विचार

जनता विश्वस्त हुने नेतृत्वको सख्त अभाव

चमत्कार गरेर देखाउने सपना बाँड्ने राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कचिङ्गलका कारण देशको राजनीतिक भविष्य अन्यौलपूर्ण र अन्धकारोन्मुख भएको छ । पाँच वर्षका लागि निर्वाचित संसद विघटन गरी निर्वाचनको घोषणा भएको छ । तर संविधानले प्रधानमन्त्रीलाई त्यो अधिकार दिएको छैन । संविधानले नदिएको कार्य गर्ने प्रधानमन्त्रीले घोषित मितिमा निर्वाचन गराउँछन भन्ने विश्वास पनि आम मानिसलाई छैन । यो अवस्थामा नेपालको राजनिितक भविष्य कस्तो हुने भन्ने आम चिन्ता थपिएको छ ।

अमेरिकाको संसदमा नवनिर्वाचित राष्ट्रपति निर्वाचित भएको प्रमाणिकरण कार्यक्रममा बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले निर्वाचन परिणाम अस्वीकार गर्दा प्रमाणिकरण कार्यक्रम विथोल्न खोजेको घटनाले विश्वको लोकतान्त्रिकरणको इतिहासलाई झस्काएको छ । सभ्य र सुसंस्कृत समाज भनिएको अमेरिकामा ट्रम्प निर्वाचित भएपछिका घटनाहरु अनेपक्षित भएका छन् । यसले सिंगो प्रजातान्त्रिक संस्कृतिलार्य चुनौति दिएको छ । विम्व रंगमञ्चमा देखिने यस्ता दुखान्त घटना र हिंसाको राजनीतिले नेपालको घटनालाई समेत प्रभावित बनाएको छ ।

शासकहरुको सनकी र दम्भी स्वभावले सोचले देशको परिचय धरापमा पार्छ भन्ने उदाहरणको रुपमा उल्लेखित घटनालाई लिन सकिन्छ । नेकपाले पार्टीको आन्तरिक व्यवस्थापन सुदृढ गर्न नसक्दा नेपाल असजिलो अवस्थामा आउनु, निर्वाचन हुन नसक्ने आकलन गरिनु, सबै भारी न्यायपालिकालाई बोकाउन खोज्नु, न्यायापालिकामा पनि अनुकुलका न्यायाधीशहरुको इजलास गठनको माग र अपेक्षा राख्नु जस्ता घटनाले सकरात्मक संकेत गरेको छैन । असंवैधानिक कदम न्यायपालिकाबाट सच्चिन्छ भन्ने विश्वास पनि नहुनु र प्रधानमन्त्रीको जनताका बीचमा ताजा जनादेशका लागि जाने घोषणाप्रति पनि अविश्वास प्रकट हुनु सुखद्, सकरात्मक र विश्वसनीय अवस्था होइन ।

भुइँतलको मानिस नआई आन्दोलनमाथि उठ्नै सक्दैन । त्यो वर्गलाई यी देखिएका अनुहारमाथि भरोसा नै छैन

यसबीचमा के के भए, कतिसम्मका आश्वासनहरु बाँडिए त्यसको लेखाजोखा नै राख्न सकिँदैन । जनताका बीचमा गरेका प्रतिबद्धताहरुको हालत के छ ? त्यो केलाउने फुर्सद नै छैन । नेकपाका सदसयहरु जनताको बीचमा के भनेर जान्छन् भन्ने आम जिज्ञासा छ । त्योभन्दा ठूलो चिन्ता लोकतन्त्रको भविष्य के हुने भन्ने छ । यसप्रति कोही गम्भीर बन्न नसकेको बुझाई आम मानिसको रहेको छ । आफूहरुले विश्वासीलाई र भरपर्दो अभिभावक नपाएको महसुस आम जनताले गरेका छन् । जनताको इच्छा, चाहना र भाविनाको प्रतिनिधित्व नेपाली इतिहासमा विरलै भएको छ ।

जनताको अपार समर्थन र विश्वासमाथि पटक पटक कुठाराघात भएको छ । यसले कुनै पनि दलप्रति विश्वास हुन नसक्ने बाध्यात्मक अवस्थामा छन– नेपाली जनता । दलहरुमा आबद्ध भएका व्यक्तिहरुमा पनि इमान्दारहरुलाई पाखा लगाउने, भ्रष्ट, दलाल, माफिया, ठेकेदार र हप्ता उठाउने डनहरु प्रोत्साहित गर्ने, बिहान बेलुका पदाधिकारीहरुको घर कोठा धाउने, चाकरी र चाप्लुसीमा रमाउने नेतृत्वका कारण भोलिको नेतृत्व पनि देशको आवश्यकता र जनताको चाहना सम्वोधन गर्न सक्ने आउँछ भन्ने देखिदैछ । यिनै देखिएका मध्य केही प्रक्रियाबाट आउँछन् भन्दा मानिस नाक खुम्च्याउँछन् । पटक पटक परीक्षणबाट असफल र अयोग्य प्रमाणित भएका, भ्रष्ट प्रवृत्तिका मानिसहरुको आगमनबाट उत्साहित हुनुपर्ने कुनै कारण देखिँदैन । त्यही समस्याले गर्दा सडकमा गरिएको आमन्त्रणमा जनताको सहभागिता छैन । भुइँतलको मानिस नआई आन्दोलनमाथि उठ्नै सक्दैन । त्यो वर्गलाई यी देखिएका अनुहारमाथि भरोसा नै छैन ।

आजसम्म झगडामा नै समय व्यतित भयो, अब गर्दैनौं भन्ने वा अरु केही नीति र कार्यक्रम छ ? जनता खोक्रो भाषण र आश्वासनमा विश्वास गर्ने पक्षमा छैनन्

नेता भनाउँदाहरुलाई आफूमाथि विश्वास नै छैन । भारत र चीन, अमेरिकी र युरोपियनहरुको नेपालको के स्वार्थ छ ? उनीहरु कस्तो व्यवस्थापन गर्न चाहान्छन् र त्यसमा भोलिको नेपालको मार्गचित्र बन्छ भन्ने आकलन गर्दै बसेका छन् । बिग्रिएको अवस्थालाई आफ्नो नियन्त्रणमा लिने किसिमको सोच विचार, चिन्तन र छलफल नै छैन । आफ्नो व्यक्तिगत, गुटगत, दलगत स्वार्थभन्दा माथि उठ्नै नसक्ने राजनीतिक नेतृत्वसँग के अपेक्षा राख्ने ? जनतालाई सम्वोधन गर्नसक्ने, जनतासँग जोडिने राजनीतिक नेतृत्वको अभावमा यस किसिमको अन्योल देखिनु अस्वभाविक होइन ।

नेकपाका नेताहरु एक आपसमा तल्लोस्तरमा ओर्लिएर आरोप प्रत्यारोप माग गरिरहेका छैनन्, बाँझाबाझ नै गरिरहेका छन् । कुनै सिद्धान्त, विचार, नीति वा कार्यक्रमको विवाद नभएर पद र प्रतिष्ठा अनि भागवण्डा नलिमेर लफडा भएको स्पष्ट हुन्छ । दुवै पक्षका व्यक्तिहरुको मुखाले र आत्मकेन्द्रित अभिव्यक्तिले यिनीहरु देशको नेतृत्व गर्न लायक नै देखिँदैनन् । व्यक्तिगत झगडा र हिसाब किताब गरेर समय खर्चिएका छन् । समस्यालाई जटिल बनाएका छन् । देशको राजनीतिलाई फोहोरी बनाएका छन् अनि जनताका बीचमा सझाइएका लागि आग्रह गरिरहेका छन् । नेकपाको मठाधीशहरुका बीचको हिलो छ्यापाछा्यापले सिंगो राजनीति र प्रणालीप्रति नै वितृष्णा बढाउने कार्य भएको छ ।

नेपालीहरुको स्मृति छोटो छ, आन्दोलन प्रतिगमन जस्ता शब्दहरुको प्रयोगबाट मन जित्न सक्छौं भन्ने भ्रमबाट मुक्त भए हुन्छ

यस्तो कम्युनिष्ट चरित्रले गर्दा एकातिर राजनीति बद्नाम भएको छ भने अर्कोतिर विचार र आदर्श विकृति बनेको छ । यसलाई सच्चाउने सामथ्र्य र क्षमता भएको राजनीतिक नेतृत्व देखिएको छैन । विश्वस्त हुने राजनीतिक नेतृत्व भएको भए संसद विघटन नै हुने थिएन । विघटन नै भएको अवस्थामा पनि सम्मानित सर्वोच्च अदालतबाट कस्तो आदेश वा फैसला आउँला भन्ने अन्यौल र अनिश्चियको कालो बादलमा राजनीति रुमलिएको हुने थिएन ।

ओली–दाहाल शक्ति केन्द्र मिलाउन क्रियाशील देखिन्छन् । प्राथमिकतामा सत्ता र स्वार्थ नै छ । दुई कम्युनिष्ट पार्टी मिलाएर पचास वर्ष शासन गछौं भन्ने ओली र दाहालका विगतका अभिव्यक्ति आजको दिन सुन्न लायक भएका छन् । जनतालाई सस्तो लोकप्रियताका गुलिया आश्वासन दिएर जनमत बटुलेका ओली–दाहाल अब कसरी जनताको बीचमा जान्छन् ? के मुद्दा लिएर जाने ? आजसम्म झगडामा नै समय व्यतित भयो, अब गर्दैनौं भन्ने वा अरु केही नीति र कार्यक्रम छ ? जनता खोक्रो भाषण र आश्वासनमा विश्वास गर्ने पक्षमा छैनन् ।

धेरैपटक धोखा भयो, अब विचार पु-याउनुपर्छ भन्ने अवधारणा विकास भएको छ । नेपालीहरुको स्मृति छोटो छ, आन्दोलन प्रतिगमन जस्ता शब्दहरुको प्रयोगबाट मन जित्न सक्छौं भन्ने भ्रमबाट मुक्त भए हुन्छ । स्पष्ट विचार, नीति र कार्यक्रम बिना विश्वास गर्न सक्ने सम्भावना नै छैन । भ्रष्ट, दलाल, विचौलिया, लुटेराहरु लिएर निर्वाचन जित्न सकिन्छ भन्ने भ्रमबाट सबै दल र यसको नेतृत्व मुक्त हुनसक्नुपर्छ । दलमा भएको कम खराब व्यक्तिहरुलाई उचित स्थान दिँदै, त्याग तपस्या र योगदान अनि योग्यता र क्षमताको कदर भएको अनुभूति गराउन नसकेसम्म अवस्थामा फरक पन आउँदैन, व्यवस्थामा आए पनि ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *