
बाह्रबिसे । नेपाली कांग्रेस खेलकुद विभागले सिन्धुपाल्चोकमा आयोजना गरेको ९–ए साइड कोमलमाया खड्ग बस्नेत स्मृति कप फुटबल प्रतियोगिताको समापनमा पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने भएका छन् । प्रतियोगिता बाह्रबिसे नगरपालिका–४ पालाँतीमा पुस २२ गतेबाट सुरु भएको हो ।
मंगलबार मेलम्ची नगरपालिका र सुनकोशी गाउँपालिकाबीच उपाधि भिड्न्त हुनेछ । मेलम्चीले इन्द्रवातीलाई ३–० र सुनकोशीले चौतारालाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेका छन् ।
फाइनल खेलमा पार्टी सभापति शेरबहादुर देउवाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गर्ने पूर्वमन्त्री तथा नेपाली कांग्रेसका खेलकुद विभाग प्रमुख मोहन बस्नेतका स्वकीय सचिव रामेश्वर आचार्यले जानकारी दिए ।
प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रूपैयाँ नगदसहित सिल्ड र ट्रफी पाउने छ ।
प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहले सहभागिता जनाएका थिए । कुल ९ लाख रूपैयाँ खर्च गरिएको उक्त प्रतियोगिताको आर्थिक व्यवस्थापन बस्नेत परिवारले गरेको छ ।