प्रदेश नं. १

पर्यटन विकासमा जुट्दै भोजपुरका स्थानीय तह

भोजपुर । प्राकृतिक तथा ऐतिहासिक सम्पदामा प्रख्यात मानिन्छ भोजपुर । यस जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्व बोकेका धेरै ऐतिहासिक धरोहर छन् । खुकुरीका लागि प्रख्यात जिल्ला भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि रहेको छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय यहाँका पर्यटकीय, ऐतिहासिक तथा धार्मिकस्थलहरुको संरक्षणमा यहाँका स्थानीय तह तथा प्रदेश–१ सरकार जुटेका छन् ।

भोजपुरको पश्चिममा खोटाङ, उत्तरमा सोलुखुम्बु र सङ्खुवासभा, पूर्वमा धनकुटा र दक्षिणमा उदयपुर जिल्ला रहेको छ । यहाँ राई जातिको बाहुल्यता रहेको छ भने अन्य जातिहरुमा क्षेत्री, ब्राह्मण, मगर, तामाङ, नेवार र शेर्पा पर्दछन् । जिल्लाको प्रमुख प्रशासकीय केन्द्र भोजपुर बजार हो भने दिङ्ला, घोडेटार, दावाँ, कुलुङ, टक्सार, च्याङग्रे, चौकीडाँडा, मानेडाँडा, प्याउली, चम्पे, पाल्पाले बजार, बालुवानी बेँसी, पाँचधारे, जरायोटार, चरम्बी बजार, तिवारीभन्ज्याङ प्रमुख बजार हुन् । मध्यकालीन नेपालमा नेपालभरि चाहिने धातुका सिक्का बनाउने ऐतिहासिक टक्सार बजार यही जिल्लामा अवस्थित रहेको छ ।

यहाँका प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रमा सिद्धकाली देवी मन्दिर–भोजपुर, नागछाँगा–बैकुन्ठे, पशुपति मन्दिर–तिम्मा, रामजानकी मन्दिर–दिङला, ट्याम्केडाँडा– नागी, सिलिचुङ डाँडा, नेपालको पहिलोबौद्ध विहार–टक्सार, च्याङग्रे पोखरी–च्याङगे, सन्तानेश्वर महादेवथान गुफा, साल्पापोखरी–दोभाने, कालिकादेवी–ओख्रे, सेल्मे डाँडा, सुन्तले डाँडा, दिङ्ला बजार, अरुणडाँडा, मैयुङ डाँडालगायत रहेका छन् ।

त्यस्तै बेहेश्वर मन्दिर–भुल्के, हतुवागढी, अरुणको कातिकेघाट, हाँसपोखरी, घोडेटार र नेपालेडाँडाबाट सोलुखुम्बुको नाम्चेबजार जाने पदमार्गलगायत प्रमुख क्षेत्र हुन् । सिचिलुङ चुचुरो भोजपुरको सबैभन्दा अग्लो स्थान हो यसको उचाइ ४ हजार १ सय ४३ मिटर मिटर रहेको छ । यहाँका पर्यटकीय क्षेत्रको विकास तथा विस्तारमा प्रदेश–१ सरकारसँगै स्थानीय तहहरुले प्राथामिकता निर्धारण गरेका हुन् ।

नेपाल सरकारले निर्धारण गरेको घुम्नैपर्ने १ सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । प्रदेश–१ सरकार, स्विस सरकार र टेम्केमैयुङ गाउँपालिको संयुक्त लगानीमा यहाँ पदमार्ग निर्माण भइरहेको छ । भोजपुरको पाँचधारेबाट सिलिचुङ चुचुरोसम्ममा करिब ५८ किलोमिटर पदमार्ग निर्माण गर्ने लक्ष्यका साथ पदमार्ग निर्माण भइरहेको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष ध्रुवराज राईले जानकारी दिए ।

पदमार्गका लागि रु दुई करोड लागतमध्ये पहिलो चरणमा रु ९९ लाख बराबरको काम हुनेछ भने दोस्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँगै पर्यटकहरुका लागि खानाबस्नका लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिए ।

विशेष गरेर विदेशी पयर्टकहरुलाई लक्षित गरेर निर्माण हुँदै गरेको पदमार्गमा सिमेन्टको प्रयोग नगरी स्थानीयस्तरको स्रोत साधनको प्रयोग गर्दै विश्रामस्थल, चौतारा फँलैचाहरु निर्माण हुने निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिए ।

यस पदमार्गमा पर्ने डाँडाबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खलाको दृश्यालोकन गर्न सकिन्छ । पहिलो चरणको पदमार्ग निर्माणको काम डेढ वर्षमा सम्पन्न हुने जनाइएको छ ।

त्यस्तै पर्यटकीय क्षेत्रको विकासका लागि प्रदेश–१ सरकारले तीन हजार १ सय १० मिटर उचाइमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र ‘टेम्के डाँडामा दृश्यावलोकन स्तम्भ’ निर्माणको काम थालनी गरेको छ । प्रदेश सरकारले किराँत राईहरुको संस्कृत झल्कने तरिकाबाट टावरको निर्माण गर्न लागेको हो । यसले पर्यटन प्रवर्द्धनसँगै स्थानीयवासीको संस्कार संस्कृतिको पहिचान जोगाउन सहयोग पुग्ने प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले बताए । साथै यो टावर नेपालकै एक नमूना टावर बनाउनेसमेत उहाँको भनाइ छ ।

मुख्यमन्त्री राईले भने, “टेम्के डाँडा आफैँ टावर छ, तर यो प्रदेश सरकारले त्यसै टावर बनाउन लागेको होइन, यसलाई किराँत पहिचानका रुपमा रहेको चिण्डो आकारमा निर्माण गरेर नेपालकै नमूना दृश्यावलोकन स्तम्भ बनाउने प्रदेश सरकारको लक्ष्य छ ।” टावर कुन्सालिङ कन्सट्रक्सन भोजपुरले आगामी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ ।

यो डाँडाबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजङ्गा, लोच्सेलगायत आठ हजार मिटर अग्ला छवटा, अन्य ३३ वटा हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रदेश सरकारले टावर निर्माण गर्ने भएपछि स्थानीय उत्साहित भएका छन् ।

प्रदेश सरकारको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु १३ करोड ६२ लाख लागतमा स्तम्भ बन्ने भएपछि स्थानीयवासीमा उत्साह थपिएको हो । सो स्तम्भको शिलान्याससँगै आन्तरिक पर्यटकहरुको सङ्ख्यासमेत बढ्न थालेको स्थानीयवासीले बताउने गरेका छन् । यो डाँडाबाट नजिकै रहेको तावा भञ्ज्याङमा पोखरी निर्माणसमेत प्रदेश सरकारको योजना रहेको छ । यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पु¥याउने जनाइएको छ ।

सो स्थानमा रामनवमी र बालाचतुर्दशीमा वर्षमा दुईपटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्य तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिकरुपमा समेत टेवा पुग्ने स्थानीयपवासीले बताउने गरेका छन् । जिल्लाको मुख्य पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न सके प्राकृतिक प्रेमीहरुका लागि यो उत्तम गन्तव्य बन्न सक्ने स्थानीय जानकारहरुको भनाइ छ ।

किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री राईको भनाइ छ । प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ । टावर २० मिटर अग्लो रहनेछ भने टावरको पहिलो तलामा म्युजियम रहनेछ ।

त्यस्तै भोजपुरको पौवादुङमा गाउँपालिका पर्यटकीय क्षेत्रको विकाससँगै ऐतिहासिक सम्पदाको संरक्षणमा जुटेको छ । गाउँपालिकाले ऐतिहासिक तथा धार्मिक क्षेत्र कोटगढी, दोश्रो हलेसी भनेर चिनिने सन्तानेश्वर मन्दिर, दुङमाली भाषा संरक्षण केन्द्र, च्याङग्रे पोखरी, अरुण डाँडालगायत ठाउँको संरक्षण तथा विकासको थालनी गरेको हो ।

गाउँपालिकाले दुङमाली भाषा संरक्षरण केन्द्र भवनको निर्माण गरिरहेको छ भने सन्तानेश्वर महादेव मन्दिरको पनि संरक्षणको काम भइरहेको छ । त्यस्तै च्याङ्ग्रे पोखरी र पर्यटकीय क्षेत्र अरुण डाँडाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर प्रदेश–१ सरकारसँगको सहकार्यमा काम भइरहेको गाउँपालिकाको भनाइ छ । गाउँपालिका केन्द्र नजिकै रहेको कोटगढीको संरक्षणका लागि श्रमदानसहित रु ५० लाख लागतमा बाटो निर्माणको काम सम्पन्न गरेको छ भने आवश्यक पूर्वाधार निर्माण गर्ने तयारी गरेको छ । गाउँपालिकाको ऐतिहासिक महत्व बोकेको ऐतिहासिक कोटगढी रहेकाले संरक्षण तथा विकासमा ध्यान दिएको गाउँपालिकाका अध्यक्ष किरण राईले जानकारी दिए ।

अध्यक्ष राईले भने, “गाउँपालिकाको आर्थिक विकास गर्न अन्य क्षेत्रसँगै पर्यटकीय तथा ऐतिहासिक धार्मिक क्षेत्रको विकासमा योजनाबद्ध रुपमा लागेका छौँ, गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्रहरुको विकासका लागि ‘डिपिआर’ तयार गरेर गाउँपालिका तथा प्रदेश सरकारसँग पनि सहकार्य गरेर काम अगाडि बढाएका छौँ ।”

त्यस्तै गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका अन्य विभिन्न पर्यटकीय क्षेत्रको विकासका लागि पनि योजना अघि बढाएको जनाएको छ । भावी योजनामा चिवाचुङ डाँडा, छ्याङ्गी मन्दिर, भाते ढिकुरा, आहाल डाँडा, (डिपिआर बनिरहेको) गुफानागी, दिर्गे डाँडा, दिदीबहिनी डाँडा, मालिका डाँडा, मार्गपोखरी र डुडेगैरा, आहाल लगाएत पर्यटकिय क्षेत्रको विकास तथा संरक्षणको लागि काम गरिने गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिए ।

उपाध्यक्ष राईले भने, “हामीले भौतिक निर्माणसँगै कृषि र पर्यटन क्षेत्रमा विषेश प्राथमिकता दिएका छौँ, अहिले गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय र धार्मिक स्थानको पहिचान गरेर विकासमा लागिपरेका छौँ, यसले गाउँपालिकाको आर्थिक विकासमा टेवा पु¥याउने हामीले लक्ष्य लिएका छौँ ।”

गाउँपालिकाले पर्यटनको क्षेत्रमा गरिरहेको विभिन्न खाले योजनाले गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने स्थानीयवासीले बताउने गरेका छन् । स्थानीयवासी ज्ञानेन्द्र राईले भने, “गाउँपालिकाले पर्यटकीय क्षेत्रको विकासमा गरिरहेका काम निकै राम्रो छ, यसरी गाउँपालिकाका पर्यटकीय र धार्मिक क्षेत्रको पहिचान गरेर विकासको थालनी गर्दा हामीलाई निकै खुशी लागेको छ, यसले आर्थिक विकाससँगै ऐतिहासिक क्षेत्रहरुको संरक्षण हुने देखिन्छ ।”

त्यसैगरी, दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका पनि आफ्नो क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचान गरेर विकास विस्तार गर्न थालेको छ । गाउँपालिकाले ऐतिहासिक हतुवागढीको संरक्षणको लागि काम गर्ने तयारी रहेको गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईले जानकारी दिए । त्यस्तै प्रदेश सरकारको आर्थिक सहयोगमा पर्यटकीयस्थल शङ्खमचुलीमा स्तम्भ निर्माण गरिरहेको छ भने अन्य पर्यटकीय क्षेत्रको समेत विस्तृत प्रतिवेदन तयार गरेर काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

रामप्रसाद राई गाउँपालिकाले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नाँग छाँगा, चुलाचुली गुफा, गोल्मेभिरलगायतका स्थानलाई आफ्नो आर्थिक स्रोतका रुपमा विकास गर्न डिपिआर तयार गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिए । गाउँपालिकाको आफ्नै बजेटमा डिपिआर तयार गरेर संरक्षण तथा विस्तारको समेत काम थालेको हो । गाउँपालिकाले पर्यटन क्षेत्रको विकासमा हालसम्ममा रु एक करोड बढी लगानी गरिसकेको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन् । डिपिआरअनुसारको बजेटमा गाउँपालिकाको बजेटले सम्भव नहुने देखिएकाले स्रोतको खोजी भइरहेको समेत उनले जानकारी दिइन् ।

यहाँका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह आफ्नो क्षेत्रका स–साना पर्यकीय क्षेत्रको विकास र विस्तारमा जुटेका छन् । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित दिङ्लामा रहेको षडानन्द नगरपालिकाले पनि पर्यटकीय क्षेत्रको विकासमा योजनाबद्ध रुपमा काम गरिरहेको छ । शिक्षाको ज्योती फैलाउने बालागुरु षडानन्दको सम्मानस्वरुप प्रदेश–१ सरकारको रु ६ करोड लागतमा बहुउद्देश्यीय धर्मशालाको निर्माण भइरहेको छ । त्यस्तै नगरपालिकाले तत्काललाई रु १५ लाख बजेटको व्यवस्था गरेर आफ्ना क्षेत्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको खोजी गर्दै संरक्षण तथा विकासका लागि कामको थालनी गरिसकेको नगरपालिका उपप्रमुख मेरिका राईले जानकारी दिइन् ।

त्यस्तै यही पुसबाट नगरपालिकाको पखुवाभञ्याङबाट रु ७१ लाख लागतमा १२ किलोमिटर मुन्दुम पदमार्ग निर्माणको थालनी गरिएको नगरपालिकाले जनाएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा रहेको महभिर झर्ना, माक्सा झर्ना, सावा झर्ना, भोजपुर मझौलेमा रहेको सिरवानी पोखरी, मलवा पोखरीलगायत प्राकृतिक सम्पदाको संरक्षणमा स्थानीय सरकार जुटेको छ ।

त्यस्तै टेम्केमैयुङ–१ सावामा गाउँपालिका र पर्यटन मन्त्रालयको संयुक्त लगानीमा सामूहिक घरबास सञ्चालनमा ल्याइएको छ भने छिनामखुमा पनि प्रदेश–१ सरकार तथा गाउँपालिकाको सहयोगमा घरबास सञ्चालनमा छ । यहाँ सञ्चालन भएका यी घरबासहरुमा स्थानीय परिकारसँगै स्थानीय संस्कार र संस्कृतिको प्रवर्द्धन गरिने गाउँपालिकाले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *