मुख्य समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध चैनपुर र खाँदवारीमा कांग्रेसको विरोध प्रदर्शन

संखुवासभा । संखुवासभाको दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन र विरोधसभा गरेको छ । नेपाली कांग्रेस केन्द्रीय समितिको परिपत्रअनुसार कांग्रेसले दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन र सभा गरेको हो ।

प्रतिनिधिसभा विघटनको अधिनायकवादी कदम, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल कार्यको विरोधमा कांग्रेसले खाँदवारी र चैनपुरमा विरोध प्रदर्शन र सभा गरेको हो ।

नेपाली कांग्रेस प्रदेशसभा ‘ख’ द्वारा चैनपुरमा आयोजित कार्यक्रममा निर्माण व्यवसायी समन्वय विभागका केन्द्रीय सदस्य थलकुमार लिंखा, श्रमिक तथा ट्रेड युनियन विभागका केन्द्रीय सदस्य एवम् महाधिवेशन प्रतिनिधि कुमारबाबु अधिकारी, नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति रामकुमार जिमी, जिल्ला सचिव डम्बर बस्नेत, नेपाली जनसम्पर्क समितिका युकेका अध्यक्ष युवराज गुरुङ, महासमिति सदस्य शंकरमान कँडेल, महासमिति सदस्य ज्ञानबहादुर कार्की, महासमिति सदस्य अञ्जना लिंथेप, प्रदेशसभा सभापति दीपक लिम्बू, युवा नेताहरु सुशीलराज दाहाल, बीरमान लिम्बू, दिपेन्द्रमान शाक्य, लोकेन्द्र लिम्बूलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

चैनपुरको जीरोपइन्टबाट सुरु भएको विरोध ¥याली हस्पिटल चोक हुँदै टुडिखेल छेउमा पुगेर कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस प्रदेशसभा ‘क’ ले खाँदवारीमा आयोजना गरेको विरोध कार्यक्रलाई पूर्वस्वास्थ्य राज्यमन्त्री तरामान गुरुङ, नेपाली जनसम्पर्क समिति समन्वय विभागका केन्द्रीय सदस्य एवम् पूर्वसांसद टंकप्रसाद राई, पार्टी सभापति दिपनकुमार श्रेष्ठ, संगठन विभागका केन्द्रीय सदस्य एवम् पूर्वपार्टी सभापति जनक थापा, स्थानीय तह समन्वय विभागका केन्द्रीय सदस्य हरिश्वर थापामगर, महासमिति सदस्य महेश थपलिया, महासमिति सदस्य एवम् पूर्वपार्टी सचिव मुक्तिसिंह राई, महासमिति सदस्य एवम् पार्टी सचिव निरु बस्नेत, प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति उमेश चौहान, तरुण दलका जिल्ला अध्यक्ष टकमान घलेलगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कांग्रेसले आज शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गरेको थियो । माघ ३ गते शनिबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना भएको छ । यसै गरी कांग्रेसले माघ ८ गते बिहीबारका दिन देशैभरका ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *