रिबन

सन् २०२० लाई फर्केर हेर्दा : नेपालमा आपराधिक र हिंसात्मक घटना धेरै भए

काठमाडौं । अंग्रेजी महिनाको सन् २०२० लाई फर्केर हेर्दा नेपालमा केही ठूला र केही साना, तर आपराधिक क्रियाकलपामा अत्यन्त क्रुर देखिने केही घट्नाक्रम भए । हत्या, बलात्कार अनि कालोबजारीका कयौं घटना सार्वजनिक भएसँगै सन २०२० त्यति अछुतो रहन सकेन ।

कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा मुकेश चौरसियाको मृत्यु भयो । चौरसियाको हत्यामा पहिलो संविधान सभामा नेकपा एमालेबाट पर्सा–३ का संविधानसभा सदस्य राजकुमार गुप्ता संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाए ।

गुप्ता पनि संलग्न रहेको भन्दै प्रहरीमा जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी लिन मानेन। गुप्ताविरद्ध जाहेरी लिन नमानेपछि पर्सामा दिनहुँ प्रदर्शन भयो। चौरसियाको हत्याले केन्द्रको राजनीतिमा समेत असर मात्रै गरेन नेकपा विभाजन गर्ने एउटा हतियारसमेत भयो । आपराधिक क्रियाकलापकै कारण नेपालको राजनीतिमा सत्तारुढ दल विभाजनको एउटा कारण बन्नु संयोग मात्रै थिएन ।

नक्कली सुनकाण्ड, एसिड प्रकरण, गोगंबु हत्या प्रकरण, पूजारी हत्या प्रकरण, मोरङका शिक्षक हत्याकाण्ड, पर्साका मुकेश चौरसिया हत्याकाण्ड, धादिङ हत्याकाण्ड र कोरोना भाइरसको नाममा पत्रकारको नक्कली कार्ड प्रकरण लगायत २०२० का चर्चित अपराधिक क्रियाकलाप हुन् । केही घटनामा प्रहरी आलोचित समेत बन्यो ।

साउन १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुईवटा हतियार बरामद गर्यो । सोही दिन आयोजित पत्रकार सम्मेलनमा काठमाडौं प्रहरीका तत्कालीन प्रमुख, एसएसपी श्याम ज्ञवालीले १५ किलोमध्ये आधा किलोमात्र सुन रहेको बताए । बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको पाइयो ।

सुन बोकेको बा६च ५५१९ नम्बरको स्कोर्पियो गाडी सामान फ्याँकेर फरार भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । तर, दुई थान पेस्तोलसहित सुन बरामद हुँदा प्रहरीले गाडी किन बरामद गर्न सकेन भनेर चौतर्फी प्रश्न उठ्यो । छानबिनका लागि महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय टोली पनि गठन गरियो । तर, पछि थापालाई संयोजकबाट हटाएर एसएसपी सुशीलकुमार यादवलाई संयोजक बनाइयो । सुन प्रकरणको छानविनका लागि गठित एसएसपी नेतृत्वको छानविन समितिले सुन बरामद भएको भनिएको स्थान नै नक्कली भएको पत्ता लगायो ।

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन दाहालले घटनास्थल नै परिवर्तन गरेर आफूभन्दा माथिल्लो निकायलाई गुमराहमा राखेको पाइयो । कमलादीमा सेतो कपडाको झोला फ्याँकेर स्कोर्पियो गाडी फरार भएको भनिए पनि त्यस क्षेत्रमा नभई घटनास्थल सुन्धारा क्षेत्र रहेको पुष्टि भयो ।

१५ किलो सुन भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डिएसपी दाहाललाई दरबारमार्ग वृत्तको जिम्मेवारीबाट हटाइयो। दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्त भगाएको आरोप लागेको थियो ।

साउन ८ गते साँझ सितापाइलामा युवतीमाथि एसिड प्रहार भयोे। सोही दिन राति महानगरीय प्रहरी वृत्त स्वयम्भूले रौतहट लक्ष्मीपुर स्थायी घर भएका हाल काठमाडौं डल्लु बस्ने मोहमद आलम र सोही स्थानका मुन्ना मोहमदलाई पक्राउ गर्यो । उनीहरूले ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी युवतीमाथि एसिड प्रहार गरेका थिए ।

मुन्ना भारतीय नागरिक हुन् । आलमले ती युवतीलाई मन पराउँथे। तर, युवतीले अर्को केटा मन पराएको भन्दै आलमले मुन्नालाई युवतीमाथि एसिड प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

साउन २५ गते गोंंगबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला पार्यो । ती पुरुषको टाउको र शरीर क्रमशः सुटकेस र झोलामा थियो।

शव दाङका कृष्णबहादुर बोहराको थियो । बोहराको हत्यामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका ७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल पक्राउ परिन् । उनीहरूबीच केही वर्षअघि फेसबुकमा परिचय भएको थियो । सम्बन्ध बिग्रिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको थियो, पछिल्लो पटक।

कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट महिलाका निर्वस्त्र तस्बिर राख्न थालेपछि पौडेलले आफू बस्ने घरमा बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी थिइन् । पौडेललाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । यो निकै क्रुर हत्या काण्ड थियो । यसले राष्ट्रिय रुपमै अपराधमा महिलाको चरित्रको विषयमा बहस केन्द्रीत गरेको थियो ।

भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा रहेको हमुमान मन्दिरका पुजारी श्रीराम साहको गोली प्रहारबाट हत्या भयो । हनुमान मन्दिर गाउँभन्दा टाढा एकान्तमा थियो । घटनाको १३ दिनपछि पूजारीको हत्यामा रामनरेश राउत पटेल र बालकृष्ण पटेल पक्राउ परे । तर, पूजारी साहको हत्या प्रकरणमा पीडित परिवारले प्रहरीको अनुुसन्धानप्रति असन्तुष्टी जनाएका छन् ।

१९ भदौमा धादिङको नीलकण्ठ नगरपालिका १३ खल्चेतका राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको टाउको छिनाएर हत्या गरे । मध्यराति गुरुङको हत्या गरेर परियार स्वय आफैले गुरुङको टाउको र हत्यामा प्रयोग भएको खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमपर्ण गरेका थिए । घटनास्थलबाट हिँड्दै हँस्याङफस्याङ पुगेका परियारले ‘म त मान्छे काटेर आएको’ बताएका थिए । अदालतले परियारलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइसकेको छ ।

२३ मंसिरमा मोरङको मिक्लाजुङ गाउँपालिका–१ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भयो । हत्याको जिम्मा प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले लिएको थियो। विप्लव समूहले हत्याको जिम्मा लिँदा पनि श्रेष्ठको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छैनन ।

प्रहरीले विप्लव समूहका मान्छेलाई पक्राउ गरेपछि त्यसको बद्लामा उनको हत्या भएको जनाइएको छ । सो समूहले हत्याको जिम्मेवारी पनि लिएको छ । यद्यपि अहिलेसम्म हत्यरा पक्राउ पर्न सकेका छैनन । यो घट्नापछि विप्लव समूह हिंसामा उत्रेको होकि भन्ने आशंका उब्जेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *