रिबन

दबाबको प्रभावः सिनेमाघर, स्कूल कलेज र जीमखाना खुल्दै

काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका विद्यालय खुला गर्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड रोकथाम तथा नियन्त्रण गर्न बनेको उच्चस्तरीय निर्देशक समितिको बैठक (सीसीएमसी) ले बन्द भएका विद्यालय खुला गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले वर्तमान स्थितिको विश्लेषण गरी आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको बताए ।

बैठकले कोरोना संक्रमण बढ्न सक्ने र कोरोनाको दोस्रो लहर आउन सक्ने अवस्थाबारे आँकलन गर्दै लापरवाही गर्ने र स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।त्यस्तै बैठकले नयाँ खालको कोरोना देखिएको बेलायतसहित अन्य २२ वटा राष्ट्रबाट आउने यात्रुलाई १० दिन क्वारेन्टाइनमा राख्ने निर्णय मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको सचिव गुरागाईले जानकारी दिए ।

सार्वजनिक यातायात, मनोरञ्जनलगायतका क्षेत्र खुल्ला गराउँदै स्वास्थ्य मापदण्ड अनिवार्य गरे पनि अनुगमन भने कागजमा मात्र सीमित देखिन्छ । विज्ञहरूले अहिले विद्यालय खोल्ने उचित समय हैन भने पनि बालबालिकामा सङ्क्रमण हुने जोखिम बढाउँदै सरकारी निकाय विद्यालय खोल्ने हतारोमा लागेको हो । बेलायतमा देखिएको चाँडै फैलने कोरोना भाइरस अन्य देशमा फैलिएसँगै उनीहरू उच्च सतर्कता अपनाउँदै खोलेका विद्यालयसमेत बन्द गरिरहेका छन् ।

बेलायतले सङ्क्रमण फैलन नदिन कडाइ गर्दै लगेको छ । अन्तर्राष्ट्रिय हवाई मार्ग खोलेर बसेको नेपाल भने ढुक्क झैँ देखिन्छ। आइतबार बसेको सिसिएमसीको बैठकले कोरोना महामारीका कारण बन्द गरिएका विद्यालय खोल्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरिसकेको छ ।
कोरोना सङ्क्रमणको जोखिम हराएको व्यवहार गर्दै चलचित्र घर, जिम खानालगायत सबै क्षेत्र खुलाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भइसकेको छ ।

कोरोना भाइरस महामारीका कारण २०७६ चैत ११ देखि विद्यालय, चलचित्र घरलगायत क्षेत्र बन्द थिए। वर्तमान स्थितिको विश्लेषण गरी कोरोना महामारीका बेला बन्द गरिएको क्षेत्र खुलाउने तयारी गरिएको सिसिएमसीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट