समाचार

चिनिया रक्षा मन्त्रीले के सन्देश लगे, के आश्वासन दिए ?

काठमाडाैं।दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरुले दुई दिनको फरकमा नेपाल भ्रमण गरेका छन् । एक दिनका लागि काठमाडौं ओर्लिएका चिनियाँ रक्षामन्त्री वेई फेङ्गको भ्रमण नै आइतबार सिध्याएर फकिए । उनी के सन्देश लिएर स्वदेश फर्किए भन्ने विषयमा कौतुहलता उत्पन्न भएको छ ।

सत्तारुढ दलको आन्तरिक विवाद चलिरहेका बेला उनको भ्रमणलाई राजनीतिक वृत्तमा महत्वपूर्ण मानिएको छ । उनले प्रधानमन्त्री ओली लगायतका सरकारी अधिकारीलाई भेटघाट गरेपछि चिनिया राष्ट्रपति सी जीनफिङको सन्देश पनि सुनाएका छन् । सत्तारुढ दलभित्रको विवाद उत्कर्षमा पुगेको समयमा उनको भ्रमणले रणनीतिक र राजनीतिक अर्थ समेत दिएको छ । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणलगत्तै भएको चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई विविध कोणबाट हेरिएको छ । कसैले यसमा रणनीतिक महत्त्व देखेका छन् भने कतिपयले सामान्य मानेका छन् । त्यसो त, सत्तारुढ नेकपामा दुई अध्यक्षबीच मतभेद चुलिएका बेला चिनियाँ पक्षको उच्चस्तरीय भ्रमणलाई कतिपयले राजनीतिक महत्वको पनि भनेका छन् ।

वेईलाई नेपाली सेनाको एक टुकडीले सैनिक मुख्यालय जंगी अड्डामा सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो । यसपछि वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता गरेका थिए । जंगी अड्डाको भेटघाट सकिएपछि वेई प्रधानमन्त्री निवास बालुवाटारमा पुगे । वेईले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मासँग शिष्टचार भेट गरे । शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री ओलीले आफूले गरेको चीन भ्रमणका क्रममा भएको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका क्रममा रहेको अवगत गराए । भेटमा सहभागी प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईका अनुसार प्रधानमन्त्री ओलीले गत वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी चीन फिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गरे । प्रधानमन्त्री ओलीले नेपाल समृद्धिका क्षेत्रमा चीनको विकास र सफलताबाट सिक्न चाहेको पनि जनाए । प्रत्युत्तरमा चिनियाँ मन्त्री वेइले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्नातर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो मुलुकको सम्बन्धलाई जोड्न नहुने बताए ।

प्रधानमन्त्री ओलीसँगको शिष्टाचार भेटवार्ता पछि वेई राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरे । राष्ट्रपति कार्यलयबाट वेई सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गएका छन् । चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री वेइ फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर आइतबार काठमाडौं उत्रिए । रक्षामन्त्री वेई २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट आइतबार बिहान १० :३० बजेतिर काठमाडौँ उत्रिएका थिए । नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा नेपाल आएका हुन् ।

रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरे । रक्षा मन्त्री वेई विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ राजदूतावास गए । दूतावासमा केहीबेर बसेपछि रक्षामन्त्री वेई दिउँसो नेपाली सेनाको मुख्यालय पुगेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *