राजनीति

प्रधानमन्त्री ओलीको भद्दा मजाकले मुलुक अँध्यारो सुरुङमा

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर देशको राजनीतिलाई अँध्यारो सुरुङमा धकेलेका छन् । आफ्नो सरकारले असाधारण काम गरेको हावादारी गफ दिएर करिब तीन वर्ष गुजारेका ओलीको पछिल्लो गतिविधिले मुलुकको भविष्यमाथि नै सन्देह पैदा गरेको छ । संसद्मा सुविधाजनक बहुमत रहेको सहज अवस्थामै संविधानमै नभएको प्रावधानलाई टेकेर ओलीले संसद् विघटन गरेपछि उनको नियतमाथि सन्देह पैदा भएको हो ।

पाँच वर्षको जनदेश पाएको सार्वभौम संसद् प्रधानमन्त्रीको निजी आक्रोश र सनकमा विघटन हुन संसदीय व्यवस्थामाथिकै प्रहार हो । यो लोकतन्त्रमाथिको खतरा पनि हो । शक्ति पृथकीकरणको सिद्धान्तलाई ठाडो चुनौती हो । यस्तो कार्य लोकतन्त्रमा स्वीकार्य हुँदैन । लोकतान्त्रिक परिपाटीबाट निर्वाचित भएका प्रधानमन्त्री ओलीमा तानाशाह बन्ने मोह भोक जागेको छ । उनले संविधान मिचेर अधिनायकवाद उन्मुख हुँदै गएका छन् । आफू अनुकूलको परिस्थिति नभएपछि प्रतिनिधिसभा विघटन गरिदिएका छन् भने आफ्नो आलोचना सुन्न नसकेर राष्ट्रिय सभा अधिवेशन नै स्थगित गरिदिएका छन् । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको बारेमा आफ्नो पक्षमा फैसला गर्न सार्वजनिक मञ्चबाट अभिव्यक्ति दिइरहेका छन् । कार्यपालिकाले न्यायपालिकालाई चुनौती दिनु शक्तिपृथकीकरणको मर्म र भावनाविपरीत हो ।

गत पुस ५ गते संसद् विघटन गरेयता प्रधानमन्त्री ओली आफ्नै दलका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको कटाक्ष गर्दैमा अधिकांश समय गुजारिरहेका छन् । उनकोे ध्यान राज्य सञ्चालनमा भन्दा नेपाल–प्रचण्डकोे उछितो काट्नैमा केन्द्रित छ । उता प्रचण्ड–नेपाल पनि ओलीमाथि खनिरहेका छन् ।

लोकतान्त्रिक परिपाटीबाट निर्वाचित भएका प्रधानमन्त्री ओलीमा तानाशाह बन्ने मोह भोक जागेको छ

ओली आपसी टकरावले थलिएको पार्टी नेकपाको अध्यक्ष मात्र होइनन्, उनी मुलुकको कार्यकारी प्रधानमन्त्री पदमा समेत विराजमान छन । उनका गतिविधिले कार्यकारीको गरिमालाई समेत गिज्याउने र होच्याउने गरिरहेको छ । मुलुकको प्रधानमन्त्रीबाट जनताले गर्ने अपेक्षामाथि उनको शैली र व्यवहारले बज्रपात गरेको छ । पदीय गरिमालाई ख्याल नगरी तल्लोस्तरमा ओर्लेर विगतमा प्रमुख प्रतिपक्षीमाथि खनिँदै आएका ओली अहिले आफ्नै दलभित्रका प्रतिपक्षीको हुर्मत लिन उद्यत छन् । ओलीले यतिबेला उनकै पार्टीका सहयात्रीहरूलाई भेट्नो चुँडिएको फल, खुस्किएको नटबल्टु, ढाडे विरालो, कुहिएको फर्सी जस्ता अपश्ब्द प्रयोग गरिरहेका छन् ।

प्रधामन्त्री ओली देश र जनताप्रति कति उत्तरदायी छन् भन्ने कुरा त उनले कोरोना भाइरसको माहामारीमा दिएको गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारले छर्लंग हुन्छ । सरकार प्रभावकारी नबन्दा कोरोनाको उपचार नपाएर सयौ नागरिकले जीवन गुमाए । रोगले मात्र होइन, भोकले पनि दर्जनौ नागरिकले जीवन गुमाए । नागरिकको जीवनरक्षाका निम्ति विभिन्न संघसंस्थाले महिनौं निःशुल्क खान खुवाए । सरकारले त्यसमा पनि प्रतिबन्ध लागयो । राहत र पुनस्र्थापनाका कुनै कार्यक्रम ल्याएन । लाखौं नागरिकले रोेजगारी गुमाए । कोभिडको मूल्यांकन नगरी लकडाउन लगाएर नागरिकलाई स्वतन्त्रताबाट वञ्चित गर्यो । सरकारको अदूरदर्शी कदमले नागरिकले असाधारण दुःख खेल्न बाध्य भए ।

अहिलेको राजनीतिक घटनाक्रम हेर्दा सामान्य चुनौती सामना गर्न नसक्ने व्यक्ति सरकारको नेतृत्वमा पुग्दा मुलुकले सुुशासन, विकास र निकास पाउन सक्दैन भन्ने बुझ्न कठिन छैन ।

सरकारको असावधानीलाई नियाल्दा लकडाउन कोरोना नियन्त्रणमा भन्दा पनि चरम आन्तरिक द्वन्द्वले प्रधानमन्त्रीको कुर्सी धर्मराइरहेका बेला सत्ताको आयु लम्व्याउन गरिएको स्पष्ट छ । सरकारका मन्त्रीहरू भने बन्द समाज निर्माण गरी भ्रष्टाचारमा निर्लिप्त बने । औषधि खरिद प्रकरणमा सरकार दुर्गन्धित बन्यो । सरकारका मन्त्री र उनीहरूका आसेपासेको संलग्नतामा मुलुकले थेग्न नसक्ने गरी भ्रष्टाचार काण्ड सार्वजनिक भए । सरकारको यो कार्यले राज्यको ढुकुटीमात्र रित्तिएन, आमनागरिकलाई समेत लज्जित बनायो ।

मूल दायित्वबाट विमुख भएर प्रधानमन्त्री ओली खुद्रामसिना काममा रमेका छन् । करिब नौ महिनदेखि सिंहदरबार पुगेका छैनन । उनका लागि सिंहरदवार नै विरानो बनेको छ । सुशासन र विकासमा ग्रहण लागेको छ । दायित्वबाट विमुख सरकारलाई लयमा फर्काउन नागरिक सडकबाट दबाब सिर्जना गर्न बाध्य छन् । ओलीले कुतर्क र हावादारी गफलाई रोचक ढंगबाट प्रस्तुत गरेर जनतालाई कन्फ्युज बनाइरहेका छन् । पदीय जिम्मेवारी र राज्यको सम्पत्तिको दुरुपयोग गरेर नेता कार्यकर्तालाई भ्रमित बनाएर आफूप्रति आकर्षण गरिरहेका छन् । उनको चिन्ता देश बनाउनेमा भन्दा गुट बनाउनेमा केन्द्रित छ । ओली मुलुकमा विद्यमान चुनौतीको सामना गर्न तत्पर छैनन् । अहिलेको राजनीतिक घटनाक्रम हेर्दा सामान्य चुनौती सामना गर्न नसक्ने व्यक्ति सरकारको नेतृत्वमा पुग्दा मुलुकले सुुशासन, विकास र निकास पाउन सक्दैन भन्ने बुझ्न कठिन छैन ।

शीतलनिवासको अदूरदर्शी र अपवित्र गतिविधिले मुलुकको र संविधानको धज्जी उडाएको छ

ओली अत्मप्रशंसकको खोजीमा रूमलिएका छन् । आलोचना सुन्ने धैर्यता उनमा छैन । जहाँ आलोचना हुन्छ, त्यसविरुद्ध उनी जेहाद छाडेर प्रस्तु हुने गरेका छन् । आलोचनालाई सुझावको रूपमा लिने उनको आदत छैन । प्रधानमन्त्री सत्ता सञ्चालमा रचनात्मक सुझाव दिने मिडिया, नागरिक समाज, कानुन व्यवसायी र बुद्धिजीवीको खुलेरै कटाक्ष गरिरहेका छन् । उनको यो कार्य विधिको शासन भएको मुलुकमा शोभनीय होइन ।

प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदममा राष्ट्रपतिले पनि साथ दिनु मुलुकका लागि दुर्भाग्य हो । शीतलनिवासको अदूरदर्शी र अपवित्र गतिविधिले मुलुकको र संविधानको धज्जी उडाएको छ । प्रधानमन्त्री ओलीमात्र होइन, नेपाल कम्युनिष्ट पार्टी नै सर्वत्र आलोचनाको भुमरीमा फसेको छ । नेकपाभित्रको आन्तरिक कलह, व्यक्तिगत महत्वाकांक्षा र पदलोलुपताले राष्ट्रिय राजनीतिलाई दुषित बनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट