रिबन

कांग्रेसलाई देश हाँक्ने अवसर


प्रधानमन्त्री केपी ओलीले हठात रूपमा प्रतिनिधिसभा विघटन गरेपछि देश अहिले अनिश्चित भुमरीमा फसेको छ । पार्टीबाटै आफूलाई काम गर्न नदिएको भन्दै बहुमतको सरकारलाई ओलीले कामचलाउ हैसियतमा झारेका छन् । अहिलेको अवस्था सिर्जना हुनुमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कुनै भूमिका छैन । विघटित प्रतिनिधिसभामा ६३ सांसद लिएर बसेको कांग्रेसलाई मध्यावधि निर्वाचन ठूलो अवसर पनि हो । विपक्षी दललाई ‘वेटिङ गभर्मेन्ट’ का रूपमा लिइन्छ । तर, आफ्नै दलको बैठकसमेत राख्न नसक्ने प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउलान् र ठूलो दल बनेर सत्तामा जान सकिने कांग्रेस नेता कार्यकर्ताको अपेक्षा सहजै सम्भव होला र ? भन्ने प्रश्न पनि उब्जेका छन् ।

देशमा अब ५० वर्ष कम्युनिस्ट सरकार रहन्छ, कांग्रेस अब देशबाट सकियो भनेर हिजो दाबी गर्ने नेकपाका नेता तथा मन्त्री अहिले कांग्रेसको वैशाखी खोजी रहेका छन् । चोइटिएको नेकपाको दुवै पक्ष कांग्रेसविना चल्नै नसक्ने अवस्थामा पुगेका छन् । किनभने प्रधानमन्त्री ओलीले कांग्रेसको सहयोगविना स्वतन्त्रतापूर्वक निर्वाचन गराउने हैसियत राख्दैनन् । त्यस्तै, प्रतिनिधिसभा पुनःस्थापनाको आन्दोलन गरिरहेको नेकपा (प्रचण्ड–माधव नोपल समूह) ले सडक आन्दोलन गर्न कांग्रेसकै मुख ताकेको छ । शक्तिशाली भनिएको कम्युनिस्ट पार्टी र सरकार नै कांग्रेसको शरणमा आउनु आफैंमा ठूलो कुरा हो । तर, लोकतन्त्र, विधिको शासन र कानुनको सर्वोच्चतालाई जहिल्यै मान्दै आएको नेपाली कांग्रेस भने अहिले रणभुल्लमा परेको छ ।

कांग्रेस नेताहरू प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको सशक्त विरोध गरेर जानुपर्छ भन्नेमा विभाजित भएका छन् । यसले गर्दा आमजनता अलमलमा परेका छन् । कांग्रेसमा एकथरी प्रतिनिधिसभा भंग गर्ने ओलीको कदमविरुद्ध सडक आन्दोलन गरेर सच्याउनुपर्छ भनेर लागेका छन् भने अर्कोथरी मध्यावधि निर्वाचनको तयारीमा पार्टी लाग्नुपर्ने, नेकपाको विवादमा आफूलाई सामेल गराउन नहुने पक्षमा छन् । त्यसैले अहिले कांग्रेस आफैं यता न उताको अवस्थामा आएको छ । यदि प्रधानमन्त्री ओलीले स्वच्छ मनले प्रतिनिधिसभा विघटन गरेर जनताकहाँ गएर फेरि चुनिएर आउने मक्सद राखेका हुन् भने त्यसलाई कांग्रेसले स्वीकार्नुपर्छ भन्ने जमात पनि बाक्लो छ । तर, अर्को पक्ष कम्युनिस्ट प्रधानमन्त्री आफैं निरंकुश हुने भएकाले निर्वाचन गराएर प्रधानमन्त्रीको पद किस्तीमा हालेर देलान् भन्ने विश्वास गर्न नहुने बताइरहेका छन् । यही द्विविधामा कांग्रेस फसेको छ । त्यसैले कांग्रेस नेतृत्व सुझबुझपूर्ण निर्णय गर्दै अगाडि बढेमा कांग्रेसलाई फेरि एकपटक देश हाँक्ने अवसर मिलेको छ । अहिलेको जटिल परिस्थितिमा जनताको आवाजलाई कांग्रेसले मनन गर्नैपर्छ भन्ने धेरैको माग छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *