फिचर

विकासको नमूना नगर बन्दै लहान

लहान । सिरहाको लहान नगरपालिका पछिल्लो समय विकासको नमूना नगरको रुपमा परिचित हुन थालेको छ । विगतमा उपेक्षाका कारण विकासमा पछि परेको सो नगरपालिकामा जनप्रतिनिधि आएसँगै नगरक्षेत्रमा विकासको लहर तीव्र रुपमा सुरु भएको हो । नगरपालिकाले मुख्यतः भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा र त्यसको प्रभावकारी कार्यान्वयन गर्न थालेपछि लहान अहिले विस्तारै आफ्नो स्वरुप फेरिन थालेको छ ।

विगतमा अतिक्रमण र कुरुप शहरको रुपमा पहिचान बनाउँदै आएको लहान नगरपालिका अहिले सडक अतिक्रमण गरी बनाइएका छाप्रो हटाउनेदेखि सडकको स्तरोन्नतिको कार्यलाई तीव्रता दिएको छ । यसले विकासको अनुभूति हुन थालेको लहान नगरपालिका–८ का सत्यनारायण चौधरीले बताए । उनले भने, ‘‘बजार क्षेत्रमा सार्वजनिक सडक अतिक्रमण गरी छाप्रो ठड्याउने क्रम बढेको थियो, जनप्रतिनिधि आएपछि अतिक्रमण गरी बनाइएका त्यस्ता संरचना हटाउनेदेखि सडक पूर्वाधार निर्माणमा जोड दिएको देखिन्छ ।”

साँघुरो सडकका कारण सधैँ ट्राफिक जाम हुने लहानका मुख्य तथा सहायक सडक यतिबेला जनप्रतिनिधिको सक्रियतामा फराकिलो र कालोपत्र भएको उनको भनाइ छ । ‘‘बीस वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुँदा विकास निर्माण प्रायः ठप्प भएको थियो”, स्थानीयवासी सुभाष साहले भने, ‘‘जनप्रतिनिधि आएपछि नगरपालिकामा विकासको लहर नै चलेको आभास भइरहेको छ ।” उनका अनुसार पूर्व—पश्चिम राजमार्गमा पर्ने लहान बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासका लागि नाला निर्माणको काम धमाधम हुन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् । बाटो स्तरोन्नतिका साथै यातायात आवागमन सहज बनाउन नगरक्षेत्रमा व्यवस्थित बसपार्कसमेत सञ्चालनमा ल्याएका कारण दुर्घटनाको जोखिमसमेत कम भएको उनको भनाइ छ ।

कूल १ सय ६७ दशमलव १७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका क्षेत्रभित्रका करिब १० किलोमिटर सडक कालोपत्र र १८ किलोमिटरभन्दा बढी कृषि सडक ग्राभेल भइसकेको जनाइएको छ । यसका साथै ती कृषि सडकमा आधादर्जन पुलसमेत निर्माण गरिएको छ । लहान बजारको सौन्दर्यकरणसँगै आर्थिक स्रोतको रुपमा रहेको तरकारी हाटबजार, पार्क, सलहेश दीनाभद्री सपिङ कम्पलेक्स तथा घण्टाघर निर्माणको कार्यलाई महत्वाकांक्षी योजनाको रुपमा नगरपालिकाले अगाडि बढाएको छ ।

नेपालकै सबैभन्दा बढी वडा अर्थात् २४ वडा रहेको यो नगरपालिकाको सबै वडालाई सडक सञ्जालमा जोड्ने गरी चक्रपथ निर्माणका लागि डिपिआर तयार पारेर सडक पूर्वाधार विकासमा जोड दिएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुषालले बताए ।

कूल ९१ हजार ७ सय ६६ जनसङ्ख्या रहेको लहान नगरपालिकामा कूल जनसङ्ख्याको करिब १५ प्रतिशत विपन्न परिवार रहेको तथ्यलाई मनन गर्दै गरिब, विपन्न र दलित परिवारका लागि नगरपालिकाले नमूना एकीकृत बस्ती निर्माणको योजनालाई महत्वका साथ अघि बढाएको उनको भनाइ छ । ‘‘हामीले गरिब, विपन्न र दलित परिवारको पहिचान गरी नमूना एकीकृत बस्ती बनाउन थालेका छौँ”, प्रमुख प्रशासकीय अधिकृत भुषालले भने, ‘‘तराई–मधेश सम्वृद्धि कार्यक्रमअन्तर्गत वडा नम्बर ५ मा १० वटा भवन निर्माण गरी हस्तान्तरण गरिसकेका छौँ र वडा नम्बर ११ मा पनि भवन निर्माण अन्तिमचरणमा पुगेको छ ।” भवन निर्माण सकिएपछि समुदायलाई हस्तान्तरणको गृहकार्यसमेत भइरहेको उनको भनाइ छ ।

नगरपालिकाको विभिन्न वडामा छरिएर रहेका विपन्न दलित समुदायका लागि नगरपालिकाले नेपालकै नमूना कार्यक्रमसमेत ल्याएको छ । ‘‘नगरपालिकाको २४ वटै वडाका दलित तथा विपन्न परिवारको तथ्थाङ्क सङ्कलनका लागि सर्वेक्षणको काम भइरहेको छ”, प्रमुख प्रशासकीय अधिकृत भुषालले भने, ‘‘सर्वेक्षण सकिएपछि पहिचान भएका दलित विपन्न परिवारलाई पहिचान कार्ड दिन्छौँ र त्यहीँ कार्डका अनुसार नगरपालिकाले मासिकरुपमा राहत उपलब्ध गराउने छ ।” विपन्नलाई मासिक रुपमा उपलब्ध गराउने राहतबारे ठोस निर्णय नभए पनि चामल, दाल, नून, तेललगायतका राहत सामग्री उपलब्ध गराउन सकिने योजना छ ।

विपन्न परिवारकै लागि विभिन्न वडामा खानेपानी ट्युवेल जडान तथा शौचालयसमेत निर्माण गरेको नगरपालिकाले जनाएको छ । भौतिक पूर्वाधार निर्माणसँगै कृषि क्षेत्रलाई प्राथमिकता दिएको नगरपालिकाले वर्षौँदेखि बीउबिजन र मलखादको समस्या झेल्दै आएका किसानलाई यस वर्ष समयमै उन्नत बीउबिजन तथा मलखाद अनुदानमा वितरणसँगै पशुपालक किसानलाई उन्नत जातको बोकासमेत वितरण गरेको छ ।

आर्थिक सम्वृद्धिका लागि पर्यटनलाई जोड दिएको लहान नगरपालिकाले नगरक्षेत्रभित्रका पर्यटकीय सम्भावना बोकेका स्थलको संरक्षण, सम्बर्द्धन, जीर्णोद्वार र सौन्दर्यकरण कार्यलाई जोड दिएको छ । प्रत्येक वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फूल्ने पूmलका कारण चर्चित धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीलाई सलहेश सर्किटको रुपमा विकास गर्न लागेको लहान नगरपालिकाको योजना शाखाका प्रमुख इन्जिनीयर शत्रुधनप्रसाद चौधरीले बताए ।

‘‘ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्व बोकेको सलहेश फूलबारीलाई सलहेश सर्किटको रुपमा विकास गर्ने गरी योजना बनाएका छौँ”, उनले भने, ‘‘त्यहीअनुसार अहिले सडक निर्माणलगायत भौतिक पूर्वाधार र संरचना निर्माण भइरहेका छन् ।” यसका साथै पर्यटकलाई लोभ्याउन सकिने भवरा दह, देवी दह, मानिक दहलगायतका दहको जीर्णोद्वार तथा राजदेवी मन्दिरलाई व्यवस्थित र सौन्दर्यकरण गर्न थालिएको उनको भनाइ छ ।

प्रमुख चौधरीका अनुसार लहान बजारक्षेत्रमा पर्ने पुरानो नहरको स्तरोन्नति गरी सफा पानी ल्याउन र नगरक्षेत्रलाई सफा, स्वच्छ, सुन्दर नगर बनाउने अवधारणा रहेको छ । वडा नम्बर १५ ढोढनादेखि बेतहासम्म ट्र्याक खोल्ने कार्य अन्तिमचरणमा पुगेको उहाँको भनाइ छ ।

विसं २०३२ मा स्थापना भएको सो नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कूल साक्षरता दर ५७ दशमलव ९४ प्रतिशत रहेको नगरपालिकामा महिलाको साक्षरता दरमा वृद्धि गर्न महिलाका लागि प्राविधिक तालीमसमेत दिने गरी माध्यमिक विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । तथ्याङ्कअनुसार नगरपालिका क्षेत्रभित्र पुरुषको साक्षरता दर ६६ दशमलव ६६ प्रतिशत र महिलाको साक्षरता दर ४४ दशमलव ५१ प्रतिशत छ । यही अवस्थालाई दृष्टिगत गरी महिलाको साक्षरता दर बढाउन शिवशक्ति महिला आवासीय माध्यमिक विद्यालय निर्माण पनि भइरहेको छ । सो विद्यालय निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । नगरक्षेत्रका विद्यालय तथा स्वास्थ्य चौकीको सुधार कार्यक्रम अन्तर्गत स्तरोन्नति र भौतिक पूर्वाधार निर्माणको काम भइरहेको जनाएको छ ।

उद्योग व्यवसायीलाई प्रवर्द्धन गर्न नगरपालिकाले वडा नम्बर १४ मा उद्योगग्राम निर्माण गरिरहेको बताउँदै वडा नम्बर ९ का अध्यक्ष प्रदीपकुमार चौधरीले उद्योग ग्रामसँगै नगरक्षेत्रका उद्योग व्यवसायीलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रोत्साहन कार्यक्रम समेत ल्याएको जानकारी दिए । २०३६ सालदेखि अड्किएको टाउन प्लानिङको कार्यलाई समेत नगरपालिकाले अगाडि बढाइएको छ ।

नगरक्षेत्रको समग्र विकास गरी सम्वृद्ध नगरको रुपमा स्थापित गर्ने लक्ष्यका साथ योजना अघि बढेको लहान नगरपालिकाका प्रमुख मुनी साह सुडीले बताइन् । “हाम्रो लहान, सम्वृद्ध लहान” भन्ने नाराका साथ नगरपालिकाले सञ्चालन गरेको योजनाबाट स्थानीयवासीमा देखिएको उत्साहका कारण आफूहरुमा थप ऊर्जा मिलेको उनखको भनाइ छ ।

चालु आर्थिक वर्षको नीति कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सिंचाइलाई प्राथमिकतामा राखेको नगरप्रमुख साहले बताइनख् । ‘‘सम्वृद्ध लहानको परिकल्पनाका साथ पारदर्शी रुपमा नगरपालिकाले आफ्ना योजना सञ्चालन गरिरहेको छ”, उनले भनिन्, ‘‘आफ्नो कार्यकालभित्रै लहान नगरपालिकालाई सम्वृद्ध बनाउने सङ्कल्पका साथ कार्य गरिरहेका छौं, मेरो कार्यकालभित्रै लहान नगरपालिकाको मुहार फेरिन्छ ।”

आर्थिक अनियमितता र जनप्रतिनिधिबीचको विवादका कारण मुलुकका अधिकांश स्थानीय तहले जनअपेक्षा अनुसार काम गर्न नसकिरहेका बेला लहान नगरपालिकाले ल्याएको विकासको लहर आफैमा उदाहरणीय भएको स्थानीय वुद्धिजीवी सन्तोष गुप्ताको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *