मनोरञ्जन

१० महिनापछि सिनेमा हल सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । लामो समयदेखि सिनेमा हल बन्द हुँदा आफ्नो रोजीरोटी गुमेको मात्र होइन, बैंकको ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै दुई साताअघि चलचित्र संघले एकतर्फी सिनेमा हल खुला गरेको थियो । सिंगल स्क्रिन थियटरबाहेक काठमाडौंसहित विभिन्न सहरका मल्टिप्लेक्स सिनेमा भवन खुला भए । तर, दर्शक आइदिएनन् ।

त्यति मात्र होइन, सरकारले नयाँ सिनेमा रिलिज गर्न रोक लगाएपछि सिनेमा हल पुराना चलचित्र चलाउन बाध्य भए । चलचित्र विकास बोर्ड र चलचित्र संघको पटकपटकको पहलपछि सरकार सिनेमा हल खुलाउन तयार भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा मापदण्ड अपनाउँदै सिनेमा हल सञ्चालन गर्न सकिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमण देखिएसँगै गत चैत ११ गतेदेखि देशभरका सिनेमा हल बन्द गरिएका थिए ।

सीसीएमसीले केही दिन अगाडि नै सरकारलाई सुरक्षा मापदण्ड अपनाएर सिनेमा भवन सुचारु गर्न दिन आग्रह गरेको थियो । सरकारले सीसीएमसीको पत्रलाई आधार मान्दै हल खोल्न दिने निर्णय गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *