रिबन

ओली–प्रचण्ड कम्युनिष्ट प्रहसन र रमिते नेपाली जनता

जनताको बहुदलीय जनवाद (जवज) र नौलो जनवाद दुई बिपरित धार (सोच र बिचार) बोकेका नेपालका ओली प्रचण्ड कम्युनिस्ट गुट एक आपसमा अप्रत्याशित गठबन्धन गरेर २०७४, सालको संसदीय निर्वाचनमा झन्डै दुई तिहाई जीत हाँसिल गर्न सफल त भए । तर, निर्वाचन सकिएको छ महिना पनि नपुग्दै दुई गुटको आ–आफ्नो सत्ता स्वार्थ र राजनीतिक दाउपेचका कारण तीन-तीन बर्षसम्म नेपाल राष्ट्रले अन्यौलता व्यहोर्नु प-यो ।

दुई पृथक कम्युनिष्ट दलको अप्राकृतिक मिलन अहिले बिछोडको अवस्थासम्म पुगेको छ । यी दुई समुहको नीति बिचार र दृष्टिकोण फरकफरक त थियो नै । राष्ट्रका लागि पनि अनुपयुक्त र अनुपयोगी थियो । कुर्सी मोह र राज्य दोहन गर्ने अनि आ–आफ्ना नेता तथा कार्यकर्ता हरुलाई आर्थिक र राजनीतिक व्यवस्थापन गर्नु एउटा मात्र उदेश्य थियो । प्रधानमन्त्री ओलीले त्यही उद्देश्य पूरा गरिरहेका छन् । फुटको मूल जड नै यहि हो । विगतमा ओली र प्रचण्डबीच भएको आपसी सहमति ओलीले तोडिदिएका कारण प्रचण्डको छट्पटी सुरु भयो । ओलीले प्रचण्डका हरेक प्रत्यक्ष वा अप्रत्यक्ष अनुनय विनयलाई ठाडै अस्वीकार गरिदिए ।

त्यसैको प्रतिक्रिया स्वरुप प्रचण्ड कुर्सीको भोक र तृष्णाले आकूल व्याकूल हुँदै गए । प्रचण्डको अस्थिर चरित्र र अर्काको आड र भरोसामा सार्वजनिक बक्तब्य दिने भित्री गुदी ओलीले नबुझेका होइनन् । चतुर प्रधानमन्त्री ओलीले प्रचण्डलाई वल्लो घाट न पल्लो तिर बनाइ दिएका छन् । खुल्ला रुपमा तिमी आफ्नो बाटो लाग भनेर प्रचण्डलाई चुनौती दिएका छन । तर, प्रचण्डको पूर्वमाओवादी समूह छट्याएर अलग दल गठन गर्ने आँट र हिम्मत पनि देखिदैन । उनका निकट सहयोगीहरुले पनि साथ छोडिसकेका छन ।

निर्वस्त्र नाङ्गो हुँदा पनि आफूलाई नाङ्गो भएको देख्दैन । उसका आलोचक लाई शत्रु देख्दछ । उसका कुकृत्यको भन्डाफोर गर्ने जो कोही ब्यक्ति वा वर्गलाई नियन्त्रण गर्न खोज्दछ

प्रचण्डको विकल्प भनेकै पूर्व एमालेका माधवकुमार नेपाल र झलनाथ खनालको पुच्छर समातेर बैर्तनी पार गर्न सकिन्छ कि भन्ने ध्यय मात्र हो । यो उनको यात्रा कहाँ गएर टुङ्गिन्छ अनिश्चयको भुमरीमा नै छ । आफ्नो स्वार्थ मिल्दा प्रधानमन्त्री ओलीको जुनसुकै प्रतिगामी कदमको उच्चारणसम्म नगर्ने (बिरोध नगर्ने) छबिलाल दाहाल स्वार्थ बाझिएपछि आजीवन शत्रुताजस्तो बिष बमन गर्दै हिँडेका छन् । प्रधानमन्त्री ओलीले जब प्रचण्डका अंगप्रत्यङ्ग केलाएर हेर्न थाले तबमात्र पत्तो पाए प्रचण्डले । बल्ल प्रचण्डको चेत खुलेको हुनु पर्दछ । अब कंग्रेससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन । उनको कंग्रेससँगको सहकार्य सहकार्य नभएर आफ्नो स्वार्थ सिद्धको लागि मात्र हो भनेर बुझ्न कठिन छैन । लोकतन्त्रको जगेर्नाको लागि हुँदै होइन । उनको बिगतको पटकपटकको अविश्वशनीय व्यबहारले बिश्वास गर्ने आधार देखिदैन । उनी लोकतन्त्रप्रति प्रतिबद्ध पनि छैनन । लोकतान्त्रिक दल नेपाली कंग्रेसलाई सधैं शत्रु ठान्दै आए र अझै पनि मौका पर्दा लोकतन्त्रको घाँटी निमोठ्न पछि पर्दैनन ।

ओलीभन्दा प्रचण्ड झन लोकतन्त्रका लागि घातक छन् । यतिसम्म त नेपाली कंग्रेसका नेता गणले बुझेको हुनुपर्दछ । प्रचण्डकै कारण देशमा सामाजिक अन्तद्र्वन्द्व फैलिएको हो । यिनिहरुकै कारण विभिन्न जातजातिको नाममा राष्ट्र बिभाजन गर्ने कुचेष्टा न भएका होइनन् । प्रचण्डले आफ्नो राजनैतिक र आर्थिक हैसियत सुरक्षित तथा व्यवस्थापन गर्न फेरि भारतलाई हारगुहार गरेको भन्ने विभिन्न संचारमाध्याम र सामाजिक संजालमा छापिएका छन् ।

यदि यो सही हो भने प्रचण्ड भन्ने ब्यक्ति नेपालको लागि भन्दा पनि विदेशिको स्वार्थसिद्ध गर्न बिदेशीद्वारा पालित पोषित (परिचालित) पात्र हुन भनेर बुझ्न कठिन छैन । राष्ट्र हितविरुद्ध कार्य गर्ने जुनसुकै दलको भए पनि राष्ट्रको कानून बमोजिम कारवाही गर्नु पर्छ कि पर्दैन ? कुर्सी र सत्ता प्राप्तिका लागि बिदेशिको मुख ताक्ने चरित्रले राष्ट्रको हित त कदापी गर्दैन, स्वयं नेताहरुकै स्वाभिमान रहदैन । यस्तो घृणित राजनीति राष्ट्रका लागि खतरनाक मात्र होइन भोलिका सन्ततिका लागि पनि कष्टपूर्ण र निराशाजनक हुनेछ । आफू जन्मिएको मुलुकको माटो, ग्रामीण पिछडिएका बिपन्न वर्गको तस्वीर हेरेर नीति निर्माण गर्ने वीपी कोइराला जस्ता दृढ सोच र क्षमता भएका महान नेता नभएसम्म नेपाल र नेपाली जनताको भविष्य अनिश्चित नै छ ।

कम्युनिष्टहरुले आफ्नो बिचार स्थापित गराउन अनेक हतकन्डा अपनाउँछन । त्यसका लागि साम, दाम दण्ड, भेद सबै उपयोग गर्दछन । राज्यका सबै अंगहरुलाई आफ्नो नियन्त्रणमा राख्ने दुष्प्रयास गर्दछन

कम्युनिस्ट चरित्र नेपालका लागि
कम्युनिस्टहरु आफू सत्तामा रहँदा आफुलाई अधिनायकवादी देख्दैनन । आफ्नो सत्ता बहिर्गमनपछि आफ्नै निकट साथीलाई गद्दार, बिदेशी दलाल, जडसूत्रवादी विभिन्न उपनामले सम्बोधन गर्छन । अधिनायकवादीले जहिल पनि आफूलाई सच्चा, इमान्दार, देशभक्त भएको ठान्दछ । देशको लागि म मात्र योग्य हुँ भन्ने कुन्ठा पालिरहन्छ । निर्वस्त्र नाङ्गो हुँदा पनि आफूलाई नाङ्गो भएको देख्दैन । उसका आलोचक लाई शत्रु देख्दछ । उसका कुकृत्यको भन्डाफोर गर्ने जो कोही ब्यक्ति वा वर्गलाई नियन्त्रण गर्न खोज्दछ । यो कम्युनिष्ट शासकको वा कुनै पनि अधिनायकवादीको चारित्रिक गुण हुन् । कम्युनिस्टहरु जतिसुकै अधिनायकवादी, निरंकुश भएता पनि आफ्नो दर्शन, सिद्धान्त, बिचार सही ठान्दछ । संसारका तानाशाहका उदाहरण दिनु पर्दा इटालीको मुसोलिनी र जर्मनीको हिटलरको उदाहरण दिन्छन । तर, आफूले गुरु मान्दै आएको लेनिन, स्टालिन, माओलाई निरंकुश मान्दैनन ।

संसारका अन्य तानाशाहभन्दा कम्युनिस्ट नेता ज्यादा क्रुर र निरंकुश थिए । दोश्रो विश्व युद्ध ताका र त्यसभन्दा पछि पनि अन्य तानाशाह भन्दा कम्युनिस्ट तानाशाह घोर क्रुर र अत्याचारी थिए । तर त्यो कुरा नेपालका कम्युनिस्टहरु व्यक्त गर्न चाहँदैनन । कम्युनिष्ट शासनकाल अति क्रुर, भ्रष्ट, जनविरोधी, निर्दयी, कठोर रहेको हुनाले उनीहरुका कर्तुतहरु बाहिर संचारमाध्यममा ल्याउँदैनन । जनतासँग प्रत्यक्ष सरोकार राख्दैनन । कम्युनिष्ट सरकार शासक र जनता शोषित हुन्छ । जनताप्रति उत्तरदायी हुनु पर्दैन । शासकले मनपरी गरिरहेको हुन्छ । राज्य दोहन गरिरहेको हुन्छ । सत्ता उन्मादले बिगतका आफ्नो पृष्ठभूमि बिर्सिएको हुन्छ ।

प्रधानमन्त्री ओलीले जब प्रचण्डका अंगप्रत्यङ्ग केलाएर हेर्न थाले तबमात्र पत्तो पाए प्रचण्डले । बल्ल प्रचण्डको चेत खुलेको हुनु पर्दछ । अब कंग्रेससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन

प्रचण्डका ति सबै ओलीमाथिको आरोपपत्र पनि आफूमाथिको तिरस्कारको प्रतिक्रिया मात्र हो । यदि प्रचण्डलाई ओलीले पुनः प्रधानमन्त्रीमा पदस्थापन गर्ने हो भने ती सवै आरोप पत्रहरु फिर्ता हुनेछन । ओलीका जनघाती, राष्ट्रघाती निर्णयको प्रचण्डले जयजयकार गर्ने छन ।

कम्युनिस्टले लोकतन्त्र किन सहर्ष स्वीकार गर्दैनन ?
किनकी लोकतन्त्र र लोकतान्त्रिक संविधान कम्युनिस्टका लागि घाँडो साबित हुन्छ । जबसम्म लोकतन्त्रका आधारभूत मूल्य र मान्यताहरु जीवित रहन्छ तबसम्म अधिनायकवादले स्थान प्राप्त गर्दैन वा कम्युनिस्ट बिचार जनताले स्वीकार गर्दैनन । उक्त बिचार देश र जनताको लागि निष्प्रभावी हुन्छ । कम्युनिष्टहरुले आफ्नो बिचार स्थापित गराउन अनेक हतकन्डा अपनाउँछन । त्यसका लागि साम, दाम दण्ड, भेद सबै उपयोग गर्दछन । राज्यका सबै अंगहरुलाई आफ्नो नियन्त्रणमा राख्ने दुष्प्रयास गर्दछन ।

१९१७ अक्टोबरमा रसियामा लेनिनले सत्ता आफ्नो हातमा लिएपछि देशमा रोजगारी गर्नको लागि कम्युनिस्ट पार्टीको सदस्यता लिनु पर्दथ्र्यो । कम्युनिष्ट भए मात्र राज्यको अवसर पाइन्थ्यो । कम्युनिस्टको सदस्यता लिएको छैन भने जति योग्य भए पनि राज्यको अवसरबाट बञ्चित हुनु पर्दथ्यो । त्यस्तै अहिले नेपालमा राज्यको अवसर प्राप्त गर्न कम्युनिस्ट हुनुपर्ने, ओली गुटको हुनुपर्ने, उक्त सन्देश पूर्वमाओवादीका एक नेताले दिइसकेका छन ।

हाल ओली खेमामा रहेका बफादार मन्त्रीले स्पष्ट पारिसके । यो तीन बर्षमा आम नेपाली जनताले कम्युनिष्ट चरित्र बुझ्नु पर्ने हो । अझै पनि नेपाली जनता कम्युनिस्ट भ्रम जालबाट मुक्त नहुने हो भने देश अन्धकार हुनेछ । पुस्ताको भविष्य पनि अन्धकार हुनेछ । हुन त प्रधानमन्त्री ओलीको शासकीय शैली र व्यबहार कै कारण नेपाली जनताले यो तीन बर्षको अवधिमा अझ गहिरिएर कम्युनिष्ट बुझ्ने अवसर प्राप्त गरेका छन । यस अर्थमा चाहिँ प्रधानमन्त्री ओली धन्यवाद को पात्र भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *