रिबन

प्रचण्ड–नेपाल समूहले दुवै अध्यक्षको प्रतिवेदन स्थायी र केन्द्रीय कमिटीमा लैजाने, सकसमा ओली

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद अब बहुमत अल्पमततिर उन्मुख भएको छ । सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले एक अर्कालाई विभिन्न आरोपसहितको प्रतिवेदन पेस गरेपछि विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले जवाफी प्रतिवेदन पेश गरेपछि केही मत्थर हुने अनुमान गरिए पनि बहुमत अल्पमततिर उन्मुख भएको हो ।

शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिएपछि दुवै प्रतिवेदनलाई १६ गते बस्ने सचिवालय बैठकमा छलफल गरेर टुंग्याउने गरी प्रयास थालिए पनि दुवै पक्ष आमने सामने हुनेगरी तयारी गरिरहेका कारण दुवै पक्ष बहुमतको जोडघटाउतिर लागेको स्रोतको दावी छ ।

‘प्रचण्डले कमरेडले लगाएको आरोपपत्रको जवाफ प्रधानमन्त्रीजीले प्रतिवेदनमार्फत दिइसकेपछि अब यी दुवै प्रतिवेदन सचिवालयमा छलफल गरेर टुंग्याउनुपर्छ, अहिले यी दुवै प्रतिवेदन पार्टीका तल्लो कमिटीसम्म पुर्याउँदा विवाद झन बढ्ने र पार्टी झन संकटमा पर्ने हुन्छ। अब जना पार्टी जोगाउनेतर्फ लाग्नुपर्छ,’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो ।

१६ बस्ने सचिवालय बैठकमा दुवै प्रतिवेदनमामाथि सामान्य छलफल गर्ने, मंगलबार छलफल नसकिए बुधबार पनि बैठक राखेर छलफल गराउने र सचिवलायमै टुंग्याउने तयारी थालिएको हो ।
सचिवालयमा बहुमत पुग्ने अवस्थामा दुवै प्रतिवेदन सचिवालयमा नै छलफल गरेर टुंग्याउन सकिने र त्यसो गर्दा पार्टीभित्रको विवाद समाधान गर्न सहज हुने विश्लेषणका साथ त्यसको तयारीमा लागेको स्रोतले बतायो ।

दुवै अध्यक्षले पेश गरेका प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटीमा पुगे त्यहाँ आफू अल्पमतमा परिने र विवाद झन् झाँगिने प्रधानमन्त्री ओली समूहको बुझाइ छ । तर प्रचण्ड–माधव नेपाल समूहले भने प्रधानमन्त्री ओलीलाई दुईमध्ये एक पद छोड्न लगाउने अहिले उचित समय भएको भन्दै दुवै प्रतिवेदनलाई तल्लो कमिटीसम्म लैजाने तयारीमा छन् ।

यसअघि प्रचण्डले सचिवालयमा पेश गरेको प्रतिवेनदलाई पुस्तकको रुपमा छपाइ गरी कार्यकर्तासम्म्म वितरण गरेको प्रचण्ड–नेपाल समूहले अहिले दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म लैजाने तयारी गरेको छ । पार्टीभित्र अध्यक्ष प्रचण्डलाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् भने सचिवालयको बहुमत सदस्य अध्यक्ष प्रचण्डको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पुर्याउने कसरतमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *