सम्पादकीय

मैमत्त प्रधानमन्त्री, ‘कठपुतली’ राष्ट्रपति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सनकका कारण देश राजनीतिक दुर्घटनाको डिलमै पुगेको छ । संवैधानिक अंगमा रिक्त रहेका पदाधिकारी नियुक्ति गर्न बोलाइएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले चालेका कदमले देश दुर्घटनाको डिलमा पुगेको हो । ‘

सभामुख सापकोटा नआएको रिसमा ओलीले मन्त्रिपरिषद् बैठक राखेर एकल निर्णय गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाएर जारी मात्र गराएनन्, मंगलबार नै राजपत्रमा प्रकाशित पनि गराए । र, परिषद्को बैठकसमेत राखे । त्यति मात्र होइन, नेकपा संसदीय दलका उपनेता देव गुरुङको पनि राजीनामा मागेपछि प्रधानमन्त्री ओलीमा सत्ताको सनक निकै बढेको विश्लेषण गरिएको छ ।

आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै ओलीमा सत्ताको मैमत्त देखिएको नेकपाकै नेताहरूले चर्चा गर्न थालेका छन् । आफूले जे बोल्दा र गर्दा हुन्छ भन्ने ओलीमा दम्भ देखिएको छ । मन्त्रिपरिषद्ले सिफारिस गरेको केही मिनेटमै संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारी अझ विवादमा परेकी छन् । जबकि गत वैशाखमै पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फिर्ता लिएको थियो ।

विपक्षी दलका नेता र सभामुखविनै पनि संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएको छ । अध्यादेशमा भनिएको छ, ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।’ प्रधानमन्त्री अध्यक्ष रहेको परिषदमा विपक्षी दलको नेता, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रधानन्यायाधीश पदेन सदस्य रहन्छन् । उपसभामुख चयन भइनसकेकाले अहिले परिषद्को सदस्य संख्या पाँच मात्रै छ ।

राष्ट्रपति भण्डारी नेकपामा प्रधानमन्त्री केपी ओली गुटको मात्र बनेको जस्तो देखिएको छ । सत्तारुढ दलमै पनि उनी सबैको साझा बन्न सकेकी छैनन् । पार्टी विवादमा उनले हस्तक्षेप नै गरेकी छन् । त्यति मात्र होइन, प्रधानमन्त्री ओलीलाई आवश्यक पर्ने सबै सल्लाह दिने र ओलीले जे भन्यो त्यो मान्ने गरेको भन्दै राष्ट्रपति ‘कठपुतली’ बनेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम भन्दै आपत्ति जनाएका छन । नेपाली कांग्रेसको प्रष्ट विमती रहेकाे सभापति देउवाले स्पष्ट पारेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट