खेलकुद

खुला दौड प्रतियोगिताको उपाधि बस्नेतलाई

गोरखा । पृथ्वीजयन्तीका अवसरमा सोमबार भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पारेका छन् । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

प्रतियोगितामा नेपाली सेनाका सुनिल थापाले २५ मिनेट २५ सेकेण्डमा पूरा गर्दै दोस्रो भए । प्रतियोगितामा पूर्ण बहादुर गुरुङले २५ मिनेट ४५ सेकेण्डमा पूरा गर्दै तेस्रो स्थान हात पार्न सफल भए भने नेपाली सेनाका सुरज योगीले २५ मिनेट ५५ सेकेण्डमा दूरी पार गर्दै चौथो र सुमन मगरले २६ मिनेटमा पार गर्दै पाँचौँ स्थान हात पार्न सफल भएको गोरखा युथक्लबका अध्यक्ष सुमन गुरुङले जानकारी दिए ।

तत्कालीन राजा द्रव्य शाहले राज्याभिषेक गरेको ऐतिहासिक पश्लाङचौताराबाट सुरु भएको दौड प्रतियोगिता सतिपिपल हुँदै पाटेचौर, गोरखा अस्पताल, लोकतान्त्रिक चोक, पुरानो बसपार्क, नयाँ बजार, बिपी चोकबाट पदेलीबाट ठूलो आँगनसम्म दूरी कायम गरिएको थियो ।

प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जितेकी छन् । उनले ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम भएकी हुन् । महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हात पार्न सफल भएको उनले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *