राजनीति

ओलीप्रति बादल किन यतिविघ्न बफादार ?

काठमाडौं । यदि नेकपाको हालको अवस्थामा गृहमन्त्री रामबहादुर थापा बादलको साथ पुष्पकमल दाहाल प्रचण्डलाई हुने थियो भने प्रधानमन्त्री केपी ओलीको कुर्सी धेरै अघि धरापमा पर्ने थियो । पूर्वमाओवादी खेमाका भए पनि बादलले प्रचण्डको क्याम्प छाडेका छन् ।

मोहन वैद्यलाई छाडेर प्रचण्डको साथ लागेका बादल सांसद मात्र बनेनन्, गृहमन्त्री पनि बनाइए । माओवादी पक्षको नेतृत्व गर्दै बादल जब गृहमन्त्री बनेर सरकारमा गए, त्यसपछि उनले चटक्कै प्रचण्डलाई छाडेका छन् । जसका कारण नेकपाको समीकरणमा बादल महत्वपूर्ण व्यक्ति बनेका छन् ।

बादललाई सुरुसुरुमा प्रधानमन्त्री ओलीले निकै पेलेका थिए । गृह मन्त्रालयअन्तर्गतका महत्वपूर्ण विभाग राष्ट्रिय सतर्कता केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत हुने गरी लगेका थिए । यस विषयमा ओली र बादलबीच शीतयुद्ध नै चलेको थियो । आफूलाई कमजोर बनाउन प्रधानमन्त्रीले हस्तक्षेप गरेको उनले बताउने गरेका थिए । तर, अहिले तिनै बादल ओलीको बफादार बनेका छन् ।

प्रहरीको सरुवा, बढुवा, दरबन्दीलगायतमा गृहमन्त्री बादलको कुनै भूमिका हुँदैन । कतिपय विषय त थाहासमेत पाउँदैनन्, सबैमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गर्ने गरेका छन् । तर, पनि ओलीप्रति बादल किन यति हदसम्म बफादार छन् भन्ने भेउ नेकपाका नेता कार्यकर्ताले बुझ्न सकेका छैनन् । जबकि बादलसँगै माओवादीमा आएका देव गुरुङ, पम्फा भुसाललगायतका नेताहरू सबै प्रचण्डसँगै छन् ।
अबको निर्वाचनमा बादललाई चितवनबाट उठाउने आश्वासन ओलीले दिएकाले पनि उनले प्रचण्डको साथ छाडेको बताइन्छ । चितवन पूर्वएमालेको बलियो जिल्लामध्ये एक हो । स्रोतका अनुसार सुरेन्द्र पाण्डेको विकल्पमा बादललाई चितवनमा स्थापित गर्ने रणनीतिमा ओली छन् । पछिल्लो समय पाण्डे आफ्नो घोर विरोधी भएर निस्केको ओलीलाई मन परेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *