गण्डकी प्रदेश

बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव

पोखरा । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत आजको बैठकमा बेरोजगारी समस्या सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल भएको छ । बैठकमा बेरोजगारी समस्या सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य धनमाया लामा पोखरेलले कोरोना महामारीसँगै अधिकांश सर्वसाधारणको रोजगारी खोसिएको बताइन् ।

शिक्षा, पर्यटन, निर्माण, उद्योग, यातायातलगायत स्थानमा कोरोनाको प्रभावका कारण रोजगारी गुमाउनुपरेका सर्वसाधारणका लागि स्वरोजगार हुने किसिमका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उनले श्रम बजारमा आउने लाखौँ नेपालीका लागि वैदेशिक रोजगारी रहर नभई बाध्यता भएको उल्लेख गरिन् । संविधानले रोजगारीलाई मौलिक हकका रुपमा उल्लेख गरेकाले रोजगारी गुमेकै कारण सर्वसाधारणको दैनिकी सञ्चालनमा परेको प्रभावबारे गम्भीर बन्नु आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार देशमा नौ लाख र विदेशमा तीन लाख नेपालीले रोजगारी गुमाएको उल्लेख गर्दै उनले कोरोना प्रभावित व्यवसाय बचाउन व्यवसाय जीवनरक्षा कोष स्थापना गरिए पनि त्यो कार्यान्वयनमा नआउँदा बेरोजगारी समस्या कम गर्न कठिनाइ भएको बताइन् ।

प्रस्तावको समर्थन गर्दै प्रदेशसभा सदस्य हरिशरण आचार्यले स्वरोजगार अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने बताउँदै त्यसका लागि बिना धितो ऋण दिनेलगायत विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताए । कोरोनाका कारण धेरैको रोजीरोटी खोसिएको बताउँदै उनले पछिल्ला समयमा भित्रिरहेका प्रविधिसँगै धेरैको रोजगारी खोसिएको तर्फ पनि ध्यान दिनुपर्ने बताए ।

अर्का सदस्य प्रकाशचन्द्र दवाडीले कोरोनाका कारण उद्योग, कलकारखाना बन्द हुनुका साथै बैदेशिक रोजगारीमा गएकाहरू बेरोजगार बन्दै फर्कनु परेको अवस्थाप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरे । गण्डकी प्रदेशमा ६७ हजार ७०० ले विदेशमा रोजगारी गुमेर आएको बताउँदै उनले ती व्यक्तिका लागि रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

सभासद मोहनप्रसाद रेग्मीले सरकारले कृषिलगायतका क्षेत्रमा स्वरोजगार अभिवृद्धिका कार्यक्रम ल्याई कार्यान्वयनमा लगेको बताए । समृद्धि र विकासका लागि सरकारले अघि सारेका योजनाले गति लिंदै गरेका अवस्थामा देखिएको कोरोना प्रभावले अपेक्षित सफलता हासिल गर्न नसकिएको उनको भनाइ छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *