाधानमा निरन्तर क्रियाशील चिनियाँ पक्षले नेपालको भौगोलिक संवेदननशीलता अनुकूलको व्यवहार देखाउन चाहेन, हस्तक्षेपकै रूपमा देखिएर प्रकट भएर खुलेआम नेकपाका नेता, राष्ट्रपति एवं प्रधानमन्त्रीसमेतलाई निर्देशन दिने शैली अवलम्बन गर्न थाल्यो । चीनमा कम्युनिस्ट पार्टीको आदेश सबैले अनिवार्य पालना गर्नुपर्ने जस्तै चिनियाँ राजदूतको गतिविधिले त्यही झल्को दिएको छ ।

हजारौं नेपाली भारतको श्रम बजारमा गएर जीवन चलाउन बाध्य रहेको तथ्य र तथ्यांकलाई नजरअन्दाज गरी भारतीय विस्तारवादविरुद्ध चीनको सहयोगको अपेक्षा राख्छ ।

नेपालको व्यवस्था लोकतान्त्रिक हो, निर्वाचनमार्फत कम्युनिस्ट नामको पार्टी सरकार बनाउन सफल भएको हो, यो पाँच वर्षका लागि भन्ने तथ्य बुझ्दाबुझ्दै एउटा कम्युनिस्ट देशले अर्को कम्युनिस्ट देशलाई दिशानिर्देश गरेझंै गर्नु अपरिपक्वता नै हो । नेपालले चीनसँग त्यस्तो अपेक्षा राखेको थिएन । भोलि कम्युनिस्ट सरकारलाई अर्को पार्टीले विस्थापित गरेको अवस्थामा चीनको भूमिका कस्तो हुन्छ ? आफूले नै मिलाइदिएको भएर तत्कालीन एमाले र माओवादी नफुटुन् भन्ने चाहना राख्ने हो भने अन्य राजनीतिक दल तथा स्वतन्त्र नेपालले चिनियाँ राजदूतलाई कम्युनिस्ट पार्टीको प्रतिनिधिको रूपमा मात्र बुझ्नुपर्ने हुन्छ । त्यसरी बुझ्दा चीनलाई मान्य हुन्छ कि हुँदैन ? वा ग्लोबल टाइम्सले लेखेजस्तो अन्य दलहरू भारतमुखी हुने हुन् ? नेपाल न भारतमुखी न त चीनमुखी नै हुन चाहन्छ । दुवै छिमेकीसँग सन्तुलित मित्रता राख्ने नेपालको नीति हो । यस नीतिविपरीत दलीय सम्बन्धका आधारमा द्विपक्षीय सम्बन्ध बनाउने कार्यप्रति नेपाली जनताको असहमति रहेको छ ।

चमत्कार गर्छौं भन्ने हाम्रा कम्युनिस्टहरू एकपछि अर्को चमत्कार गर्दैछन् । संवैधानिक मर्यादताको खिल्ली उडाएर राष्ट्रपति संस्था आफैं चमत्कार गरिरहेको छ । चीनको हस्तक्षेप निम्त्याएर नेकपा पार्टी र यसको सरकार अर्को चमत्कार गरिरहेको छ । महामारीको समयलाई भ्रष्टाचारका लागि अनुकूल समयको रूपमा सदुपयोग गरेर चमत्कारको बढोत्तरी भएको छ । ओली र दाहालले एक अर्कोलाई जाली, महाजालीलगायतका आरोप प्रत्यारोप लगाएर चमत्कारमाथि चमत्कार थपिरहेकै छन् ।

दुईतिहाइ ल्याएर चमत्कार गर्छौं भन्नेहरूको चमत्कारबाट जनता अचम्मित भएका छन् । छोटो समयमा यति धेरै चमत्कार प्रदर्शन गर्न सक्ने कम्युनिस्टहरूको क्षमतालाई मान्नै पर्ने देखिन्छ । तर यस्तो चमत्कारलाई नमस्कार गर्ने मुडमा नेपाली जनता छैनन् । जनता शान्त किसिमले लोकतान्त्रिक पद्धतिको अभ्यासमार्फत राष्ट्रिय चरित्रमा रूपान्तरण गर्न चाहन्छन् । संवैधानिक व्यवस्थाबमोजिमको मर्यादित व्यवहार र आचरण हेर्न र देख्न चाहन्छन् । समदूरीको समान हैसियतको सार्वभौम र स्वतन्त्र नेपालको सम्बन्ध असल छिमेकीसँग विस्तार गर्दै सुमधुरता बढाउन चाहन्छन् ।

विनम्रताका साथ राम्रो गर्न सकिँदैन, क्षमता छैन भन्ने देशको अवस्था जेजस्तो छ त्यही कायम होस्, क्षति नहोस् भन्ने चाहन्छन् । सत्ता स्वार्थका खातिर देशको सार्वभौमिकता र अखण्डता खण्डित नहोस्, त्यसतर्फको यात्रा बन्द होस् भन्ने जनताको चाहना पुनः स्मरण गराउन चाहन्छन् । बद्नाम गराउने र असफल बनाउने खेल बन्द होस्, अति नगर्नुस्, अति भो, बन्द गर्नुस् योभन्दा ठूलो खति नेपाल बेहोर्न चाहँदैन, सक्दैन भनेर सम्झाउन चाहन्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *