
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसद् विघटन गर्नुभन्दा विश्वासको मत लिएर अगाडि बढेको भए राम्रो हुने बताएका छन ।
संसद् विघटनको विरोधमा कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा गरेको विरोधसभाअन्तर्गत काठमाडौँ क्षेत्र नं १ प्रदेश (क) को सभालाई आज सम्बोधन गर्दै उनले दुई तिहाई बहुमत नजिक रहेको सरकारले संसद् विघटन नगरी विश्वासको मत लिएर अगाडि बढ्नुपर्ने बताएका हुन ।
“वर्तमान सरकारले पार्टीभित्रको समस्या व्यवस्थापन गर्न नसक्दा संसद् विघटन गरेको छ”, उनले भने । सरकारले चालेको यस्तो कदम सच्चाउनुपर्ने उनको भनाइ छ । नेता सिंहले संविधानमाथि प्रहार हुँदा कांग्रेस चुप लागेर नबस्ने बताए ।
पूर्वउपप्रधानमन्त्री सिंहले सरकारले गरेको संसद् विघटनको विषय सर्वोच्च अदालतसम्म पुगेकाले अदालतले संविधानको भावना र मर्मअनुसार निर्णय गर्ने विश्वास व्यक्त गरे ।