समाचार

ईश्वर-शंकर मिलाउनेभन्दा नेता खुइल्याउन सक्रिय

काठमाडौं । नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल सरकारमा उपप्रधानमन्त्री पनि छन् । स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेल सुरुदेखि नै पार्टी एकताविरोधीका रुपमा परिचित थिए ।

तत्कालीन एमालेको निर्वाचित महासचिव पोखरेल विष्णु पौडेल नेकपाको महासचिव भएपछि असन्तुष्ट बनेका थिए । रक्षामन्त्रीसहित सरकारमा लगिए पनि सकुनी रोल खेलेकाले उनलाई प्रधानमन्त्री केपी ओलीले पद घटुवा गरिदिएका छन् । यस्तै, अर्का नेता शंकर पोखरेल स्थायी कमिटी सदस्य हुन् । ओली क्याम्पका बलियो खम्बा शंकर लुम्बिनी प्रदेशका मुख्यमन्त्री पनि हुन् । यिनी अहिले सचिवालय सदस्य बन्न निकै जोडबलले लागेका छन् । बौद्धिक, सरल र मिजासिला नेताको छवि बनाएका शंकर अहिले नेता खुइल्याउने नेतामा दरिएका छन् । यिनका स्टाटस दैनिकजसो सामाजिक सञ्जालमा आइरहन्छन् । जहाँ प्रचण्ड र माधव नेपाललाई सत्तोसराप गरिएको पाइन्छ ।

पछिल्लो समय सचिवालय सदस्य ईश्वर पोखरेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पार्टी एकता जोगाउनेभन्दा पनि नेताहरूलाई भिडाएर दुर्घटना निम्त्याउनेतिर केन्द्रित छन् । गत मंसिर २० गते सचिवालय बैठक डाकिएको थियो । बैठकअघि अनौपचारिक भेटघाट र छलफल गरेर सचिवालयबाटै विवादको हल निकाल्ने प्रयत्न गर्ने भनिएको थियो । त्यसका लागि बालुवाटारले ईश्वर पोखरेललाई खुमलटार रमुख्यमन्त्री पोखरेललाई कोटेश्वरको जिम्मा दिएको थियो। सचिवालय बस्ने अघिल्लो दिन १९ गते ईश्वर खुमलटार पुगेर प्रचण्डलाई फकाउने प्रयत्न गरे । आगामी महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वासन दिए । तर, प्रचण्ड गलेनन् । त्यही समयमा मुख्यमन्त्री पोखरेल भने माधव नेपाललाई भेट्न पुगे ।

नेपालका स्वकीय सचिव मोहन गौतमले फेसबुकमा लेखेका छन्, ‘उहाँ आउनुभयो र भन्नुभयो– कमरेड, तपाईंले टुक्राटुक्रा भएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउँदै जनआधारित विशाल पार्टी बनाउने कामको नेतृत्व गर्नुभयो, तपाईंबिना न त यति ठूलो कम्युनिस्ट पार्टी सम्भव थियो न त हाम्रो अहिलेको प्रतिष्ठा छ, फेरि एकपटक तपाईंले पार्टीको नेतृत्व लिनुपर्यो, अरूबाट सम्भव देखिएन । उहाँको कार्यशैली हामीले भनेर सच्चिँदैन तर हामी विद्रोह गर्ने अवस्थामा छैनौं ।’ गौतमले लेखेका छन्, ‘कमरेडले भन्नुभयो– पार्टी नीति, विधि र मापदण्डमा चलाउनुपर्छ, यति विशाल पार्टी व्यक्ति हेरेर चलाउन सम्भव छैन, सरकार पनि सोहीअनुसार चलाउनुपर्छ । मलाई पटकपटक एक्ल्याउने, अपमान गर्ने, किनारा लगाउने र पेल्ने काम भए पनि अरू कसैलाई त्यस्तो गर्ने कुरामा मेरो सहमति हुँदैन । मेरो तपाईंहरू कसैप्रति पूर्वाग्रह छैन, कसैलाई अन्याय हुन दिन्न तर भएका गल्ती स्वीकार गर्नुपर्छ र त्यसलाई सच्याउनुपर्छ । मलाई अहिले केही चाहिएको छैन । यति कुरा गरेर संवाद जारी राख्ने भन्दै हिँड्नुभएका उहाँले केही दिनपछि पत्रकार बोलाएर भन्नुभएछ–समस्याको जड नै कमरेड हो । हाम्रो भावी नेतृत्वको कार्यशैली र विश्वसनीयताको सानो उदाहरण ।’ गौतमले यहाँ ‘उहाँ’ भनेर कसैको नाम उल्लेख नगरे पनि उनले मुख्यमन्त्री पोखरेललाई इंगित गरेको सजिलै बुझ्न सकिन्छ । किनभने, पछिल्लो समय उनैले नेता नेपाललाई भेटेका थिए ।

नेता नेपालसँग यति कुरा भएपछि पम्फा भुसाल मार्फत ओली र नेपाल मिलिसके भन्ने सन्देश खुमलटार पुर्याइएको बताइन्छ । आगामी एकता महाधिवेशनमा आफू अध्यक्ष बन्न नपाउने भएपछि ईश्वर पोखरेलको अहिलेको क्रियाकलाप जसरी पनि प्रचण्ड र माधव नेपाल समूहलाई र तिनका नेता खुइल्याउने दिशामा केन्द्रित भएको नेकपा नेताहरु नै बताउँछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *