रिबन

कांग्रेस नेता पौडेलले आज भव्य रूपमा तनहुँको बुल्दी पुल उदघाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बिहीबार (आज) बिहान ११ बजे तनहुँको बुल्दी खोला पुल उद्घाटन गर्ने भएका छन् । कांग्रेस केन्द्रको निर्देशनअनुसार पौडेलले आज पुल उदघाटन गर्ने भएका हुन् । त्यसका लागि बिहान १० बजे दमौलीमा हजारौं कांग्रेसीलाई उपस्थित हुन भनिएको छ ।
बुधबार दिउँसो पुल उद्‌घाटन गर्न पुगेका नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पौडेलले पुल उद्‌घाटन गर्न खोजेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपां) र प्रतिपक्षी कांग्रेसका कार्यकर्ताबीच झडप हुनसक्ने भन्दै तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। तर, निषेधाज्ञाकै बीच पौडेल पुल उद्घाटन गर्न जान खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
तनहुँका नेकपा सांसद किसान श्रेष्ठको निर्देशनमा प्रमुख जिल्ला अधिकारी सागर आचार्यले निषेधाज्ञा लगाएका थिए । त्यसपछि पौडेललाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा हिरासतमा लिइएको थियो ।
नेता पौडेललाई गिरफ्तार गरी प्रहरीले हिरासतमा राखेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई टेलिफोन गरी तत्काल रिहाइ गर्न भनेका थिए। करिब तीन घन्टा तनहुँ प्रहरीको हिरासतमा बसेपछि पौडेल रिहाइ भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *